+
+

राष्ट्रिय सभा उपाध्यक्षको बुढानीलकण्ठमा साढे २ करोडको जग्गा, २३ लाख ऋण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १९:४४

१ साउन, काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् ।

उपाध्यक्ष अर्यालले सोमबार सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक बर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाएकी हुन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा सार्वजनिक पदमा रहेका व्यक्तिले प्रत्येक आर्थिक वर्ष सकिएपछि ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

यही व्यवस्था सम्झाउँदै संसद सचिवालयले यसअघि नै सूचना निकालेर सम्पत्ति विवरण बुझाउन संघीय सांसदहरुलाई भदौ २८ गतेसम्मको समय तोकिदिएको छ ।

उपाध्यक्ष अर्यालले आफ्नो सम्पत्ति विवरणमा २३ लाख ऋण रहेको देखाएकी छन् । २०७० सालमा बुढानीलकण्ठमा जग्गा खरिद गर्न २ करोड ५३ लाख ऋण लिएको र २ करोड ३० लाख ऋण तिरेको उल्लेख गरेकी छन् । ‘२३ लाख ऋण अझै बाँकी छ’ उपाध्यक्ष अर्यालको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्युठानमा श्रीमानको नाममा पैतृक सम्पत्ति जग्गा दुई ठाउँमा गरेर १३ रोपनी रहेको विवरणमा उल्लेख छ । श्रीमानको आयबाट पर्साको विरगञ्जमा ३ कठ्ठा ८ धुर जग्गा र काठमाडौंको बुढानीलकण्ठमा १८ आना जग्गा खरिद गरिएको उल्लेख छ ।

उपाध्यक्ष अर्यालले आफूसँग सुनको गहना १२ तोलाको, हिराको गहना र निलमको गहना एक/एक सेट र चाँदी अन्दाजी ३०० तोला रहेको पनि विवरणमा समावेश गरेकी छन् ।

यसका अलावा एभरेष्ट बैंकको ४०० कित्ता साधारण शेयर, साश उर्जा कम्पनीको २५०, अन्य विभिन्न कम्पनीहरुको ३०० र हिमालयन उर्जा कम्पनीको २८ हजार कित्ता शेयर श्रीमानको नाममा रहेको उल्लेख गरेकी छन् ।

ऐभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकमा ७४ हजार मौजदात रहेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?