+
+

शरणार्थी प्रकरणदेखि विप्लव समूहसम्मको अनुसन्धान गर्नेलाई प्रहरीमा विशेष बढुवा

यस्तो छ बढुवा पाउने १० प्रहरीको ट्याक रेकर्ड

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि उच्च हिमाली क्षेत्र (५ हजार मिटर उचाइमाथि) मा खटिएका प्रहरीसम्मलाई विशेष बढुवा दिएर पुरस्कृत गरेका छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० साउन १ गते २१:४४

१ साउन, काठमाडौं । नेपाल हुँदै नक्कली भारतीय नोट सीमा कटाउन लागिएको घटना नसुनिएको धेरै भएको थियो । १० जेठ २०७६ मा सनसनीपूर्ण खबर बाहिरियो, ७ करोड ६७ लाख ९४ हजार बराबरको नक्कली भारतीय रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातियो ।

लगत्तै ‘नक्कली भारु’ कारोबारमा पटकपटक पक्राउ पर्ने गरेका युनुस अन्सारी विमानस्थलबाहिर ‘नाटकीय’ रुपमा समातिए । युनुस समातिनुअघि विमानस्थलभित्र तीन जना पाकिस्तानी नागरिक नक्कली भारुसहित समातिएका थिए । त्यो अपरेशनमा अग्रपंक्तिमा खटिएका थिए, प्रहरी सहायक हवल्दार भुदरमणि जोशी ।

यिनै जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका अधिकांश ठूलो परिमाणका सुनसम्बन्धी अपरेशनमा पनि सरिक छन् । ३ मंसिर २०७८ मा नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं आएका दुई नेपाली नागरिकलाई चेकजाँच गर्ने क्रममा भित्री वस्त्रमा फल्स बटम बनाएको भेटियो ।

त्यसमा अर्धठोस पदार्थका दुई पोका भेटियो, जसमा २ किलो १२७ ग्राम सुन थियो । दुवैलाई पक्राउ गर्ने अपरेशनमा जोशी संलग्न थिए ।

२९ माघ २०७९ मा चिनियाँ नागरिकबाट समातिएको झण्डै चार करोड बराबरको सुन प्रकरणदेखि ३० साउन २०७९ मा ‘सुनसहितको कपडा लगाएर’ आउने रिवाज गजमेरलाई नियन्त्रणमा लिनसम्म जोशीले भूमिका खेलेको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायत बताउँछन् ।

त्यही कामको कदर गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले उनलाई आइतबार विशेष बढुवा दिएका छन् । कुँवरले जोशीलाई उनको कामको कदर गर्दै प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवाको पुरस्कार दिएका हुन् ।

उनीसहित १० जनालाई कामको मूल्यांकन गर्दै आईजीपीले विशेष बढुवा दिएका छन् ।  प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ । त्यही प्रावधान अनुसार कुँवरले १० जनालाई विशेष बढुवा दिएर पुरस्कृत गरेका छन् ।

पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ हवल्दार सविर अलि अन्सारी पनि छन् । आतंकवाद र विशिष्ट प्रकृतिको अपराध अनुसन्धान गर्ने विशेष ब्यूरोमा कार्यरत उनी अब प्रहरी सहायक निरीक्षक बनेका छन् ।

अन्सारी ०६२ सालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आतंकवाद, अतिवाद र त्यससँग सम्बन्धित अन्तरदेशीय र संगठित अपराध अनुसन्धानमा संलग्न छन् ।

‘अन्तरदेशीय आपराधिक गतिविधिविरुद्धको कारबाहीसँगै उनले आन्तरिक सुरक्षालाई चुनौती दिने गतिविधिका सूचना संकलन, निगरानी र कारबाही प्रक्रियामा संलग्न रहेर दिएको जिम्मेवारी पूरा गरेर प्रहरीको गरिमालाई उच्च राख्ने काम गरेका छन्’, प्रहरी नायब महानिरीक्षक डीआईजी प्रवक्ता कडायत भन्छन्, ‘उनी नक्कली भारतीय रुपैयाँ एक करोड ३६ लाख र नक्कली अमेरिकन डलर १९ हजार ५ सयसहित विशेष ब्यूरोले मानिसहरुलाई समातेको अपरेशनमा समेत संलग्न थिए ।’

गैरकानूनी गतिविधि गर्दै विभिन्न विशिष्ट व्यक्ति, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था र सर्वसाधारणलाई डर, त्रास र धम्की दिएर असुली गर्ने कार्यमा संलग्नमाथिको निगरानी र सूचना संकलनमा पनि उनी सक्रिय रहेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह प्रतिबन्धित भएका बेला प्रहरीले चलाएको अपरेशनहरुमा उनी संलग्न रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

अन्य विभिन्न समूहको आवरणमा हत्या, अपहरण र चन्दा असुली गर्ने व्यक्तिहरुको अनुसन्धानमा पनि अन्सारीले महत्वपूर्ण भूमिका खेलेको प्रवक्ता कठायत बताउँछन् । बढुवाको पुरस्कार पाएका प्रहरी सहायक हवल्दार गनकुमार खण्डलुकले गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत रहेर खोज तथा उद्दारमा महत्वपूर्ण भूमिका खेलेको प्रहरी अधिकृतहरु बताउँछन् ।

‘२०७० सालदेखि उनले खोँच तथा भीरमा खसेका मानिसहरुको उद्दार गरेका छन्’, प्रवक्ता कडायत थप्छन्, ‘०७९ र ०८० सालको अवधिमा हालसम्मको अवधिमा मात्रै उनले ७ गम्भीर खोँचमा खसेका व्यक्तिको उद्दारमा खटिएका थिए ।’

प्रहरीका अनुसार, उनी १ माघ २०७९ मा पोखराको सेती खोँचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि पनि खोज तथा उद्दारमा सहभागी थिए ।

बढुवा पाएकामध्ये प्रहरी सहायक निरीक्षक अर्जुन सेठी जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत छन् । उनी ७ वैशाख २०८० मा कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरु पाण्डेको हत्याको अनुसन्धानमा सरिक थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको घटनाको अनुसन्धानमा पनि उनी संलग्न थिए । २५ साउन २०७७ मा गोंगबुमा सुटकेसमा शरीर र बेग्लै स्थानमा टाउको भेटिएको घटनाको अनुसन्धानमा समेत सेठी खटिएका थिए ।

बढुवा पाउनेमध्ये अर्का प्रहरी सहायक हवल्दार सुवास नेपाली हुन् । सोलुखुम्बुको इलाका प्रहरी कार्यालय, नाम्चेमा कार्यरत उनी उच्च हिमाली भेग (५ हजार मिटरभन्दा माथि) हुने विदेशी नागरिकको उद्दार र जाँच प्रकृति जाँच मुचुल्का गर्ने कार्यमा सरिक हुने गरेका छन् ।

उनले खाङते हिमालमा हराएका ३ फ्रान्सेली नागरिकको खोजतलासका लागि अन्तर्राष्ट्रिय उद्दार टोलीसँग मिलेर काम गरेका थिए । उच्च हिमाली भेगमा हुने अपराधलाई न्यूनीकरण गर्न उनी सगरमाथा आधार शिविरमा ट्रेकिङ एजेन्सीहरुमा नियमित अनुगमनमा खटिने गरेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायत बताउँछन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत प्रहरी सहायक हवल्दार लक्ष्मण सापकोटाले पनि विशेष बढुवा पाएका छन् ।

उनले २६ जेठ २०६६ मा मनाङमा यार्सागुम्बा टिपिरहेका ७ जनालाई घेरा हालेर हत्या गरिएको घटनामा १० वर्ष कैद सजाय तोकिएका फरार आरोपीलाई पक्राउ गर्न भूमिका खेलेका थिए । त्यो घटनाका फरार प्रतिवादी १० भदौ २०७९ मा स्वयम्भुबाट पक्राउ परेका थिए । उनले अन्य थुप्रै कसूरका फरार प्रतिवादीलाई समात्न भूमिका खेलेको प्रहरी अधिकृतहरु बताउँछन् ।

विशेष बढुवा पाएका प्रहरी जवान लोचन अधिकारी मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत छन् । उनी १५ असार २०७९ मा अवैध मृगौला तस्करी गर्ने गिरोह समातिएको प्रकरणको अनुसन्धानमा संलगन थिए ।

मानवबेचिबखन सम्बन्धी कसूरका प्रतिवादीहरुलाई उनले पटकपटक विमानस्थलबाट समेत पक्राउ गरेका थिए । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार उनी २३ जेठ २०८० मा नेपाली महिलालाई भारत गरेर बेचबिखन गर्ने व्यक्तिको पक्राउ गर्न समेत खटिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी सहायक निरीक्षक वामदेव घिमिरेले पनि विशेष बढुवा पाएका छन् । उनी आयोगको बुटवलस्थित कार्यालयका लागि स्टिङ अपरेशनमा खटिने प्रहरी अधिकृत हुन् ।

विशेष बढुवा पाएकामध्ये प्रहरी नायब निरीक्षक तिलराम बोहरा सार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् । उनी २८ वर्षदेखि निरन्तर प्रहरी एकेडेमीमा प्रशिक्षकको भूमिकामा कार्यरत रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको प्रहरी प्रवक्ता कुवेर कडायत बताउँछन् ।

प्रहरी एकेडेमीमा सञ्चालन भएको प्रहरी निरीक्षक आधारभूत, प्रहरी सहायक निरीक्षक आधारभूत, प्रहरी अधिकृत (प्राविधिक), स्टाफ कलेजमा शाखा अधिकृत, राष्ट्रिय अनुसन्धान अधिकृत, कवाज प्रशिक्षक प्रशिक्षण तालिमहरुमा बाह्य प्रशिक्षक तथा प्लाटुर कमाण्डरको रुपमा खटिएर उनले प्रशिक्षार्थीहरुलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी सहायक हवल्दार उपेन्द्र चौधरीले पनि विशेष बढुवा पाएका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?