+
+
ब्लग :

जनयुद्ध, प्रचण्ड र सीता

आज जसरी सत्तामा रहेका नेताका श्रीमतीहरू कुनै न कुनै आरोपमा मुछिएका छन्, सीता दाहाल यसको अपवाद बनिन् । उनलाई जोहोको चेत कहिल्यै पनि आएन ।

शैलेन्द्र घिमिरे शैलेन्द्र घिमिरे
२०८० साउन २ गते १२:५३

खोपीमा बसेर अरुले आर्जन गरेको लोकतन्त्रमा मनपरीतन्त्रको भतेर लगाउने इतिहास नबुझेकालाई लोकतन्त्र कालो अक्षर भैंसी बराबर नै हो । सामाजिक सञ्जालमा लोकप्रिय हुने नाममा उनीहरू मलामी जाँदा सलामीको तरिका बिर्सन्छन् । तसर्थ उनीहरूले इतिहास पढून् ।

एकपटक नक्साभित्रको भूगोलले भोगेका कठिनतम दिनहरू सम्झिउन् र लोकतन्त्र कसरी सबैका आलोचनात्मक स्वरहरूलाई समेत आँसुका बीचमा पनि सम्मानका साथ स्वीकार्छ, त्यो जानुन् ।

हो, यो त्यही लोकतन्त्र हो जहाँ हजारौंको आँसु, पसिना र रगतको संयोजन छ । जहाँ पुष्पकमल दाहालको निपूर्ण नेतृत्व छ र सीता दाहाल पौडेलका सयौं रहरहरूको चिहान छ । सीता दाहाल एक सामान्य परिवारमा जन्मेकी नारी हुन् । जीवनको प्रारम्भ गर्दा सायद पढेलेखेको मानिस जीवन साथी बन्दा जीवनयात्रा सहज हुन्छ भन्ने उनमा विश्वास थियो । तर नियतिले त्यसो भनेन । शब्द नबुझ्ने मानिसलाई समयले क्रान्तिकारी बनाइदियो । सहज जिन्दगीको अपेक्षामा सुरु भएको जिन्दगीले पाइला पाइलामा काँढा रोपिदियो । एक महान कामका लागि ओँठको हाँसो यसै–यसै गायब भयो । उनले क्रान्ति सिकिन् । बलिदान सिकिन् । मुक्ति अभियान र वर्गप्रतिको निष्ठा सिकिन् ।

सिकाइ नै त जिन्दगी रहेछ, उनले सबैभन्दा धेरै सादगी सिकिन् । यही सादगीपनले उनलाई मृत्युले जितेपछि पनि मर्न नपर्ने बनाइदियो ।

त्यसो त कार्ल मार्क्सलाई मान्नेहरू उनको जीवनलाई आदर्श मान्छन् । जेनी मार्क्सलाई नारी जीवनको उच्चतम नैतिकता ठान्छन् । जेनीले जे भोगिन्, त्यसको जगमा मार्क्सवाद उभियो । मार्क्स विश्वविख्यात भए ।

यता सीता र जेनीको जीवनका केही हिस्साहरू उस्तै–उस्तै लाग्ने गरी मिलेको देख्दा भन्न सकिन्छ सीता नभएको भए प्रचण्ड, प्रचण्ड हुँदैनथे । प्रचण्ड, प्रचण्ड नभएको भए मुलुकमा गणतन्त्रको आँकुरा नपलाउन सक्थ्यो ।

शैलेन्द्र घिमिरे

भनिन्छ एक नायकको जन्ममा धेरै पर्दामा नदेखिने महानायकहरूको बलिदान हुन्छ । सीताको जीवन पर्दामा नदेखिएको त्यही तिलस्मी यात्राको सुमधुर संगीत हो ।

जेनी मार्क्स मार्क्सभन्दा जेठी थिइन् र सीता पनि प्रचण्ड भन्दा जेठी । यी दुवैको जीवनमा दुःखको बबण्डर थियो । जसलाई यी दुवैले खुसी–खुसी सहे । सन्तानको सन्ताप जेनीलाई ती नहुर्कने बेलासम्म मात्र सीमित रहेन, छोराछोरीको बिहेबारी पछि पनि आइलागिरह्यो । जेठी छोरीलाई क्यान्सरले जित्यो । एकमात्र छोरो एकाबिहानै ओछ्यानबाट कहिल्यै नउठ्ने गरी सुत्यो ।

दुनियाँको नजरमा मार्क्स ‘लफङ्गो’ जीवन जिउँथे । जस्तै सन्तापमा पनि जेनीले मार्क्सको गोपनीयता खोलिनन् । परिस्थिति कस्तो बन्यो भने जेनीको अन्तिम यात्रामा मार्क्स उनलाई विदाइ गर्न पनि जान सकेनन् किनकि उनी क्यान्सरले थलिएका थिए । आज दुनियाँले मार्क्सलाई जेनीको अन्तिम यात्रामा सहभागी नभएकोमा भावनाहीन भन्दैन ।

पुष्पकमल, पुष्पकमलबाट प्रचण्ड बन्ने अभियानमा थिए । राज्यले श्रीमानको टाउकाको मूल्य तोक्दा पनि सीताले कहिल्यै नुर गिराइनन् । अन्तिम यात्रामा उनले श्रीमान छन् भन्ने अनुभूति नै गर्न पाइनन् किनकि उनलाई स्मरण नहुने रोग थियो ।

माओकी पत्नी याङ काइहुइलाई कोमिनताङ सेनाले ४ नोभेम्बर १९३० मा चांगसा सहरमा फाँसी दियो । याङ काइहुइले समाजवाद र चिनियाँ पितृभूमिका लागि मृत्युदण्डलाई सहर्ष स्वीकार गरिन् । उनलाई थाहा थियो– उनी झुक्दा माओको मनोबल टुक्रिन्छ । उनले माओलाई टुक्रिन दिइनन्, बरु गोली पिएर वीरगति प्राप्त गरिन् ।

सीता दाहालले पनि चलिरहेको जनयुद्धमा आफ्ना सन्तानसहित आफूलाई एक राजनैतिक कार्यकर्ताका रूपमा होमिन् । छोरो राइफल बोकेर युद्धमोर्चामा जाँदा उनी कहिल्यै विचलित भइनन् । मरिन्छलाई स्वीकार गरिन् र दक्षिण एशियामा हिमाल मुनि चलिरहेको मुक्तियुद्धको हेडक्वार्टरको व्यवस्थापन सम्हालिन् ।

सीता दाहालको अनुहारमा विरलै मुस्कान देख्नेहरू भन्छन्– उनी अन्तरमुखी स्वभावकी थिइन् । त्यसकारण उनलाई नक्कल झक्कल कहिल्यै मन परेन । व्यक्तिगत घरको रहर कहिल्यै उम्रेन ।

पार्टीभित्रको मतभेद फुकाउन उनको सुधो यत्न अहिले पनि हिसिला र राममाया बोगटीहरू सम्झिरहन्छन् । यसरी हेर्दा सीता माओकी कान्छी पत्नी चियाङ चिङ जस्ती देखिन्छिन् । चियाङ चिङले माओले चलाएको सांस्कृतिक क्रान्तिलाई सफल बनाउन अहोरात्र खटिन् र माओको मृत्युपछि जेलमा परिन् । जेलमै उनको मृत्यु भयो ।

सीता पनि प्रचण्डका हरेक कदममा साथसाथ रहिन् । सीता जेल वा शहादत दुवैका लागि तयार थिइन् । उनले दुश्मनलाई जितिरहिन् र जेल पर्नुपर्ने वा मारिनुपर्ने नियति जितेर आएकी उनी एक वर्ग युद्धकी विजेता पनि हुन् । औपचारिक शिक्षा हासिल नगरेको भए पनि उनले गरिबी र अभाव बुझेकी थिइन् । क्रान्ति बुझेकी थिइन् र सामन्तवादबाट पार पाउन बन्दुकको अपरिहार्यता जानेकी थिइन् ।

एउटा क्रान्तिकारी क्रान्ति बुझेर मात्र क्रान्तिकारी हुँदैन, क्रान्तिमा सहभागी भएर हुन्छ । उनी पनि क्रान्तिमा सहभागी भएरै एक क्रान्तिकारी बनेकी थिइन् ।

सन् १९७४ पछि रुमानियाका कार्यकारी शासक बनेका निकोलाई चाउचेस्कुले आफ्नो कार्यकालमा विद्यालयका सबै पाठ्यपुस्तकमा आफ्नो र श्रीमतीको तस्विर राख्न अनिवार्य गराएका थिए । भनिन्छ, त्यसो गर्नका लागि निकोलाई चाउचेस्कुकी श्रीमती एलिना चाउचेस्कुको दबाब थियो । प्रचण्ड सरकारमा भए वा नभएको समयमा पनि सीताले कुनै त्यस्तो महत्वकांक्षा राखिनन् । उनले राजा दशरथको जस्तो युद्धको मैदानमा ढलपलाएको रथमा कैकेयीले औँला राखेझैँ आफ्नो जीवन राखिन् तर बदलामा कहिल्यै आफ्ना सन्तानका लागि सत्तारोहणको सपना देखिनन् ।

मुस्लिम मुलुकको पहिलो महिला प्रधानमन्त्रीको रूपमा पाकिस्तानमा २ डिसेम्बर १९८८ मा बेनजीर भुट्टोले सरकार बनाइन् । उनलाई ६ अगस्ट १९९० मा राष्ट्रपति गुलाम इसाक खानले बर्खास्त गरे । यसको मुख्य कारण उनका पति असिफअली जर्दारीले गरेको भ्रष्टाचार मुख्य कारण थियो । नेपालमा प्रचण्ड पटक–पटक प्रधानमन्त्री हुँदा पनि उनले श्रीमान प्रधानमन्त्री भएको फाइदा उठाइनन् । सरुवा बढुवामा उनको दिलचस्पी कहिल्यै भएन । जो आउँथे, उनले सबैलाई पन्छाइदिन्थिन् ।

पहिलो पटक प्रधानमन्त्री बनेका बेला चिनियाँ एक्सपोको समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो थियो । सो एक्सपोको ब्राउजरमा प्रचण्डका बारेमा ठूला अक्षरमा लेखिएको थियो– ‘प्रधानमन्त्री जसको कुनै बैंक खाता छैन ।’

त्यसो त सीता दाहालको अनुहारमा विरलै मुस्कान देख्नेहरू भन्छन्– उनी अन्तरमुखी स्वभावकी थिइन् । त्यसकारण उनलाई नक्कल झक्कल कहिल्यै मन परेन । व्यक्तिगत घरको रहर कहिल्यै उम्रेन ।

उनी भन्थिन्, ‘जनताले जे देला त्यही खाउँला ।’ यो सादगीपन फिलिपिन्समा लामो समय प्रथम महिला भएकी र अपदस्थ हुँदा सात हजार जोर जुत्ता, ५०८ गाउन र ८८८ लेडिज ब्याग सहितकी इमेल्डा मार्कोसलाई पढेको पुस्ताका लागि साँच्चिकै अपत्यारिलो विषय हो । आज जसरी सत्तामा रहेका नेताका श्रीमतीहरू कुनै न कुनै आरोपमा मुछिएका छन्, सीता दाहाल यसको अपवाद बनिन् । उनलाई जोहोको चेत कहिल्यै पनि आएन । सायद यही कारण प्रचण्ड, प्रचण्ड बन्न सके ।

प्रचण्ड, प्रचण्ड मात्रै बनेनन्, पछिल्लो समय सबैको भरोसा भएका भ्रष्टाचार विरोधी नेताका रूपमा चिनिए । यसको जग सीता दाहालको सादा जीवनप्रतिको निष्ठा पनि हो । यही निष्ठा र त्यागको जगमा फुलेकी एक फूल हुन् सीता दाहाल, जो आमजनमानसको यादमा सधैं फुलिरहने छिन् । माओवादी केन्द्रीय सल्लाहकार रहेकी उनको क्रान्तिकारी सादगीपन उनका गहना हुन् ।

सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?