
३ साउन, काठमाडौं । उच्च शिक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै माध्यममा छाप्न तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दिएको निर्देशन त्रिभुवन विश्वविद्यालयमा थन्किएको पाइएको छ ।
शिक्षा मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख एवं सहसचिव हरिप्रसाद लम्सालका अनुसार तत्कालिन शिक्षामन्त्रीले उच्च शिक्षाको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै माध्यममा छाप्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशनात्मक पत्र पठाएका थिए । तर उक्त पत्र कार्यान्वयन भएको छैन ।
वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाली र अंग्रेजी दुवै माध्यममा प्रश्नपत्र छाप्न निर्देशन दिने तयारी गरेपछि यस अगाडि नै सोही प्रकृतिको निर्देशनात्मक पत्र त्रिभुवन विश्वविद्यालयमा पठाइएको तथ्य खुलेको हो ।
यस विषयमा बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका समेत सांसदहरुले प्रश्न उठाएका थिए । जवाफमा शिक्षा मन्त्रालयका सहसचिव लम्सालले तत्कालिन मन्त्रीबाट पत्र गएको तर कार्यान्वयन नभएको स्वीकार गरे ।
‘एक/डेढ वर्ष अगाडि मन्त्रीज्यूबाट निर्णय गराएर त्रिभुवन विश्वविद्यालयलाई यो व्यवस्था गर्न हामीले के गर्नुपर्छ ? तर यो (नेपाली अंग्रेजी दुवै माध्यमबाट प्रश्नपत्र छाप्ने काम) प्रक्रिया अनुसार गर्नु भनेर पठायौं’, सहसचिव लम्सालले समितिको बैठकमा भने । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल २२ असोज २०७८ देखि १० पुस २०७९ सम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।
यस विषयमा चासो राख्दै सांसदहरुले आफूलाई एसएमएस गरेको समेत सहसचिव लम्सालले जानकारी दिए । ‘माननीयज्यूको एसएमएसपछि टियूको रेक्टरलाई सोधेको थिएँ । उहाँले हाम्रो प्रक्रियामा छ भन्नुभयो’, उनले भने ।
नेपाली र अंग्रेजीमा प्रश्नपत्र छाप्ने विषय शिक्षा मन्त्रालयको चाहना मात्रैले पनि नहुने सहसचिव लम्सालको भनाइ छ । उनी भन्छन्, ‘शिक्षा मन्त्रालयले चाहेरै मात्रै पनि यो निर्णय हुन सक्दैन । एकेडेमिक काउन्सिल छ, सिनेट हुन्छ । तर, माननीय मन्त्रीज्यूले पनि निर्णय गरेर निर्देशनको भाषा दिन सक्नुहुन्छ ।’ संवैधानिक व्यवस्था अनुसार शिक्षामन्त्री त्रिभुवन विश्वविद्यालयमा सहकुलपति हुन् ।
शिक्षा मन्त्रालयका अर्का एक कर्मचारीका अनुसार हालका शिक्षा मन्त्री राईले यस विषयमा मन्त्रालयमा औपचारिक छलफल नै राखेका थिए ।
‘केही दिन अगाडि मन्त्रीज्यूले छलफल राख्नुभएको थियो । सायद केही समयभित्रै मन्त्रीज्युबाट नेपाली र अंग्रेजीमा प्रश्नपत्र छाप्नुपर्ने गरी अर्को निर्देशनात्मक पत्र त्रिभुवन विश्वविद्यालयमा जानेछ’ ती कर्मचारीले अनलाइनखबरसित भने ।
प्रतिक्रिया 4