+
+

गण्डकीमा ६ वर्षको अवधिमा ८ सचिव फेरिए, सबैभन्दा लामो समय बसे रविलाल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ८:०१

५ साउन, पोखरा । संघीयता कार्यान्वयनसँगै गण्डकी प्रदेशमा छैटौं वर्षमा ८ जना सचिव फेरिएका छन् । सुरुका केही वर्ष वर्ष दिन पनि नबसी सरुवा हुने गरेकोमा यसपटक भने रविलाल पन्थ २० महिना प्रमुख सचिव बनेर काम गरे ।

उनी नै हालसम्मको अवधिमा सबैभन्दा लामो समय गण्डकी प्रदेशको प्रमुख सचिवको रुपमा काम गरेको कर्मचारी बने । उनको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

रविलालको ठाउँमा अब महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहसचिवबाट सचिवमा बढुवा भएकी लक्ष्मी बस्नेतले प्रमुख सचिवका रुपमा पदभार सम्हाल्ने छिन् ।

सरकारले बुधबार पाँच जना सचिवको सरुवा र दुई जना हालै बढुवा भएका सचिवको पदस्थापन गरेको थियो ।

रविलालसँगै संघीयता कार्यान्वयनमा आएपछि गण्डकीमा ७ जना सचिव फेरिएका छन् । गण्डकीको सातौं प्रमुख सचिव बनेर आएका रविलालले २०७८ मंसिर १ गते पदभार ग्रहण गरेका थिए । पृथ्वीसुब्बा नेतृत्वको सरकारका पालामा मात्रै ६ जना सचिव फेरिएका थिए ।

तत्कालीन क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले सुरुमा गण्डकी प्रदेशको प्रमुख सचिव बनेर मन्त्रालयदेखि आवास र मातहतका कार्यालय व्यवस्थापनसम्मको नेतृत्व लिएका थिए । १८ माघ २०७४ सालमा नियुक्त भएर ६ असार २०७५ सम्म उनले प्रमुख सचिवको रुपमा झण्डै ५ महिना काम गरे ।

गण्डकीमा सबैभन्दा कम समय प्रमुख सचिव भएर बस्ने व्यक्ति हुन्, नारायणप्रसाद बिडारी । उनी जम्मा २ महिनामात्र रहे । ६ असार २०७५ मा हाजिर भएर १२ भदौमा उनको सरुवा भएको थियो । उनीपछि २०७५ भदौ १४ गते लक्ष्मीराम पौडेल हाजिर भएका थिए । उनी ५ वैशाख २०७६ सालसम्म प्रमुख सचिव रहे ।

१ वर्ष पनि पूरा नहुँदै लक्ष्मीरामको ठाउँमा प्रमुख सचिवको रुपमा हरिप्रसाद बस्याल आए र उनी करिब १६ महिना काम गरेर विदा भए । बस्याल बिदा भएको भोलिपल्ट १२ साउन २०७७ मा विष्णुप्रसाद नेपाल प्रमुख सचिव बनेर आए । उनी २ चैत २०७७ मा अवकास लिएर नेपाल गण्डकी प्रदेशकै लोकसेवा आयोगको अध्यक्ष बने । २८ असार २०७८ मा हाजिरी लिएका दामोदर रेग्मी ३० कात्तिक २०७८ मा सरुवा भएपछि रविलाल प्रमुख सचिव बनेर आएका थिए ।

छिटो–छिटो सचिव, सहसचिव, उपसचिवहरु सरुवा हुने, प्रदेशमा आउनै नमान्ने र आइहाले पनि कम अनुभव भएका आउने गर्दा प्रदेश सरकारले गति नै लिन नसकेको भन्दै पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आक्रोश पोख्ने गरेका थिए । हुन पनि उनको झण्डै साढे ३ वर्षको कार्यकालमा ६ जना सचिव फेरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?