+
+

‘कुवेतमा मरी–मरी बाँचिरहेकी छु’

आफन्तको विश्वासमा पर्दा आज परदेशमा दुःख पाइरहेकी छु । एजेन्टले ६ महिना विताउनु भनेको छ तर, म यहाँ धेरै दिन टिक्न सक्दिनँ । किनकि यहाँ मेरो ज्यानको सुरक्षा नै छैन, जुनसुकैबेला जे पनि हुनसक्छ ।

लुम्बिनी–५, (परिवर्तित नाम) लुम्बिनी–५, (परिवर्तित नाम)
२०८० साउन ५ गते १०:१५

ज्याला मजदुरी गरेर परिवारको गुजारा चलिरहेको थियो । एकदिन प्रेसरले हानेपछि श्रीमान् बिरामी पर्नुभयो । ऋण काढेर उपचार गर्दागर्दै झण्डै १५ लाख रुपैयाँ खर्च भयो । त्यति गर्दा पनि श्रीमानलाई बचाउन सकिएन । २०७७ साल माघमा उहाँकोे मृत्यु भयो । त्यसपछि मेरा थप दुःखका दिन सुरु भए ।

घरमा म सहित १३ वर्षको छोरा र ९ वर्षकी छोरी मात्र भयौं । श्रीमानको मृत्युपछि घरमा सासू–ससुराले हेला गर्न थाले । एकातिर श्रीमानको मृत्युको पीडा थियो, अर्कोतिर उपचार गर्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता । दिन–रात गरेको कामले ऋण तिर्न पनि नपुगेर खान, लगाउन धौ–धौ हुन थाल्यो ।

एकदिन प्युठानका भाञ्जा (नाम खुलाउन नचाहेको) नाता पर्ने थिए, उनले मलाई विदेश जानुस् माइजू भने । महिलालाई घरको काममा विदेश जान पैसा पनि लाग्दैन, घरभित्रको काम हो, दुःख हुँदैन, घरमा गरे जस्तै काम गर्नुपर्छ भनेर मलाई फकाइरहे ।

५० हजार महिनामा कमाइ हुन्छ, त्यो पैसाले ऋण तिर्न पुग्छ, छोराछोरी पढाउन सकिन्छ भनेर सुनाइरहे । ऋणको भारीले थिचेको बेला मलाई पनि हो जस्तो लाग्यो । भञ्जाले नै भनेपछि म उनकै भरमा विदेश जान तयार भएँ ।

भाञ्जाले विदेश कसरी जाने भनेर मलाई केही भनेका थिएनन् । मलाई त कसरी जान्छन् भन्ने पनि थाहा थिएन । भाञ्जा आफैं पासपोर्ट बनाइदिन अघि सरे । काठमाडौंमा लगेर नवीन र माया भन्नेसँग भेट गराइदिए । उनीहरू विदेश पठाउने एजेन्ट थिए । माया भन्ने महिलाले नै मेरो पासपोर्ट बनाइदिइन् । काठमाडौंमा बसेको खर्च पनि तिरिदिइन् ।

प्लेनको टिकट पनि उसैले काटिदिइन् । दुबई भन्ने देशको टिकट हातमा राखिदिंदै मायाले मलाई ‘एयरपोर्टमा सोधपुछ गरे श्रीमानलाई भेट्न जान लागेको’ भनेर भन्न सिकाइन् । मैले उनले सिकाए जस्तै ‘ बिरामी श्रीमानलाई भेट्न जान लागेको’ भनें । त्यसपछि म सीधै दुबई पुगें । पछि थाहा पाएँ मलाई भिजिट भिसामा ल्याएको रहेछ ।

एयरपोर्टमा लिन आएको मान्छेले मलाई सीधै कुवेत लगेर गयो । त्यसपछि मलाई एउटा घरमा राखियो । त्यो घर महिलाहरूलाई विभिन्न ठाउँबाट लुकीछिपी ल्याएर कामदारका रूपमा अरबीहरूलाई बेच्ने अफिस रहेछ । त्यहाँ मजस्तै लुकीछिपी विदेश पुर्‍याएका महिलालाई राखिंदो रहेछ । त्यसपछि अनुहार हेरेर पैसामा कामदार बेच्ने रहेछन् । त्यहाँ धेरै नेपाली महिला पनि थिए । त्यहाँ बसेपछि थाहा पाएँ हामीलाई कसरी पैसामा बेचिंदो रहेछ भनेर ।

मलाई पनि एक जना अरबीसँग नेपाली तीन लाखमा बेचेर पठाइयो । त्यहाँ पुगेपछि मैले पाउनु नपाउनु दुःख पाएँ । मालिक्नी एकदमै रिसाहा । बिहानै पाँच बजे उठेर सुरु भएको घरको काम राति ३ बजे मात्र सकिन्थ्यो । दिनको १८ घण्टा काम गर्नुपर्थ्यो  ।

एकछिन खाली बसेको देख्दा गाली गर्न, कुट्न आइहाल्थे । सुरु–सुरुमा भाषा नबुझ्दा धेरै गाह्रो भयो । भाषा नबुझेर कहिलेकाहीं स–साना गल्तीहरू हुन्थे, त्यो बेला मालिक्नी कुट्न आउँथिन् । दिनरात काम गर्दा सुत्न नपाइने । जम्मा चार घण्टा मात्रै सुत्न पाइन्थ्यो ।

मेरो घरमा साना छोराछोरी एक्लै छन् । छोरी बिरामी भएको खबर पाएकी छु । यो सुनेर रात–दिन मन खाइरहन्छ । यहाँ म मरी–मरी बाँचिरहेकी छु ।

घर मालिक्नीको यातनाले म बिरामी परें । यातनाको कस्तो हुन्थ्यो भने एक पटक चक्कुले हात नै काटिदिइन् । एकदिन बिरामी भएको बेला काम गर्न नसकेपछि म भुईंमा थचक्क बस्न पुगेछु । त्यही रिसमा मेरो कपडा च्यातिदिइन् र आइरनले हातै पोलिदिइन् ।

उनी रिसाएको बेला अगाडि जे भेटिन्थ्यो, त्यसैले हिर्काउँथिन् । उनको यातनाले शरीरभरि नीलडाम हुन्थ्यो । घरमा साना बच्चा थिए, मैले फोन गर्छु भन्दा पनि दिएनन् । साहुको छोरा पागल जस्तो थियो । त्यसको मलाई साह्रै डर लाग्थ्यो ।

त्यहाँ मलाई चार महिना बन्धक जस्तै बनाएर राखे । मालिक्नीको यातनाले हातखुट्टा नै सुन्नियो, काम गर्न नसक्ने भएँ । त्यसपछि उनले मलाई अफिस (महिलाहरू किनबेच गरिने ठाउँ) मै फर्काइदिइन् । उनीहरूले मैले काम गरेको तलब पनि दिएनन् । चार महिना मरिमेटी काम गरें, दुई महिनाको मात्रै तलब दिए ।

अफिसमा मलाई तीन महिना राखियो । त्यो ठाउँ जेल भन्दा पनि खत्तम थियो । खाना पनि नदिने । महिलाहरूलाई कुटेर राख्थे । कति दिनसम्म खान नदिई राख्थे । लुकेर खान्थ्यौं । एकपटक त खाना खान नपाएर तीन दिन भोकै सुतें । कैयौं पटक काँचो चामल खायौं ।

त्यसपछि मैले दलाललाई फोन गरेर मलाई घर फर्काइदेऊ भनें । तर मलाई घर नपठाएर अर्को घरमा पठाइदियो । जहाँ गए पनि दुःख उस्तै हुने रहेछ । अहिले मैले काम गरिरहेको घर दोस्रो हो । यहाँ पनि दुःख उस्तै छ ।

बिहान ८ बजे उठेर राति २ बजेसम्म काम गर्नुपर्छ । कसैसँग फोन सम्पर्क गर्न दिंदैनन् । लुकीछिपी फोन चलाउनुपर्छ । अहिलेकी साहुनीले कुट्ने–पिट्ने त गरेकी छैनन् तर, उनकी आमा चाहिं पागल जस्तै छिन् ।

यहाँ घरेलु काम गर्न ल्याइएका महिलालाई मान्छेको जस्तो व्यवहार गर्दैनन् । यहाँ दुःख पाएका दिदीबहिनी कति छन्, कति । कोही यतै मारिएका छन् । कोही बेपत्ता पारिएका छन् । कति बेला के हुन्छ थाहा छैन ।

मेरो घरमा साना छोराछोरी एक्लै छन् । छोरी बिरामी भएको खबर पाएकी छु । यो सुनेर रात–दिन मन खाइरहन्छ । यहाँ म मरी–मरी बाँचिरहेकी छु । यसरी अवैध रूपमा जाँदैछु भन्ने थाहा थिएन । थाहा भएको भए म आउने नै थिइनँ ।

आफ्ना मान्छे (भाञ्जा) को विश्वासमा पर्दा आज परदेशमा दुःख पाइरहेकी छु । एजेन्टले ६ महिना विताउनु भनेको छ । तर, म यहाँ धेरै दिन बस्न सक्दिनँ, यहाँ मेरो ज्यानको सुरक्षा छैन । जुनसुकै बेला जे पनि हुनसक्छ । दलाललाई घर फर्काइ दे भन्दा उसले (माया भन्ने दलाल) तीन लाख चाहिन्छ भन्छे । त्यत्रो पैसा मसँग भएको भए म किन यहाँ आउँथे र ? जसरी हुन्छ म घर फर्किन चाहन्छु ।

(२०७९ कात्तिकमा कुवेतमा घरेलु कामदारका रूपमा  पुर्‍याइएकी दाङ देउखुरीकी पीडित महिला लुम्बिनी–५ (परिवर्तित नाम) सँग फेसबुक म्यासेन्जरबाट अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?