+
+

बिच भलिबल टोलीलाई नगदसहित सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ६ गते ९:१४

६ साउन, काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली भलिबल टोली सम्मानित भएको छ ।

नेपाल भलिबल संघले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदक विजेता महिला र पुरुष टोलीलाई सम्मान गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पदक विजेता महिला टोलीका कोपिला उप्रेती र कमला पुन तथा पुरुष टोलीका दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो ।

उनीहरूलाई नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सोही अवसरमा टोलीका प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुन मगरलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

सन् २०२२ को डिसेम्बर २८ देखि ३० तारिखसम्म बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले रजत पदक जितेका थिए । च्याम्पियनसिपमा महिलामा पाँच र पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

संघका महासचिव रोशनबहादुर श्रेष्ठले विभिन्न प्राविधिक कारणले पदक विजेता खेलाडीलाई पुरस्कार दिन ढिलाइ भएको उल्लेख गर्दै आगामी दिनमा समयमा नै खेलाडी प्रोत्साहनका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

टोलीकी व्यवस्थापक जुनु पुनमगरले आफूले पाएको पुरस्कार रकम १९औं एसियाडको तयारीमा रहेका खेलाडीका लागि खर्च गर्ने घोषणा गरिन् ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलाडीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सम्मान र पुरस्कार आवश्यक रहेको उल्लेख गर्दै राज्यको तर्फबाट पनि यस्ता कार्यक्रम उचित समयमा हुनुपर्ने बताए ।

साथै कोइरालाले नेपालको राष्ट्रिय खेल भलिबलबाट आम मानिस र राज्यले नै ठूलो आशा र भरोसा गरेको उल्लेख गर्दै अन्य खेलको तुलनामा नेपालको भलिबलले धेरै पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘राज्य र आम समर्थकले नै राष्ट्रिय खेल भलिबलबाट धेरै आशा राखेको छ । सोहीअनुरूप संघले काम गरिरहेको छ भन्ने मैले बुझेको छु,’ कोइरालाले भने, ‘राखेपको तर्फबाट पनि जिम्मेवार हुनुपर्ने काम गर्न हामी प्रतिबद्ध छौं ।’

संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले आगामी १९औं एसियाडका लागि नेपालको महिला र पुरुष दुवै टोलीलाई राखेपले समावेश गरेकोमा आभार व्यक्त गरे ।

उनले भलिबलका लागि पाँच हजार दर्शक क्षमता भएको कभर्डहल निर्माण गर्ने उद्देश्यअनुरूप आफ्नो कार्यसमिति लागिपरेको र त्यसमा राखेपको पनि सहयोग भइरहेको बताए ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउमा सहरमा हुने १९औं एसियाडमा नेपालका २९ खेलमध्ये नेपाली महिला तथा पुरुष भलिबल टोली पनि सहभागी हुनेछन् । सोही एसियाडका लागि नेपाली टोलीले हाल तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?