+
+

बीपीले देखेको कांग्रेस र देश

पार्टीभित्र र बाहिर सुकिलामुकिला नै हावी हुन थालेका छन्। बीपीको ‘प्रजातान्त्रिक समाजवाद’ लत्याएर अनुचित लेनदेन गर्नेहरूको नियन्त्रणमा पार्टी गइरहेको स्पष्ट देखिन्छ।

लक्ष्मी पाण्डे लक्ष्मी पाण्डे
२०८० साउन ६ गते १३:०६

तत्कालीन समयमा दक्षिणएसियामै ‘अग्लो’ पहिचान बनाएका जनप्रिय नेता बीपी कोइरालाको ४१औं स्मृति दिवस मनाउने तर्खरमा छौं । सधैंझैं यसपटक पनि सामाजिक सञ्जालमा पोस्ट्याउन हतारो गर्ने र मैनबत्ती बालेर महामानव बीपीलाई सम्झनामै सीमित पार्ने जोखिम उत्तिकै छ।

अपवादबाहेक ‘कांग्रेस’ भएकैले औपचारिकताको लागि बीपी सम्झने र उनको गीत गाउनेहरूको कमी पार्टीभित्र छैन। बीपी विचार हैन, नामको लेपन लगाएरै कांग्रेस भइटोपल्नेहरू थुप्रै देखिन्छन्। त्यसैले आजको दिन बीपीको विचार र उनको सपनाको कांग्रेस कस्तो थियो भनेर बहस गर्न आवश्यक छ।

सरल भाषामा भन्दा बीपी नेपाली कांग्रेसका मात्र नेता थिएनन्, समग्र नेपालीका लागि राजनेता थिए। २००३ सालमा उनको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो। जसलाई २००५ सालमा सुवर्णशमशेरको नेतृत्वमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेससँग एकीकरण गरेर २७ चैत २००६ मा नेपाली कांग्रेस बनाइएको थियो। एकीकृत पार्टी घोषणालगत्तै राणाशासन विरुद्ध सशस्त्र क्रान्तिको घोषणा गरेका बीपी लगायत नेताहरूले अन्ततः २००७ सालमा प्रजातन्त्र स्थापना गराइछाडे।

यो समग्र आन्दोलन बीपी कोइरालाको नेतृत्वमा भएको थियो। बीपी आफूमा स्पष्ट थिए। विकासका रणनीतिहरू खुलेर राख्थे। उनका विकासको रणनीतिहरूमा गाउँले प्राथमिकता पाउँथ्यो। उनले भनेका छन्, ‘नेपाल गाउँमा बस्दछ, यसको गरिबी त्यहीं छ। हामी तबसम्म गरिबीको समस्या बुझ्न सक्दैनौं, जबसम्म हामीहरू गाउँहरू र त्यसमा बसोबास गर्ने मानिसहरूका बारे सचेत हुँदैनौं। त्यसैले विकासको रणनीति बनाउँदा तीनवटा आधारलाई मध्यनजर राखेर बनाउनुपर्छ। ती हुन्- गाउँमुखी, विकेन्द्रीकरण र श्रमप्रधान।’

बीपी कार्यकर्तासँग नजिक थिए। उनले कार्यकर्तालाई सम्झाउने गरेको, आफ्ना अनुभूति बाँडेर सही मार्गदर्शन गरेको कुराहरू हामीले पढ्न पाउँछौं। प्रजातान्त्रिक समाजवाद भन्ने बीपीलाई कार्यकर्ताले ‘तपाईंको समाजवाद र कम्युनिस्टको साम्यवादको भेद के छ’ भन्दै सधैं प्रश्न गरिरहन्थे। उनी सम्झाउँथे– समाजवादबाट स्वतन्त्रता र मौलिक हक मिल्काएपछि त्यो साम्यवाद हुन्छ।

बीपी कोइरालाको आत्मवृत्तान्त पढ्दा उनको जीवनका उतारचढाव बुझ्न सकिन्छ। तर उनले कैयौं पटक आर्थिक संकट झेल्दा समेत सिद्धान्तलाई बिक्रीमा राखेनन्। बरु भूमिसुधार र औद्योगिक विकास गरेर निम्नमध्यम वर्गका नेपाली जनतालाई मध्यम वर्गमा उत्थान गर्न प्रयास गरे।

तर राजा महेन्द्रको ‘कु’को कारण उनको योजनामा ब्रेक लाग्यो। उनको मुख्य सपना थियो– राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, सांस्कृतिक विविधतामा एकता र स्वाभिमानी समतामुखी नागरिक र देश।

‘मन्त्री होऔंला, ठूलाठूला कुर्सीमा बसौंला भनेर हामी राजनीतिमा लागेका होइनौं । खान नपाएको पेटले अन्न पाओस्, हाँस्न नपाएका ओठमा हाँसो छाओस्, केटाकेटीले पढ्न पाउन्, रोगीलाई औषधिमूलोको व्यवस्था होस् भनेर हामी राजनीतिमा लागेका हौं’, बीपीले भनेका छन्।

अराजकतावादी साहित्यकारको पहिचान बनाएका बीपीको साहित्य पनि कम छैन। उनको कृति ‘सुम्निमा’मा कोशी छेउछाउको वातावरण पाउँछौं। त्यस्तै ’नरेन्द्र दाइ’मा तराईको वस्तुस्थिति। साहित्यमा पनि समाजका मुद्दाहरूलाई उठाएका छन्।

अहिले राष्ट्रवादको धङधङी चरम भएको समयमा हामीले बीपीको अन्तर्राष्ट्रिय सम्बन्ध बारेको धारणा बुझ्न आवश्यक छ। उनी हाम्रा दुवै निकट छिमेकीलाई लिएर सचेत थिए। पटकपटक भन्ने नै गर्थे– हामीलाई भारत र चीन दुवैको सहयोग चाहिन्छ। भौगोलिक र सांस्कृतिक रूपमा भारतसँग हाम्रो घनिष्टता छ तथापि चीन समेत हाम्रो आत्मीय छिमेकी हो। हामीले दुवै छिमेकीको चित्त दुखाउनुहुँदैन।

अहिले आफ्नो स्वार्थअनुकूल राष्ट्रवादको ‘मादल’ बजाउनेले यी कुरा बुझ्न आवश्यक छ। हुन त बीपी कोइरालाले उहिले भन्नुभएको थियो, प्रजातन्त्र आएपछि सुकिलामुकिला हाबी हुनेछन् र फेरि तिनीहरूका विरुद्धमा संघर्ष गर्नुपर्नेछ।

नभन्दै अहिले परिस्थिति त्यस्तै बनेको छ। पार्टीभित्र र बाहिर सुकिलामुकिला नै हाबी हुन थालेका छन्। बीपीको ‘प्रजातान्त्रिक समाजवाद’ लत्याएर अनुचित लेनदेन गर्नेहरूको नियन्त्रणमा पार्टी गइरहेको स्पष्ट देखिन्छ। नेपाली कांग्रेसभित्र आज आएर मात्र समस्या निम्तिएको हैन। यसअघि पनि थुप्रै समस्याबाट गुज्रिएको छ। जस्तो आजभन्दा करिब ६६ वर्ष अगाडि नै यसलाई संकेत गरेर बीपीले लेखेका थिए।

उनले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै कांग्रेस कार्यकर्ताका सात खराबीको चर्चा गरेर एउटा पत्र लेखेका थिए। उनको पत्रको आशय यस्तो थियो–

नेपाली कांग्रेसउपरको ऐतिहासिक उत्तरदायित्वको कुरा जहाँ पनि पार्टीका साथीहरूले गरेको म सुन्दछु। यो ऐतिहासिक उत्तरदायित्व के हो ?

– क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य थियो प्रजातन्त्र। साधनको उपलब्धिको उमंगमा हामीले यस महत्वपूर्ण कुरालाई बिर्सियौं र अझै सोही गल्ती गर्दछौं। यसले गर्दा देश प्रजातन्त्रको मार्गमा चाहिने जति अघि बढ्न सकेन।

– प्रत्येक प्रश्नउपर हामी आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौं। आफ्ना चाहना र बानी अनुसार हामी राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौं। हाम्रा धेरैजस्तो निर्णयहरू हाम्रा व्यक्तिगत चाहना वा रूचि वा अरूचिका छायाँ मात्र हुन जान्छन्। यसलाई हामीले हटाउनु छ। 

हामीमा आफ्नो जिम्मेदारीप्रतिको उत्तरदायित्व कम छ। यद्यपि जिम्मेदारीको काम उठाउने बारेको हाम्रो चाख कम छैन।  हामी बढ्ता जनतामा भिज्दैनौं र जनताका र हाम्रा बीचको सीमा आज दिनप्रतिदिन बढ्दो छ। यो हाम्रो अर्को दुर्गुण हो। हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्दछौं। 

साथीहरूमा अध्ययनको ठूलो कमी छ। इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पहिल्याउनुपर्दछ। हामीले यो गर्दैनौं।

बीपीले उदाहरणको रूपमा पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरैलाई आफूले देखेको बताएका थिए। संयोग भन्नुपर्छ, आज पनि यस्ता कार्यकर्ताहरूको हालीमुहाली पार्टीभित्र कायमै छ। शिरदेखि पुच्छर अधिकांश पाटो कमजोर भएको अवस्था छ।

हाल चलिरहेको पार्टीको केन्द्रीय समितिको बैठकमा आइरहेको अभिव्यक्तिले पनि पार्टीभित्रको अवस्था के छ भनेर देखाइरहेको छ। गुटबन्दीबाट ग्रस्त नेता, कार्यकर्ता अहिले पनि आरोप–प्रत्यारोपमा व्यस्त छन्। जबकि नेपाली कांग्रेसको नीति स्थापनाकालदेखि नै समाजवादी राजनीतिक दर्शनबाट प्रेरित रह्यो।

नेपाली कांग्रेसले राजनीतिक स्वतन्त्रता, आर्थिक न्याय, समाज कल्याण एवं समानतामा आधारित दर्शनलाई आफ्नो मूल सिद्धान्तको रूपमा अपनाएको थियो। वीरगञ्जमा सम्पन्न पार्टीको छैंटौं महाधिवेशनले प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता विधिवत् रूपमा घोषणा गरेको थियो।

बीपीलाई आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त हो र यो प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो। राजनीतिमा नैतिकता बाधा मात्र छ भनेर भनिरहँदा उनी भने ‘राजनीति र नैतिकताको एक उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको’ बताउँथे।

उनले भनेका छन्– ‘म चाहन्छु कि देशको राजनीतिमा अग्रणी हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग यहाँ प्रारम्भ गरोस्। र कसले भन्न सक्छ कि यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलिने छैन?’

देश र पार्टीलाई लिएर उनको अपेक्षा थियो– ‘नेपाली कांग्रेस यदि नेपाली जनताको वास्तविक प्रतिनिधि हो भने यो निरोग र स्वस्थ रहेमा क्रमशः हाम्रो देशको एक–एक रोग र व्याधी आफैं हट्दै जाने छन् र कालान्तरमा यो देश विश्वका अरू देशसरह व्यवस्थित र उन्नतिशील भएर जानेछ।’

हामीले बीपीको यी कुरालाई मनन गरेर अघि बढ्न आवश्यक छ।

(लेखक नेपाली कांग्रेसको नेतृ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?