+
+

घरमा जन्मदिन मनाउने तयारी थियो, रोहितको मृत्युको खबर आयो

हरि अधिकारी हरि अधिकारी
२०८० साउन ६ गते १९:३८

६ साउन, विराटनगर । विराटनगर महानगरपालिका– ५ का रोहित चौधरीको शुक्रबार जन्मदिन थियो । २८ औं जन्मदिनको दिन उनी बिहान मन्दिर गए । परिवारका सदस्यलाई मिठाई बाँडे । बेलुका जन्मदिन मनाउने तयारी थियो ।

विहान करिब साढे ११ बजे साथीसँग घुम्न निस्किएका रोहित फर्किएपछि जन्मदिन मनाउने भनेर परिवारका सदस्यले तयारी सुरु गरेका थिए ।

तर रोहित फर्किएनन्, परिवारले उनको मृत्युको खबर पायो । खबर पाएपछि आफन्त भावविह्वल छन् । आमा अर्थचेत छिन् । शनिबार दिउँसो उनको शव ल्याउनु भन्दा अगाडिसम्म आमा जानकीलाई रोहित घाइते भएको र उपचार भइरहेको भनिएको थियो, मृत्युको खबर सुनाइएको थिएन ।

मृत्युको खबर सुनेर रोहितको घरमा आएका छिमेकीलाई पनि फुफुदिदी शान्ता चौधरीले आमालाई रोहितको उपचार हुँदैछ भनिदिन आग्रह गर्दै थिइन् । ‘रोहितको उपचार हुँदैछ भनेर आमालाई ढाँटिरहेका छौं,’उनले भनिन्, ‘हामीलाई पनि विश्वास लागिरहेको छैन कसरी यस्तो घटना भयो ।’

रोहित पाँच वर्षदेखि नोबेल मेडिकल कलेजमा काम गर्थे । साथीसँग मूलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती पुलको दक्षिणतर्फ चौधरीमाथि तीन जनाको समूहले गोली प्रहार गरेको थियो ।

रोहित चौधरी

विलुका करिब साढे ५ बजे पानी खानका लागि मोटरसाइकल रोकेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका रोहितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीसँगै घुम्न गएकी साथी सामान्य घाइते छिन् ।

रोहितकी फुपु दिदी शान्ता चौधरीका अनुसार परिवारका तीन छोरामध्ये रोहित जेठा हुन् । शुक्रबार बेलुका नोबेल मेडिकल कलेजमै काम गर्ने काकाकी छोरीले रोहितमाथि गोली प्रहार भएको खबर पाइन् । उनैले रोहितको घरमा खबर गरिदिइन् ।

रोहितलाई किन गोली हानियो भन्नेमा परिवारका सदस्य अनविज्ञ छन् । ‘त्यो बाटो त चलेकै बाटो हो, दिउँसै त्यस्तो घटना हुनु अचम्म जस्तै लागिरहेको छ’, शान्ताले भनिन्, ‘घटना किन भयो गर्ने र देख्नेलाई थाहा भयो होला ।’

रोहितको हत्याको खबर पाएपछि उनको परिवार र टोल शोकमा डुबेको छ । उनका बुबा काठका मिस्त्री हुन् । उनका हजुरबुबा रामबहादुर चौधरी प्यारालाइसिसका कारण १७ वर्षदेखि हिँडडुल गर्न सक्दैनन् ।

शुक्रबार बेलुका सेउती पुल नजिकै मोटरसाइकल रोकेको अवस्थामा तीन जनाको समूहले उनीमाथी गोली प्रहार गरेको थियो । लुटपाटका लागि आएको समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ । लुटपाटपछि हत्यामा संलग्नको खोजी भइरहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।

सुनसरीको इटहरी–धरान सडक खण्डको जंगल क्षेत्रमा लुटपाटको प्रतिकार गर्दा चौधरीमाथि गोली प्रहार भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?