+
+

विश्व खाद्यको नक्कली कार्यालय नै खडा गरेर ठगी

टेण्डर खोलेर पैसा नदिएपछि समातियो गिरोह

गौरव पोखरेल गौरव पोखरेल
२०८० साउन ८ गते २१:५३
बुढानीलकण्ठस्थित डब्लुएफपीको नक्कली कार्यालय ।

८ साउन, काठमाडौं । ठगीमा संलग्न एउटा गिरोहले बूढानीलकण्ठमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय खडा गरेको भेटिएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ मा विष्णुबहादुर गुरुङको दुई तले पक्की भवन भाडामा लिएर कार्यालय खोलेको जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त, महाराजगञ्जले गरेको अनुसन्धानबाट देखिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, डब्लूएफपीको नक्कली कार्यालय खोलेर ठगी गरेको पाइएपछि दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका बस्ने ४७ वर्षीय घनश्याम कटवाल र मकवानपुरको बागमती गाउँपालिका–९ घर भई बूढानीलकण्ठ–५ؘ बस्ने ४० वर्षीय दिनेश भनिने लीलाबहादुर घलान छन् ।

यसमा संलग्न मकवानपुरको भीम भोलन, मिलन तामाङ, पेम्बा तामाङ लगायत फरार छन् । प्रहरीका अनुसार, उनीहरुको साथबाट राष्ट्रिय झण्डा, डब्लूएफपीको लेटर प्याड लगायतका सामग्री पनि बरामद भएको छ ।

प्रहरीका अनुसार, उनीहरुले १ जेठ २०८० देखि डब्लूएफपीको नक्कली कार्यालय खडा गरेको भेटिएको छ । एसएसपी कार्कीका अनुसार, जयराम केसी नाम राखेर घनश्याम कटवालले आफैंलाई उपसचिव घोषणा गर्दै कार्यालयमा प्रमुखका रुपमा बसेको पाइएको छ ।

ठगीमा संलग्नहरुले प्रयोग गरेको डब्लुएफपीको नक्कली लोगो ।

‘उनले पेम्बा तामाङलाई शाखा अधिकृत, आकाश राईलाई जनसम्पर्क अधिकृत र दिपेश गुरुङलाई प्राविधिक इञ्जिनियर भनेर राखेका छन्’, कार्कीले भने, ‘तर यी सबै फेक नाम हुन् ।’ दिपेशको सक्कली नाम भीम भोलन र आकाशको मिलन तामाङ सक्कली नाम हो ।

प्रहरीका अनुसार, उनीहरुले डब्लूएफपीको नाममा एक पत्रिकामा विभिन्न सामग्रीका लागि टेण्डर खुलाएका थिए । फर्निचर, कम्प्यूटर लगायतका सामग्रीका लागि बोलपत्र खुलाएर ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम नतिरेपछि पीडितहरु प्रहरीसम्म पुगेका थिए ।

त्यसक्रममा प्रहरी वृत्त, महाराजगञ्जको टोलीले छानबिन थाल्दा कार्यालय नै नक्कली भएको पाइएको थियो । एसएसपी कार्कीका अनुसार, यो गिरोहलाई पत्याएर शंकर अर्यालले आफ्नो गाडी भाडामा दिएका थिए । उनीबाट गिरोहले ६ लाख १२ हजार ५ सय रुपैयाँ ठगी गरेको छ ।

घर धनी विश्वबहादुर गुरुङले पनि प्रति महिना १ लाख ८० हजार रुपैयाँका दरले भाडा दिने भन्दै ठगी गरेको व्यहोरासहित प्रहरीसमक्ष जाहेरी दिएका छन् । बोलपत्र पत्रिकामा पढेर दरखास्त दिएर डेस्कटप कम्युटर, ल्यापटप लगायतका सामानहरु दिँदा हरिप्रसाद अर्याल पनि ठगिएका छन् । उनको ४८ लाख रुपैयाँ बराबरको बोलपत्र स्वीकृत भएको पत्र नक्कली कार्यालयको लेटर प्याडमा दिइएको थियो ।

उक्त कार्यालयका लागि नवराज पाण्डेबाट ८५ लाख रुपैयाँ बराबरको स्टेशनरी सामान लगेको पाइएको छ । कार्यालय स्थापनाका लागि भन्दै दिपेन्द्र धरेलको पसलबाट कार्पेट, पर्दा, कुर्सी, टेबल, दराज लगायतका सामानहरु गरेर १५ लाख ६० हजार ३ सय रुपैयाँ बराबरको सामान फिट गर्न लगाएको समेत पाइएको छ ।

गणेश शाहले युनिफर्मको कपडा र खाद्यान्न टेन्डरवापत राखेको ११ लाख २७ हजार रुपैयाँ पनि गुमेको छ । विष्णु अर्यालले आफ्नो कार गिरोहले भाडामा लगेर ठगेको भन्दै जाहेरी दिएका छन् ।

पुरानै नटवरलाल

हाल प्रहरी नियन्त्रणमा रहेका कटवाल यसअघि पनि ठगीमा संलग्न रहेको अधिकृतहरु बताउँछन् ।

एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नेपालस्थित प्रमुख रहेको भन्दै करोडौं ठगी गरेको आरोपमा प्रहरीको तत्कालिन महानगरीय अपराध महाशाखाको टोलीले उनलाई २६ असार २०७७ मा पनि पक्राउ गरेको थियो ।

त्यसबेला उनले टोखाकी हिरामाया तामाङलाई ग्रामीण विकास परियोजना अनामनगरमा ५ करोड रुपैयाँको ठेक्का परेको र त्यसमा ५० प्रतिशत हिस्साको पार्टनर बनाउने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोप थियो ।

उनले अन्य व्यक्तिबाट पनि अहिलेको जस्तै शैलीमा कम्तीमा एक करोड रुपैयाँ ठगी गरेको प्रहरीको निष्कर्ष थियो ।

छुटेपछि उनी फेरि ठगीमै संलग्न भएको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । एसएसपी कार्कीका अनुसार, उनले तराईका विभिन्न जिल्लामा आफू पूर्वप्रमुख जिल्ला अधिकारी, पूर्वप्रहरी महानिरीक्षकदेखि पूर्वसचिव र उपसचिव हुँ भन्दै ठगी गरेको समेत पाइएको छ ।

‘हाल उनलाई भक्तपुरबाट पक्राउ गरेर ठगीसम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन म्याद लिएका छौं’, एसएसपी कार्की भन्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?