
८ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताएका छन् । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनले सो प्रतिक्रिया दिएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरु सहभागी हुनु खुशीको कुरा भएको बताए ।
उनले भने, ‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ । खुशी पनि लागेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नेतृत्वमा सरकार छ । र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ । अरु समाजवादी पार्टीहरु पनि सबै हुनुहुन्छ । र, एउटा लडाइँ जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो ।’ उनले भने ।
भ्रष्टाचार विरोधी लडाइँमा सरकार आफैं सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दावी समेत गरे ।
‘हामीले भनेका छौं-सरकारले त्यो लडाईँ लडनु पर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र, हामीले दिएका पनि छौं । यो सही कुरा हो ।’ उनले भने ।
उनले श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेकोसमेत बताए । उनले भने, ‘स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए शायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भइरहेको छ ।’
उनले दलाल पूँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकीर समेत गरे । यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उनको बुझाइ थियो ।
प्रतिक्रिया 4