+
+

आमाले बनाएकी गोलकिपर

नमिता दाहाल नमिता दाहाल
२०८० साउन ८ गते १९:३६

८ असार, काठमाडौं । रौतहटको चन्द्रानिगाहपुरकी अञ्जना राना मगरले १४ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यु गरिन् । ७ वर्षदेखि राष्ट्रिय टिममा रहे पनि उनले वर्षमा दुई वटा खेलमा पनि पोस्ट सम्हाल्न पाएकी छैनन् । सधैं टिममा परेर पनि पहिलो रोजाइमा खेल्न विरलै अवसर पाउने उनको नियति बेञ्चमा बसेर प्रतिस्थापनको मौका कुर्नु नै हो ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिला तुम्बापो सुब्बाले नियमित रूपमा पोस्ट सम्हाल्ने अवसर पाइरहँदा अञ्जना वैकल्पिककै रूपमा रहनु परेको छ । बेञ्चमा उनले धैर्य गरेर खेल्ने अवसर कुर्नु परेको छ । ‘अहिलेसम्म धैर्य गरिरहेकै छु, ७ वर्ष भयो, कहिलेकाहीं दिमागमा सधैं यस्तै हो कि भन्ने सोच आउँछ’, उनी भन्छिन् ।

तर पनि निराश हुन्नन् । वैकल्पिक नै रहे पनि जति बेला उनले मौका पाउँछिन्, त्यति बेला आफूलाई प्रमाणित गर्दै आएकी छिन् । ‘मौका पाएको बेलामा म कसैलाई भन्ने अवसर दिन्नँ, किन यो दोस्रो रोजाइमा परेकी रहिछ भन्ने मौका नै दिन्नँ, किनकि पाएको बेलामा मैले गरेर देखाउँछु भन्ने नै हुन्छ ।’

उनले भने जस्तै मौका पाएको बेला गरेर देखाएकी छिन् । असारको अन्तिम हप्ता साफ च्याम्पियन बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदा अञ्जनाले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरिन् । उनले बंगलादेशका दुई खेलाडीको पेनाल्टी बचाइन् ।

अञ्जनाले सामसुन्हारको पहिलो प्रहार बचाउन सकिनन् । तर शेउली अजिमको दोस्रो र मारिया मान्डाको तेस्रो बल बचाइन् । उनकै प्रदर्शनको मद्दतमा उक्त खेलमा बंगलादेशलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै नेपालले शृंखला जित्यो । टाइब्रेकरमा पुग्नुअघि दुवै टिमले गोल गर्न सकेका थिएनन् । यी दुईले पहिलो खेल भने १–१ को बराबरी गरेका थिए ।

‘पहिलो खेलमा मौका पाइनँ । दोस्रो खेलमा मौका पाएँ भने गरेर देखाउँछु भन्ने थियो’ कप्तान एञ्जिलालाई प्रतिस्थापन गर्दै मैदान छिरेकी अञ्जनाले भनिन्, ‘दोस्रो खेलमा मौका पाएँ । देखाउन पनि पाएँ । खुसी छु ।’

हुन त खेल टाइब्रेकरमा पुगेमा अञ्जनालाई नै पोस्टको जिम्मेवारी दिने पूर्वतयारी थियो । जसका लागि उनीमाथि प्रशिक्षक अनन्त थापा र नेपाली टिमले पूरा विश्वास गरेको थियो ।

‘टाइब्रेकर भयो भने मलाई छिराउने भन्ने योजना थियो । त्यसैले म पहिलादेखि नै तयार पनि थिएँ’ उनले भनिन्, ‘मैले मौका पाएँ भने, म मेरो देशको लागि जित दिलाउँछु भन्ने थियो । मौका पाएँ, जिताउन पनि पाएँ ।’

शेउली अजिमको प्रहार बचाएपछि नेपालका लागि तेस्रो पेनाल्टी हान्न उनी नै अघि सरिन् । तर उनको प्रहार बारमा लाग्दै बाहिरियो । ‘मैले सायद हतार गरें, दोस्रो पेनाल्टी बचाएपछि लगत्तै मैले पेनाल्टी नलिएको भए राम्रो हुन्थ्यो’, आफ्नो प्रहार चुक्नुको कारण खुलाइन् उनले, ‘म त्यति बेला नर्भस थिएँ । त्यही भएर पनि मैले गोल गर्न सकिनँ । मैले अर्को पटकको पेनाल्टी लिएको भए हान्न सक्थें कि ? यो एउटा सिकाइ भएको छ ।’

साफमा खोसिएको साख फर्काउने मौका थियो नेपालका लागि बंगालदेशसँगको मैत्रीपूर्ण खेल । भदौमा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा ३–१ ले हराउँदै बंगलादेशले उपाधि उचालेको थियो । त्यसको बदला लिन पाएकोमा नेपाली टिम खुसी छ । ‘त्यो एकदमै खुसीको पल थियो । हामीले साफमा जसरी घरेलु मैदानमा डोमिनेट भएर उपाधि गुमाएका थियौं त्यसरी नै हामीले उनीहरूलाई घरेलु मैदानमा डोमिनेट गरेर उपाधि ल्याउन पाउँदा खुसी लाग्यो ।’

उमेर समूहबाट खोलेको राष्ट्रिय टिमको ढोका

रौतहटमा जन्मिएकी उनले विद्यालयस्तरको फुटबल प्रतियोगिताबाट खेल्न सुरु गरेकी हुन् । ११ वर्षको उमेरबाट आमाको इच्छाले फुटबल खेल्न सुरु गरेकी उनले त्यसको ३ वर्षमै राष्ट्रिय टिममा मौका बनाइन् ।

घरबाट २ किलोमिटर टाढाको मैदानमा उनलाई फुटबल खेल्न लैजाने उनकी आमा सुशीला थिइन् । ‘मलाई फुटबलमा इच्छा थिएन । घर छिमेकका दिदीहरू फुटबल खेल्न जाँदा ममीले उनीहरूलाई मलाई पनि लैजान भन्नुहुन्थ्यो । तर म जाँदिनथें’ उनले बाल्यकाल सम्झिन्, ‘पहिलो पल्ट ममीले नै मलाई साइकलमा राखेर मैदानसम्म पुर्‍याउनुभएको हो ।’

घरकी कान्छी छोरी अञ्जनालाई सुशीलाले आफ्नै रहरमा फुटबल खेलाइन् । आमाको करमै फुटबलको मैदान पुगेकी अञ्जनालाई सुरुमा कर लागे पनि फुटबल रहर भयो । खेल्दै जाँदा अञ्जनाको मन फुटबलमै बस्यो ।

सुरुमा खेल्दा उनलाई अगाडि बस्ने गोल हान्ने रहर थियो, उनको उचाइ देखेर प्रशिक्षकले गोलकिपर बन्न हौस्याए, आमालाई सम्झाए । ‘मलाई गुरुले तिम्रो उचाइ राम्रो छ, गोलकिपर खेल्नुपर्छ भनेर सम्झाएपछि मैले गोलकिपर खेल्न थालेकी हुँ’ उनले भनिन्, ‘किपरमा पनि मैले ममीकै कारणले खेलेकी हुँ ।’

विद्यालयमा सँगै पढ्ने साथीहरूसँग फुटबल मैदानमा पनि भेट हुन थालेपछि उनलाई फुटबल छाड्नै मन लागेन । दुई दाजु र एक दिदी पछिकी प्यारी बहिनी अञ्जनाले पहिलो पटक खेलेको प्रतियोगिता कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगिता थियो । जुन खेल उनले रौतहटको जनज्योति माध्यमिक विद्यालयबाट खेलेकी थिइन् ।

यू–१४ छनोटमा उनले रौतहटबाट मौका पाउने सम्भावना थिएन । महिला फुटबलको उत्पादन हब रहेको रौतहटमा त्यति बेला उनी भन्दा सिनियर दुई गोलकिपर थिए । त्यसैले उनी छनोट खेल्न सर्लाही पुगिन् । सर्लाहीबाट छनोट भएर उनले काठमाडौं आउने मौका पाइन् ।

उनले भनिन्, ‘म ढिलो प्रशिक्षणमा गएको थिएँ । त्यति बेला रौतहटमा धेरै खेलाडी हुने, अनि सर्लाहीमा खेलाडी खासै नहुने भएकाले रौतहटकै टिम ए रौतहटबाट र टिम बी सर्लाहीबाट खेल्ने भन्ने हुन्थ्यो । मैले सर्लाहीबाट यू–१४ छनोट खेलेर त्यहींबाट छनोट भएर काठमाडौं आएको हो ।’

छनोट प्रतियोगिताले नै उनका लागि काठमाडौं आउने बाटो खोल्यो । सोही खेलबाट नै उनी २०१६ मा यू–१४ टिममा संलग्न भइन् । यू–१४ प्रतियोगिता खेलेर आएपछि उनी घर फर्किइन् । घर फर्किएपछि लगत्तै आइरहेको प्रधानसेनापति कप खेल्न रौतहटकी पहिलो रोजाइकी सिनियर किपर चोटग्रस्त हुँदा उनले रौतहटबाट नै खेल्ने मौका पाइन् ।

‘त्यहाँ दिदी इन्जोर्ड हुँदा मैले मौका पाएँ । त्यो खेलमा हामीले आर्मीसँग खेल्दा २–२ को बराबरी भयो । टाइब्रेकरमा खेल पुगेको थियो जसमा मैले आर्मीको दुई वटा पेनाल्टी सेभ गरेकी थिएँ, खेल हामीले जित्यौं । सोही खेल नै मेरो लागि राष्ट्रिय टिममा र आर्मीको टिममा आउने माध्यम बन्यो’, अञ्जनाले भनिन् ।

यू–१४ मा ताजकिस्तानको यात्राले अञ्जनालाई प्रशस्त ‘एक्सपोजर’ दियो । त्यसपछि उनी नियमित रूपमा रौतहटबाट खेल्न सुरु गरिन् । जिल्ला फुटबलमा रहँदा उनलाई पहिलो प्रशिक्षण दिने गुरु हुन् स्वर्गीय शेरबहादुर दर्लामी ।

राष्ट्रिय टिममा डेब्यु गर्ने कान्छी खेलाडी

सन् २०१६ मा एन्फा कम्प्लेक्सस्थित मलेसियासँगको मैत्रीपूर्ण खेलमा अञ्जनाले १४ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

राष्ट्रिय टिमकी पहिलो रोजाइको गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई ७५औं मिनेटमा प्रतिस्थापन गर्दै उनले सिनियर टिममा डेब्यु गरेकी हुन् ।

यू–१४ र प्रधानसेनापति कपमा गरेको प्रदर्शनले उनलाई राष्ट्रिय टिमसम्म पुर्‍याएको थियो ।

‘डेब्यु गर्दा पनि मैले राम्रो खेलेको जस्तो लाग्छ । मैले मौका पाएका हरेक खेलमा आफूलाई प्रमाणित गरेको महसुस हुन्छ’, अञ्जनाले आफ्नो अनुभव सुनाइन् ।

राष्ट्रिय टिममा परेपछि उनी रौतहटमै अभ्यास गरिरहेकी थिइन् । आर्मीका एक जना अफिसर उनको घरमै पुगे । आर्मीको महिला टिमसँग सम्झौता गर्नका लागि बुबाआमासँग अनुमति मागे ।

‘त्यतिबेला म रौतहटमा नै प्रशिक्षण गर्थें । म आर्मीमा जान्नँ भनेर बाबा–ममी र प्रशिक्षकलाई सम्झाएकी थिएँ । पछि आर्मीको सर मगर नै हुनुहुँदोरहेछ । मगर भाषामा हजुरबुबासँग कुरा गर्नुभयो, अनि बुबाकै कारणले घरमा सबै जनाको सल्लाह मानेर म आर्मीमा आबद्ध भएँ ।’

७ वर्षअघि १४ वर्षको उमेरमा आर्मीमा आबद्ध भएकी उनी कडा अभ्यास गर्दै क्लबको पहिलो रोजाइको गोलकिपर बन्न सफल भइन् । हालसम्म पनि करारमा रहेकी अञ्जना अब भने भविष्यका बारेमा सोच्ने र विभागमा आबद्ध हुने तयारीमा छिन् ।

यू-१९ टिमको कप्तान

राष्ट्रिय टिमको बेञ्चमै सीमित बनिरहँदा अञ्जनाले आफ्नो क्षमता देखाउन मौका कुरिरहेकी थिइन् । मौकाको खोजीमा रहेकी अञ्जनाका लागि सन् २०२१ को अन्त्य भने सम्झनलायक बन्यो ।

सिनियर राष्ट्रिय टिममा पहिलो रोजाइका लागि संघर्ष गरिरहेकी अञ्जनालाई २०२१ को डिसेम्बरमा नेपाली यू–१९ टिमको कप्तानी गर्ने मौका मिल्यो ।

बंगलादेशमा भएको यू–१९ महिला साफ च्याम्पियनसिप जित्ने धोको पूरा नभए पनि उनले आफ्नो क्षमता देखाउँदै सबैको ध्यान खिचिन् । ‘जब मैले आर्मब्यान्ड लगाएर नेपालको प्रतिनिधित्व गर्ने मौका पाएँ त्यसपछि झन् मैले समर्थकहरू धेरै पाउन थालें’, अञ्जनाले भनिन् ।

२०२१ डिसेम्बर तेस्रो साता ढाकामा भएको प्रतियोगिताको समूह चरणका सुरुवातमा तीनमध्ये दुई खेलमा नेपालले जित हात पार्दा कुनै गोल खाइनन् । चौथो खेल तथा महत्वपूर्ण भारतसँग एक गोलले पराजित हुँदा नेपालको फाइनल पुगेर च्याम्पियन हुने सपनामा भारत बाधक बनेको थियो ।

यसरी उमेर समूहमा यू–१९ को कप्तानी गरेसँगै खेलप्रतिको लगावले उनले सामाजिक सञ्जालमा पनि धेरै समर्थक पाएकी छिन् ।

हाँस्दा गालामा देखिने डिम्पलका कारण उनलाई ‘क्युट फुटबलर’ भन्ने उपनाम दिन थालियो ।

‘यू–१९ मा कप्तान ब्यान्ड लगाएपछि विदेशमा पनि फ्यानहरू हुनुभएको छ । मेरो बंगलादेशमा धेरै फ्यान छन् । उहाँहरूको माया देख्दा खुसी लाग्छ ।’ उनको सामाजिक सञ्जाल इन्स्टाग्राममा ५१ हजारभन्दा बढी फलोअर्स छन् । उनी नेपाली महिला फुटबलरमा सबैभन्दा बढी समर्थक हुने खेलाडी हुन् ।

‘समर्थकको माया मैले खेलकै कारण पाएको हो । कहिलेकाहीं उहाँहरूलाई मैले देखाउन पाउँदिन, मैले खेल खेल्न नपाउँदा निराश हुनुहुन्छ । तर मैले अवसर पाउँदा उहाँहरूलाई निराश बनाउन चाहन्नँ’ अञ्जनाले भनिन् ।

अन्तर्राष्ट्रिय लिग खेल्ने सपना

अञ्जनालाई गत सिजनमा भारतीय महिला लिग खेल्ने प्रस्ताव आएको थियो । तर ढिलो प्रक्रिया गर्दा उनले लिग खेल्न पाइनन् । तर उनी भारतीय लिग खेल्न चाहन्छिन् ।

‘मेरो सपना भनेको भारतीय लिग खेल्ने हो, जसरी दिदीहरूले खेल्न गइरहनुभएको छ त्यसरी नै जाने हो ।’ गत सिजनमा नेपालका ६ जना फुटबलरले भारतीय लिग खेलेका थिए ।

उनी भारतीय लिगदेखि पछि गएर सावित्रा भण्डारी जस्तै गरी युरोपियन लिगसम्म पुग्ने सपना बोक्छिन् । ‘अहिले विस्तारै गर्र्दै जाऊँ, पछि दिदीहरूले देखाएको बाटो पछ्याउँदै माथि पनि जान मन छ’, अञ्जनाले भनिन् ।

२१ वर्षकी अञ्जनाले पहिला भन्दा अहिले महिला फुटबलमा भविष्य बन्दै गरेको देख्छिन् । खेल्नका लागि विदेश गए पनि विदेश पलायन हुने सोच भने उनीमा छैन । ‘अहिले मेरो सोच देशकै लागि खेल्ने हो, बाहिर जाने भन्ने सोच छैन । अहिले खेलका लागि गए पनि पलायन नै हुने सोच भने छैन ।’

तस्वीर तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?