+

बच्चाको दूधे दाँत निकाल्ने सही समय र तरिका जान्नुपर्छ

२०८० साउन  १० गते ११:५३ २०८० साउन १० गते ११:५३
बच्चाको दूधे दाँत निकाल्ने सही समय र तरिका जान्नुपर्छ

बच्चाको दाँत कहिले झर्छ भन्ने प्रश्नमा हरेक आमाबाबु अलिकति अलमलमा हुन्छन् । बच्चाहरुमा दाँत आउने, वृद्धि हुँदै दूधे दाँत फुक्लिने र स्थायी दाँत आउने एक जटिल प्रक्रिया भएकाले अभिभावकले यो समय विशेष निगरानी राख्नुपर्छ ।

दाँत निकाल्दिने सही समय थाहा नहुँदा बालबालिकाको दाँत बिग्रिने सम्भावना हुनुका साथै अन्य दाँत आउन समस्या हुन सक्छ । यस्तोमा दूधे दाँत कहिले र कसरी फुकाल्ने भन्नेमा थाहा हुनु आवश्यक छ ।

जन्मिएको ६ महिनामा पलाएर १२ वर्षमा फेरिन्छ

बच्चाको दाँत ६ महिनाको उमेरमा आउन सुरु भएर तीन वर्षमा पूरा हुन्छ । बालबालिकामा २० वटा दाँत हुन्छन् । यी दाँतलाई दूधे दाँत पनि भनिन्छ । जसमा चारवटा दाँत बुद्धिबंगारा हुन्छ, जुन परिवर्तन हुँदैनन् । अगाडिको तलमाथि र दायाँबायाँको दाँत हुँदै ६ वर्षदेखि १३ वर्षसम्म क्रमैसँग २० वटै दाँत फेरिएर नयाँ आउँछ ।

दूधे दाँत फुकाल्दा अभिभावकले धेरै कुरामा ख्याल गर्नुपर्ने हुन्छ । दाँत हल्लिनुअगावै फुकाल्ने वा दाँत ढिलो फुकाल्नु दुवै दन्त स्वास्थ्यको हिसाबले सही होइन । समयअगावै दाँत निकाल्यो भने गिजामा हुने हड्डीमा बोसो नहुन सक्छ । वरपरको दाँतले ठाउँ पाउँछ र त्यस ठाउँतर्फ ढल्किने गर्छ । नतिजा भित्रबाट आउने अर्को दाँत बाङ्गोटिङ्गो हुन पुग्छ । यसले अरु दाँतलाई पनि असर गर्छ ।

त्यस्तै ढिला गर्दा पहिलाको दाँत पनि ननिस्कने र नयाँ दाँत पनि आउने गर्दा दाँतको स्वरूप बिग्रिने गर्छ । दाँत बिग्रिएर सुई लगाएर निकाल्न पर्ने अवस्था हुन्छ ।

दाँत निकाल्ने सही समय

दाँत फुत्किने आफ्नै समय हुन्छ । सामान्यतया ६ वर्षदेखि आठ वर्षसम्म अगाडिका तल र माथिको दाँत झर्नुपर्छ । आठ वर्षपछि कुकुर दाँत,  त्यसपछिका दाँतहरु ११ वर्षदेखि १४ वर्षसम्म झर्नुपर्छ । १५ वर्षको उमेरदेखि १८ वर्षको उमेरमा बुद्धि बंगारो दाँत आउँछन् । यी दाँतहरुले हड्डी बढ्न र विकास हुन मद्दत गर्छ । दाँत समयमा निकालिएन भने हड्डीको विकासमा असर पुर्‍याउँछ ।

दूधेदाँतको जरालाई अर्को पटक उम्रिने दाँतले भित्रबाट खियाउँदै गएको हुन्छ । जरा खिइँदै गएपछि आफैं सानो हुन्छ र हल्लिन थाल्छ । धेरै खिएपछि लिरिलिरी हल्लिन थाल्छ, तब मात्र निकाल्नुपर्छ ।

निकाल्ने कसरी ?

दाँत चिकित्सकबाट मात्र निकाल्नुपर्छ । जथाभावी निकाल्दा दाँतमा संक्रमण हुने, भाँचिने सम्भावना हुन्छ । दन्त चिकित्सकले दाँत निकाल्ने उपयुक्त समय, सही ढंगले जराबाट दाँत आएको छ कि छैन हेरेर मात्र निकाल्ने गर्छन् । त्यसको लागि नियमित रुपमा ६ वर्षको उमेरदेखि नै दाँतको परीक्षण गराउनुपर्छ । यसले दाँत कहिले फुकाल्दा उचित हुन्छ भन्ने मात्र निर्क्योल गर्दैन, दाँतमा कीरा लागेको, टुक्रिएको, फोहोर हुने लगायत समस्या पत्ता लाग्छ ।

दन्त चिकित्सकले पहिला दाँतको एक्सरेबाट हेरेर दाँत निस्किने बेला भएको, दाँत कुन अवस्थामा आइरहेको छ र स्पेस कस्तो छ भनेर हेरिन्छ । त्यही अनुसार दाँत निकालिन्छ । दाँत आफैं झर्ने अवस्था छ भने निकाल्नु आवश्यक हुँदैन । तर समय भइसकेको छ भने चिकित्सकले आफैं निकाल्दिन सक्छन् । यद्यपि चिकित्सकको सल्लाहअनुसार घरमै पनि समय भइसकेको दाँत झिक्न मिल्छ ।

बाङ्गोटिङ्गो दाँत आउनुको कारण

समयमा दाँत ननिकाल्नु, गिजाको ठाउँ कम हुनु, वंशाणुगत, जथाभावी दाँत निकाल्नुलगायत कारणले बाङ्गोटिङ्गो दाँत आउने गर्छ । दाँत स्वस्थ होस् तर बाङ्गोटिङ्गो नहोस् भन्नका लागि अभिभावकले दैनिक दुईपटक ब्रस अनिवार्य गर्न लगाउने, ६ वर्ष पुगेपछि नियमित रुपमा दन्त परीक्षण गराउनुपर्छ । दाँत आउने जाने प्रक्रियामै दाँतको परीक्षण गराएर बाङ्गोटिङ्गो हुने सम्भावना भए त्यसको पनि उपचार आवश्यक अनुसार गर्न सम्भव छ । दाँत निकाल्नेबेला पहिले नै परीक्षण गरेर योजनाबद्ध रुपमा उपचार गर्न सकियो भने छिट्टै दाँत सच्याउन सकिन्छ ।

धे दाकीरा लागेमा पनि झिक्न सकिन्छ ?

धेरैजसो बालबालिकामा दूधे दाँतमा खानपान र सरसफाइमा ध्यान नदिंदा कीरा लाग्ने सम्भावना हुन्छ । धेरैजसो अभिभावकले निस्कने दाँत हो भन्दै निकाल्न बल गरेको पनि पाइन्छ । तर दूधे दाँतमा कीरा लाग्यो भने पनि दाँत जोगाउन आवश्यक छ । यस्तोमा दाँतमा सिमेन्ट भर्न सकिन्छ ।

बच्चाको दाँत समयमै झरेन भने ?

बच्चाको स्थायी दाँत समयमै ननिकाल्दा चिन्ताको कारण बन्छ । दाँत निस्किएन वा ढिला निस्किएमा त्यो दाँतले त्यही ठाउँमा पलाएको स्थायी दाँतलाई असर गर्छ । यो प्राय: दाँत निक्लिने ठाउँ नपाउँदा हुन्छ ।   त्यस्तै, गिजामा धेरै खाली हुँदा पनि दाँत गलत ढंगले विकास हुने जोखिम हुन्छ ।

दाँत झिक्ने प्रक्रिया

सामान्य अवस्थामा दाँतलाई लोकल एनेसथेसिया दिएर निकालिन्छ । दाँतको जरा लामो छ भने जरासम्म नदुख्ने सुई लगाएर निकालिन्छ ।

दाँत निकालेपछि के गर्ने ?

दाँत निकालेपछि गिजाबाट रगत निस्कन्छ । रगत रोक्न कपास वा ओसिलो कपडा रगत आएको ठाउँमा दुई घण्टासम्म राख्नुपर्छ । रगत रोकिएन भने चिसो वस्तुले गिजा सेक्ने गर्नुपर्छ । कपास निकालेपछि हल्का मनतातो पानीले कुल्ला गर्न सकिन्छ । त्यो दिन गिलो खानेकुरा खान दिनुपर्छ । बेलुकादेखि ब्रस गर्न सकिन्छ । सम्भव भए अर्को दिन चिकित्सकलाई देखाउन उचित हुन्छ । कहिलेकाहीं अन्य रोग वा वंशाणुगत कारणले रगत नरोकिन सक्छ, त्यस्तोमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

(वरिष्ठ दन्त चिकित्सक डा. घिमिरे ओम समाज डेन्टल अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. सुवास घिमिरे दाँत बालबच्चा
डा. सुवास घिमिरे
लेखक
डा. सुवास घिमिरे
ओरल म्याक्जिलोफेसियल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२२८ बीडीएस, एमडीएस ओम समाज डेन्टल अस्पतालका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय