+
+

कहाँ हरायो खेलाडीको पुरस्कार रकम ?

कुनै प्रतियोगिता जिते वा सफलता पाए हतारमा पुरस्कार घोषणा गर्ने तर घोषणा अनुसार रकम दिन चाहिं आनाकानी गर्दा खेलाडीमा निराशा बढ्दो छ ।

नमिता दाहाल नमिता दाहाल
२०८० साउन ११ गते २०:२८
श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएको नेपाली क्रिकेट टोली ।

११ साउन, काठमाडौं । नेपालले यूएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाएलगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टिमका प्रत्येक खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गर्यो ।

पुरस्कार तथा सम्मान कार्यविधि अनुसार टिमका हरेक सदस्य जनही ३ लाख रुपैयाँको हकदार भए । त्यसमाथि क्रिकेट संघ, प्रदेश सरकार र स्थानीय पालिकाहरूले पनि आफ्नो क्षेत्रका क्रिकेटरहरूका लागि नगद पुरस्कार घोषणा गरे ।

क्रिकेट संघले पनि खेलाडीलाई आफ्नो बैंक खाता उपलब्ध गराउन आग्रह गर्यो । १७/१८ वर्षका खेलाडीमध्ये कतिको आफ्नो बैंक खाता थिएन । उनीहरूले हतार–हतार खाता खोले । आफ्नो स्थायी लेखा नम्बर (प्यान) पनि बनाए ।

कतिपयले वैदेशिक प्रशिक्षणका लागि भारत जाने योजना बनाए । किनकि यो भविष्यका लागि आफैंमाथि लगानी गर्ने समय पनि थियो । तर सरकार र क्रिकेट संघले अहिलेसम्म पुरस्कार रकम उपलब्ध गराउन सकेको छैन । ‘प्यान पनि बनाइयो, खाता नम्बर पनि पठाइयो तर पैसा आएन’ यू–१९ का एक क्रिकेटर भन्छन्, ‘पैसा आए भारत जाने भनेको हो, अहिलेसम्म पैसा नै आएको छैन ।’

प्रशिक्षणका लागि भारत पुगिसकेका यू–१९ टिमका एक क्रिकेटर पनि पाउनुपर्ने पुरस्कार रकम उपलब्ध भए निकै सहज हुने सुनाउँछन् । भन्छन्, ‘पैसाको निकै खाँचो परेको छ । आउनुपर्ने पैसा आइदिए कति सहज हुन्थ्यो !’

मासिक ४५ हजार भारु तिरेर भारतमा प्रशिक्षण लिइरहेका अर्का क्रिकेटरका अनुसार पुरस्कार रकम आउँछ भनेपछि परिवारले खर्च जुटाएर पठाएको थियो । ‘अब त घरमा भन्न गाह्रो भइसक्यो’ उनले भने, ‘सरकारले पैसा दिन्छ भनेर घरमा भनेको थिएँ । पैसा आयो भनेर सोध्नुहुन्छ, मसँग जवाफ हुन्न ।’

संघदेखि अर्को संघ, मन्त्रालय र सरकारी कारबाही भन्दै हालसम्म पनि तोकिएको रकम नपाउँदा खेलाडीमा नैराश्यता बढेको पाइन्छ । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकपमा छनोट भएर फर्किएका खेलाडीको नामावली कार्यसूची अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) मा पठाएको तीन महिना बढी भइसक्यो । तर पनि रकम भने खेलाडीको खातामा पुग्न सकेको छैन ।

मलेसियामा सम्पन्न एसीसी इष्ट जोन कप जितेको यू–१६ टिमले सरकारी निर्देशिका अनुसार ३ लाख र क्रिकेट संघले घोषणा गरेको ५० हजार गरी ३ लाख ५० हजार पाउन पनि बाँकी छ ।

उमेर समूह मात्र होइन, सिनियर टिमको अवस्था पनि उही छ । आईसीसी क्रिकेट लिग टूको शीर्ष ३ मा पर्दै विश्वकप छनोटमा स्थान बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई मात्र दिएनन्, जनही ३ लाख रुपैयाँ पुरस्कार घोषणा गरे । पुरस्कार तथा सम्मान कार्यविधि अनुसार टिमका सदस्यहरूले जनही ६ लाख रुपैयाँ पनि पाउनुपर्ने हो ।

प्रधानमन्त्री प्रचण्डसँग विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली ।

वैशाखमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एशिया कपमा स्थान बनायो, २० वैशाखको मन्त्रिपरिषद् बैठकले विजेता खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय गर्यो । यो रकम पनि खेलाडीहरूले पाएका छैनन् । सिनियर टिमका एक सदस्य भन्छन्, ‘घोषणा भयो भन्ने सुनिन्छ, हातमा परेको छैन । हामीलाई पुरस्कार भन्दै कति घोषणा गरियो भन्ने याद हुन छाडिसक्यो ।’

समग्रमा पुरुषको सिनियर टिमका रेगुलर खेलाडीले कम्तीमा पनि जनही १५ लाख रुपैयाँ पाउनुपर्ने हुन्छ । एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलंका जानुअघि कप्तान रोहित पौडेलले पुरस्कार रकम नपाएको गुनासो गरेका थिए । सबै खेलाडी आर्थिक रूपमा सम्पन्न नभएको भन्दै उनले भनेका थिए, ‘जसरी फुटबलमा खेलाडी पलायन भइरहेका छन् त्यो अवस्था क्रिकेटमा नआओस् !’

महिला टिमले गत जेठमा मलेसियासँग सिरिज जितेर आएकाले कार्यनीति अनुसार पुरस्कारको हकदार हुन् ।

कुनै प्रतियोगिता जिते वा सफलता पाए हतारमा पुरस्कार घोषणा गर्ने तर घोषणा अनुसार रकम दिन चाहिं आनाकानी गर्दा खेलाडीमा निराशा बढ्दो छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भने पुरस्कार घोषणा हुने र समयमा नपाउने थिति पुरानै भएको बताउँछन् ।

आठौं साफमा मेडल जित्दा घोषणा भएको पुरस्कार रकम दुई वटा सरकार परिवर्तन भएपछि पाएको स्मरण गर्दै उनले भने, ‘घोषणा भएको पुरस्कार पाउन संघर्ष गर्नुपर्ने स्थिति अझै परिवर्तन हुनसकेको छैन ।’ तर नियमनकारी निकायदेखि मन्त्रालयका अधिकारीहरू भने रेडिमेट जवाफ दिएर पन्सिन्छन् ।

क्रिकेट संघदेखि मन्त्रालयसम्मको गोलचक्कर

पुरस्कार घोषणा गर्न जति सजिलो छ, घोषित रकम पाउन भने त्यति नै गाह्रो । किनकि सरकारी प्रक्रिया लामो छ । कार्यविधि अनुसार पुरस्कार रकमका लागि सम्बन्धित खेल संघले खेलाडीहरूको नामावली राखेपमा पठाउँछ । राखेपबाट विवरण रुजु भई मन्त्रालय जान्छ । मन्त्रालयबाट मन्त्रिपरिषद्मा जान्छ, त्यसबाट स्वीकृत भएपछि रकम निकासाका लागि अर्थ मन्त्रालय पुग्छ । अर्थले बजेट निकासा गरेपछि मन्त्रालय हुँदै राखेप र सम्बन्धित संघमा आइपुग्छ । त्यसमाथि सम्बन्धित निकाय एकअर्कालाई देखाएर पन्छिने गर्दा पनि थप समय लाग्ने गरेको छ ।

क्रिकेट संघका अधिकारीहरू पनि आफूहरूले समयमै राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नाम पठाएको बताउँछन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार विश्वकपमा छनोट भएको यू–१९ टिमका खेलाडीहरूको बैंक खाता र प्यान नम्बर संकलन गरेर तत्काल पठाइएको थियो । त्यसपछि सिनियर टिम, महिला टिम र यू–१६ टिमको नाम परिषदमा पठाइसकेको भन्दै उनले भने, ‘पटक पटक राखेप पनि धाएका छौं । तर सरकारी लामो प्रक्रियाका कारण हामीले खोजेको उत्तर पाएका छैनौं ।’

राखेपका शाखा प्रमुख चन्द्र राई पनि क्रिकेट संघबाट आएको यू–१९ र सिनियर टिमका खेलाडीहरूको नामावली युवा तथा खेलकुद मन्त्रालय पठाइएको बताउँछन् । ‘हामीले यू–१९ को सबभन्दा पहिला पठाएका हौं’ उनले भने, ‘क्यानबाट आएको नामावली र आवश्यक कागजपत्र जोहो गरेर चैतमै पठाएका हौं ।’

महिला र यू–१६ टिमको नामावली भने पठाउन बाँकी छ । ‘महिला र यू–१६ टिमका सदस्यहरूको नामावली आइपुगेको छ’ पुरस्कार तथा सम्मान कार्यविधि पहिलो पटक अभ्यासमा आएकाले पनि समय लागेको भन्दै राखेपका शाखा प्रमुख राईले भने, ‘कागजात रुजु गरेर खेलकुद मन्त्रालय पठाउने तयारीमा छौं ।’

मन्त्रालयका प्रवक्ता तथा सहसचिव कुमारप्रसाद दाहाल भने यू–१९ टिमका सदस्यहरूको किटानी भएर नामावली नै नआएको बताउँछन् । यसका साथै गत आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट पैसा भुक्तानी हुन पनि ढिला भएको उनको दाबी छ । ‘अहिले पैसा व्यवस्थापन भइसकेको छ, तर व्यक्ति नतोकिएकाले पुरस्कार रोकिएको हो’ उनले भने, ‘सम्भवतः यो महिनाभित्र खेलाडीलाई दिन्छौं ।’

खेलाडी संघका अध्यक्ष श्रेष्ठ भने सरकारको व्यवहारले खेलाडीलाई मानसिक रूपमा असर गर्ने बताउँछन् । ‘प्रोत्साहन गर्ने भनेर घोषणा भएको पुरस्कार नपाएपछि विस्तारै त्यसले औचित्य नै राख्दैन’ उनले अघि भने, ‘मेडलसँगै नगद दिने वातावरण बनाए भावी पुस्तालाई खेलकुदमा लाग्न प्रोत्साहन मिल्छ ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?