+
+
लघुकथा :

२६ इञ्चको डोरी !

सुरेश राई सुरेश राई
२०८० साउन १३ गते १०:२६

मध्यराति एक्कासि एक तला माथिको फ्ल्याटबाट ह्वाँ ह्वाँ डाँको छाडेर रोएको हृदयभेदक पुरुष आवाज आयो। शिरीषाको निद टुट्यो। कान थापेर  सुनी। यो त मामाको आवाज हो, उसले ठम्याइँ। हत्तपत्त बाजे–बोजूलाई उठाउन गई। ‘बाजे ! बोजू ! मामा त फेरि रुन थाल्नुभो। लौन माथि  गएर सम्झाऔं !’

तीनै जना माथि उक्लिए। शिरीषाले ढोका ढक्ढक्याई।  ढोका खुल्यो। छोराको यस्तो हालत देखेर बाउ चाहिं रिसले केही बोलेन। आमाले सम्झाई ‘हेर् छोरा जाबो एउटी केटीले  छाडेर गई भनेर यति हत्ते गर्नुपर्छ त?  जिन्दगीमा थुप्रै प्रेमिका आउन सक्छन्। यो तैंले के गरेको भन् त ?’

शिरीषाले थपी, ‘त्यै त के मामा ! तपाईं किन यसो गर्नुहुन्छ। तपाईंलाई छाडेर ऊ अमेरिका गएकी हो कुनै मंगल ग्रह गएकी हैन। तपाईं पनि भिसा अप्लाई गर्नुस्। त्यही देश गएर ऊभन्दा राम्री केटी गर्लफ्रेन्ड बनाएर देखाउनुहोस्।’

त्यसपछि आमा र भान्जीले के के सम्झाए, के के बकबक गरे, उसले केही सुनेन।

*** *** ***

ऋतुले उसलाई  जीवनभरी सम्झिनेछु भनेर गई।

ऋतुले उसको स्वस्थ मुटुको चाल बढाएर गई । उसको राम्रो जीवनको हाल बिगारेर गई।  ऋतु जाँदा उसको सिङ्गो सहर उचालिएर गयो। ऋतुको गलाको मफलर बनेर उसको सहरको चक्रपथ पनि गयो ।

ऋतुको गल्ती कसरी भन्नु ! राम्रो छात्रवृत्ति पाएपछि  आफ्नो भविष्यको लागि विदेश जानु सामान्य कुरा हो। तर यो असामान्य तब भइदियो जब उसको लागि ऋतु सास जत्तिकै जरुरी भइदिई। साथीभाइहरूबाट ऊ अलग थियो। ऋतु नै उसको एक मात्र साथी थिई; प्रेमिका थिई; सबथोक थिई ।

उसको दिनचर्याको अब के हालत होला? ऊ कोसँग फोनमा लामोलामो बात मार्ला? ऊ कसलाई भेट्न जाँदा मुस्कुराउँदै घरबाट निस्कला ?

६ वर्षको प्रेम अवधिमा उसले आफ्नो जिन्दगी केवल ऋतुमै केन्द्रित गर्‍यो। यो केन्द्रीकृत प्रेमजीवन अब सारै कष्टदायी हुने पक्कापक्की थियो । उसको केन्द्र जो भत्किएको थियो ।

जब ऊ ओछ्यानमा पल्टन्थ्यो सारा ब्रह्माण्डका शून्यताहरू ह्वारह्वार्ती उसका कोठामा भेला हुन्थे। उसको सारा शरीरमा केही तत्त्वको कमी हुन्थ्यो। त्यो तत्त्व केवल ऋतु थियो। उसले कति फकायो ऋतुलाई कि नेपालमै सँगै पढौं भनेर। पटक–पटक सल्लाह भए। सल्लाहहरू बहसमा परिणत भए। बहस भनाभनमा बदलिए। भनाभनहरू  झगडा, ईख र रोषमा फेरिए।

अन्तत: स्वयं ऋतुले घोषणा गरी कि ऊ यो प्रेम र अध्ययनमध्ये अध्ययनलाई रोजेर अमेरिका जानेछिन्। साथै मनमुटाव त्यो तहमा बढिदियो कि ऋतुले उसलाई दुनियाँकै सबैभन्दा स्वार्थी पुरुषको उपमा दिंदै ६ वर्षको प्रेम सम्बन्ध पूर्णविराम लगाएको घोषणा गरिदिई।

फेसबुक, भाइबर, इन्स्टाग्राम सबैमा ऋतुले उसलाई ब्लक गरेकी थिई।

अब त ऋतुले नेपाल छोडेको पनि दुई हप्ता भइसकेको थियो। उसले आफूले आफूलाई कोठामा बन्द गरेको पनि दुई हप्ता नै बितिसकेको थियो। छोराको यो हालत देखेर पन्ध्रौं दिनसम्म चुपचाप बसेको बाउलाई आज सारै झोंक चल्यो। बाउले सरासर छोराको कोठामा छिरेर उसलाई तान्दै किचनमा ल्याए। उसलाई डाइनिङ टेबलको कुर्सीमा थचक्क बसाएर आँखाभरि आँसु पार्दै हप्काउन थाले।

‘मान्छे यति सजिलै मरिंदैन बुझिस् ? यी यो हेर्। यो भात हो। यी यो हेर् यो मासुको तरकारी हो। यसलाई मुखमा हालेर चपाएपछि निल्नुपर्छ। निल्न सकिएन भने पानीले निल्नुपर्छ। घाँटीबाट तल झरेपछि यसले काम गर्न सुरु गर्छ र मान्छे बाँचिन्छ!’

उसले काँपेको हातले एक चम्चा खाना उठायो। मुखमा हाल्यो र जबर्जस्ती घुटुक्क निल्यो।

छोराको यो क्रियाकलाप देखेर आमा उता फर्केर रुन थाली। भान्जी शिरीषा पनि मामाको यो हालत देखेर सुँकसुँकाउन थाली। पूरै घर रोदनमय भयो।

धेरै दिनपछि उसको पेटमा अन्न परेको देखेर सबै जना अब सब ठिकठाक हुन्छ भनेर खुशी समेत देखिए। उसले पनि आफ्नो परिवारको प्रेम देखेर अबदेखि मनलाई दरिलो पारेर जिउने संकल्प गर्यो।

*** *** ***

अफशोच ! उसको यहाँसम्मको कथा काल्पनिक झुट थियो। असलमा उसको घर त पूर्वी पहाडको कुनै विकट गाउँमा थियो। उसका आमाबाबु दुवै गाउँमै खेतीपाती गर्दै बसेका गरिब किसानहरू थिए। उसकी भान्जी शिरीषा विवाह भइसकेर बिर्तामोडतिर कतै बस्थी। ऊ त उच्च शिक्षाको लागि सहर आएको केवल एक सिधासाधा विद्यार्थी थियो। कथाको सुरुमा डाको छोडेर मध्यराति रुने पुरुष भने ऊ नै थियो। आफ्नो सारा हाँसो, खुसी, अमनचैन केवल एक युवतीमा सुम्पिएर सम्पूर्ण  रूपले परनिर्भर भएको पनि ऊ नै थियो। आफ्ना जिन्दगीका सारा उज्यालाहरू आफ्नी प्रेमिकालाई सर्लक्कै सुम्पिएर धरतीका जम्मै अन्धकारहरू कोसेली पाउने अभागा पनि उही थियो।

ला..!!!! त्यसो भए ऊ अहिले के गर्दैछ त ?

ऊ अहिले चिरनिद्रा निदाइरहेको छ। उसको छब्बीस वर्षे लामो जिन्दगी केवल छब्बीस इञ्ची लामो डोरीमा तुर्लुङ झुन्डिरहेको छ। भाडा तिरेर बसेको उसको साँघुरो  कोठाको बीच भागमा उसको लास झुन्डिरहेको बाहिरबाट कसैले पत्तो पाएका छैनन्। उसको जिन्दगीबाट ऋतु  गएदेखि  आज पहिलो चोटि उसलाई जिन्दगी यति हलुका लागेको हुनुपर्छ। आज पहिलो चोटि उसको मन शान्त भएको हुनुपर्छ। आज बल्ल छट्पटीबाट मुक्ति मिलेको हुनुपर्छ।

ए… उसको कक्रिएको चिसो एक जोडा पैतालामुनि थोत्रो टेबुलमा, चुरोटको एष्ट्रेले थिचिरहेको एउटा नोट पनि त रहेछ। लेखिएको रहेछ :

“मेरो मृत्युको लागि कोही जिम्मेवार छैन। म आफैंले मेरो भावनात्मक आत्मनिर्भरता गुमाएकोले जीवन समाप्त गर्ने निर्णयमा पुगेको हुँ। हे प्रिय डार्विन ! अचम्म लाग्छ। अचानकै यस्तो बेला तिम्रो पो याद आयो । कस्तो ठीक कुरा बताएछौ तिमीले कि योग्य नै बाँच्छ भनेर। भावनाको संसारमा पनि  त जो फिट छ उही नै सर्भाइभ गर्ने रहेछ। बिन्ती ! एक बारको जीवनमा कसैले आफ्नो भावनाको साँचो ताल्चा अरु कसैको हातमा नदिनुहोला। जहिले पनि जिन्दगीमा आफ्नो लागि एउटा निजी स्पेस राख्नुहोला । भावनात्मक परनिर्भर नबन्नुहोला !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?