+
+

पोखरा घुम्ने पर्यटकको अर्को गन्तव्य तालबाराही सन्ध्या आरती

रासस रासस
२०८० साउन १३ गते २०:२४

१३ साउन, गण्डकी । पोखरा भ्रमणमा आउने पर्यटकका लागि हिजोआज एउटा आकर्षक गन्तव्य थपिएको छ, फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिरको सन्ध्या आरती ।

सराङकोटबाट सूर्योदयको झुल्को अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमशृङ्खलामा परेको मनोरम दृश्यावलोकनबाट भ्रमणको शुभारम्भ गरेका पर्यटक मठमन्दिर, तालतलैया, गुफा, झरना, खोच तथा सङ्ग्रहालय अवलोकनपश्चात साँझ भने सन्ध्याआरतीमा सहभागी हुने गरेका छन् ।

तालबाराही मन्दिरको समिप बाराही घाटमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट सङ्गीतमय धुनमा हुने सन्ध्याआरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाइमा पर्ने गरेको छ ।

पछिल्लो समय पोखरामा आरतीलाई अर्को पर्यटकीय गन्तव्यकारूपमा लिन थालिएको तालबाराही महाआरती व्यवस्थापन समितिका अध्यक्ष मङ्गलबहादुर नेपालीले बताए ।

उनका अनुसार आरतीमा धुप, घिउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदाना, लाछीधागो, फूलपातीलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिन्छ । शङ्ख ध्वनिबाट शुभारम्भ गरी सहभागी भक्तजनले पण्डितबाट टीका र प्रसाद ग्रहण गर्दै आरती लिएपछि समापन हुन्छ ।

भारतको काशीबाट तीन जना पण्डितसहितका सामग्री ल्याएर विसं २०७५ असोज २४ गते घटस्थापनाको दिनदेखि सुरु गरिएको आरती निरन्तर सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । हाल पोखराका पण्डितद्वारा आरती सञ्चालन हुँदै आएको छ ।

‘धार्मिकको माध्यमबाट फेवातालमा बारम्वार हुने दुर्घटना न्यूनीकरण गर्ने आरतीको प्रमुख लक्ष्य हो’, अध्यक्ष नेपालीले भने, ‘आरती सञ्चालन गर्न मासिक रु दुई लाख खर्च हुन्छ, भक्तजनबाट सहयोग प्राप्त भएको हुँदा ‘त आँट म पुर्याउँछु’ भन्ने युक्ति चरितार्थ भएको छ ।’

पशुपतिनाथ महाआरतीको झल्को दिने तालबाराहीबाट सञ्चालन गरिएको आरती पछिल्लो समय पोखराको प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर, सदाशिव हरिहर मन्दिर महतगौडा, गुप्तेश्वर गुफा, नर्वदेश्वर मन्दिर, रामघाट, बेगनासतालमा समेत सम्पन्न भइसकेको समितिका उपाध्यक्ष ढाकाबहादुर थापाले जानकारी दिए ।

आर्थिक अवस्थाका कारण आरती सञ्चालन गर्दा चुनौती नै थियो, भक्तजनको साथ र सहयोगले नै आज पाँच वर्षसम्म निरन्तरता पाएको छ । ‘जहाँ धर्म त्यही धन’ भन्ने युक्तिलाई आरतीले पुनः चरितार्थ गरेको उनले बताए ।

पर्यटक तथा स्थानीय बासिन्दाका लागि दिनभरिको व्यस्तता एवं तनाव व्यवस्थापनका लागि साँझमा हुने आरती एक साधन बन्ने अर्का उपाध्यक्ष जुना अधिकारी बताउँछिन् । आरतीलाई निरन्तरताका लागि स्थापना भएको अध्यक्षकोषमा १२ लाख रुपैयाँ सङ्कलन भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?