+
+

दुई साथीको फेसन उद्यम : २० हजारबाट सुरु, अहिले लाखौंको कारोबार

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० साउन १५ गते १५:१५

काठमाडौं । दुई वर्षअघिको कुरा हो, काठमाडौंकी २२ वर्षीया श्वेता भट्टराई पाइलट तालिमका लागि फिलिपिन्स गएकी थिइन् । कोरोना महामारीका कारण केही समय उनको तालिम स्थगित भयो । सानैदेखि व्यवसाय गर्छु भन्ने सोच भएकी श्वेतालाई कोरोनाको खाली समय खेर फाल्न मन लागेन । त्यसैले उनले नेपालमा भएकी आफ्नो मिल्ने साथी सुरुचि बुढाथोकीलाई खाली समयमा के गर्ने होला भनेर सोधिन् ।

श्वेता र सुरुचि स्कुलदेखिकै मिल्ने साथी दुवैलाई ब्यागको सौख । लुगासँग मिलाएर नयाँ नयाँ डिजाइनको ब्याग बोक्न मन पराउने दुवै साथी । श्वेता फिलिपिन्समा भएकाले उनले त्यहाँ राम्रो ब्यागहरू सस्तो मूल्यमा पाइने कुरा सुरुचिलाई बताइन् ।

फिलिपिन्समा ब्याग राम्रो र सस्तोमा पाउने भएकोले ब्यागको व्यवसाय नै किन नगर्ने भनेर उनीहरुको सल्लाह भयो । उनीहरूले २० हजार रुपैयाँ लगानी गरे । श्वेताले ब्यागहरू किनेर नेपाल पठाइन् । सुरुचिले अनलाइन प्लेटफर्ममार्फत ब्यागहरू बेच्न थालिन् ।

अनि सुरु भयो ताचिस ब्याग

साढे दुई वर्षको पाइलट तालिम सकाएर श्वेता नेपाल फर्किइन् । फिलिपिन्समा बस्दा त्यहाँका साथीहरूसँग राम्रो सम्बन्ध भएकोले उनी नेपाल फर्किएपछि पनि उताबाट ब्याग आयात गर्न छोडिनन् साथै चीनबाट पनि केही ब्याग आयात गर्न थालिन् । दुई साथी मिलेर आफ्नो कोठाबाट अनलाइनमार्फत ब्याग बेच्न थाले ।

बाहिरबाट ब्याग आयात गर्ने भएकाले ब्यागको गुणस्तरको बारेमा उनीहरूसँग ज्ञान बढ्दै गयो । बाहिरबाट आयात गर्दा आयात शुल्क र भन्सार तथा अन्य शुल्क गरेर ब्यागको मूल्य पनि बढी पर्ने भयो । त्यसैले अब बाहिरबाट आयात गर्नु भन्दा नेपालमा नै ब्याग बनाउने योजना उनीहरूले बनाए ।

‘ताचिस’का सञ्चालिकाद्वय श्वेता भट्टराई (बायाँ) र सुरुचि बुढाथोकी

अब नेपालमा ब्याग उत्पादन गर्न कच्चा पदार्थ खोज्नेदेखि ब्याग सिलाउने गार्मेन्टको खोजीमा दुई साथीहरू निस्किए । ब्याग कस्तो बन्ला भन्ने चिन्ता त छँदै थियो । त्यसैले थोरै मात्र ब्याग उत्पादन गर्ने निर्णयको साथ फेरि २० हजार रुपैयाँको लगानीबाटै सुरु भयो । श्वेताको ‘ता’ र सुरुचिको ‘ची’ मिसाएर बनेको ‘ताचिस’ मेड इन नेपाल ब्याग ।

नेपालमा ब्याग त बन्न सुरु भयो । ब्यागलाई धेरैले रुचाए त्यसैले कोठाबाट सुरु भएको ताचिसले काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्ट नजिक आफ्नो पहिलो ताचिस स्टुडियो खोल्यो । ताचिसको ‘भेगन लेदर’बाट बनेको ब्याग र ‘क्यान्भास’बाट बनेको ब्यागलाई यति रुचाइयो कि एक पटकमा ३०० वटा ब्याग बनाउँदा पनि ग्राहकको मागलाई पूरा गर्न धौ-धौ भयो ।

पछिल्लो समय ‘क्यान्भास’बाट बनेको टोट ब्याग ग्राहकको रोजाइमा बढी पर्ने गरेको छ ।  अहिले १४ सयदेखि आठ हजार रुपैयाँसम्मको ब्याग ताचिसमा उपलब्ध छन् ।

ब्यागको सफलतासँगै सुरु भयो ताचिस क्लोथिङ स्टुडियो

ताचिसको ब्यागलाई धेरैले मन पराएपछि श्वेता र सुरुचिले लुगा पनि उत्पादन गर्ने योजना बनाए । ब्याग त मान्छेले कहिलेकाहीं बाहिर जाँदा मात्र बोक्छन्, ब्याग बोके पनि नबोके पनि खासै फरक पर्दैन । तर लुगा त घर बस्दा, बाहिर जाँदा जहिले पनि लगाउनैपर्‍यो । यही सोचेर श्वेता र सुरुचिले लुगाको उत्पादन पनि सुरु गरे ।

‘राम्रो गुणस्तरको र स्टाइलिस्ट लुगा त सबै बाहिरबाट आउँछन् । त्यसैले बरु राम्रो गुणस्तरको लुगा पनि नेपालमा नै किन नबनाउने ? भन्ने सोचेर हामीले चार महिनाअघिदेखि लुगा उत्पादन पनि सुरु गर्‍यौं,’ श्वेता भन्छिन् ।

बजारमा लुगा उत्पादन गर्ने गार्मेन्टहरू त टन्नै छन् । उनीहरूलाई अरूको भन्दा फरक गर्नु थियो । त्यसैले लुगा स्टाइलिस्ट हुनुका साथै बलियो पनि होस् भनेर ट्रेलरमार्फत लुगा बनाउन थाले । बलियो मात्र भएर भएन डिजाइन पनि राम्रो हुनुपर्‍यो । त्यसैले फेसन डिजाइनर आश्मा कार्कीको सहयोग लिएर फर्मलदेखि क्लासिक लुगा उत्पादन गरे ।

अरूको भन्दा फरक डिजाइन र राम्रो गुणस्तरको भएकाले ब्याग जस्तै ताचिसको लुगालाई पनि धेरैले रुचाए । अहिले ६०० देखि ३५ सय रुपैयाँसम्म पर्ने लुगा ताचिस स्टुडियोमा पाइन्छन् ।

छोटो समयमा धेरैको रोजाइमा परेको ताचिस

२० हजार लगानीबाट सुरु भएको ताचिसले अहिले मासिक आठदेखि नौ लाखको कारोबार गर्छ । ताचिसमा दैनिक २० देखि ३० वटा भन्दा बढी ब्याग र ३-४ वटा लुगाको अर्डर आउँछ । धेरै डिजाइनको ब्याग उपलब्ध भएको हुनाले पनि ताचिस धेरैको रोजाइमा परेको हुन सक्ने श्वेता बताउँछिन् ।

ताचिस ब्यागको टिकटक अकाउन्टलाई २१ हजारभन्दा बढीले फलो गरेका छन् भने इन्स्टाग्राममा पनि २० हजार भन्दा बढीले फलो गरेका छन् । ताचिसले अहिले पाँच जनालाई रोजगारी दिइरहेको छ ।

मार्केटिङको तरिका अरू भन्दा फरक

‘तपाईंले ताचिसको ब्याग र ताचिस क्लोथिङ स्टुडियोलाई टिकटकमा, इन्स्टाग्राममा फलो गर्नु भएको छ ?’ बाटोमा हिंडिरहेका व्यक्तिलाई श्वेता र सुरुचिले सोध्ने गर्छन् । यदि त्यो व्यक्तिले फलो गरेको छ भने दुई हजार रुपैयाँ र आकर्षक उपहार पाउँछ । यो ताचिसको मार्केटिङ तरिका हो ।

ताचिस ब्याग र क्लोथिङ स्टुडियोलाई टिकटक र इन्स्टाग्राममा फलो गर्ने र साथीसँग सेयर गर्नेलाई उनीहरूले आकर्षक उपहार दिन थालेपछि यसको लोकप्रियता झन् बढ्दै गयो ।

छिट्टै खुल्दैछ ताचिसको स्टोर

अनलाइनमार्फत राम्रो प्रतिक्रिया पाइरहेको ताचिसले छिट्टै आफ्नो स्टोर पनि सञ्चालनमा ल्याउँदै छ । नेपाली ब्याग र लुगालाई ब्रान्ड बनाइरहेको ताचिसले अझै नयाँ नयाँ डिजाइनमा ब्याग र लुगा उत्पादन गर्ने योजना रहेको श्वेता बताउँछिन् ।

अहिले ताचिससँग नेपाली ब्यागसँगै फिलिपिन्स र चीनबाट आयात गरिएका ब्यागहरु पनि छन् । तर अबको योजना भने बाहिरबाट कुनै पनि आयात नगर्ने सबै डिजाइनका ब्याग नेपालमै उत्पादन गर्ने हो । अहिले धेरै युवा नेपालमा अवसर नभएको भन्दै विदेशिइरहेका छन् । तर मेहनत गरे नेपालमै पनि धेरै अवसर भएको श्वेता बताउँछिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?