+

‘चुरोट खाने व्यक्तिको हड्डी भाँचिए जोडिन कठिन हुन्छ’

२०८० साउन  १६ गते १३:३३ २०८० साउन १६ गते १३:३३
‘चुरोट खाने व्यक्तिको हड्डी भाँचिए जोडिन कठिन हुन्छ’

चुरोट स्वास्थ्यका लागि निकै हानिकारक छ भन्ने कुरा त सबैलाई थाहा छ । यति हुँदाहुँदै पनि धेरै जना धुम्रपानको लतमा फसिरहेका छन् ।

चुरोटले सोझो असर फोक्सोमा गर्छ । साथै यसले हड्डीमा पनि असर पुर्‍याउँछ । चुरोटको सेवनले हड्डी बिस्तारै कमजोर हुन थाल्छ । चुरोटले हड्डीमा के कस्तो असर गर्छ ? चुरोट तान्नेहरूको हड्डी भाँचिएमा जोडिन कठिन हुन्छ कि हुँदैन ? लगायत विषयमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सरोजकुमार सुवालसँग गरिएको कुराकानी :

चुरोट खानेहरुको हड्डी र नखानेको हड्डीमा कस्तो फरक हुन्छ ?

चुरोट तान्नेहरूको हड्डी बनाउने प्रक्रिया नै ढिलो हुन्छ र हड्डी कमजोर हुन्छ । चुरोट नतान्नेहरूको हड्डी बन्ने प्रक्रिया सामान्य हुन्छ, जसले गर्दा उनीहरूको हड्डी चुरोट तान्नेको भन्दा बलियो हुन्छ ।

चुरोट तान्नेको हड्डी कमजोर हुने भएकोले हल्का लड्दा पनि हड्डी भाँच्चिने जोखिम हुन्छ । नतान्नेहरूको भने अलिकति लड्ने बित्तिकै हड्डी भाँच्चिने हुँदैन ।

कति मात्रामा चुरोट खाँदा त्यसले हड्डीमा असर गर्न थाल्छ ?

यति मात्रामा चुरोट खानेहरूको हड्डी कमजोर हुन्छ भनेर कुनै अध्ययन त भएको छैन । तर ‘चेन स्मोकर’ लामो समय चुरोट सेवन गर्ने व्यक्तिको हड्डीमा समस्या देखिन थाल्छ ।

चुरोट तान्ने व्यक्तिको हड्डी बन्ने कोषिकाहरु राम्ररी बन्दैन । जसले गर्दा हड्डी कमजोर हुन्छ र हड्डी सम्बन्धी समस्याहरू देखिन्छन् ।

चुरोट तान्नेहरूको हड्डी भाँचिएमा जोडिन कठिन हुन्छ भन्छ नि ?

चुरोट तान्नेहरूको हड्डी भाँचिएमा जोडिन पनि कठिन हुन्छ । चुरोट तान्ने व्यक्तिको हड्डी बन्ने प्रक्रिया नतान्ने व्यक्तिको तुलनामा ४०० देखि ५०० प्रतिशतसम्मले कम हुन्छ । त्यसैले हड्डी भाँच्चियो भने जोडिन लामो समय लाग्छ ।

कस्तो अवस्थामा भाँचिएको हड्डी जोडिन गाह्रो हुन्छ ?

धुम्रपान गर्नेहरूको हड्डी जोडिन गाह्रो भएजस्तै हड्डीको मेटाबोलिक डिजिज क्याल्सियम, भिटामिन डीको मात्रा कम हुनेहरूको पनि हड्डी जोडिन लामो समय लाग्छ ।

साथै साना बालबालिका तथा युवाको तुलनामा वृद्धवृद्धाको हड्डी जोडिन गाह्रो हुन्छ । वृद्धावस्थामा हड्डी बन्ने प्रक्रिया ढिलो हुने र हड्डी कमजोर हुने प्रक्रिया हुन्छ, जसले भाँचिएको हड्डी जोडिन गाह्रो हुन्छ ।

हड्डी भाँचिएको छ भने शल्यक्रिया गर्नुपर्छ कि पर्दैन ?

हड्डी भाँचिंदा शल्यक्रिया गर्नैपर्छ भन्ने हुँदैन । शरीरको ठाउँ र व्यक्तिको उमेरअनुसार हड्डी भाँचिदा शल्यक्रिया गर्नुपर्छ कि पर्दैन भन्ने कुरा तय हुन्छ ।

कुनै पनि ठाउँको हड्डी भाँचिएपछि त्यो ठाउँबाट अलि बढी सरेको छ भने शल्यक्रिया गर्नुपर्छ । हड्डी धेरै सरेको छैन भने प्लास्टर गर्दा पनि निको हुन्छ । प्रायः बुढापाकाको हड्डी भाँचिएपछि शल्यक्रिया नै गर्नुपर्ने स्थिति देखिन्छ । हिप र ढाडको हड्डी भाँचिएमा शल्यक्रिया गरिन्छ । ढाँडको शल्यक्रिया सम्भव नभएमा तीन महिनासम्म बेड रेस्ट गर्ने, बेल्ट लगाउने, फिजियोथेरापी गराउने, औषधि खाने गर्नुपर्छ ।

धुवाँ, धूलो जस्तो प्रदूषणले पनि त हड्डीमा हानि गर्छ होला नि ?

धुवाँ, धूलोले सम्पूर्ण स्वास्थ्यमा असर गर्ने भएकाले यसको प्रभाव हड्डीमा पनि पर्ने नै भयो । प्रदूषणले पनि धुम्रपानले जस्तो हड्डीको कोषिका बन्ने प्रक्रियालाई ढिलो गर्छ र हड्डी कमजोर हुन्छ ।

प्रदूषण र अस्तव्यस्त खानपानले अहिले ४० वर्ष काटेका व्यक्तिमा ढाड दुख्ने, घुँडा दुख्ने समस्या बढी मात्रामा देखिने गरेको छ ।

खैनीले चाहि हड्डीमा कुनै असर गर्छ ?

चुरोटभन्दा पनि खैनीले हड्डीमा दोबर बढी असर गर्छ । खैनीमा हुने निकोटिन र विभिन्न केमिकलले हड्डी र नसालाई असर गर्छ । हड्डी र नसा सँगसँगै हुने भएकाले हड्डी कमजोर भए नसामा पनि असर गर्ने र नसामा समस्या भए हड्डी कमजोर हुने हुन्छ ।

चुरोट र खैनी खाने व्यक्तिको नसा कमजोर भएर खुट्टाको मासु फर्किने, हातखुट्टा बाउँडिने समस्या समेत हुन्छ ।

हड्डी बलियो बनाउन के गर्ने ?

हड्डी बलियो बनाउन सबैभन्दा पहिले क्याल्सियम र प्रोटिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । साथै शरीरमा भिटामिन डी र क्याल्सियमको मात्रा सन्तुलित राख्नुपर्छ । यसबाहेक धुम्रपान र मद्यपान  नगर्ने तथा नियमित व्यायाम पनि गर्नुपर्छ ।

चुरोट डा. सरोजकुमार सुवाल स्वास्थ्य
डा.सरोजकुमार सुवाल
लेखक
डा.सरोजकुमार सुवाल
हाडजोर्नी तथा नसारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११२२४ एमएस अर्थोपेडिक हाल भक्तपुरस्थित मध्यपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय