+
+

शेखरले एकथोक भने, अर्कै गरे

कोशीमा सभामुखको हस्ताक्षरलाई अवैधानिक भनेका शेखरले पार्टी बैठकमा भने मुखै खोलेनन् । आफ्नो सुझाव अनुसार रुपान्तरणको मुद्दा लिएर सातै प्रदेश पुग्नेको आवाज बैठकमा राख्दै राखेनन् । पार्टी बैठक र बाहिर उनको दोहोरो भूमिका देखियो ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० साउन १७ गते २०:०७

प्रसंग १ 

कोशीका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाएपछि सत्ता गठबन्धनबाट कांग्रेसका उद्धव थापा २१ असारमा मुख्यमन्त्री बनेका थिए ।

थापालाई मुख्यमन्त्री बनाउन बहुमत संख्या ४७ पुर्‍याउन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर सरकार बन्न सम्भव भएको थियो । सरकार बनाउनका लागि सत्ताघटकले जुनसुकै हद पार गरेको भन्दै विरोध भयो । कांग्रेसकै नेताहरु कोशीमा सत्ता गठबन्धनले गरेको हर्कतसँग असन्तुष्ट देखिए ।

कांग्रेसका कोशी प्रदेश सभापति थापा मुख्यमन्त्री बनेकै दिन (२१ असार) फेसबुकमा कांग्रेस नेता डा. शेखर कोइरालाले लामो स्टाटस लेखेर सभामुखको हस्ताक्षरप्रति असन्तुष्टि व्यक्त गरे ।

‘सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेश गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरीत हुन जान्छ’, कोइरालाले फेसबुकमा लेखे । कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही सभामुखले हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जाने कोइरालाको तर्क छ ।

आफूले असंवैधानिक भनि गरेको टिप्पणीमा उनी अडिग भने रहेनन् । थापा नेतृत्वको सरकारमा आफू पक्षीय प्रदेश सांसदलाई मन्त्री बनाउन सहमत भए । कोइराला निकट प्रदेश सांसद रामकुमार खत्री कोशीमा मन्त्री बने । सामाजिक सञ्जालमा कोशीमा बनेको सरकारको विरोध गर्ने, तर आफ्ना मन्त्री बनाउन भने अघि सर्ने कामले उनीप्रति कांग्रेसवृत्तमा प्रश्न उठेको थियो ।

संसदीय दलको चुनावमा तेस्रो पुस्ताका नेताहरुलाई एकत्रित गराउन सकेका उनले त्यो बललाई केन्द्रीय समितिमा संयुक्त आवाजका रुपमा अघि बढाउन सकेनन् । खाँणको विषय समेत उनी मौन देखिए ।

२ साउनबाट सुरु भएको केन्द्रीय समिति बैठकमा ७ साउनमा नेता शेखरले धारणा राखे । लिखित धारणा राखेका उनले कोशीको विषय कहिंकतै उल्लेख गरेनन् ।

पार्टीभित्रका असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगरी पार्टी बैठकमा उठाउनुपर्ने तर्क कांग्रेसमा उठ्दै आएको छ । विधि, पद्धति र संवैधानिक व्याख्या सहित फेसबुकमा विचार राख्ने शेखरले पार्टी बैठकमा उक्त विषयमा किन मौन रहे ? उनीप्रति प्रश्न उठाउनेहरु पार्टीभित्र छन् ।

प्रसंग २ 

शेखरकै सल्लाह अनुसार उनी निकट नेताहरु जेठ महिनाभर पार्टी रुपान्तरणको मुद्दा लिएर सातै प्रदेश पुगे । रुपान्तरण अभियानकर्मीहरु आफ्नै सल्लाहमा तल्लो तहमा पुगेको उनले सार्वजनिक रुपमै बोलेका छन् । ९ साउनमा संस्थापनइतरका नेताहरुले आयोजना गरेको कार्यक्रमका क्रममा भने रुपान्तरणका पक्षमा देश दौडाहा गर्नेको प्रशंसा गरे । जबकि त्यसको दुई दिनअघि केन्द्रीय समिति बैठकमा बोल्दै गर्दा उक्त प्रसंगमा मुख नै खोलेनन् ।

‘व्यवहारिक रुपमै आफूलाई परिवर्तन गरौं । विधानले व्यवस्था गरे अनुसार बसौं र छलफल गरौं’, रुपान्तरणका लागि आफू निकटहरुले बुझाएको प्रतिवेदनबारे मौन रहँदै केन्द्रीय समितिमा उनले भने, ‘कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔं । कांग्रेस रुपान्तरण भनेकै यही हो ।’

२ साउनमा रुपान्तरण अभियानमा खटिएका नेताहरुले तल्लो तहबाट आएका सुझाव सहित प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाउने प्रयास गरेका थिए । देउवाले समय दिएनन् । नेताहरु मधु आचार्य, गुरुराज घिमिरे, जगदीश्वर नरसिंह केसी, रञ्जित कर्ण लगायत मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाउन वाध्य भए । सात प्रदेश र डायस्पोरामा गरिएको अन्तर्क्रियाबाट पार्टी सुधारका लागि सुझावहरु संकलन गरेर प्रतिवेदन तयार गरिएको थियो ।

नेताहरुका अनुसार पार्टी रुपान्तरणका लागि कार्यकर्ता तहबाट आएका सुझाव सहितको प्रतिवेदन पार्टीको पुँजी हो ।

आफ्नै सल्लाह अनुसार देशव्यापी खटेर प्रतिवेदन ल्याएको र त्यसका सुझावहरु पार्टीले ग्रहण गर्नुपर्ने विषयलाई शेखरले बैठकमा उठाएनन् । तर, आफू पक्षीय नेताहरुले बोलाएको कार्यक्रममा भने खुलेर अभियानकर्मीको कामको प्रशंसा गरे ।

‘रुपान्तरण अभियानले कांग्रेसलाई कमजोर गरेको छ भन्ने मलाई चाहिं लाग्दैन’, ९ साउनको कार्यक्रममा उनले भने, ‘यसबाट आत्तिहाल्नु पर्ने, कांग्रेस कमजोर भयो भन्ने सोचाइ मलाई चाहिं लाग्दैन । केही न केही हदसम्म मजबुत नै गरेको होला भन्ने मलाई लाग्छ ।’

दुई दिनअघि केन्द्रीय समितिमा उक्त प्रसंगलाई उठाउनै नचाहने तर दुई दिनपछि अर्को कार्यक्रममा बोल्नुले उनी माथि प्रश्न उठे ।

प्रसंग ३ 

आम नागरिक तह तथा कांग्रेसभित्र नै केहीले पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निलम्बन पक्षमा बोल्दै आएका छन् । पार्टीभित्र सुशासनको विषय उठाइरहने शेखरले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै नेता थुनामा परेको विषयलाई कसरी उठ्उलान् ? जिज्ञासा थियो । निलम्बनको पक्षमा उनले विचार नै राखेनन् । उनले केन्द्रीय समितिमा मोटो कुरामात्रै गरे, ‘कांग्रेसले सुशासनको नारा दिने मात्रै होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने बिश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन ।’

प्रसंग ४ 

कांग्रेसभित्र एउटा प्रचलन छ । केन्द्रीय समितिको बैठक अघि समूहले आन्तरिक रणनीति तय गर्ने । संस्थापन र इतर दुबैले एक प्रकारले पद्धति नै बनाएका छन् । सभापति देउवाले सात प्रदेशमा १/१ नेतालाई जिम्मेवारी दिएर सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यको भेला डाकेर तयारी गर्न निर्देशन दिए । त्यसै रणनीति अनुसार उनीहरुको बोलीमा एकरुपता बैठकमा पनि देखिएको थियो ।

संस्थापन इतरका नेता शेखरले आफ्नो पक्षलाई केन्द्रीय समिति बैठकअघि छलफलका लागि बोलाएनन् । उनी पक्षीय केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठकअघि आफ्नो समूहमा छलफलको अपेक्षा राखेका थिए । बैठक बोलाउने आश्वासन समेत शेखरले दिएका थिए । ‘हाम्रो समूहको बैठक बोलाउन भनेकै हो । बोलाउँछु पनि भन्नुभयो’, शेखर पक्षीय एक केन्द्रीय सदस्य भन्छन्,‘खै किन बोलाउनुभएन । थाहा छैन ।’

शक्तिको ओज कायम राख्न सकेनन्

निकट विगतका सन्दर्भ केलाउने हो भने शेखर स्वयंले भूमिका खुम्चाएको देखिन जाने कतिपयले टिप्पणी गर्छन् । एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा विधि, पद्धति र पार्टीको आन्तरिक जीवन बारे सभापतिलको जवाफ खोज्नेछन् भन्ने बुझाइ थियो । ‘४० प्रतिशतको शक्ति भएको उहाँ अरु केन्द्रीय सदस्यकै हैसियतको होइन । कुनामा बस्ने र देउवाले छुट्याएको ७ मिनेटमा शेखर दाइ सीमित हुनुभयो’, शेखर पक्षीय एक नेता भन्छन् ।

शेखरले आक्रामकता र गालीगलौज कोइराला परिवारको संस्कृति नभएको बताउँदै आएका छन् । त्यही शैलीलाई शेखरले निरन्तरता दिएको संस्थापनइतरका केन्द्रीय सदस्य सञ्जय गौतम बताउँछन् । ‘केन्द्रीय समितिमा शेखर दाइ शालीन र सन्तुलित रुपमा प्रस्तुत हुनुभयो,’ गौतम भन्छन्, ‘द्वन्द्व नबढाउने र आत्मसमर्पण पनि नगर्ने हाम्रो विचार समूहको पुरानै रणनीति हो ।’

केन्द्रीय समितिको बहुप्रतीक्षित बैठकलाई अवसरका रुपमा शेखरले उपयोग गर्न नसकेको चर्चा भित्र पार्टीभित्र छ । सभापतिसँग दुरी नबढाउने रणनीति अन्तर्गत शेखरको चालको रुपमा पनि बुझाइ छ । सभापतिलाई अप्ठ्यारो नपार्ने शेखर सोच थियो भने पनि आफ्नो समूहको बैठक डाकेर आन्तरिक तयारी गर्न सकिने विकल्प भएको उनी पक्षीय नेता बताउँछन् ।

‘उहाँले बैठक बोलाएर सभापतिलाई अप्ठ्यारो नहुने गरि धारणा राखौं । हाम्रो पक्षको बोलीमा समानता ल्याऔ भन्न सक्नुहुन्थ्यो’, उनी पक्षीय एक नेता भन्छन् । बैठक बस्न नसकेपछि उक्त समूहका नेताहरु आ आफ्नो तरिकाले बैठकमा प्रस्तुत भए ।

समूहको मियोको भूमिका उनले निर्वाह गर्न नसक्दा संस्थापनइतरका नेताहरु एक ढिक्का भएर संस्थापन पक्षको प्रतिवाद गर्ने अवस्था नरहेको उनी बताउँछन् । संस्थापनइतर एकवद्ध भएर बैठकमा प्रस्तुत हुन नसकेको कांग्रेस राजनीतिका जानकार पुरञ्जन आचार्य बताउँछन् ।

‘संगठित आवाज सुनिएको अनुभूति भएन । पार्टी रुपान्तरण र सुधारका लागि प्रतिपक्षीय भूमिका देखिएन’, आचार्य भन्छन् ।

संसदीय दलको चुनावमा बढेको उचाइ ‘घटाए’ 

संसदीय दलमा महामन्त्री गगन थापालाई अघि सारेर शेखरले अभिभावकीय जिम्मेवारी निर्वाह गरेको भन्दै उनको प्रशंसा भएको थियो । गगनको प्रस्तावक हुँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल समर्थक बसेका थिए । महामन्त्रीमा जितेका र पराजित एउटै उमेर समूहका नेताहरु एक ठाउँ ल्याउन उनी सफल भएको विश्लेषण गरिएको थियो । दूरगामी महत्व राख्ने गरी शेखरले भूमिका देखाएको भन्दै तत्कालीन समयमा उनले उचाई बढाएका थिए ।

संसदीय दलमा प्रतिस्पर्धा नगरेर त्यागको राजनीति गरेको भन्दै उनको वाहवाही पनि भयो ।

महामन्त्रीमा गगन पराजित भए पनि उर्जावान् नेताहरु एकत्रित भएकाले आशाको सञ्चार पनि भएको थियो । तेस्रो उमेर समूहका नेताहरुको बलमा केन्द्रीय समितिमा बलशाली उपस्थिति देखाउन शेखर चुकेको उनी माथि आरोप लागेको छ ।

‘केन्द्रीय समितिमा राख्ने मुद्दामा शेखर दाइ चुक्नुभयो । देउवा र शेखर पार्टी भित्रका दुई समूह छन् भन्ने कुरालाई स्थापित गर्ने अवसर गुमाउनुभयो’, कांग्रेसका एक नेता भन्छन्, ‘गगन उहाँकै समूहमा हुनुहुन्थ्यो । विश्व र प्रदीपलाई पनि साथ लिएर मुखरित हुने अवसर पनि गुमाउनुभयो ।’

समूहको ‘फर्स्ट म्यान’ भएकाले अभिव्यक्ति स्वभाविक भएको संस्थापनइतरका नेता सञ्जय गौतम बताउँछन् ।

समूह टुटफुट हुने चिन्ता

१५ औं महाधिवेशन केन्द्रित भएर शेखरले रणनीतिक चाल खेलेको भनी उनी माथि आरोप लाग्दै आएको छ । देउवासँग आफू नजिकिएको बाहिरी चर्चाको उनले प्रतिवाद पनि गर्दै आएका छन् । मंगलबार शेखरसँग लामो संवादमा रहेका एक नेताका अनुसार देउवासँग मिल्नै नसक्ने भन्दै आएपनि अनावश्यक बजार हल्ला चलेको बताएका थिए ।

मंगलबार शेखरले बोलेको कुरालाई उधृत गर्दै ती नेताले भने, ‘देउवासँग मिल्न नसक्ने मैले सञ्चारमाध्यममा भन्दै आएको छु । किन हल्ला फैलिरहेको छ ?’ आफ्नो समूहमा टुटफुट आउने हो कि भन्ने चिन्ता पनि उनले व्यक्त गरेका थिए । ‘बडो मुश्किलले बनाएको शक्ति हो । टुटफुट होला कि भन्ने चिन्ता उहाँमा थियो’, ती नेताले भने ।

१४ औं महाधिवेशनबाट सभापति हुन नसकेका शेखर त्यही पदका लागि १५ औंमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । तेस्रोपटक १६ औंमा प्रतिस्पर्धा गर्न उमेरले पनि साथ दिँदैन । देउवासँग दूरी बढाएर भन्दा कम गरेर नै लाभ लिन सकिने उनमा बुझाइ विकसित हुँदै गएको नेताहरु दाबी गर्छन् ।

‘देउवासँग नजिकिएसँगै रामचन्द्र पौडेल राष्ट्रपति पदमा पुग्ने अवसर प्राप्त गरे’, कांग्रेसका एक नेता भन्छन्,‘विवादको राजनीति गरेर भन्दा देउवासँग मिलेरै लाभ पाइने उहाँले बुझ्नुभयो होला ।’ उनी पक्षीय नेताहरु भने देउवा पक्षमा शेखर गए भने पछ्याउन नसकिने बताउँछन् । रामचन्द्र पौडेल र शशांक कोइराला देउवातिर ढल्किंदा उनीहरुलाई साथ दिएकाहरु भने नगएको विगत स्मरण एक नेताले गराए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?