+
+

सुनकाण्ड पनि सामसुम हुन सक्छ : शेखर कोइराला

कोइरालाले भने, ‘सुन काण्ड पनि सामसुम हुन्छ । यो काण्ड चलिरहँदा अर्को काण्ड निस्कन्छ । कुनै पनि काण्ड लजिकल इण्डमा पुग्दैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १४:०८

१८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक क्न्टिल सुन तस्करी प्रकरण निष्कर्षमा पुग्नेमा आशंका गरेका छन् ।

बिहीबार प्रेस युनियन काठमाडौले गरेको कार्यक्रममा उनले तस्करी, अनियमितता र भ्रष्टाचार प्रकरणको अनुसन्धान बीचैमा पुगेपछि रोकिने गरेको भन्दै सुन तस्करीको अनुसन्धानमा पनि प्रश्न गरेका हुन् ।

कोइरालाले भने, ‘सुन काण्ड पनि सामसुम हुन्छ । यो काण्ड चलिरहँदा अर्को काण्ड निस्कन्छ । कुनै पनि काण्ड लजिकल इण्डमा पुग्दैन ।’

यसअघि नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरण पनि टुंगोमा नपु¥याइएको उनले बताए । ‘एउटा इस्यु उठ्छ । अर्को इस्यु उठ्दा अघिल्लो साइड लाग्छ । भुटानी शरणार्थीको एउटा अघि बढ्दै थियो’, कोइरालाले भने,‘साइड लाइन लाग्या छ । त्यसपछि ललिता निवास जग्गा प्रकरण आयो । त्यो इस्यु पनि अगाडि बढ्दै बढ्दै गयो । ठ्याक्क गएर रोकिन्छ ।’

उनले विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवको भूमिका रहेका सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएकामा पनि असन्तुष्टि व्यक्त गरे । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको ढुंगानाकै नेतृत्वमा अनुसन्धान भइरहेको छ ।

‘जो डीजी (महानिर्देशक) हुनुहुन्छ त्यस्को । सुनकाण्ड भन्दा १० दिन या ७ दिन पहिले प्रधानमन्त्रीजीको पीए हुनुहन्थ्यो । हामी कहाँ पुग्न खोज्दैछौ ? सोंच्दै जाऔं’ कोइरालाले आशंका गरे ।

भ्रष्टचारका मुद्धा बाहिर आउँदा शीर्ष तीन नेता छलफलमाा बस्ने गरेकामा पनि उनले विरोध जनाए ।

‘सभापतिसँग के मा मिलेँ ?’

नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोपको पनि खण्डन गुरे । विषयवस्तु नबुझी देउवा–शेखर मिलेको भनी प्रचार भएको उनको गुनासो छ । ‘शेखर त सभापतिसँग मिल्यो भनेर लेखिरहनुभएको छ । के मा मिलेको मैले बुझिराख्या छैन । तपाईहरु लेखिरहनुभएको छ,’ प्रेस युनियनको कार्यक्रममा उनले भने ।

उनले सभापति देउवासँग एजेण्डाका आधारमा मिल्ने र नमिल्ने बताए । सभापतिले पहिले पहिले नबोलाएकाले भेट्न नगएको तर पछिल्लो समय बोलाउन थालेपछि जाने गरेको कोइरालाको प्रष्टीकरण छ । सभापतिले गरेका गलत कामको प्रतिवाद गर्दा पनि पत्रकारले नलेखेको उनले गुनासो गरे ।

‘महामन्त्रीको डिफेण्ड मैले किन गर्ने ?’

केन्द्रीय समितिमा महामन्त्री गगन थापाविरुद्ध संस्थापन पक्षका केन्द्रीय सदस्य खनिँदा पनि शेखरले बचाउ नगरेको भन्दै संस्थापनइतर पक्षकै नेताहरुले प्रश्न गरिरहेका छन् । त्यसको जवाफ पदँदै शेखरले केन्द्रीय समितिमा आफूले कसैको बचाउ नगर्ने बताए ।

‘कतिले मलाई भन्नुभयो । तपाईंले महामन्त्रीको डिफेण्ड किन गर्नुभएन ?’ कोइरालाले भने, ‘मैले भनेँ केन्द्रीय समितिमा म कसैलाई डिफेण्ड गर्न आएको होइन । केन्द्रीय समितिमा आफ्नो बुद्धि विवेक पो लगाउने हो । ग्रुपले जे भन्छ, त्यही गर्ने हो भने एक जना बोले पुगि गो नि । आफ्नो विवेक प्रयोग गर्न न केन्द्रीय समितिमा गएका हौं ।’

कोशी प्रदेशमा तत्कालीन सभामुख बाबुराम गौतमले सरकार बनाउन गरेको हस्ताक्षर गर्नु गलत हो भनेर आफूले सभापति देउवालाई नै भनेको कोइरालाले बताए । सभामुखले हस्ताक्षर गरे मुख्यमन्त्री नियुक्तिको विरोध गरेका कोइरालाले पछि त्यही मन्त्रिपरिषदमा आफू पक्षका नेतालाई मन्त्री बनाएको भनेर पनि विरोध भएको थियो ।

प्रतिरक्षा गर्दै शेखरले भने, ‘मन्त्री मैले बनाएको होइन । सांसद ग्रुपको हुँदैन । कांग्रेसको हुन्छ । मैले पठाउने कसले पठाउने भन्ने कुरा आउँदैन ।’ आफ्नो समूहमा मतान्तर नभएपनि कतिपयले फाटो ल्याउने प्रयास गरेको कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?