+
+
प्रस्तावित राजदूतहरूलाई सांसदको सुझाव :

‘तपाईंका कार्ययोजना हाम्रा चुनावी घोषणापत्र जस्ता नहुन्’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० साउन १८ गते १९:५०

१८ साउन, काठमाडौं । विभिन्न देश र नियोगका लागि राजदूतमा प्रस्तावित ६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएको छ । बुधबार र बिहीबार भएको सुनुवाइका क्रममा सांसदहरूले मुख्यतः सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजना कार्यान्वयन गर्न सुझाव दिए ।

कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको १० पृष्ठ लामो कार्ययोजना सुनेपछि राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता समेत रहेका सुनुवाइ समिति सदस्य देवेन्द्र दाहालले भने, ‘तपाईंको कार्ययोजना नेपालका राजनीतिक पार्टीहरूको चुनावी घोषणापत्र जस्तो नहोस्, शुभकामना छ ।’

चुनावमा घोषणा गर्ने र चुनावपछि पल्टाएर नहेर्ने प्रवृत्ति राजनीतिक दलहरूमा रहे जस्तै राजदूतहरूमा पनि राजदूत हुनु अगाडि संसदीय सुनुवाइ समितिमा प्रभावकारी कार्ययोजना पेश गर्ने तर राजदूत भएपछि त्यसको कार्यान्वयनमा ध्यान नदिने प्रवृत्ति रहेको उनले बताए ।

प्रस्तावित राजदूत लम्साल प्रत्येक महिना आफ्नो कामको रिपोर्ट परराष्ट्र मन्त्रालयमा उपलब्ध गराउने बताएका थिए । यस्तो घोषणा राम्रो भएको उल्लेख गर्दै सांसद दाहालले कार्यान्वयनमा आशंका गरे । ‘प्रत्येक महिना रिपोर्ट मन्त्रालयमा पठाउने भन्नुभयो यो राम्रो छ । तर रेस्पोन्स कस्तो हुन्छ ?’ दाहालको प्रश्न थियो ।

प्रस्तावित राजदूत लम्सालले ‘कति काम गर्न सक्छु भन्ने आकलन गरेर कार्ययोजना तयार पारेको’ जवाफ दिए । ‘यति गर्न सक्छु भनेरै लेखेको हँु । रिपोर्ट प्रणाली आवश्यक परे तुरुन्तै र नभए प्रत्येक महिना पठाउँछु’ भुसालले सुनुवाइका क्रममा भने ।

२६ वर्षदेखि परराष्ट्र मन्त्रालयमा काम गरेको अनुभव सँगालेका कुवेतका लागि प्रस्तावित राजदूत लम्सालले उच्चस्तरीय भ्रमणलाई प्रमुख प्राथमिकतामा राखेका छन् । उनका अनुसार ‘कुवेतबाट अहिलेसम्म कुनै पनि भीभीआईपीको नेपाल भ्रमण भएको छैन । नेपालबाट भने पटक–पटक मन्त्रीस्तरीय भ्रमण भएको छ ।’

नेपाल र कुवेतबीच श्रम सम्झौता गर्ने र नेपालीका लागि राम्रो रोजगारीको अवसर खोज्ने उनको प्रतिबद्धता छ ।

२०६४ मा आफू श्रममन्त्री भएको र त्यसैबेला कुवेतसँग श्रम सम्झौता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका समिति सदस्य रमेश लेखकले पूरक प्रश्न गरे, ‘१६ वर्षसम्म किन हुन सकेन होला ? यसलाई अगाडि बढाउनुहोला ।’

जवाफमा लम्सालले भने, ‘श्रम सम्झौता मेरै कार्यकालमा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रस्तावित राजदूत लम्साललाई नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले पनि प्रस्तुत कार्ययोजना कार्यान्वयन गर्न सुझाइन् । ‘कार्ययोजना अनुसार त्यति नै काम गर्नुभयो भने धेरै हुन्छ । यो होस् भन्ने शुभकामना छ’ उनले थपेकी छन्, ‘गर्छु भनेको गर्न सक्नुहोस्, अनाहकमा ज्यान गुमाएका नेपालीको लास फर्काउनै महिनौं लाग्ने स्थितिको अन्त्य होस्, शुभकामना छ ।’

एमालेकी सांसद ईश्वरी घर्तीले कुवेतमा घरेलु महिला श्रमिक समस्यामा रहेको बताइन् । ‘भारतको बाटोहुँदै लैजाने र बन्धक जस्तो बनाएर काममा लगाउने, फोनमा कुरा गर्न समेत नदिने, कुवेतबाट साउदी लैजाँदा समेत श्रमिकहरूले कहाँ छु भन्ने थाहा नपाउने अवस्था रहेको’ भन्दै उनले प्रस्तावित राजदूतको ध्यानाकर्षण गरिन् ।

जवाफमा प्रस्तावित राजदूत लम्सालले कुवेतमा करिब ८५ हजार नेपाली रहेको जानकारी दिए । ५७ जना विभिन्न कारणले जेल परेका र त्यसमध्ये ३६ जना दूतावासको सम्पर्कमा रहेको उल्लेख गर्दै उनले त्यसमध्ये धेरैजसो दुर्व्यसनमा लागेको जानकारी दिए ।

जेलमा रहेकामध्ये एक जना महिला र एक जना पुरुष जन्मकैदको सजाय भोगिरहेको सुनाए । कानुनी सजाय पाएर जेल परेकाको सजाय कम गर्न र समस्यामा परेका नेपालीको उच्च प्राथमिकताका साथ काम गर्ने उनको प्रतिबद्धता छ ।
बिहीबार भएको संसदीय सुनुवाइका क्रममा यूएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीले १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका थिए ।

नेपाल र युएईबीच उच्चस्तरीय भ्रमणको आदान–प्रदान गर्ने/गराउने, वैदेशिक सहायता र लगानीका लागि आह्वान, बैंक मार्फत पैसा (रेमिट्यान्स) पठाउन नेपाली श्रमिकलाई आग्रह गर्ने लगायत विषय समेटिएको कार्ययोजना सुनेपछि सांसदहरूले कार्यान्वयनका आधार खोजे ।

‘कार्ययोजना राम्रो छ । यति राम्रो योजना रहेको मान्छेलाई पनि आशंका गरेर उजुरीहरू आएका छन् । प्रभावकारी रूपमा काम गर्न सक्नुहुन्न कि भन्ने आशंका उजुरीमा व्यक्त गरिएको छ’ एमालेकी सांसद ईश्वरी घर्तीले स्मरण गरिन् ।

‘अंग्रेजीमा असाध्यै कमजोर, एक प्याराग्राफ पनि लेख्न सक्नुहुन्न भन्ने छ’ उनले थपिन्, ‘अंग्रेजी म पनि जान्दिनँ । तर म राजनीतिक व्यक्ति हुँ, यहाँले प्रस्तुत गरेको कार्ययोजना कार्यान्वयन गर्न भाषाले अप्ठ्यारो पार्छ कि पार्दैन ?’

जवाफमा प्रस्तावित राजदूत क्षेत्रीले आफू २६ वर्षदेखि परराष्ट्र मन्त्रालयमा रहेको, विभिन्न चार वटा दूतावास र नियोगमा रहेर काम गरिसकेको, बेलायतका लागि कार्यवाहक राजदूतको भूमिका निर्वाह गरेको र स्नातकोत्तरसम्म अध्ययन गरेको पनि बताए ।

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रस्तावित राजदूत क्षेत्रीलाई प्रस्तुत कार्ययोजनाको ५० प्रतिशत मात्रै कार्यान्वयन भए पनि कार्यकाल पूर्णतः सफल भएको मानिने बताए ।

‘कार्ययोजनाको ५० प्रतिशत मात्रै काम गर्नुभयो भने नेपाल सरकार र तपाईं दुवै सफल भएको मानिन्छ’ उनले थपे, ‘तपाईंको फोन नम्बर लिएर बेला–बेला सम्झाउनुपर्ला ।’

जवाफमा प्रस्तावित राजदूत क्षेत्रीले भने, ‘कार्ययोजना ५० प्रतिशत कार्यान्वयन मात्रै होइन अझ धेरै गर्नेछु । मैले बनाएको कार्ययोजना हो, साधन–स्रोत कति हुन्छ जे–जति भए पनि मैले नै पहल गर्दा हुने विषय हुन्छन् ।’

कांग्रेसकै अर्की सांसद ईश्वरी देवी न्यौपानेले सुनुवाइका क्रममा गरेको बाचा पूरा भए–नभएको फर्किएर आएपछि स्मरण गराउने बताइन् । उनले भनेकी छन्, ‘चार वर्ष हाम्रो पनि कार्यकाल बाँकी नै छ । यहाँको कामगराइको विषयमा फर्किएर आएपछि अनौपचारिक ढंगले भए पनि कुरा गरौंला ।’

सांसद न्यौपानेले यूएईमा महिला श्रमिकको दर्दनाक कुरा सुन्ने गरिएको उल्लेख गर्दै यसतर्फ प्रभावकारी ढंगले काम गर्न आवश्यक रहेको बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले ‘नेपालमा ठग्ने र युएई गएर शानले बस्ने प्रवृत्ति रहेको’ उल्लेख गर्दै प्रश्न गरे, ‘यसमा के गर्न सकिन्छ ?’ युएईमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने पहल गर्न पनि उनको सुझाव थियो ।

एमालेका सांसद देवेन्द्र दाहालले पनि ‘युएई नेपालको भ्रष्टाचार गरेको पैसा राख्ने ठाउँ भयो’ भन्ने सुन्ने गरिएको उल्लेख गर्दै प्रस्तावित राजदूतको धारणा माग गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रकाश अधिकारीले बिप्पा सम्झौता रोकिएको उल्लेख गर्दै अगाडि बढाउन सुझाव दिए । ‘दोहोरो कर हटाउने उपाय छ भने एउटा कुरा नत्र बिप्पा सम्झौता होस्’, उनले भने ।

जवाफमा प्रस्तावित राजदूत क्षेत्रीले ‘हुण्डीबारे चनाखो हुनैपर्ने’ बताए । ‘अपराध गर्ने नेपालीहरू प्रशस्त छन् भन्ने सुनेको छु, भोगेको पनि छु, थाहा पाएको पनि छु’ उनले थपे, ‘दुई देशका बीचमा अपराधीहरूलाई आदानप्रदान (आफ्नो देश फर्काउने) विषय पनि अघि बढेको छ, म थप पहल गर्छु ।’ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रयास गर्ने र बिप्पा नगरी नहुने आफूलाई पनि लागेको उनको जवाफ थियो ।

थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर वलीले १२ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरे । कार्ययोजनामा दुई देशका बीचमा राजनीतिक सम्बन्ध, जनस्तरको सम्बन्ध थप प्रगाढ बढाउने, थाइल्याण्डबाट नेपालमा पर्यटक भित्र्याउन पहल गर्ने, थाइल्याण्डमा नेपाली उत्पादनको ब्रान्डिङ गर्ने, शिक्षा र प्राविधिक क्षेत्रको ज्ञान नेपालमा भित्र्याउने लगायत विषय उल्लेख थिए ।

कार्ययोजना सुनेलगत्तै राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारलाई धन्यवाद दिए । ‘यसपटक नेपाल सरकारलाई धेरै धेरै धन्यवाद । ६ जना राजदूतको सुनवाइ गर्‍यौं । साँच्चै क्षमतावान व्यक्तिलाई नै सिफारिस गरेको छ’, दाहालले भने ।

तर फेरि पनि आशंका चाहिं प्रस्तुत कार्ययोजना कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्नेमा रहेको उनले दोहोर्‍याए ।

जवाफमा प्रस्तावित राजदूत वलीले थाइल्याण्ड र नेपाल एक–अर्कोमा परिचित मुलुक भएकाले काम गर्न सहज रहेको बताए । कार्ययोजनामा भए भन्दा अझै ज्यादा गर्न सक्ने अवस्था रहेको बताए ।

बौद्ध धर्मावलम्बीहरूका लागि नेपालको लुम्बिनी प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै उनले यसतर्फ ख्याल गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार लुम्बिनी र पोखरा विमानस्थलमा थाइल्याण्डबाट सीधा हवाई उडानको प्रयास जारी छ । यो प्रयासलाई सफल बनाउन आफू लागिपर्ने उनको बाचा थियो ।

थाइल्याण्डबाट आउने पर्यटकलाई बुद्ध सर्किटको रूपमा लुम्बिनीबाट काठमाडौं हुँदै मनाङ–मुस्ताङ पुर्‍याउने गरी काम गर्ने पनि प्रस्तावित राजदूत वलीको प्रतिबद्धता थियो ।

बुधबार अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि राजदूतमा सिफारिस भएका सुधीर भट्टराईको सुनुवाइ भएको थियो ।

सुनुवाइ सकिएलगत्तै सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । सरकारले सिफारिस गरेका राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन र सम्बन्धित मुलुकबाट स्वीकृति (एग्रिमो) प्राप्त भएपछि राष्ट्रपतिबाट नियुक्त हुन्छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?