+
+

प्रोभिजन बढ्दा दबाबमा सिद्धार्थ बैंक, ३ अर्ब बढी नाफा कमाए पनि लाभांश बाँड्न करिब ८० करोड मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १२:४०

१९ साउन, काठमाडौं । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्था प्रोभिजन रकम पनि बढ्दै गएको छ । जसले गर्दा बैंकहरुको आम्दानीमा वृद्धि भएपनि सोही अनुसार नाफा भने बढाउन सकेका छैनन् ।

सिद्धार्थ बैंको पनि गत आर्थिक वर्ष २०७९/८० मा प्रोभिजन रकम बढ्दा ब्याज आम्दानीको अनुपातमा नाफा बढ्न सकेको छैन ।

व्यवसाय उल्लेख्य विस्तार नभएपनि बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) लाई व्यवस्थापन गर्दा खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । जसले गर्दा प्रोभिजन बढ्दा पनि बैंकको नाफामा वृद्धि भने भएको छ ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भन्दा ९.९१ प्रतिशले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ९० करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले गत आर्थिक वर्षमा बोनस सेयर मार्फत चुक्ता पूँजी १२.५ प्रतिशतले बढाएर १४ अर्ब ९ करोड ८० हजार पुर्याएको छ ।

चुक्ता पूँजी बढाउँदा पनि बैंकको नाफामा भएको वृद्धिले प्रतिसेयर आम्दानी अघिल्लो वर्ष २० रुपैयाँ ६० पैसा रहेकोमा गत आर्थिक वर्षमा २२ रुपैयाँ ४३ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ११.१७ गुणा छ । बैंकको साधारण जगेडा कोषमा १० अर्ब ५७ करोढ ८९ लाख र र सञ्चित नाफा ७९ करोड ५८ लाख रुपैयाा छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप १६.७६ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ पुग्दा कर्जा लगानी भने ३.०६ प्रतिशतले मात्रै वृद्धि भई १ खर्ब ८४ अर्ब ४ करोड ५८ लाख पुगेको छ । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च हुँदा ब्याज आम्दानीको तुलनामा बैंकको ब्याज खर्च बढेको छ । तरपनि बैंकको खुद ब्याज आम्दानी भने २३.९८ प्रतिशतले बढेर ८ अर्ब १७ करोड ८४ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ मात्रै थियो । २०७९ असार मसान्तमा ४.३७ प्रतिशत रहेको बैंकको स्प्रेड दर गत आर्थिक वर्षमा बैंकले राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतसम्म पुर्याएको थियो भने असार मसान्तमा आउँद राष्ट्र बैंकले तोकेको ४ प्रतिशत भन्दा तल ३.९९ प्रतिशतमा ल्याएको छ । कर्जा वृद्धि नहुँदा पनि बैंकले स्प्रेड दर व्यवस्थापन गर्दा खुद ब्याज आम्दानी बढेको हो ।

बैंकको ब्याज आम्दानीमा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी बापतको प्रोभिजन ६० करोड ७४ लाख रुपैयाँबाट बढेर १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १.०७ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा २०८० असार मसान्तमा आउँदा बढेर २.०१ प्रतिशत पुगेको छ । जसले बैंकको प्रोभिजन रकम बढाएको हो । खुद ब्याज आम्दानीमा भएको वृद्धिले बैंकको प्रोभिजन रकम बढेपनि सञ्चालन नाफा करिब ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ५८ लाख पुगेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २६ करोड ६६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

कति बाँड्ला लाभांश ?

बैंकको नाफामा वृद्धि भएपनि ऋणपत्र रिडेम्सन रिजर्भमा ठूलो रकम छुट्याउनुपर्दा बैंकको लाभांश क्षमता भने कमजोर देखिन्छ । गत आर्थिक वर्षमा बैंकको सञ्चित कोषमा ७९ करोड ५७ लाख ६५ हजार छ । असार मसान्तको चुक्ता पूँजीको आधारमा बैंकले रकमबाट ५.६५ प्रतिशत लाभांश बाँड्नसक्ने क्षमता राख्छ ।

बैंकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट साधारण जगेडा कोषमा २० प्रतिशतले हुने ६३ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । बैंकले क्यापिटल रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड ४ लाख रुपैयाँ छुट्याएको छ ।

बैंकले साधरण जगेडा, क्यापिटल रिडेम्सन रिजर्भ कोष सहित विदेशी विनिमयका कारोबारबाट हुने जोखिम, कर्मचारी तालिम र संस्थागत सामाजिक उत्तरदायित्व कोषमा गरेर करिब २ अर्ब १७ करोड छुट्याएको छ ।

त्यस्तै असार मसान्तमा उठ्नुपर्ने २३ करोड ८९ लाख ब्याज उठाउन नसक्दा त्यसलाई रेगुलेटरी रिजर्भमा छुट्याएको छ । बैंकले लिलाम गरेको धितो बिक्री नहुँदा त्यसलाई सकारेर २७ करोड ८० लाख सहित रेगुलेटरी रिजर्भमा करिब ४३ करोड छुट्याएको छ ।

असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १२.५३ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७७.१६ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा पूँजीकोष अनुपात १३ प्रतिशत र सीडी रेसियो ८७.२१ प्रतिशत थियो । बैंकको आधार दर ९.४५ प्रतिशतबाट वृद्धि भएर ९.९१ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?