+
+
सम्झना :

एउटा अप्रिय खबरले जब मनलाई चिरा बनायो

स्वपना पौडेल स्वपना पौडेल
२०८० साउन १९ गते १४:१९

असार १२ गते हाम्रो परिवारका निम्ती कालो दिन थियो । हामी त्यो दिन सम्झन चाहन्नौं, तर बिर्सन पनि सक्दैनौं ।

स्वीकार्न नसिकने तर स्वीकार्नै पर्ने एउटा कठोर खबरले हामीलाई भित्रैबाट चिथोरेको थियो । त्यो खबर थियो, आफ्नै भाईको मृत्यु ।

मृत्यु त अकाट्य सत्य हो । हरेक जीवनले आफुसँगै मृत्यु पनि बोकेर आएको छ । तर, मृत्युले वास्तवमै हाम्रो मनलाई क्षतविक्षत बनाउने रहेछ ।

असार १२ गते भाई बिहानै चितवन घर जानका लागि काठमाडौंबाट निस्किएको थियो, दाईहरुको साथमा । हामी प्रतिक्षामा थियौं उनको फोन र म्यासेजको । संभवत उनले फोनमा भन्थे होलान्, ‘दिदी म घर पुगें है ।’ तर, मेरो कानले यो खबर सुन्न पाएन । त्यसअघि नै एउटा अप्रिय खबरसहितको फोनले मेरो मन चिरिदियो । खबर थियो, भाई सडक दुर्घटनामा परेको ।

मुग्लिन भन्दा अलि माथि सिमलताल भन्ने ठाउँमा दुर्घटना भएको रहेछ । त्यही दुर्घटनामा परी भाई गंभिर अवस्थामा रहेको र तुरुन्त अस्पताल लगिएको रहेछ । मलाई फोनमा भनियो, ‘ममी र बाबासहित तिमी तुरुन्त भरतपुर सरकारी अस्पतालमा जानु ।’

त्यसबेला म रिपोर्टिङका सिलसिलामा सिलिभ अस्पतालमा थिएँ । खबर सुन्नसाथ मेरो आँखामा अँध्यारो छायो । म सून्य भएँ । केही गर्न, केही सोच्न सकिन । असह्य पीडा र छटपटीले म एकदमै विथोलिएँ । तर, रोएर मात्र के हुन्छ र ? भाईको स्थिती बुझ्नुपर्ने भयो । मैले आफुलाई सम्हाल्दै डा. अनिल विक्रम कार्कीलाई फोन लगाएँ । नेपाल चिकित्सक संघका अध्यक्ष उनी चितवनमै कार्यरत छन् ।

‘मेरो भाईको नाम राजेश पौडेल, उमेर १८ बर्ष । चितवन जाने क्रममा दुर्घटना भएछ ।’ मैले डा. कार्कीलाई यसरी विवरण दिएर अवस्था बुझिदिन आग्रह गरें ।

केही समयपछि डा. कार्कीको फोन आयो । फोनमा उनले हतारिदै यसो भने, ‘सपना तिमी जतिसक्दो चाँडो अस्पताल जानु । संभव भए जहाजमा जानु ।’ यो कुराले मेरो मन अरु भारी भयो । मलाई लागेको थियो दुर्घटनामा परेर भाईको हात–खुट्टा भाँचियो होला । भाई वेहोश भएको होला । उपचारपछि ऊ फेरी घर फर्कन्छ होला । तर, अर्को डाक्टरको फोनले मेरो सम्पूर्ण आशा मारिदियो । डाक्टरले कठोर तर सत्य भनिदिए, ‘भाईको निधन भयो ।’

जीवनमा कहिले पनि यस्तो वाक्य सुन्नुपर्छ भन्ने सोचिएको थिएन । कति डरलाग्दो वाक्य थियो यो, जसले हाम्रो सम्पूर्ण खुसीलाई तुफानी बेगमा एकैपटक कतै हुत्याइदिएको थियो । अब यो वियोगलाई थेग्ने हामीसँग कुनै औषधि बाँकी थिएन ।

मैले कुनाल दाई र सुवास दाईलाई यो खबर सुनाएँ, एयरपोर्टसम्म पु¥याइदिन आग्रह गर्दै । तर, त्यहाँ जहाजको टिकट थिएन । अब के गर्ने ? बसमा संभव छैन ।

केही उपाय नभएपछि मैलें सम्झिएँ, विष्णु पौडेल अंकल । उनी भैरहवा विमानस्थलमा कार्यरत थिए । मैले फोनमा भनें, ‘हेर्नु न अब म जसरी पनि त्यहाँ पुग्नुपर्छ । तर, बसमा संभव छैन । जहाजमा टिकट छैन ।’

उनले मेरो लागि एउटा टिकटको बन्दोबस्ती गरिदिए । म कसरी विमानस्थल पुगें, कसरी जहाज चढें ? बेहोसी जस्तै भइसकेकी थिएँ ।

भरतपुर विमानस्थलमा ओर्लदाँ म शिथिल भइसकेकी थिएँ । त्यहाँबाट म एकदमै हतारमा अस्पताल पुगें । म पुग्नुअघि नै अस्पतालमा आफन्तहरुको भीड लागिसकेको रहेछ । अघिसम्म सग्लो भाईलाई मैले निर्जिव स्थितीमा देखें, जसलाई आकस्मिक कक्षबाट मूर्दाघरमा सारिसकेको रहेछ ।

अब मेरो भाई बोल्न सक्दैनथे, हेर्न सक्दैनथे । कुनै प्रतिक्रिया दिन सक्दैनथे । तर, म यी सबै कुरा विश्वास गर्न तयार भइसकेकी थिइन् । मलाई अझैपनि मेरो भाई बोल्छ जस्तो लाग्थ्यो । र, म बेस्सरी चिच्याइरहेकी थिएँ, ‘बाबु….बाबु । एकपटक दिदी भनेर बोलाउ न ।’

तर, भाई अब हामीबाट सधैका लागि अलग हुँदै थियो । कति सहनै नसकिने वियोग ?

भाई हाम्रो परिवारमा सबैको प्यारो । ज्ञानी थियो । पढाईमा अब्बल थियो । परीक्षामा सधै प्रथम हुने । भाई कतिसम्म प्यारो भने, उसलाई सानो चोट लाग्दा हामीलाई दुख्थ्यो । त्यसैले उनलाई हामी सधै प्रेममय वातावरणमा हुर्कायौं । दुःख र कष्ट उनको जीवनमा आउन दिएनौं । अभाव उनले कहिल्यै झेल्नुपरेन ।

भाईले चाहेको सबैकुरा पुरा गर्न हामी तयार हुन्थ्यौं ।

ममी राजनीतिमा, बुवा पर्यटनतर्फ । दुबै व्यस्त । घरमा खाने, खेल्ने भनेको हामी दुई दिदी भाई मात्र । एकअर्काको साथी थियौं हामी ।

भाई बाइकको एकदमै सौखिन । बाइकलाई कतिसम्म माया गर्ने भने, थोरै हिलोसमेत लाग्न नहुने । अत्यान्तै जतन गरेर राख्थे । आफ्नो बाइक अरुलाई छुन पनि नदिने । अन्ततः बाइक दुर्घटनामा नै भाईको ज्यान गयो ।

हामीले आफ्नो एकमात्र भाई सधैका लागि गुमायौं । मान्छेहरु भन्छन्, ‘जन्मेपछि मर्नुपर्छ । विछोड सबैको भागमा छ ।’ तर, भन्ने कुरा र भोग्ने कुरा फरक हुँदोरहेछ । अत्यान्तै मायाले हुर्काएको भाईसँग सधैका लागि विछोडिदाँ आफ्नै मुटु चिरिएको अनुभूत भइरहेको छ । अलविदा भाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?