+
+

‘मन्त्री र सचिवसँग बजेट माग्नुपर्ने पद्धतिमा सांसदको भूमिका प्रभावकारी हुन्न’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १९:३३

१९ साउन, काठमाडौं । सांसदहरु विद्यमान व्यवस्था, अभ्यास र प्रवृतिकै कारण सांसदको भूमिका संसदमा प्रभावकारी हुन नसकेको स्वीकार गर्छन् ।

‘बजेट बन्दा मैले मेरो लेटरप्याडमा मन्त्रीज्यु, सचिवज्यु यी विभिन्न आयोजनमा बजेट राखिदिनु भन्दै निवेदन लेख्नुपर्ने परिस्थिति छ । यो विधायकको काम हो ? यसमा निर्मम हुनैपर्छ’ शुक्रबार राजधानीमा आयोजित ‘संसद र सञ्चार अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै एमालेका सांसद ठाकुर गैरेले भने ।

सांसदको मुख्य काम कानुन निर्माण हो भनेर जनतालाइ बुझाउन आवश्यक रहेकोमा उनको जोड छ । विविध कारणले संसदलाई संसदजस्तो बनाउनका निम्ति धेरै काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सांसदहरुले विधेयक नै नपढी प्रस्तुत हुने गरेको भनी भएका आलोचनाप्रति उनको प्रतिप्रश्न छ, ‘हुन्छ कि हुन्न भनेर सभामुखले भन्ने बेला विधेयक हात पर्छ । कसरी विधेयकका विषयमा जानकारी हुनु ?’ संसदमा विधेयक टेबुल हुनु अगाडि नै सांसदहरु विधेयक निर्माणको पूर्ण तयारीमा कसरी संलग्न हुन सक्छन त्यसको खोजी हुन आवश्यक रहेको उनको भनाइ छ ।

२८ असार २०८० मा बसेको राष्ट्रिय सभाको बैठकमा विद्युतीय विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले विद्युतको विषयमा आफ्ना धारणा राखेका थिए । त्यस्तो हुनुको कारण समयमै विधेयक प्राप्त नगर्नुका कारणले विषयमा सांसदहरु झुक्किएको उनको प्रष्टीकरण छ ।

नेपाली कांग्रेसकी सांसद आशा विक सांसदहरुलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक रहेको बताउँछिन् । नेता र सांसद भनेपछि गलत धारणा जनतामा विकशित हुनु कसैको हितमा नरहेको उल्लेख गर्दै उनी सबैले संविधान र कानुन अनुसार आफ्नो भमिका निर्वाह गर्नुपर्ने दोहोर्‍याउँछिन् ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल नेताहरुको आरोप र विरोधको भन्दा ज्यादा आलोचना र सुझावले सञ्चारमाध्यममा स्थान पाओस् भन्ने आफ्नो चाहना रहेको बताउँछन् । यसले समाजलाई सकारात्मक गतिमा अगाडि लैजाने उनको विश्वास छ ।

संसदमा सरकार र प्रतिपक्ष दुवै जिम्मेवार रुपमा प्रस्तुत नभएको उनको अनुभूति छ । ‘अहिलेको सन्दर्भमा सरकार संसदप्रति उत्तरदायी छैन । प्रतिपक्ष पनि रचनात्मक रुपमा प्रस्तुत भइराखेको छैन’ सांसद दाहाल गुनासो गर्छन् । यसको मार कानुन निर्माणमा परिरहेको र त्यसले संविधान कार्यान्वयन र जनताको सवाललाइए कानुनमा सम्बोधन गर्ने सरकारी प्रयास पछाडि धकेलिरहेको उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार राजनीतिक दलहरुलाई नै जिम्मेवार बनाउन सकिए सांसदहरु सार्वभौम हुन सक्ने बताउँछन् ।

‘हामी दलबाट बाँधिएकै हुन्छौं । हाम्रा सीमितता हुन्छन् । तर राजनीतिक दललाई बढी जिम्मेवार बनाउन सकिए सांसद सार्वभौम रुपमा संसदमा प्रस्तुत हुन सक्छन्’ प्रमुख सचेतक परियारले आक्रोश पोख्छन् । सांसदहरुले स्वतन्त्र रुपमा आफ्ना धारणा राख्ने थलो संसदीय विषयगत समिति भएको तर संसदीय विषयगत समितिका सभापति नै चयन हुन नसकेको भन्दै उनले रोष प्रकट गरे ।

फेरि पनि संसदप्रति जनतालाई विश्वास दिलाउन सक्नुपर्ने उनको राय छ । यसका लागि निरन्तर लाग्ने उनको प्रतिवद्धता छ । उनी भन्छन्, ‘सासंदहरुलाई सार्वभौम बनाउनको लागि दललाई जिम्मेवार बनाउने होला, हाम्रो विधेयक कतिपय समूहको स्वार्थमा बनिरहेको हुन्छ । यसमा ख्याल गर्दै हामी सबै मिले ससंद राम्रो बन्ने सम्भावना छ ।’

जनता समाजवादी पार्टी (जसपा)की सांसद रञ्जु कुमारी झा सांसदहरुको स्वकीय राख्ने अभ्यासमै प्रश्न उठाउँछिन् । राजनीतिक दलको सिफारिसमा आउने व्यक्ति स्वकीय राख्ने गरिएको उनले जानकारी दिइन् ।

‘ब्याचलर पास गरेको व्यक्ति स्वकीय राख्ने हो । ४२ हजार तलब हुन्छ । त्यहाँ राख्ने को ? पार्टीले जसलाई भन्छ त्यही हो’ सांसद झाले भनिन् । यसकारण राजनीतिक दललाई नै थप जिम्मेवार बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

जनतालाई सांसदको काम कानुन निर्माण हो भनेर बुझाउन नसकिएकोमा पनि उनको गूनासो छ । उनी भन्छिन्, ‘जनताले बुझेको छ-सांसदले आर्थिक, बजेट कति दिन्छ, बस त्यति मात्रै बुझेको छ, कानूनको बारेमा केही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?