+
+

निर्माण व्यवसायी थप आन्दोलित, थानकोट र साँगामा चक्काजामदेखि निर्माणको काम रोक्ने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते २०:००
फाइल तस्वीर

२१ साउन, काठमाडौं । निर्माण व्यवसायी थप आन्दोलिन बनेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले १४ साउनदेखि थालेको आन्दोलनलाई थप कडा बनाउँदै व्यवसायीले अब चक्काजामदेखि निर्माणको काम रोक्नेसम्मका आन्दोलन घोषणा गरेका हुन् ।

व्यवसायीले सोमबारदेखि शुक्रबार (२६ साउन)सम्म सेफ्टी हेलमेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेरे हरेक दिन ९ बजेदेखि अनामनगरबाट संसद भवनसम्म सिट्टी जुलुस गर्ने भएका छन् ।

उनीहरुले संसद भवन अगाडि कोण सभा गर्ने र संसद भवनदेखि माइतीघर–बबरमहल हुँदै हनुमानस्थानमा जुलुस गरी धर्ना दिने भएका छन् । यसबाट पनि माग पुरा नभए २८ साउन (सोमबार)देखि अत्यावश्यक बाहेक सबै निर्माण कार्य अनिश्चितकालका लागि बन्द गरिने भएको छ ।

विकासे विभागहरुमा बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना र तालाबन्दीको समेत चेतावनी व्यवसायीले दिएका छन् । थानकोट र साँगामा आलोपालो दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने घोषणा समेत निर्माण व्यवसायीले गरेका छन् ।

नेपाल सरकारले २१ असारमा राजपत्रमा सूचना प्रकाशित गरी सबै ठेक्काको म्याद एक वर्ष थप गरेको थियो । त्यसपछि व्यवसायी आन्दोलिन बनेका थिए । उनीहरुले सबै निर्माण कार्यको भुक्तानी गर्न, २१ असारको आदेशमा संशोधन गरी पुनः आदेश जारी गर्न माग गरेका छन् । अत्यधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गर्न समेत उनीहरुले माग गरेका छन् ।

रुग्ण आयोजना अन्यौलग्रस्त र बजेट नभई काम नै हुन नसक्ने र काबुबाहिरको निर्माण कार्य सुविधाका आधारमा अन्त्य गर्न समेत व्यवसायीले माग गरेका छन् ।

सरकारबाट भुक्तानी नभएसम्म चेक बाउन्स र बैंक ग्यारेन्टी जफत लगायत कारवाही रोक्न समेत भनिएको छ । उपभोक्ता समितिबाट निर्माण काम गर्ने नियम खारेजीको समेत माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?