+
+
भेपमा लुकाएर सुन तस्करी :

भन्सारले चाहे महराका दुई छोरामाथि हुनसक्छ अनुसन्धान

प्रहरीले कृष्णबहादुर महरा भन्दै मिसिलमा उल्लेख गरेको नम्बर उनका छोरा निर्मलको

भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र आपराधिक विश्वासघातको मुद्दा चलाएको छ । तर यसमा भन्सार छलीको मुद्दा पनि आकर्षित हुने भएकाले कृष्णबहादुर महराका दुवै छोरा अनुसन्धानमा तानिने सम्भावना रहेको अधिकारीहरु बताउँछन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० साउन २२ गते २०:२६

२२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयले चाहे गत माघमा हराएको ९ किलो सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका दुई छोरामाथि अनुसन्धान हुने देखिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले २७ असारमा ९ जना विरुद्ध आपराधिक विश्वासघात र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

यसमा भन्सार छलीको कसुर पनि आकर्षित हुने भएकाले भन्सार कार्यालयले फेरि अनुसन्धान गरेर सुन ल्याउने समूह वा त्यसका सहयोगीलाई कानुनी दायरामा ल्याउन सक्ने सरकारी वकिलको कार्यालयले बताएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा संगठित अपराध र आपराधिक विश्वासघातमा मात्रै मुद्दा चलेकाले अझै भन्सार छलीको कसुरमा अनुसन्धान गर्न सकिने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने बताउँछन् ।

फेरि अनुसन्धान हुँदा महराका छोरा राहुल र निर्मल महरा पनि छानबिनको दायरामा आउन सक्छन् । विमानस्थल भन्सारका प्रमुख टोकराज पाण्डेले भने भर्खर हाजिर भएकाले यसबारे बुझ्न नपाएको अनलाइनखबरसँग बताएका छन् ।

निर्मलले चिनियाँ व्यापारी वाङलाई स्याउ व्यापारीको रुपमा चिनेको र ‘त्यही आधारमा विमानस्थलमा केही सामान रोकियो भनेपछि भाइ (राहुल) ले त्यहाँका अधिकृतसँग बुझेको’ बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो ।

जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो । भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको हो ।

यसबारे अनुसन्धान गरेको सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा सुन बिक्री गर्ने र सुन किन्ने समूह विरुद्ध संगठित अपराध र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चल्यो । तर सीआईबीको ९० दिन लामो अनुसन्धान सुन तस्करी गर्ने मुख्य समूहसम्म पुगेको थिएन ।

सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सुन सहितको भेप (विद्युतीय चुरोट) आएको तीन महिनापछि अनुसन्धानको जिम्मा आउँदा सुन ल्याउने गिरोहसम्म पुग्न नसकिएको बताउँछिन् । ‘हामीकहाँ अनुसन्धानका लागि भन्सार कार्यालयले पठाउनुभन्दा धेरै अघि चिनियाँ नागरिकले नेपाल छाडिसकेका थिए’, उनले अनलाइनखबरसँग भनिन् ।

मिसिल अदालत पुगेपछि खुल्यो महरा कनेक्सन

भन्सारले पठाएको पत्रका आधारमा सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेको थियो । त्यसको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा सीआईबीले राय सहितको प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा यो प्रकरणमा जोडिएका व्यक्तिहरुको कल डिटेल रेकर्ड (सीडीआर) को विश्लेषण चार्ट समावेश थियो, जसले सुन ल्याउने समूहका चिनियाँ नागरिक लुई र डाओजिन वाङको कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासँग सम्पर्क देखायो । सुन ल्याउने चिनियाँ नागरिक लुई र कृष्णबहादुर महरा (९८५१***३८८) बीच ११ पटक सम्पर्क भएको देखाइएको छ ।

तर मुद्दा चलाउन ठोस आधार नदेखिएको भन्दै प्रहरीले उनीहरुलाई प्रतिवादी बनाउन सिफारिस नै गरेन ।

चिनियाँ नागरिकसँग सम्पर्क देखिएकाले शंकाको दायरामा राखेर अनुसन्धान गरेको भन्दै सीआईबीकी निर्देशक बज्राचार्यले अनलाइनखबरसँग भनिन्, ‘उनीहरुको सम्पर्क विवरण केलाएका छौं, जहाँसम्म कृष्णबहादुर महरा र उहाँको छोराको कुरा छ, मुद्दा चलाउन ठोस आधार नदेखिएकाले प्रतिवादी नबनाइएको हो ।’

तर कल डिटेल रेकर्डको विश्लेषण चार्ट अभियोग पत्रमा पनि समावेश भयो, जुन बाहिरिएपछि भेप मार्फत भएको ९ किलो सुन तस्करीमा महरा परिवार पनि जोडियो । महराले भने त्यो नम्बर आफ्नो नभएको भन्दै आवश्यक परे छानबिनमा सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

कृष्णबहादुर महराको भन्दै समावेश नम्बर उनका छोरा निर्मलको भएको पाइएको छ । स्रोतका अनुसार, प्रहरीले प्रतिवेदनमा समावेश गरेको नेपाल टेलिकमको मोबाइल नम्बर निर्मलको नाममा ६ चैत २०६७ मा दर्ता छ ।

प्रहरीले महराको भन्दै उल्लेख गरेको नम्बरमा फोन गर्दा उनका छोरा निर्मलले नै उठाए । ‘यो नम्बर बुबाले चलाउनुभएकै छैन, २० वर्षजति भयो मैले चलाएको । टेलिकममै सोध्नुभए हुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘भाइ (राहुल महरा) र मेरो चाहिं पछाडिको नम्बर उही छ, के आधारमा राख्यो थाहै छैन ।’

कृष्णबहादुर महराका जेठा छोरा निर्मल महरा ।

बाबु वा छोरा जसको भए पनि त्यो फोन नम्बरमा चिनियाँ नागरिक लुईले ११ पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । अर्का चिनियाँ नागरिक डाओजिन वाङले पनि ११ पटक फोन गरेको उल्लेख गरिएको छ ।

महराका अर्का छोरा राहुलले (९८५१***८८८) नम्बरबाट १३१ पटक चिनियाँ नागरिक वाङलाई फोन गरेको देखिन्छ भने वाङले ६४ पटक उनलाई फोन गरेका छन् । अनलाइनखबरले प्रयास गर्दा राहुलको नम्बरमा सम्पर्क हुन सकेन ।

निर्मलले भने वाङलाई स्याउ व्यापारीको रुपमा चिनेको र ‘त्यही आधारमा विमानस्थलमा केही सामान रोकियो भनेपछि भाइले त्यहाँका अधिकृतसँग बुझेको’ बताएका छन् । पुरानै चिनजान भएकाले विमानस्थलमा चिनेका अधिकृतलाई भाइले फोन गरेको भन्दै उनले भने, ‘उसले अरु के काम गर्छ भन्ने थाहा हुने कुरा भएन । अर्का चिनियाँलाई त चिनेकै छैन ।’

कृष्णबहादुर महराको भन्दै अभियोग पत्रमा समावेश नम्बर उनका छोरा निर्मलको भएको पाइएको छ । उक्त मोबाइल नम्बर निर्मलको नाममा नेपाल टेलिकममा ६ चैत २०६७ मा दर्ता छ ।

प्रहरीले उल्लेख गरेको चार्टमा चिनियाँ नागरिकसँग लोकेन्द्र पौडेल नाम गरेका व्यक्तिको पनि सम्पर्क भएको उल्लेख छ । श्याम शाह नाम गरेका व्यक्तिले उनलाई ९० पटक सम्पर्क गरेको भनिएको छ । अनलाइनखबरको सम्पर्कमा आएका पौडेलले आफू चिनियाँ नागरिक लुइको सवारी चालक भएको बताएका छन् ।

‘म उहाँको ड्राइभर थिएँ, त्यही भएर कहिलेकाहीं कुराकानी हुन्थ्यो’ उनले भने, ‘प्रहरीले किन मेरो नम्बर पनि राख्यो थाहा भएन । उहाँले सुनको काम गर्नुहुन्थ्यो भन्ने पनि थाहा थिएन ।’

लिङ्क चार्टमा नम्बर उल्लेख गरिएका शाहको नम्बर स्वीच अफ छ । लोकेन्द्रले भने शाह पनि चिनियाँ नागरिक लुईसँग भेट्न कार्यालय आइरहने बताए । ‘अफिसमा आइरहने भएकाले उहाँसँग मेरो सम्पर्क थियो’, पौडेलले भने ।

शाहले खुवाप्रसाद न्यौपानेलाई १३५ पटक सम्पर्क गरेको विवरण प्रहरीले समावेश गरेको छ । न्यौपाने भन्सार एजेन्ट एवं कानुन व्यवसायी हुन् । ‘माछा, फलफूल लगायत सामग्री अड्कियो भन्दै मसँग पहिले सम्पर्क गर्ने गरेका थिए, मैले छुटाइदिने पनि गरेको थिएँ’ न्यौपानेले भने, ‘उनले मलाई यसपटक पनि फोन गरेका थिए । तर, ई–सिग्रेट भनेपछि लिलाम हुँदैन भनेर गएको थिइनँ ।’

भन्सार एजेन्ट भएकाले आफ्नो सम्पर्क हुनु सामान्य कुरा भएको उनले बताए ।

तर भेप लिलामीबारे चासो राख्दै राहुल आफैं पटकपटक विमानस्थल भन्सार कार्यालय पुगेको देखिन्छ ।

राहुल आफैं पुगेका थिए भन्सार

तत्कालीन भन्सार प्रमुख प्रशासक अरुण पोखरेलले प्रहरीमा गरेको कागज अनुसार, चिनियाँ नागरिक ली हानसोङले लिएर आएको ब्यागेजमा ‘ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेट’ देखिएपछि व्यापारिक प्रयोजनका लागि ल्याएको हुनसक्ने आशंकामा जफत गरिएको थियो ।

भन्सारका अधिकृत मुक्तिप्रसाद श्रेष्ठले प्रहरीलाई दिएको बयानमा जफत भएको भेपको लिलामी प्रक्रियाबारे राहुलले सोधपुछ गरेको बताएका छन् ।

‘यात्रु जाँचपास तथा सहजीकरण शाखामा ड्यूटीमा रहेका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले उक्त सामान सहितको ब्यागेज जफत गरेका रहेछन्’ पोखरेलले सीआईबीमा भनेका छन्, ‘जफत भएको सामग्री कारबाहीका लागि मुद्दा तथा लिलामी शाखामा पठाउने क्रममा टाइपिस्ट नासु सरोज श्रेष्ठले फोटो खिचेका रहेछन् ।’

सुर्तीजन्य पदार्थ भएकाले त्यो लिलाम हुने सम्भावना थिएन । सीआईबीका एक अधिकृत भन्छन्, ‘त्यहीबीच केही मान्छेहरु पटकपटक भेपबारे सोध्दै आएपछि शंका लागेको रहेछ ।’

स्रोतका अनुसार, भेपबारे चासो लिंदै राहुल महरा पटक–पटक विमानस्थल भन्सार कार्यालय पुगेका थिए । भन्सारका अधिकृत मुक्तिप्रसाद श्रेष्ठले पनि प्रहरीलाई दिएको बयानमा जफत भएको भेपको लिलामी प्रक्रियाबारे राहुलले सोधपुछ गरेको बताएका छन् ।

कृष्णबहादुर महराका कान्छा छोरा राहुल महरा ।

जफत भएको सामान लिलामी शाखामा पठाइने र नियम अनुसार लिलाम हुने भए बोलकबोल सूचना प्रकाशित हुने, नभए नष्ट गरिन्छ भनेर आफूले भनेको भन्दै उनले भनेका छन्, ‘त्यसबारे सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनेर जानकारी गराएको थिएँ ।’

सीआईबीका अनुसार, चिनियाँ नागरिकहरुले पनि भेपबारे चासो राख्दै विमानस्थल भन्सारका तत्कालीन प्रमुख प्रशासक सहसचिव अरुण पोखरेल लगायतलाई पटक–पटक भेटेका थिए । यसले भन्सार अधिकारीहरुलाई थप सशंकित बनायो ।

‘बजार मूल्य अनुसार झण्डै ५ लाख रुपैयाँको सामानका लागि जस्तो खाले व्यक्तिहरुबाट बारम्बार दबाब आयो, त्यसले भन्सारका अधिकारीहरुलाई शंका लागेको रहेछ’ ती अधिकृतले सुनाए, ‘धेरै प्रेसर गरेपछि शंका लागेर यसमा अनुसन्धान भइरहेको छ, लागूऔषध वा अरु केही हुनसक्ने देखिन्छ भनिदिएछन् ।’

चिनियाँहरु आउन छाडे । केही समय पछाडि हेर्दा भेप भएको बाकस सही अवस्थामा देखिएन । ‘सुटकेस त्यही थियो, भित्रको सामान फेरिइसकेको थियो’ सीआईबीका अनुसन्धान अधिकृतहरु भन्छन्, ‘पहिले जाँच गर्दा खिचेको फोटोसँग मिलेन । त्यसपछि भन्सारका अधिकारीहरुले खोधखोज थालेको पाइएको छ ।’

त्यसक्रममा गोदाम व्यवस्थापनमा खटिने नायब सुब्बा खड्कालाई बोलाएर भन्सारका हाकिमहरुले सोधपुछ गरेका थिए । सुरुमा त उनले त्यहीं ‘मिसप्लेस’ भएको हुनसक्ने बताएपछि सामान दुरुस्त हालतमा दाखिला गर्नु भनेको प्रमुख भन्सार प्रशासक पोखरेलले खुलाएका छन् ।

‘पटक–पटक सामानको सम्बन्धमा ताकेता गर्दा पनि उनले कार्यालयमा उपस्थित नहुने, कार्यालयले पत्राचार गर्दा समेत पत्र बुझ्न नआउने गर्न थालेपछि यथार्थ व्यहोरा नखुलाएमा प्रहरीको सहयोगमा फौजदारी कसुरमा मुद्दा दर्ता गर्ने भनेपछि बल्ल भेपमा सुन रहेको खुलाएका थिए’ उनले प्रहरीसँग भनेका छन् ।

अधिकृतहरुका अनुसार, भन्सारले बरामद गरेको भेपमा सुन रहेको सुनेको भन्दै बिचौलिया दिनेशले जानकारी गराएपछि नायब सुब्बा खड्काले जाँच गरेका थिए ।

‘प्रशासनिक भवनको गोदाममा सीसी क्यामेरा भएकाले कार्गो भवनको १११ नम्बर कोठामा सारेर जाँच गरेको पाइएको छ’ सीआईबीकी निर्देशक बज्राचार्य भन्छिन्, ‘भन्सारले बरामद गरेको मालवस्तु मूल्यांकन समितिबाट मूल्यांकन भए पनि स्वास्थ्यमा असर गर्ने प्रकृतिको भएकाले लिलाम बिक्री नभई थन्किएको अवस्थामा सुन रहेको थाहा पाएपछि मिलेमतोमा चोरी गरेको पाइएको छ ।’

उनीहरुले अर्कै ब्राण्डको ई–सिगरेट राखिदिएको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार, ९ किलो सुन संकलन गरेर बस्नेतले भन्सारमा कार्गो एजेन्टका रुपमा काम गर्ने भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीको सहयोगमा बिक्री गरेका थिए ।

सीआईबीको अनुसन्धानका क्रममा ६ करोड रुपैयाँमा उनीहरुले सुन बिक्री गरेको पाइएको छ । नासु खड्काले सुन चोरी गर्न सघाएवापत बिचौलिया दिनेशबाट ७५ लाख रुपैयाँ लिएको खुलेको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?