+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
म्यानमारमा नेपाली बन्धक :

‘थाइल्याण्ड भनेर म्यानमार पुर्‍याए, भिडियो कलमा निर्वस्त्र हुन बाध्य बनाए’

नेपाली युवालाई थाइल्याण्डमा रोजगारीको आकर्षक अवसर छ भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाउने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो गिरोहको फन्दामा परेर कम्तीमा २०० नेपाली म्यानमारमा ‘अनलाइन स्क्यामिङ’को काम गरिरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० साउन २३ गते २०:३४

२३ साउन, काठमाडौं । गण्डकी प्रदेशको एक जिल्लाकी अनिता (२६) ले काठमाडौं आएर ब्यूटी पार्लर र ‘नेलआर्ट’ को तालिम लिए पनि काम पाएकी थिइनन् ।

डेरामा फुर्सदिलो जीवन बिताइरहेकी उनलाई दुई वर्षअघि साथी सीता राना मगरले ठमेलस्थित चिनियाँ नागरिकले चलाएको वाईवाईपी नामक कम्पनीमा जागिरको अफर गरिन् ।

कम्पनीका सञ्चालक चिनियाँ नागरिक जोनसोन भन्ने लियाङ जुनलाई भेट्टाएपछि अनितालाई नेल आर्ट र मसाज गरेवापत मासिक १५ हजार रुपैयाँ दिने भनियो । ‘काम गर्दै जाँदा राम्रो भए तलब पनि बढ्दै जाने भनेको थियो’ उनी भन्छिन्, ‘त्यसका लागि तालिम मात्रै ३ महिना गराइएको थियो ।’

तालिमका क्रममा चिनियाँ नागरिक जोनसोनले स्टाफ मिटिङमै ‘तपाईंहरु वा चिनेका अरु कोही थाइल्याण्डमा टाइपिङको काममा जान इच्छुक भए १ लाख ५० हजारभन्दा बढी तलब हुन्छ’ भनेका थिए । त्यसका लागि एक लाख रुपैयाँ मात्र खर्च हुने साथमा खाने र बस्ने व्यवस्था पनि कम्पनीले नै गर्ने भनिएको थियो ।

कम्प्युटर टाइपिङ गरेको डेढ लाख रुपैयाँ मासिक तलब पाउने सुनेर उनी लोभिइन् । बहिनीलाई समेत थाइल्याण्ड जाने प्रस्ताव राखिन् । उनीहरुले जोनसोनलाई ४/४ प्रति पासपोर्ट साइजको फोटो र राहदानीको प्रतिलिपि जिम्मा लगाएका थिए ।

थाइल्याण्डमा ल्याण्ड भएपछि एक चिनियाँ युवतीले मोबाइल खोसेर फर्म्याट गरिदिइन् र भ्यानमा राखिदिइन् । भ्यान रोकिएको ठाउँमा एक जना चिनियाँ पुरुष आएका थिए, उनले मेरो सक्कल राहदानी र मोबाइल समेत जफत गरेर तपाईं म्यानमार आइपुग्नुभयो भने ।

तीन हप्तापछि चिनियाँले बहिनीको मात्रै भिसा आयो भन्दै दिदीलाई तत्काल काठमाडौंमै काम गर्दै गर्न सुझाए । बहिनी एक लाख रुपैयाँ बुझाएर थाइल्याण्ड गइन् । केही समयपछि चिनियाँ नागरिकले दिदीलाई पनि भिसा आएको भन्दै २०० अमेरिकी डलर साटेर तयार भई बस्न भने ।

‘बैंक स्टेटमेन्ट पनि दिनु त्यसपछि म तपाईंको भिसा, टिकट र होटल बुकिङको डकुमेन्टहरु पठाइदिन्छु, तपाईंलाई लिन थाइल्याण्डमा मान्छे आउँछ भनेका थिए’ उनी भन्छिन्, ‘केही अप्ठ्यारो परे सम्पर्क गर्न भन्दै वीच्याट नम्बर पनि दिएका थिए ।’

चिनियाँले भनेअनुसार ९ साउन २०७९ मा अनिता सहित अरु ११ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डका लागि उडेका थिए । अनिताका अनुसार, थाइल्याण्डमा उनीहरुलाई लिनका लागि २८ वर्षीया चिनियाँ नागरिक बसेकी थिइन् ।

‘उनीसँग भेट हुनेवित्तिकै मोबाइल मागेर फर्स्याट गरिदिएकी थिइन्’ अनिता सम्झन्छिन्, ‘कम्पनीसम्म ड्राइभरले पुर्‍याइदिन्छ, राम्रो काम गर्नु भन्दै भ्यानमा चढाइदिएकी थिइन् ।’

गाडीबाट ओराल्दा आफूहरु नाम थाहा नभएको एक कम्पनीको कार्यालयमा पुगेको उनी बताउँछिन् । ‘त्यहाँ एक जना चिनियाँ पुरुष आएका थिए, उनले मेरो सक्कल राहदानी र मोबाइल समेत जफत गरेर तपाईं म्यानमार आइपुग्नुभयो भन्दै अब तपाईंले गर्नुपर्ने कामबारे जानकारी गराउँछु भनेका थिए’, अनिताले थपिन् ।

थाइल्याण्ड भनेर गएकामा म्यानमार पुगेपछि अनिता झसंग भइन् । भन्छिन्, ‘मैले थाइल्याण्डमा काममा लगाउने भनेर म्यानमार पो ल्याउनुभएछ, मेरो बहिनीसँग पनि भेट गराउनुभएन भनेको थिएँ ।’

जवाफमा ‘तपाईंले पनि कम्प्युटरमा टाइपिङ नै गर्ने हो भन्दै थाइल्याण्डभन्दा म्यानमारमा नै कर्मचारी आवश्यक छ’ भनिएको उनी बताउँछिन् ।

‘बहिनीलाई पनि एक दुई दिनमा भेट गराउँला, तपाईंले अमेरिकाका पुरुषहरुसँग च्याटमा कुरा गरेर बिटक्वाइन इन्भेष्ट गर्न लगाउनुपर्छ भनेका थिए’ उनले थपिन्, ‘त्यसपछि मैले नेपालमा जोनसोनलाई पटकपटक सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।’

बरु म्यानमारमा रहेका चिनियाँ पुरुषले ‘तिमीलाई अनलाइन स्क्यामरको काम गर्नकै लागि ल्याइएको’ बताएको उनी सुनाउँछिन् । उनलाई म्यानमारसम्म ल्याएवापत जोनसोनलाई पैसा तिरेको भन्दै उनले लगाएअनुसार काम नगरे राम्रो हुँदैन भन्दै धम्की दिएको अनिता बताउँछिन् ।

‘अर्को दिन राति ९ बजे एउटा पानामा मेरो जस्तै शारीरिक बनावट भएको र मेरो जस्तो परिचय खुल्ने व्यक्तिगत विवरण भएको विवरण पढ्न दिएर अनलाइनमा आउने ग्राहकलाई त्यस्तै विवरण बताउनू भनिएको थियो’ उनी थप्छिन्, ‘देश फिलिपिन्स बताउनू, च्याट तथा भिडियोमा ढुक्क भएर कुरा गर्नु भने, मैले यस्तो काम गर्दिनँ भनेको थिएँ ।’

तर, चिनियाँ नागरिकले भने अनुसार काम नगरे ज्यान खतरामा हुन्छ भन्दै कम्प्युटर अगाडि राखेर धेरै पटक कुरा गर्न अभ्यास गराएको उनी बताउँछिन् ।

‘सामाजिक सञ्जालमा च्याट गर्दा के बोल्ने, के नबोल्ने, च्याट रिप्लाई कसरी गर्ने, कसरी यूएसएका पुरुषलाई ट्रयापमा पारेर विटक्वाइनमा लगानी गराउने भन्ने विषयमा जानकारी दिएका थिए’ उनले थपिन्, ‘एउटा कम्प्युटर र मोबाइल दिएर त्यसमा फेसबुक, ह्वाट्स एप, ट्वीटर र इन्स्टाग्राम डाउनलोड गर्न लगाएर मिल्दोजुल्दो देखिने मोडलको फोटो राखेर उनीहरुले फेक आईडी बनाइदिएका थिए ।’

‘सनसाइन’ नाम राख्न लगाएर अमेरिकाका अपरिचित पुरुषहरुसँग आफूलाई निरन्तर भिडियो कुराकानी गर्न लगाएको उनले बताएकी छन् । बिटक्वाइनमा लगानी गर्न प्रलोभनमा पार्ने काम निरन्तर गराउन थालेपछि वाक्क बनिरहेकी उनले तेस्रो महिनादेखि पारिश्रमिक पनि पाउन छाडिन् ।

‘मैले आवाज उठाउँदा उल्टै कुटपिट भयो, खाना समेत राम्रोसँग नदिई शारीरिक र मानसिक यातना दिइयो’, नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरो (एएचटीबी) मा दिएको बयानमा उनले भनेकी छन्, ‘त्यही क्रममा म बिरामी परेर काम गर्न नसक्ने भएँ, २० दिन अस्पतालमा उपचार हुँदा पनि सुधार भएन । राम्रो उपचार नभए ज्यानै समेत जानसक्ने डाक्टरहरुले बताए पनि उनीहरुले जबर्जस्ती काममा लगाइरहेका थिए ।’

गम्भीर स्वास्थ्य समस्या देखिंदा समेत उनले आफ्नी बहिनीलाई भेट्न पाइनन् । नेपाल फिर्ता पठाउन पटकपटक आग्रह गर्दा फर्किने भए १ लाख ५० हजार भाट (५ लाख नेपाली रुपैयाँ) माग्थे ।

‘मैले यत्रो पैसा छैन, तिर्न सक्दिनँ भन्दा २० हजार भाट भए पनि दिनु भनेकाले नेपाल जाँदा बोकेको २०० डलर साटेर २० हजार भाट दिएको थिएँ’ उनले सुनाइन्, ‘त्यसरी ६ भदौमा नेपाल फर्किएर म उपचार गराइरहेको थिएँ ।’

नेपाल फर्किएर उपचारपछि उनी चुपचाप बसिरहेकी थिइन् । तर, उनका दुःख सकिएनन् । एकातिर बहिनीको हालत सोचेर चिन्तित थिइन्, अर्कातिर त्यहीबेला बहिनीबाट नम्बर लिएर उनलाई चिनियाँ नागरिकले फोन गर्न थाले ।

‘मलाई फोन गरेर तिम्रो मानिसहरुसँग हेण्डलिङ गर्ने, च्याटिङ गर्ने सीप राम्रो भएकाले तिमी आउँ, पारिश्रमिक पनि दिन्छौं भन्दै बोलाएका थिए’ उनी थप्छिन्, ‘मैले अब आउँदिन भन्दा बहिनीलाई प्रयोग गरेर नआए राम्रो नहुने भन्दै धम्की दिएका थिए ।’

बारम्बार धम्की दिन थालेपछि आफूले वीच्याट मार्फत चिनियाँ पुरुषलाई सम्पर्क गरेर आफू पैसा तिरेर नेपाल आएको भन्दै यातना नदिन आग्रह गरेकी थिइन् । बहिनीलाई किन यातना दिएको भन्दा ‘राम्रो चाहने’ भए भिडियो कलमा आएर गोप्य अंगहरु देखाउन भनेको अनिता बताउँछिन् ।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले नेपालीलाई म्यानमार पुर्‍याएर अनलाइन स्क्यामिङमा लगाएको आरोपमा चिनियाँ नागरिक जोनसोनलाई पक्राउ गरेको छ । उनीविरुद्ध दुई जना पीडितले जाहेरी दिएका छन् ।

‘मैले इन्कार गर्दा बहिनीलाई झन् मानसिक र शारीरिक यातना दिएकाले वीच्याट भिडियो कलमा निर्वस्त्र हुन बाध्य भएँ’, उनले भनेकी छन् । तर, त्यो क्रम पनि रोकिने छाँट नदेखेपछि उनी प्रहरीसम्म पुगेकी थिइन् ।

मानव बेचबिखन नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठका अनुसार, पीडितले जाहेरी दिएपछि काठमाडौं महानगरपालिका–१५, बिजेश्वरीमा डेरा गरेर बस्ने ४२ वर्षीय जोनसोन भन्ने लियाङ जुनलाई २७ असारमा पक्राउ गरिएको छ ।

‘उनीविरुद्ध दुई जना पीडितले जाहेरी दिएका छन्, यस्तै प्रकृतिको जम्मा २२ जना पीडित ब्यूरोको सम्पर्कमा आइपुगेका छन्’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसरी थाइल्याण्ड भन्दै म्यानमार लगेर बन्धक बनाउने गिरोहमा संलग्न अरुमाथि पनि अनुसन्धान भइरहेको छ ।’

श्रेष्ठका अनुसार, ब्यूरोले हालै नेपालीलाई म्यानमार पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’मा लगाएको आरोपमा सुनिता नेपालीलाई पनि पक्राउ गरेको छ । ‘उनको चिनियाँ नागरिकसँग सम्बन्ध चाहिं देखिएको छैन’ श्रेष्ठ भन्छन्, ‘छुट्टै नेक्ससमार्फत म्यानमार लगेको देखिन्छ ।’

यसरी हेर्दा नेपालीलाई रोजगारीको प्रलोभनमा थाइल्याण्ड लैजाने भन्दै म्यानमार पुर्‍याउन विभिन्न गिरोह सक्रिय रहेको देखिन्छ । ‘हामीसँग सम्पर्कमा आएकाले भने आफूहरु बसेको क्षेत्रमा मात्रै २०/२५ वटा कम्पनी रहेको भनेका छन्’ श्रेष्ठ भन्छन्, ‘सबैमा कति नेपाली छन् भन्ने यकिन छैन ।’

तर, कम्तीमा २०० जना नेपाली अझै म्यानमारमा बन्धक रहेको सरकारी अधिकारीहरु बताउँछन् । म्यानमारमा बन्धक बनाइएका नेपालीहरुको संख्या बढ्न थालेपछि परराष्ट्र मन्त्रालयले पनि हालै ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै भिजिट भिसामा गएर काम नगर्न आग्रह गरेको छ ।

श्रेष्ठ भन्छन्, ‘त्यहाँको नेपाली दूतावास, परराष्ट्र मन्त्रालय लगायत च्यानलमार्फत अवस्था बुझ्ने प्रयास भइरहेको छ ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?