+
+

पोखराभरि फैलियो आँखा पाक्ने रोग, ३ दिन विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते २०:३०

२३ साउन, पोखरा । बिहान ७ बजे नै पोखरा घारीपाटनस्थित हिमालयन आँखा अस्पतालमा बिरामीको भिड सुरु भइसक्छ । ८ बजेबाट सेवा सुरु हुने अस्पतालमा ९ बजेसम्म त २/३ वटा लाइनमा सेवाग्राहीको लामो लाइन देखिन्छ ।

गण्डकी प्रदेशकै एकमात्र आँखा अस्पतालमा अघिल्ला वर्षहरुमा यस्तो चाप हुँदैनथ्यो । यसपटक आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पोखरामा धेरै फैलिएको मेडिकल निर्देशक डा. इलिया श्रेष्ठ बताउँछिन् ।

अघिल्ला वर्षहरुमा यो रोगका कारण यति धेरै बिरामी आउँदैथे, यसपटक दैनिक करिब ७ सय जना बिरामी त आँखा पाक्ने रोगकै बिरामी रहेको श्रेष्ठले जानकारी दिइन् । ‘पोखरामात्र होइन, आसपासका जिल्लाहरुमा पनि एडिनो भाइरस कन्जन्टिभाइटिस तीव्र गतिमा फैलिइरहेको छ’, श्रेष्ठले भनिन्, ‘साना बाबुनानीलाई डोर्‍याउँदै अभिभावकहरु आत्तिँदै अस्पताल आउने क्रम तीव्र छ ।’

आँखा पाक्ने रोेगले सबैभन्दा बढी प्रभावित बालबालिका छन् । आइतबार आएका ७०० मध्ये ३६० जना त बालबालिका थिए । मंगलबार बहिंरंग सेवामा १ हजार ८० जनाले आँखा अस्पतालबाट सेवा लिए । त्यसमध्ये करिब ५ सय जना बिरामी डिनो भाइरस कन्जन्टिभाइटिसकै छन् । डा. श्रेष्ठका अनुसार बालबालिकामा यो रोग तीव्र गतिमा फैलिरहेको छ ।

आँखा दुख्ने, सुनिने, रातो हुने, घाममा आँखा खोल्न अप्ठ्यारो हुने, विहान उठ्दा कचेराले आँखा खोल्न गाह्रो हुने र आँसु खसिरहने समस्या पोखराका धेरैमा देखिएको छ ।
मनाङ, मुस्ताङलगायतका चिसो ठाउँबाट पनि यस्ता समस्या लिएर बिरामीहरु उपचारका लागि अस्पताल आइरहेको डा. श्रेष्ठले बताइन् । विशेषगरी बालबालिकाले आफ्नो सुरक्षा आफैं गर्न नसक्ने भएका कारण पनि छिटो फैलिइरहेको श्रेष्ठको भनाइ छ ।

डा. इलिया श्रेष्ठ ।

‘यो हावाबाट सर्दैन । हाम्रो आँखाको तरल पदार्थबाट भाइरस ट्रान्समिसन हुन्छ । हातमा संक्रमितको आँसु प¥यो भने त्यहाँबाट सर्छ’, डा. श्रेष्ठले भनिन् । आँखा पाक्ने समस्या देखिएका बिरामीले प्रयोग गरेका साबुन, चस्मा, औषधि, रुमाललगायत अर्को व्यक्तिले प्रयोग गर्दा सजिलै सर्ने उनको भनाइ छ ।

चिकित्सकका अनुसार यो रोग निको हुन ३ हप्तासम्म लाग्न सक्छ । तर, अर्कोलाई सर्न नदिनका लागि सचेत हुनुपर्ने डा. श्रेष्ठको भनाइ छ । वृद्धि हुँदै गएको संक्रमणको दर रोक्नका लागि बढी समस्या देखिएका जिल्लाका विद्यालय केही दिनलाई बन्द गर्नुपर्ने उनको सुझाव थियो ।

पोखराका विद्यालय ३ दिन बन्द

आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’को संक्रमणले बालबालिकाहरुमा फैलिँदै गएपछि पोखराका सबै विद्यालय ३ दिन बन्द गरिने भएको छ । पोखरा महानगरले पालिकाले मंगलबार पोखराका संस्थागत तथा सामुदायिक विद्यालय बुधबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।

पोखराभित्र २४३ संस्थागत र २०३ विद्यालय सामुदायिक छन् । कास्कीका जिल्ला प्रशासन कार्यालय, पोखरा महानगर, निजी तथा सामुदायिक विद्यालय, यससँग सम्बन्धित संस्था अभिभावकसँगको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले शुक्रबारसम्म विद्यालय बन्द गर्दा र भोलिपल्ट शनिबार पनि परेकाले ४ दिनसम्म हेर्ने र त्यति हुँदा पनि संक्रमण फैलिए फेरि अर्को निर्णय गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?