+
+

हाम्रा चिकित्सा प्रयोगशाला कति सुरक्षित छन् ?

धेरैले भनेको सुन्ने गरिन्छ- फरक प्रयोगशालाबाट फरक रिपोर्ट आयो। यसरी रिपोर्ट फरक आउनुमा प्रयोगशालाको मात्र दोष भने हुँदैन। मुख्यतया ल्याबमा जाँच हुनुपूर्व, जाँच हुने क्रममा र जाँच भइसकेपश्चात् गरी तीन चरणमा प्रयोगशालामा त्रुटि देखिन्छन्। 

राजन पौडेल राजन पौडेल
२०८० साउन २४ गते ११:०४

सामान्यतः स्वास्थ्य प्रयोगशालाको मुख्य काम बिरामी वा अन्य व्यक्तिबाट लिइएको रगत, दिसा, पिसाब, खकार लगायत अन्य नमूनाहरूको परीक्षणप्राप्त नतिजा उल्लेख गरेर रिपोर्ट प्रदान गर्नु हो। त्यसरी प्राप्त हुने रिपोर्टको माध्यमबाट रोगको निदान तथा उपचारमा आवश्यक उपचार विधिको प्रयोग गरिन्छ। जसले स्वास्थ्य अवस्था मूल्याङ्कन तथा उपचारमा सहयोग पुर्‍याउँदछ।

चिकित्सा क्षेत्रको विकाससँगै अझ ठूला प्रकृतिका रोग र जटिल स्वास्थ्य समस्याको समयमै पहिचान, निदान तथा उपचार सम्भव भइरहेका छन्। बेला–बेलामा मानव जगतलाई त्रसित बनाउने र ठूलो धनजनको क्षति गराउने विभिन्न रोगहरूको संक्रमण देखा पर्दै आएका छन्। तर अहिले कठिन मानिने रोगहरूको उपचार विधि र पद्धतिको विकास भएसँगै प्रयोगशालाको आवश्यकता, प्रभाव र महत्व दिनानुदिन बढ्दै गइरहेको छ।

पछिल्लो समय नेपालमा पनि प्रयोगशाला विज्ञानको अभूतपूर्व विकास भएको र समग्रमा यस क्षेत्रले पनि फड्को मारेको देखिन्छ। केही वर्ष पहिलासम्म सामान्य किसिमका जाँच गर्ने प्रविधि नेपालमा नभएर नमूना विदेश पठाउनुपर्ने बाध्यता थियो।

तर, अहिले प्रयोगशालाको विकासले सामान्यदेखि अत्याधुनिक प्रविधिबाट हुने सबै किसिमका जाँच नेपालमा नै सम्भव भएका छन्। जस्तै, सूक्ष्म जीवाणुहरूको जेनेटिक परीक्षण, क्यान्सरसँग सम्बन्धित जाँच, विभिन्न हर्मोन तथा भिटामिनहरू, आनुवंशिक रोगहरूको परीक्षण, अटोइम्युन रोग सम्बन्धी जाँच लगायत अन्य।

ल्याबको रिपोर्ट गुणस्तरीय हुनुपर्छ। किनकि गुणस्तरीय रिपोर्ट भएन भने सही उपचार हुँदैन, शरीरको वास्तविक अवस्था पहिचान हुँदैन।

धेरैले भनेको सुन्ने गरिन्छ- फरक प्रयोगशालाबाट फरक रिपोर्ट आयो। यसरी रिपोर्ट फरक आउनुमा प्रयोगशालाको मात्र दोष भने हुँदैन। मुख्यतया ल्याबमा जाँच हुनुपूर्व, जाँच हुने क्रममा र जाँच भइसकेपश्चात् गरी तीन चरणमा प्रयोगशालामा त्रुटि देखिन्छन्।

ल्याबको रिपोर्ट फरक आउनुका पछाडि जाँच गर्दा हुने त्रुटिहरू मात्र जिम्मेवार हुँदैनन्। जाँच हुँदै गर्दा र जाँच भइसके पछिभन्दा मुख्यतः जाँच गर्नुभन्दा पहिलाको चरणले नतिजामा प्रभाव पार्छ। जस्तै: नाम दर्ता, बिरामी पहिचान, तयारी, नमूना संकलन, नमूना ल्याबसम्म पुर्‍याउँदा काम, नमूना र जाँच अनुरोध फर्म लगायत।

सम्बन्धित प्रयोगशालाका प्राविधिक वा स्वास्थ्यकर्मीसँग राम्रोसँग सोधेर बुझेर मात्र नमूना दिनाले पनि गुणस्तरीय रिपोर्ट प्रभावित हुन्छ। साथै, बिरामीको अवस्था, मुख्य लक्षण, औषधि खाने भए सो सम्बन्धी जानकारी पनि ल्याबलाई गराउनुपर्दछ।

प्रयोगशालामा जाँच गर्न जानुपूर्व वा नमूना दिनुभन्दा पहिला, जाँच गराउन चाहने व्यक्ति, बिरामी वा बिरामीको आफन्तले पनि धेरै कुराहरू बुझेर मात्र नमूना दिने वा संकलन गर्ने गर्नुपर्दछ। जस्तै –

  • खाली पेट वा खाना खाएको अवस्था। जस्तो- फास्टिङ अथवा (पीपी)
  • जुनसुकै समयमा (र्‍यान्डम)
  • औषधि खाइराखेको बिरामी
  • नमूना संकलन गर्ने विधि (दिसा, पिसाब, खकार लगायत अन्य)
  • ल्याबसम्म पुर्‍याउनुपर्ने समय
  • नमूना संकलन गरेको कन्टेनर कसरी लिने
  • कस्ता कस्ता सावधानी अपनाउने

धेरैलाई ल्याबको वर्गीकरण र मान्यताका बारेमा थाहा नहुन सक्छ। नेपालमा केन्द्र, प्रदेश र स्थानीय निकायहरूमा सञ्चालन अनुमति दिने तथा अनुगमन गर्ने छुट्टाछुट्टै निकाय छन्।

बिरामी भएर होस् या नियमित चेकजाँचकै लागि किन नहोस्, मान्यता प्राप्त ल्याबमा नै जाँच गर्नुपर्दछ। प्रयोगशालाको गुणस्तर भनेको ल्याबले प्रदान गर्ने रिपोर्टमा प्रकट हुन्छ।

तसर्थ राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय रूपमा सम्बन्धन प्राप्त वा गुणस्तरीयता जाँच गर्ने र गुणस्तर प्रदान गर्ने निकायसँग आबध्द भएका प्रयोगशालाहरूमा जाँच गर्दा धेरै फाइदा हुन्छ। यसो गर्दा अनावश्यक झन्झट र तनाव हुँदैन। अनावश्यक रूपमा पुन: परीक्षण गरिरहनुपर्दैन। समय र पैसाको बचत हुन्छ। छिटो रोगको पहिचान हुन सहयोग पुग्दछ। बिरामी वा ग्राहकको विश्वास बढ्दछ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता हुन्छ।

अचेल प्रयोगशालाहरूले विभिन्न प्याकेजको माध्यमबाट पनि आफ्ना सेवाहरू विस्तार गरिरहेका छन्। जस्तै- होल बडी चेकअप, उमेर समूह लक्षित प्याकेज, विभिन्न किसिमका शारीरिक रोग वा अवस्था लक्षित प्याकेज लगायत आवश्यकता बमोजिम जाँचहरू समेटिएका प्याकेज।

समग्रमा; नेपालमा प्रयोगशालाको विकास, सरकारी तथा निजीस्तरबाट अत्याधुनिक प्रविधि सहितका प्रयोगशालाको स्थापना र सबैको सहज पहुँच भएता पनि केही चुनौती पनि छन्

यसरी जाँच गराउँदा रोगको पहिचान, निदान, उपचार तथा निगरानी गर्न सहयोग त पुग्दछ तर कतिपय अवस्थामा सबै जाँच आवश्यक नहुन पनि सक्छन् भने कतिपय अवस्थामा अत्यावश्यक जाँच छुट्न पनि सक्दछन्।

यस्तो अवस्थामा सम्बन्धित स्वास्थ्यकर्मी वा चिकित्सकको सुझाव अनुसार जाँच गराउँदा थप प्रभावकारी हुन्छ। नियमित रूपमा औषधि खाने बिरामीहरू वा शरीरमा कुनै शंका वा असहज अवस्था महसुस भएका व्यक्तिहरूलाई चिकित्सकीय परामर्श गरी चिकित्सकको सल्लाह अनुसार आवश्यक जाँच गराउनुपर्ने हुन्छ।

कतिपय अवस्थामा रोगको पहिचान, निदान र निगरानी गर्न प्रयोगशालामा रगत वा अन्य नमूना लिएर गरिने जाँचहरूको अलावा रेडियोलोजिकल तथा इम्याजिङ जाँचहरूको आवश्यकता पर्दछ।

अहिले तथ्यमा आधारित उपचार विधि अवलम्बन गरिन्छ। जस्तो कि बिरामीबाट नमूना लिएर जाँच गरेको वा रेडियोलोजिकल इम्याजिङ रिपोर्टको आधारमा मात्र चिकित्सकले उपचार गर्ने, यस अर्थमा पनि ल्याबको आवश्यकता दिनप्रतिदिन बढ्दै गइरहेको छ।

नेपालमा स्वास्थ्य संस्था तथा प्रयोगशालाको गुणस्तरीयता, कार्यक्षमता निर्धारण गर्ने विभिन्न निकाय छन्। सरकारीस्तरबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ल्याबको वर्गीकरण र निर्धारण गर्ने गर्दछ। हाल प्रयोगशालाहरूले प्रदान गर्ने सेवासुविधा, जनशक्ति, उपकरण र क्षमताका आधारमा ‘ए’ देखि ‘ई’ सम्म वर्गीकरण गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र स्थानीय तहका आ-आफ्नै कार्य क्षेत्र छन् र ल्याब सम्बन्धी दर्ता, ग्रेडिङ, नवीकरण, अनुगमन तथा मूल्याङ्कन गर्ने गर्दछन्।

प्रयोगशाला सम्बन्धी कुनै पनि सेवासुविधा प्रदान नगर्ने ठाउँहरूमा पनि प्रयोगशालाजन्य जाँच गरिन्छ भनेर नमूना संकलन गर्ने र अन्यत्र रिफर गर्ने परिपाटी एउटा विकृतिको रूपमा विकसित हुँदैछ। यसले पनि गुणस्तरीयतामा प्रश्नचिह्न खडा हुन्छ।

तसर्थ नमूना संकलन, रिफर तथा प्रयोगशालाको वर्गीकरण अनुसार जाँच सम्बन्धी निर्देशिका र मापदण्ड अनिवार्य अवलम्बन र नियमित अनुगमन गरिनुपर्दछ।

अन्तर्राष्ट्रियस्तरमा आईएसओ १५१८९ ले प्रयोगशालाको गुणस्तर तथा सक्षमता निर्धारण गर्दछ, नेपालमा पनि आईएसओ १५१८९ मान्यता प्राप्त प्रयोगशालाहरू छन्। डिसेम्बर २०२२ मा प्रकाशित संस्करण, अहिले आईएसओको परिमार्जित संस्करण १५१८९:२०२२ चलिरहेको छ।

यसभन्दा पहिला २०१२ को संस्करणमा केही परिमार्जन तथा परिवर्तन सहित प्रकाशित भएको हो। आईएसओले गुणस्तरीयता, योग्यता र क्षमताका आधारमा प्रयोगशालाको गुणस्तरीयता निर्धारण गर्ने गर्दछ।

आईएसओ १५१८९ मान्यता प्राप्त ल्याब भन्नाले अन्तर्राष्ट्रियस्तरको काम गर्ने तथा गुणस्तर दिने संस्थाको रूपमा चिनिन्छ। नेपालमा आईएसओ १५१८९ अनिवार्य त छैन तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘ए’ वर्गमा दर्ता भएका ल्याबले भने यसको प्रक्रिया अगाडि बढाउनुपर्दछ।

विश्वभर मान्यता हुने अन्तर्राष्ट्रियस्तरको गुणस्तर प्राप्त गर्न आईएसओ १५१८९ का मापदण्ड, आवश्यकता पूरा गर्ने ल्याबले यो गुणस्तर चिह्न लिन सक्दछन्। प्रयोगशालाले जनमानसमा ल्याबप्रतिको विश्वास बढाउन र ल्याबले दिने रिपोर्टको गुणस्तरीयता, मान्यता बढाउन यसलाई सिफारिस गरिन्छ।

आईएसओ १५१८९ र आईएसओ ९००१ मा केही फरक छ, आईएसओ ९००१ ले भने गुणस्तर व्यवस्थापन प्रणाली निर्धारण गर्ने हुँदा जुनसुकै संस्थाले पनि लिन सक्दछन् तर आईएसओ १५१८९ चिकित्सा प्रयोगशालाको लागि मात्र लागू हुने गर्दछ।

ल्याबको गुणस्तरीयता र ल्याबमा गरिने परीक्षणहरूमा एकरूपता, प्रभावकारिता र विश्वसनीयता कायम गर्न कुनै एक कुराले मात्र सम्भव हुँदैन, जस्तै –

१. बिरामीबाट प्राप्त नमूना

२. सम्बन्धित ल्याबमा काम गर्ने कर्मचारी (प्राविधिक, प्रशासनिक र सहयोगी)

३. जाँच गर्न प्रयोग हुने उपकरण

४. ल्याबले प्रयोग गर्ने रिएजेन्ट/केमिकल

५. आन्तरिक र बाह्य गुणस्तर नियन्त्रण

६. ल्याबको व्यवस्थापन

तसर्थ गुणस्तरीय, भरपर्दो, विश्वसनीय र सही रिपोर्ट, सही समयमा प्राप्त गर्न ल्याबले मात्र नभएर सम्बन्धित बिरामी, रिफर गर्ने स्वास्थ्यकर्मी र जाँच गर्ने प्राविधिकले आ-आफ्नो ठाउँमा ध्यान दिनुपर्दछ। यसले रोगको निदान, उपचार र बिरामीको सुरक्षा राम्रो र छिटो हुन्छ।

कतिपय जाँचहरूमा प्रयोगशालाबाट प्राप्त रिपोर्ट हेर्ने स्वास्थ्यकर्मी, सम्बन्धित व्यक्ति वा जो कोहीले पनि रिपोर्टमा उल्लेख गरेको निष्कर्ष, नर्मल रेञ्ज, सोही अनुरूप बढी वा घटी, नापेको एकाइ/युनिट, जाँच गरेको विधि र प्रविधि पनि हेर्नुपर्दछ जुन कुराहरू ल्याब अनुसार फरक हुन सक्दछन्।

यद्यपि नेपालमा स्वास्थ्य प्रयोगशाला नीति, स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन सम्बन्धी मापदण्ड लागू भएतापनि दैनिक रूपमा हुने जाँच/टेस्टिङ र रिपोर्टिङको अलावा सरकारी संघसंस्थाहरू तथा निजीस्तरका प्रयोगशाला संचालकहरूका साथै सम्बन्धित कर्मचारी र व्यवस्थापकले उल्लिखित विषयमा ध्यान दिनुपर्छः

  • प्रयोगशालामा काम गर्ने कर्मचारी र प्राविधिकको सुरक्षा,
  • आवश्यक न्यूनतम सीप, तालिम तथा अभिमुखीकरण,
  • जनशक्ति व्यवस्थापन तथा उपयुक्त काम गर्ने वातावरण,
  • अनेक प्रकारका सूक्ष्म जीवहरूको व्यवस्थापन,
  • दैनिक रूपमा चलाउनुपर्ने विभिन्न प्रकारका केमिकल रिएजेन्टबाट हुने जोखिम न्यूनीकरण र तिनको व्यवस्थापन,
  • परीक्षणपश्चात् नमूना व्यवस्थापन,
  • प्रयोगशालामा उत्पन्न हुने विभिन्न फोहोरको व्यवस्थापन,
  • जाँचको लागि नमूनाको सम्प्रेषण तथा रिफर गर्ने भएमा सो सम्बन्धी आवश्यक न्यूनतम मापदण्ड।

नीतिगत रूपमा व्यवस्था भए पनि व्यावहारिक रूपमा भने समग्र देशको स्वास्थ्य सेवा प्रवाह शहर बजार केन्द्रित नै छ। जस्तो कुनै गाउँमा बस्ने मानिसलाई सुगर जाँच गर्नकै लागि घन्टौंसम्म धाउनुपर्ने बाध्यता अद्यापि छ। प्रविधिको विकासले रोगको पहिचान छिटो र छरितो त भएको छ तर हाम्रो जीवनयापन, रहनसहन, खानपान तथा बानीव्यहोरा र वातावरणले विभिन्न संक्रामक तथा असंक्रामक र दीर्घकालीन रोगहरूको व्यापकता बढ्दो छ।

कोरोना महामारीले चिकित्सा प्रयोगशालाको प्रविधि र क्षमतामा केही अब्बल त बनायो, सरकारी तथा निजी स्तरबाट धेरै पीसीआर प्रविधि सहितका प्रयोगशाला पनि खुले तर पनि सबै स्थानीय निकायसम्म सहज पहुँच पुग्न सकेको छैन। अहिले पनि कतिपय जटिल र दुर्लभ मानिने रोगहरूको परीक्षण नेपालमा उपलब्ध नभएर विदेश पठाउनुपर्ने बाध्यता छ।

अझ भन्ने हो भने यदि कुनै संक्रामक रोगको महामारी फैलियो भने विद्यमान पूर्वाधार, जनशक्ति र कार्य क्षमताले यथाशीघ्र धान्न सक्ने अवस्था छैन, प्रविधि तथा स्रोतसाधनका हिसाबले केही सीमित प्रयोगशालामा निर्भर हुनुपर्ने बाध्यता छ, छिटोछरितो रिपोर्ट दिन नसक्ने अवस्था हुनसक्छ। हुन त अहिले जेनेटिक, मोलिकुलार परीक्षण (सिक्कोएन्सिङ) सम्म नेपालमा नै गरिन्छ।

तथापि, भवितव्य पर्न सक्ने महामारीको पूर्वतयारी तथा सम्बन्धित स्वास्थ्य प्रदायक निकाय सजग र तयारी अवस्थामा रहनुपर्दछ जसबाट जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ।

समग्रमा; नेपालमा प्रयोगशालाको विकास, सरकारी तथा निजीस्तरबाट अत्याधुनिक प्रविधि सहितका प्रयोगशालाको स्थापना र सबैको सहज पहुँच भएता पनि केही चुनौती पनि छन्।

समग्र देशको प्रयोगशाला विज्ञानको विकास र गुणस्तरीयतामा देखिएका केही चुनौती :

  • प्रयोगशालाजन्य जाँच तथा टेस्ट रिपोर्टमा एकरूपता नहुनु।
  • रियाजेन्ट केमिकलको गुणस्तरीयता र प्रविधिमा एकरूपता नहुनु।
  • सबै स्थानीय तहसम्म प्रयोगशालाको विस्तार तथा जाँच गर्ने प्रविधिको उपलब्धता नहुनु।
  • सम्बन्धित चिकित्सक, बिरामी र प्रयोगशाला बीच समन्वयको कमि।
  • पर्याप्त व्यवस्थापन र संगठनात्मक संरचना नहुनु।
  • नियमित अनुगमन तथा निरीक्षण नहुनु।
  • प्रयोगशालाजन्य जाँच सम्बन्धी जनचेतनाको कमि।
  • प्राविधिक जनशक्तिको पलायन।
  • दक्ष जनशक्तिको व्यवस्थापन नहुनु।
  • सेवाभन्दा नाफा केन्द्रित मात्र प्रयोगशालाजन्य अभ्यास।

तसर्थ रोगको पहिचान, निदान, रोकथाम, निगरानी तथा उपचार विधि तय गर्ने चिकित्सा प्रयोगशालालाई समय अनुसार प्रविधिको प्रयोग गरी गुणस्तरीयता, एकरूपता र विश्वसनीयता कायम गर्न सम्बन्धित सबैले आ–आफ्नो ठाउँबाट ध्यान दिन जरुरी छ।।

लेखक मेडिकल माइक्रोबायोलोजिस्ट हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?