+
+
रंगमञ्च :

ट्रान्जिट : भ्रमको परिभ्रमण र श्रापित प्रेमीको झुटो बखान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १३:४३

आनन्द र रोमाञ्चको मिश्रित अनुभव कस्तो हुन्छ ? सम्भवत तपाईं यसको बखान गर्न सक्नुहुन्न । तर सक्नुहुन्छ महसुस गर्न ।

शरीर विज्ञान भन्छ, ‘यस्तो रोमानन्द (रोमाञ्चक-आनन्द) अनुभूत हुनुमा मूलत: चारवटा हार्मोनको भूमिका छ- एन्डोर्फिन, डोपामाइन, सेरोटोनिन र अक्सिटोसिन ।’

यी हार्मोनहरुको स्राव शरीरमा तब हुन्छ, जब तपाईं यौनान्दको चरममा पुग्नुहुन्छ । वा मदिरामा मदमग्न रहनुहुन्छ । वा कठोर संघर्षपछि शानदार पुरस्कार ग्रहण गर्नुहुन्छ । वा प्रेमभावनाको उत्कर्षमा रहनुहुन्छ ।

हाम्रा ऋषिमुनिहरुले भनेका छन्, ‘ठ्याक्कै यस्तै अनन्दमय भावमा पुग्ने सर्वोत्तम माध्यम ध्यान हो ।’

यौन, ध्यान, मदिरा, प्रेम अनि पुरस्कार । यसका आफ्नै बाटा र विधि छन् । तर आफ्नो स्नायु प्रणालीमा यस्तै भाव अनुभूत गर्न अरु विकल्प नभएको होइन । जस्तो कि, ट्रान्जिट ।

ट्रान्जिट थ्रिलर नाटक हो, जहाँ तपाईं रहस्य, त्रासदी, आश्चर्य, विस्मयको भूँमरीमा फस्नुहुनेछ । सुदूर भविष्यबाट अतीतको फन्को लगाएर एउटा ट्रान्जिटमा आइपुगेकी समय–यात्री अर्थात् मायावी नामकी युवतीसँगै हामी कथामा प्रवेश गर्नेछौं ।

तर त्यसअघि पात्र परिचय गराइहालौं ।

अग्ला अनि खिरिला कदका यी अधवैंसे हुन्, मानव शास्त्री । हेक्का रहोस्, उनी मानव–विज्ञानका अध्येता (एन्थ्रोपोलोजिस्ट) होइनन् । शुक्रराज शास्त्री भने झैं उनको पारिवारिक नाम हो, शास्त्री । मानव शास्त्री खासमा चाहिं सहरका नामी नाटक निर्देशक हुन् ।

यी युवती, जो तपाईंलाई अलि रहस्यमयी लाग्नेछ उनको नाम चाहिं मायावी । उनी वि. सं. २१७५ की युवती हुन्, जो टाइम ट्राभल गर्दै अतीतमा आइपुगेकी छिन् ।

मोटाघाटा र चिम्सा आँखा भएका मंगोल वर्णका यी तन्नेरी साँच्चै को हुन् ? निजी जेलका जेलर वा फिजियोथेरापिस्ट ? एकछिन उनको चिनारी थाँती राखौं ।

करिब फोटोकपी झैं लाग्ने उस्ता–उस्तै रुपरंगका यी तीन युवती वास्तवमा नाटक ‘लिपिस्टिक, सिग्रेट अन्य एकान्त’का नायिकाहरु हुन् । त्यस नाटकका निर्देशक मानवको कुरा पत्याउने हो भने नाटक मञ्चन सकिएलगत्तै यी तीनै युवतीको रहस्यमय मृत्यु भएको थियो ।

अ(न)गरकोटी जस्ता ब्रान्डेड लेखकले पत्याएका यी अधवैंसे घिमिरे युवराज हुन् । कला पारखीलाई उनको जन्मकुण्डली नै थाहा छ ।

भ्रमको संसारमा एक श्रापित प्रेमी

एकलासे घरको खण्डहरजस्तो देखिने स्टुडियो, जहाँ हामी मानव शास्त्रीलाई भेट्नेछौं । उनी सहरका चल्तापूर्जा नाटक निर्देशक हुन् । मनसुनको याममा उनको नाटक मञ्चन हुने गर्थ्यो, ‘लिपिस्टिक, सिग्रेट अन्य एकान्त ।’

नाटकमा तीन नायिकाको समानन्तर भूमिका थियो । रहँदा बस्दा उनै नायिकाहरुसँग मानवको माया बस्यो । दुःखको कुरा चाहिं के भने नाटक मञ्चन समाप्त भइसकेपछि ती नायिकाहरुको हत्या गरियो । त्यही प्रेम वियोगको कारण मानव आफूलार्ई श्रापित प्रेमी ठान्छन् ।

त्यसयता मानव एक्लो जीवन बिताइरहेका छन् ।

मानवलाई लाग्छ, आफु बसोबास गर्ने यो घर खासमा कुनै अस्थायी टहरो हो । यहाँ बेलाबखत अपरिचित बटुवाहरु बास बस्न आइपुग्छन् । त्यही बटुवामध्ये कसैले उनलाई भनेको थियो, ‘कुनै दिन तिम्रो जीवनमा एक रहस्यमयी युवतीको प्रवेश हुनेछ । उनले तिमीलाई आफ्नो गीतका अन्तराहरु दान दिएर जानेछिन् ।’

ती गीतका अन्तरा चाहिं किन नि ? सम्भवत: त्यसले मानवको पाप मोचन गर्नेछ ।

नभन्दै त्यस्तै हुन्छ पनि । मानवको स्टुडियोमा अनायनस एउटी युवतीको प्रवेश हुन्छ, जसले आफूलाई काल–पर्यटक (टाइम ट्राभलर) बताउँछिन् । उनी वि. सं. २१७५ की युवती हुन्, जो सुदूर अतीत अर्थात् वि. सं. २००७ सालको फन्को मारेर यस ट्रान्जिटमा अल्झिन आइपुगेकी छिन् । यो वि. सं. २०७५ को कुरा हो ।

युवतीले आफ्नो नाम मायावी बताउँछिन् । उनी कालयात्रा गर्दै २००७ सालको क्रान्ति हेरेर फर्किइन् । त्यसताका उनले सुपरिचित नाट्यकर्मी बालकृष्ण समलाई भेटिन् । अनुहारमा हेभी मेकअप गर्ने, सधैं कालो छाता च्याप्ने सम यसकारण खुलेर हाँस्दैनथे, ताकि मेकअप नबिग्रियोस् । उनी आफ्नै जीवनसंगीसँग ज्यू, हजुर जस्ता उच्च आदरार्थी सम्बोधन प्रयोग गर्दा रहेछन् ।

संयोग कस्तो भने यी युवती ‘सम कलेज अफड्राम्याटिक्स’बाट ग्राजुएट हुन् । घुम्दै-फिर्दै उनी नाटक निर्देशक मानव शास्त्रीकै स्टुडियोमा छिर्न पुगिन् । बाइसौं शताब्दीकी यी युवतीसँग एक्काइसौं शताब्दीका पुरुषबीच प्रेम भावना अंकुराउन थाल्छ ।

मानव आफ्ना आगन्तुकलाई कफीले स्वागत गर्न चाहन्थे । तर मायावी स्वयंले कफी बनाउने कुरा गरेपछि मानवले आफ्नो स्वादबारे यसरी बताए, ‘मेरो कफीमा तीन बिर्को ब्रान्डी, चार बिर्को रम र पाँच बिर्को ह्वीस्की मिसाउनु है ।’

भान्साबाट मायावी भूलवश मानवको शयन कक्षामा प्रवेश गरिछन् । त्यहाँ उनले कुनै लास लडिरहेको देखिन् । पछि उनैले त्यो लास गोदाममा देखेको बताइन् । र, निष्कर्ष के निकालिन् भने वास्तवमा एउटा लास उनले आफैंभित्र बोकेर बाँचिरहेकी छिन् ।

यद्यपि मायावीको शरीरमा त्यस्तो दुर्गन्ध छैन । बरु मगमगाउँदो छ । मानवलाई यस्तै लाग्छ, जब उसले मायावीको अधरपान गरिन् । मानवले भनेकै थिए, ‘शयन कक्ष एक दुर्घटनाग्रस्त क्षेत्र हो ।’ जसै मायावी र मानव सुतिरहेका थिए, त्यसबेला कुनै निजी जेलरले उनीहरुको हातमा साङ्लो बाँधिदिए । अनि त्यस्तै हालतमा छाडिदिए । अब साङ्लो फुत्काउनका लागि जेलरलाई कहाँ भेट्नु ? उनी त कतै गायब भइसके ।

नाटकमा तपाईं जसोजसो देख्दै जानुहुनेछ त्यो सत्य नहुन पनि सक्छ । किनभने तपाईं कुनै दिमागी बिरामी (सिजोफ्रेनिया)ले ग्रसित व्यक्तिको फेला पर्न सक्नुहुनेछ, जसले तपाईंसामु भ्रमको कथा बुनिरहेका छन् । त्यसो भए सत्य के हो ?

यसका लागि भने तपाईंले शिल्पी थिएटरमा डेढ घण्टा बिताउनु पर्नेछ, ट्रान्जिटका लागि ।

यहाँ अनौठा पात्रहरुको जमघट छ र घटना–दुर्घटनाहरुको अकल्पनीय सिलसिला छ । यसमा कथाको सारतत्व खोज्ने झन्झट गर्नुभन्दा बढी लाभदायक हुनेछ हरेक पलको ‘सेलिब्रेट’ गर्ने । जस्तो ध्यानको कुनै सार छैन, मदिरा पिउनुको पनि । यी पलपल वा चुस्कीचुस्कीमा आनन्दानुभूत गर्ने कुरा हुन् । करिब त्यस्तै छ ट्रान्जिट ।

यसका दृश्यहरुले तपाईंलाई स्थिर रहन दिनेछैनन् । पात्रहरुको मनोदशा, नसोचेका घटनाक्रम, चाखलाग्दो संवाद अनि त्यसैसँग संयोजन गरिएको प्रकाश र ध्वनिको बेजोड तालमेलले मनलाई मुग्ध बनाइरहन्छ । नाटकमा एउटा संवाद छ, ‘जो मुग्ध हुन्छ, ऊ मुक्त हुन्छ ।’ तर के तपाईं भ्रम र सत्यको माझमा उभिएर आफूलाई मुक्त ठान्नुहोला ?

नाटक : ट्रान्जिट

लेख : कुमार नगरकोटी

परिकल्पना तथा निर्देश: घिमिरे युवराज

कलाकारहरु :

दिव्य देव

शिल्पा मास्के

आकांक्षा कार्की

वासना तिमल्सिना

मिल्सन राई

नाटकघर : शिल्पी थिएटर, बत्तसपुतली

मञ्चन समय : मंगलबारबाहेक हरेक साँझ :३० बजे (अतिरिक्त शो शनिबार दिउँसो १ बजे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?