+
+
अन्तर्वार्ता :

मूल्य मान्यतामा नचलेका सहकारीको कार्य प्रष्ट ठगी हो

संसारमा सहकारी संस्थाबाट मान्छे कहिल्यै ठगिंदैन । सहकारीका कारण कोही पनि मानिस घरबारविहीन हुँदैन । सहकारीका समस्या समाधानका लागि न राज्यले केही गर्नुपर्छ, न त प्रहरीले सहकारीका मानिसलाई पक्राउ गर्नुपर्छ । तर, हामीकहाँ ठिक उल्टो भयो ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन २४ गते १८:२०

केदार न्यौपानेले सहकारी विभागको रजिष्ट्रार हुँदै भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी पनि सम्हाले । सहकारी, यसको वित्त व्यवस्थापन र समस्याबारे अध्ययन गर्ने पूर्वप्रशासकको पहिचान बनाएका उनको बुझाइमा ५० को दशकमा फैलिएका नेपालका सहकारी ६० को दशकमा बिग्रन सुरु भएर ७० को दशक सकिंदा संकट र अविश्वासको भूमरीमा फस्न थाले ।

सहकारीको मूल्य मान्यताबाट विचलित भएर सर्वसाधारणको निक्षेप अपचलन गर्ने सहकारीको कार्य दण्डनीय रहेको भन्दै न्यौपाने यस्तो कार्य ठगी कसुरमा कारबाहीको भागीदार भएको बताउँछन् । यिनै विषयमा न्यौपानेसँग अनलाइनखबरले गरेको कुराकानी–

विगतको कार्यानुभवको आधारमा पछिल्लो समय सहकारी गतिविधि र यसप्रतिको छलफल बहसलाई कसरी हेरिरहनुभएको छ ?

पछिल्लो समय सहकारीबाट लुटिएको/ठगिएको भन्दै सर्वसाधारण सडक आन्दोलनमा आएका छन् भने सहकारी सञ्चालक पनि सरकारसँग सहयोग माग गर्दै आन्दोलनमा आएको देखेको छु ।

सरकारले पनि सहकारी समस्या समाधानका लागि पहल गरिरहेको समाचारमा सुन्छु । टोल छिमेक र बाटोमा सहकारी पीडित साथीहरू भेटिन्छन् । उनीहरू सहकारी खोल्नेहरूको बिजोगबारे कुरा गर्छन् । मैले बुझेको, देखेको र खासमा सहकारीको विश्व अभ्यासभन्दा बिल्कुल फरक नेपालको घटनाक्रमले अचम्मित छु । यसले नेपाली समाजको चरित्रलाई उजागर गर्छ । यो मुलुकमा देखिएको चौतर्फी दण्डहीनताबाट उत्पन्न भएको हो ।

भन्नाले सहकारी र यससँग जोडिएर भए गरेका यस्ता गतिविधि नहुनुपर्ने थियो ?

बिल्कुलै हुनु नपर्ने थियो । संसारमा सहकारी संस्थाबाट मान्छे कहिल्यै ठगिँदैन । सहकारीका कारण कोही पनि मानिस घरबारबिहीन हुँदैन । सहकारीका समस्या समाधानका लागि न राज्यले केही गर्नुपर्छ, न त प्रहरीले सहकारीका मानिसलाई पक्राउ गर्नुपर्छ । तर, यहाँ त धर्ना घेराउ, जुलुस, पक्ष विपक्षमा आन्दोलन चलिरहेको छ ।

देश र राज्य भन्ने अवधारणा नभएको अवस्थामा पनि मानिसको असल अभ्यासका लागि सुरु भएकोले सहकारीमाथि कुनै पनि खाले नियमन, अनुगमनजस्ता विषयको परिकल्पना नै गरिन्न ।

कतिपय अवस्थामा सहकारीले फाइनान्स भन्दै निक्षेप उठाएको, सर्वसाधारणबाट पैसा संकलन गर्दै निजी स्वार्थमा लगाउँदै ठूलो लाभका लागि सर्वसाधारणलाई आकर्षित गर्ने प्रचलन देखियो । यो सहकारीको मूल मन्त्र, मान्यता र सिद्धान्तभित्र पर्दैन ।

सहकारी सानो समूहका मानिसहरूको सामूहिक हितका लागि, समूहमा रहेको सबैको समान अपनत्वसहित गठन गरिएको संस्था हो । सहकारी दर्ता गर्ने हो, असल अभ्यासले सञ्चालन गर्ने हो, सदस्यको हित गर्ने हो । एक सदस्यले अर्को सदस्यलाई गलत गर्नबाट रोक्दै सबै मिलेर सबैको हित गर्ने हो ।

हाम्रो समाज र व्यवहार सहकारीको आदर्श, मूल्य–मान्यता र अनुशासन अनुकूल भएन कि ? विचारणीय छ । सहकारीले आफ्ना सदस्यको जीवनस्तर सुधार गर्छ । व्यक्तिले एक्लै पूरा गर्न नसक्ने आवश्यकताहरू पूरा गर्छ । तर, हामीकहाँ ठिक उल्टो भयो ।

नेपालका सहकारीहरू सहकारीको मूल्य र मान्यताविपरीतका कामहरू गरिरहेका छन् ?

हो, केही राम्रा सहकारीहरूलाई छोडेर हेर्ने हो भने हाम्रा धेरै सहकारीहरू सहकारीको मूल्य र मान्यताविपरीत सञ्चालनमा छन् । जो अनुशासनभन्दा बाहिर छन् समस्या पनि तिनैमा छन् । र यो समस्या आज मात्रैको पनि होइन । हिजैदेखि थियो अहिलेका घटनाहरू त्यसैको निरन्तरता हो ।

सहकारीहरू अनुशासनमा छैनन् भन्नुको अर्थ सहकारीको अवधारणामा खुलेका तर सोअनुसार भूमिका ननिभाएका भन्न खोजेको हुँ । अहिले तिनैमा समस्यामा आएका छन् । एक सदस्यले अर्को सदस्यलाई चिनेको, सामूहिक र संगठित सदस्यहरूको हितका काम हुने, लगानी अनुसारको ऋण र प्रतिफलको व्यवस्था भएको जस्ता आधारभूत मान्यता सहकारीहरूले बिर्सिए । अहिलेका सहकारीहरू फाइनान्स र बैंक जस्तै भए ।

कतिपय अवस्थामा सहकारीले फाइनान्स भन्दै निक्षेप उठाएको, सर्वसाधारणबाट पैसा संकलन गर्दै निजी स्वार्थमा लगाउँदै ठूलो लाभका लागि सर्वसाधारणलाई आकर्षित गर्ने प्रचलन देखियो । यो सहकारीको मूल मन्त्र, मान्यता र सिद्धान्तभित्र पर्दैन ।

संसारमा कतै पनि सहकारीका सदस्यहरू आफ्नो बचत खाइदियो भनेर सडकमा रुँदै हिँड्नुपर्दैन । तर, यहाँ हरेक दिन यस्तो घटना देखिएको छ । तरकारी बेच्नेको पैसा खाएर सहकारी सञ्चालक भागेका छन् । तीन दशकसम्म सरकारी सेवामा काम गरेर निवृत्त भएकाको रकम सहकारीले खाइदिएको छ । विपन्न, अपाङ्ग र वृद्धावस्थाका जनताको बचत हिनामिना भएको छ । यस्ता कयौं घटनाहरूले हाम्रा सहकारीहरू अनुशासनबाट बरालिएका छन् भन्ने पुष्टि हुन्छ ।

तपाईं नियामक निकायमा काम गरेको, यससँग सम्बन्धित कानुन बनाउने र कार्यान्वयन पनि गरेको मान्छे हुनुहुन्छ र पनि यो सबै भन्दै हुनुहुन्छ, यो कसरी भयो ?

हेर्नुस्, अहिले सहकारीमा देखिएको समस्या सहकारीको मात्रै होइन, यो हाम्रो समाजको समस्या हो । समाज कुन हालतको नकारात्मकताबाट चल्दैछ भन्ने पनि हो । व्यक्ति व्यक्तिमा विश्वासको अभाव छ । यसले हाम्रो समाज गलत बाटोमा रहेको संकेत गर्छ । त्यसको सुधार भनेको असल नागरिक बनाउने हो । राज्य र राज्यलाई नेतृत्व गर्नेहरू असल बन्ने हो । मैले पहिल्यै पनि भनें सहकारी भनेको कसैले कसैलाई नियममा बाँधेर चलाउने संस्था नै होइन, यो स्वनियममा चल्नुपर्छ ।

सहकारी बैंक, फाइनान्स जस्तो वित्तीय संस्था नै होइन, तर यहाँ यस्तै बनाइयो । सहकारीले २५–३० प्रतिशतसम्म ब्याज दिने भनी प्रलोभन देखाई निर्वाध विज्ञापन गरियो । सहकारीमा निक्षेप जम्मा गर्न भन्दै कर्मचारीहरू घरघर दैलोदैलोमा खटाइए । ठूलो निक्षेप जम्मा गर्नेलाई सुनको सिक्का उपहारमा दिने पनि देखियो । यी कुनै पनि कामहरू सहकारीको मूल्य र मान्यता भित्र पर्दैनन् ।

लोभ र प्रलोभन देखाएर सहकारीका नाममा सर्वसाधारणबाट पैसा उठाइयो । सोझा मानिसबाट उठाइएको रकमलाई गलत ठाउँमा प्रयोग गरियो । घरजग्गा, सेयर, विलाशितामा प्रयोग गरियो । सहकारीका सदस्य भनेर खाता खोलेका सदस्यले आफ्नो सहकारीका सदस्य चिन्दैनन् । आफ्नो सहकारीको साधारणसभा, खर्च, लगानी र लेखा प्रणाली बुझ्दैनन् । तर, नगद निक्षेप जम्मा गरिरहेका छन् । यो संसारमा कतै पनि नभएको सहकारीको अभ्यास हो । यो त ठगी नै हो ।

तपाईंले सहकारी भनेको बैंक र फाइनान्स जस्ता होइनन् भन्नुभयो, कसरी ?

बैंक र फाइनान्स नाफा कमाउने संस्थाहरू हुन्, जुन स्पष्ट रूपमा नाफा कमाउने उद्देश्यले खोलिएको हुन्छ र यिनीहरूले सरकारलाई कर तिर्नुपर्छ । नाफा घाटाको कारोबार गर्ने भएकाले उनीहरूलाई नियमन गर्न राष्ट्र बैंकको बलियो कानुनी संरचना छ । तर, सहकारीले नाफा कमाउने परिकल्पना नै गरिन्न, यो पवित्र काम हो । सदस्यको हित र कल्याण नै सहकारीको प्रमुख आदर्श हो । सहकारीसम्बन्धी कानुनी व्यवस्थाहरू पनि निकै सरल छ । सहकारी सामान्य कागजी प्रक्रिया पूरा गरेर दर्ता गरेर गर्न सकिन्छ ।

नेपालमा सहकारी खोल्नेहरूको ठाँट नै सहकारी होइन, साहुकार जस्तो छ । उनीहरू आवरणमा सहकारी व्यवहारमा साहुकार भए ।

यसले वर्षमा एकपटक आफ्नो साधारणसभा र लेखापरीक्षणको विवरण सहकारी कार्यालयमा बुझाए पुग्छ । त्यो पनि कार्यालयले सबै हेरेर पढ्नैपर्छ भन्ने छैन किनकि कागजात ठिक भए नभएको हेर्नै कर्मचारी र स्रोतले पुग्दैन । किनभने सहकारी आफ्नो चिनेको र नजिकका मानिसहरूले स्वनियमन र समन्वयमा सञ्चालन गर्ने संस्था हो भन्ने यसको मूल मन्त्र हो । तर, यहाँ भइदियो उल्टो । सहकारीका रूपमा दर्ता हुने, काम चै नाफा कमाउने गरी सबै गर्ने ।

सहकारीले नेपालमा गर्न हुने नहुने सबै काम गरे । तर, जजसले ती काम गरे तिनलाई आफ्नै सहकारीका सदस्यले समेत नियमन गर्न सकेनन् । सहकारी सदस्य केन्द्रित र सदस्य नियन्त्रित संस्था हो, जसले सदस्यभित्र मात्र कारोबार गर्दछ । सदस्यले पनि अनुभूति हने गरी सेयर लिएको हुनुपर्छ । यहाँ १०० को एक सेयर लिएर करोडौंको बचत गर्ने र ऋण लिने गरिछ । यस्ता सहकारीका कारण अहिले समस्या देखिएका छन् ।

सहकारीले अस्पताल खोले तर आफ्ना सदस्यको स्वास्थ्योपचारको ग्यारेन्टी गर्न सकेनन् । स्कुल खोले तर आफ्ना सदस्यको बालबालिकाको शिक्षाको गुणस्तर ग्यारेन्टी गर्न सकेनन् । गर्न मिल्ने नमिल्ने, हुने नहुने सबै गरे । सहकारीका सञ्चालक भनौंदाले त झनै के–के गरे गरे । नेपालमा सहकारी खोल्नेहरूको ठाँट नै सहकारी होइन, साहुकार जस्तो छ । उनीहरू आवरणमा सहकारी व्यवहारमा साहुकार भए ।

सहकारी सञ्चालकहरू सायदै कमै मात्र करोडभन्दा कम मूल्यका गाडी चढ्छन् । सहकारी केही टाठा–बाठाको व्यवसाय बन्यो । उनीहरूको व्यक्तिगत रवाफ समाजमा अर्कै प्राणीको जस्तो छ । यो संसारमा सहकारी सफल भए कतै पनि हुन्न । वास्तवमा यो सबै सहकारीको नाममा सोझा जनताका माथि भएको ठगी हो ।

तपाईंले भन्नुभयो, सहकारी नाफामुखी संस्था होइन तर नेपालमा सहकारीमा पैसा राख्यो महँगो ब्याज पाइन्छ । सहकारीले यसरी बजारकै महँगो ब्याजमा आर्थिक कारोबार गर्नसक्छ ?

यसमा सिधा कुरा छ, यो ठगी हो । सर्वसाधारणमा वित्तीय साक्षरताको कमीले रहेको अचेतनामाथि स्वार्थ समूहले गरेको अपराध नै हो । एउटा सामान्य हिसाब हेरौं न, वर्षमा अर्बौं कमाउन सक्ने बैंकले किन निक्षेपमा २० प्रतिशत ब्याज दिन सक्दैन ? यसमा सिधा र सरल कुरा छ ।

नेपालको परिवेशमा जतिसुकै राम्रो ठाउँमा लगानी गरे पनि २० प्रतिशत ब्याज तिर्न सक्नेगरी नाफा निकालेर काम गर्ने क्षेत्र नै छैन । २० प्रतिशत लागत तिर्न र त्यसबाट नाफा पनि आर्जन गर्न त ३५ प्रतिशत भन्दा धेरै कमाउन पर्छ । त्यसबाट ५ प्रतिशत खर्च र १० प्रतिशत नाफा राखेर २० प्रतिशत लगानीकर्तालाई फिर्ता गर्नुपर्छ । के त्यसरी नाफा हुने कुनै लगानीको क्षेत्र नेपालमा छ ? छैन ।

छैन भने २० प्रतिशत ब्याज दिन्छु भनेर लगानी गर्न सहकारीले कुन आँट र बजार देखाएर विश्वासमा निक्षेप उठाए ? सर्वसाधारण ठगिएको यहीँनेर हो । पैसा परिचालन गरेर नाफा कमाउनेलाई आफ्नो संयन्त्रमा करोडौं लगानी गरेका बैंकले अधिकतम् ७ प्रतिशत भन्दा बढी ब्याज निक्षेपमा दिन सक्दैन भने एउटा कोठामा व्यक्तिले खोलेको सहकारीले २० प्रतिशत ब्याज दिन्छ भनेर हामीले गरेको विश्वास नै गलत थियो ।

गलत स्वार्थ समूह सर्वसाधारणको यही अचेतनामा खेल्न चाहेका थिए र सफल पनि भए । अहिले सहकारीमा डुबेको भन्दै सर्वसाधारण त सडकमा आए तर कतिपय यस्ता मानिसहरू पनि यो डुब्नेहरूको सूचीमा छन् जसलाई आफ्नो डुबेको कुरा पोख्न समेत लाज हुने अवस्था भएको हुनसक्छ ।

सहकारीको बेइमानी अहिले आएर मात्रै देखिएको होकी पहिले पनि थियो ?

यसमा हामी सचेत हुनुपर्छ । सबै सहकारी समस्यामा छैनन् र सबै सहकारी बेइमान पनि होइनन् । जसले सहकारीको मूल्यमान्यता कायम राख्दै सदस्य केन्द्रित भएर उनीहरूकै नियन्त्रणमा सहकारी चलाउँछन्, नेतृत्व पनि हस्तान्तरण गरिरहन्छन्, तिनमा समस्या छैन । सदस्यहरूको राम्रो र भलो पनि भएको छ ।

खासगरी दुग्ध सहकारी, साना किसान, तरकारी र फलफूल सहकारी नेपालमा सफल र राम्रा छन् । सहकारीकै कारण शहरसम्म दूध पुगेको छ । किसानले खल्तीमा पैसा पाएका छन् । उत्पादन बढेको छ, किसानको जीवनस्तर सुधार भएको छ ।

सहकारीका नाममा गलत गर्नेहरू समस्या हुन्, जुन पहिल्यैदेखि थियो र अहिले बढेको पक्कै हो । यो समस्या यस्तै रहे अझै रोकिनेवाला छैन ।

समस्या त पहिल्यैदेखि देखिएको रहेछ । सहकारीहरू गलत बाटोमा छन् भन्ने पनि रहेछ तर किन सहकारीको विकृति रोकिएन ? सरकार, सहकारी विभाग सबै किन मौन बसे ?

सहकारीलाई नेपालको संविधानले अर्थतन्त्रको एउटा खम्बा भनेको छ । हजारौं मानिसहरू यससँग सरोकार राख्छन् र उनीहरू प्रत्यक्षरूपमा यसमा जोडिएका छन् । तर, यसलाई नियमन गर्ने हाम्रो व्यवस्था फितलो छ । सहकारीकै मान्यतामा सहकारी रहेको अवस्थामा यसलाई नियमन नै गर्नुपर्दैन ।

सहकारीको नियमन गर्ने कानुन र निकायलाई हिलोको किलो बनाइयो, जसले जताबाट हल्लाए पनि हुने ।

यो त आत्म नियन्त्रित हुनुपर्ने हो । सहकारीको मान्यताभन्दा बाहिर रहेकालाई कारबाही गर्ने भनेको ठगीमै हो । यसका लागि सहकारीका कानुनका कुरै गर्न परेन । सहकारी कानुन पनि ठगीलाई प्रबर्द्धन गर्ने किसिमको छ ।

जहाँसम्म यिनीहरूलाई सुधार गर्ने प्रयत्न किन भएन भन्ने छ, सहकारीमा लाग्नेहरू राज्यभन्दा पनि बलिया छन् । ऐन, नियम, कानुन सबै उनीहरू आफैं बनाउँछन् । आफ्नो अनुकूलता आफैं निर्धारण गर्छन् । आफ्नो सही गलत छुट्ट्याएर कारबाही गर्ने नगर्ने निर्क्यौल पनि आफैं गर्ने अवस्थामा उनीहरूको पहुँच छ ।

केही समयअघि संकटमा आएका भनिएका केही सहकारीहरूले सरकारसँग आफ्नो हरहिसाब मिलाउनका लागि भन्दै सहयोग मागे । यो त्यसैको रूप हो । जनताबाट पैसा उठाएर त्यसको दुरूपयोग गरेकाहरूले कारबाही भोग्नुको साटो उल्टै सरकारबाट सहयोग माग्दै आन्दोलन गरे । सहकारी गर्नेहरू नेता भए, नेता भएकाहरू सहकारीको नजिकका भए । राज्य नै यस्तो चरित्रको भएपछि भएको संयन्त्रले के गर्न सक्छ ?

कसैले राम्रो काम गर्न खोज्यो भने ती कर्मचारीको हुर्मत नै लिइन्छ । यो त झनै मौलाउँदै गयो । यो विकृतिबाट निस्कन राज्य तयार नै छैन किनभने उसको संलग्नता कतै न कतै छ । सहकारीको नियमन गर्ने कानुन र निकायलाई हिलोको किलो बनाइयो, जसले जताबाट हल्लाए पनि हुने ।

सर्वसाधारणले यत्ति बुझ्नुपर्‍यो कि नचिनेको, आफ्नो नजिकका मान्छेको सहभागिता नभएको र सञ्चालकलाई लगाम नलागाइएको सहकारीमा जस्तै राम्रो अफर आए पनि नगद जम्मा गर्दै नगर्नु । कुनै प्रलोभनमा पर्दै नपर्नु ।

तपाईंको घुमाउरो अभिव्यक्ति सहकारीलाई यो हालतमा पुर्‍याउन राजनीति जिम्मेवार छ भन्ने हो ?

हो, सहकारी भोट पनि दिने नोट पनि दिने क्षेत्र भयो । सहकारी क्षेत्रलाई केही राजनीतिक दलले दुरूपयोग पनि गरे कि ? सहकारीका आडमा गरिएको राजनीतिले सहकारीको पवित्र उद्देश्य प्रभावित भयो भने यसमा पनि राजनीति घुस्यो । यसमा कुन दल र पात्रहरू संलग्न छन्, तपाईंहरूले खोज्ने हो ।

अहिले देखिएको सहकारीको समस्यामा समाधानको सूत्र के हो ?

समस्यामा परिसकेकाहरूको हकमा तिनको उद्देश्यलाई पहिला राज्य संयन्त्र र त्यसका सदस्यहरूले केलाउनुपर्छ । सहकारीको उद्देश्यबाट त्यो संस्था विचलित भएको छ भने त्यो नितान्त ठगी हो ।

ठगीमा प्रहरीले कारबाही अघि बढाउने हो । निक्षेपकर्ताको रकम सुरक्षित फिर्ताको वातावरण सरकारले बनाउनुपर्छ । बचत र ऋण सहकारीसँगको कारोबारमा सर्वसाधारण आफैं सतर्क हुनुपर्छ । सरकारले पनि सर्वसाधारणमा वित्तीय साक्षरताको विकासमा लगानी गर्नुपर्छ । शिक्षा र सचेतता सहकारीको प्राण हो ।

सहकारीमा थप समस्या आउन नदिन नियामकले तत्काल गर्नुपर्ने काम के हो ?

सहकारीको कारोबारमा सरकारले रकम जम्मा गर्ने हद (क्याप) लगाउनुपर्छ । सेयर संख्या र बचत गर्ने र ऋण लिने अनुपात तोकिनुपर्दछ जुन १ः८ वा १ः१० हुन सक्छ । सहकारीको अध्यक्षले कार्यकारी काम गर्न नपाउने र एक/दुई पटक भन्दा बस्न नपाउने गरी एकै व्यक्तिको नियन्त्रणबाट मुक्त गर्नुपर्छ । सहकारीले मनपरी पैसा उठाउन पाउने स्वतन्त्रताका कारण यो विकृति बढ्दै गएको हो ।

मानिसहरू फस्दै गएका छन् । सहकारीलाई निश्चित रकम बाहेकको कारोबार गर्न नसक्ने गरी ‘क्याप’ लगाउन अब जरुरी भइसक्यो । नत्र समस्या ज्यूँकात्यूँ रहन्छ । सहकारी समग्र वित्तीय क्षेत्रसँग सम्बन्धित रहेकोले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल प्रहरीको संयुक्त प्रयास आवश्यक छ ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

सहकारी संकट-११

सहकारी संकट-१२

सहकारी संकट-१३

सहकारी संकट-१४

सहकारी संकट-१५

सहकारी संकट-१६

सहकारी संकट-१७

सहकारी संकट-१८

सहकारी संकट-१९

सहकारी संकट-२०

सहकारी संकट-२१

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?