+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
69/2 (9.4)
VS
चितवन राइनोज 2025
0/0
Shares
पुस्तक समीक्षा :

निषेधको कठघरामा ‘प्रिय दुश्मन’

शासक होस् अथवा युग हाँकिरहेका युगीन व्यक्तित्वहरूले निरङ्कुश शैलीले आफैं हावी हुन खोज्दा काममा खटिरहेको मान्छेको अस्तित्व सङ्कटमा पर्ने कविको गुनासो छ ।

शम्भु अर्याल शम्भु अर्याल
२०८० साउन २७ गते १८:५५
प्रिय दुश्मन पुस्तकको आवरण र समीक्षक शम्भु अर्याल ।

गहिरो नीलो ताललाई जलकुम्भीले निषेध गर्न खोजिरहेको हुन्छ । अनन्त आकाशलाई बादलले निषेध गर्न खोजिरहेको हुन्छ । अङ्कुरणको सर्वशक्ति रहेको माटोलाई पनि क्षयले निषेध गर्न खोजिरहेको हुन्छ । शक्ति यस्तो अमूर्त निराकार हो, जो हुन्छ तर आफ्नै अवस्थामा सदैव रहिरहँदैन । शक्तिको रूपान्तरण हुन्छ ।

‘प्रिय दुश्मन’ पनि लेखकीय सत्तामा शक्तिको रूपान्तरण हो । दुश्मन शब्दलाई नेपाली भाषामा आफूभन्दा फरक विचारको, आफूलाई मन नपराउने, वैरी अथवा शत्रु भनेर बुझिन्छ । दुश्मन कोहीकसैको पनि प्रिय हुनै सक्दैन ।

तर पनि शृङ्खला कविता कृतिको नाम ‘प्रिय दुश्मन’ राखेर कविले लेखकीय शक्तिलाई ह्रास नगरेर शक्तिको रूपान्तरण गरेका छन् । अस्तित्वलाई मेटाउन अथवा निर्मुल पार्न सकिंदैन तर अस्तित्वलाई स्वीकार गर्न सकियो भने कला भरेर कलात्मक बनाउन सकिन्छ भन्ने ‘प्रिय दुश्मन’को आशय हो ।

कवि मिलन समीरले ‘प्रिय दुश्मन’लाई सघन विचारको कला भरेर कविताको सुन्दर चित्र उतार्न सफल भएका छन् ।

दुश्मनलाई पनि वैरीको रूपमा नहेरी दुश्मनको विपरित विचारलाई शत्रुतापूर्वक होइन बरू त्यसमा कला भरेर दुश्मनलाई ‘प्रिय दुश्मन’ बनाउन सफल भएका छन् कवि मिलन समीर ।

मार्क्सको द्वन्द्ववाद पनि हेगेलको द्वन्द्ववादबाट प्रभावित छ । तर माक्र्सले हेगेलको आदर्शवादलाई हुबहु नक्कल नगरेर पदार्थको गतिशीलता नै अहिलेसम्मको सर्वमान्य शक्तिशाली सिद्धान्त हो भनेर शक्तिको रूपान्तरण गरे ।

मार्क्सले भनेका छन्– द्वन्द्ववाद भनेको पदार्थको अन्तर्विरोध हो । दार्शनिक विषयसन्दर्भमा द्वन्द्ववाद भनेको वाद, प्रतिवाद र संश्लेषणको अविरल पद्धति हो । समाज समूहको विचारबाट प्रभावित हुन्छ र त्यही समाजको विचारबाट समाजका क्रियाकलापहरू सञ्चालन भइरहेका हुन्छन् । त्यही सामाजिक क्रियाकलापबाट नयाँ विचारको उत्पत्ति हुन्छ र परस्परमा द्वन्द्व हुन थाल्दछ । बिस्तारै दुवै विरोधी शक्ति निर्णायक बिन्दुमा पुग्छन् र संश्लेषण हुन्छ ।

मार्क्सको विचारमा समाजको सामूहिक विचार नै वाद हो । सामूहिक विचारको गर्भबाट उत्पन्न भएको नवीन विचार प्रतिवाद हो । वाद र प्रतिवादको एकीकरणबाट असल तत्व प्रयुक्त व्यष्टि संश्लेषण हो । यस अर्थमा संश्लेषण नै वाद र प्रतिवादको गर्भ हो, जो समाजमा निरन्तर जन्मिइरहन्छ र समाहित भई नै रहन्छ ।

दुश्मन हुन वाद र प्रतिवाद हुनैपर्दछ तर संश्लेषण हुन ‘प्रिय दुश्मन’को विरोधाभास सत्य हुनुपर्दछ भन्नेमा पक्कैपनि कसैको दुईमत नहुनुपर्दछ । यसभन्दा अगाडि पनि दुश्मन कविता लेखिंदै आएका थिए तर ‘प्रिय दुश्मन’ एउटै शीर्षकमा एकतीस वटा शृङ्खलाबद्ध कविता नेपाली भाषा र साहित्यमा पहिलोपटक लेखिएको छ ।

‘प्रिय दुश्मन’लाई पनि मैले नेपाली लेखकीय शक्ति र सत्तामा संश्लेषण मानेको छु । यो एउटा असल तत्व समाहित भएर बनेको चरम विन्दु दुश्मनको संश्लेषण हो ।

कविता सङ्ग्रहमा एउटै उद्देश्य र तितीक्षा प्राप्तिका लागि सहयात्रा गरिरहेका एउटै मनको लगन भएको सामूहिक विचारमा थाहै नपाउनेगरी पछाडिबाट भाला प्रहार गर्ने व्यक्तिहरूलाई उनले प्रिय दुश्मन मानेका छन् । दुश्मनले आफूमाथि पूर्वाग्रह राखेर आफ्नो अस्तित्व मेटाउन खोजेपनि उनको दुश्मनमाथि आग्रहसहित शुभेच्छा र दीर्घायुको कामना व्यक्त गरिरहेका छन् ।

धारे हात लगाएर मात्रै
फिटिक्कै चित्त नबुझेपछि
आफ्नै नाङ्गो आँखाको अगाडि
अहिले भर्खर ठाउँको ठाउँ ठहरै होस् भनेर
भाकल गरेर बस्नेहरू छन्–
मेरै अकल्पनीय मृत्युको
जसको अनमोल जिन्दगीको
मैले चाहिं
सुस्वास्थ्यसँगै दीर्घायुको लागि
हार्दिकता–सहितको
कामना गरिरहेको छु अहिलेसम्म
र, गरिरहेको हुनेछु जिन्दगी भर ।

वर्तमान समयमा हराउँदै गइरहेको मानवीय संवेदना, समानुभूति, न्याय, इमान र निष्ठालाई कविताले सम्बोधन गरेको छ । ज्युँदाको जन्ती र मर्दाको मलामी, एउटै थालमा खाएर सँगै सुतेका साथीहरू, सँगै ज्युने र मर्ने कसम खाएकी अहिलेसम्मकै एकमात्र अन्तिम प्रेमिका र आफैंलाई अक्षर चिनाएका गुरूहरू, सबैले जिन्दगीको सबैभन्दा अफ्ठ्यारो मोडमा ईमान छोडेको प्रसङ्गले मनमुटु हल्लिन्छ ।

माथिका पङ्क्तिहरू पढिरहँदा मैले एफ. स्कट फिटजेराल्डले लेखेको द ग्रेट ग्याट्सवीका पात्रहरूलाई झलझलती सम्झिइहेको छु । ग्याट्सवीले उपन्यासमा प्रयुक्त सबै पात्रहरूसँग उत्तिकै समानुभूति, सहयोग र संवेदना राख्दछ । प्रत्येक रात भोजको आयोजना गर्दछ । शहरभरिका मान्छेहरू भोजमा सरिक हुन्छन् । खान्छन्, पिउँछन् र रमाइलो गर्दछन् ।

समाजमा सबैले उसकै सफलता, उदार चरित्र, ठूलो भवन र उसैले लगाउने महङ्गा कपडाको बारेमा चर्चा गर्दछन् ।

एकदिन ग्याट्सवीको कार उनकी प्रेमिका डेजीले चलाइरहेकी हुन्छिन् । न्यूयोर्क शहरको खरानीको उपत्यका भन्ने ठाउँमा मिर्टल विल्सनको किचिएर मृत्यु हुन्छ ।

उपन्यासको कथावाचक निक क्यारावेले ग्याट्सवीलाई केही समय शहर छोड्न अनुरोध गर्दापनि डेजीको मायाले ग्याट्सवीले शहर छोड्दैन ।

मिर्टल विल्सनको श्रीमान् जर्ज विल्सनले आफ्नी श्रीमतीको दुर्घटना गराउने व्यक्तिको खोजी गर्ने क्रममा ग्याट्सवीलाई उसकै स्विमिङपुलमा पौडिरहेको अवस्थामा गोली हानेर हत्या गर्दछ ।

जब ग्याट्सवी मर्छ उसको शवयात्रामा कोही पनि संलग्न हुँदैनन् । उसकै प्रेमीका डेजीले समेत शवयात्रा र दाहसंस्कारमा भाग लिन अस्विकार गरी । ग्याट्सवीको बुवा, नीक क्यारावे र अन्य दुईतीन जना मात्रै दाहसंस्कारमा उपस्थित हुन्छन् । उल्टो उसको सन्निकट रहेकाहरूले नै भने– ग्याट्सवी मर्न लायकको नै पात्र थियो ।

यसरी ‘प्रिय दुश्मन’ शृङ्खला कविता कृतिभित्र रहेका सबै पात्रहरूको कथा पनि द ग्रेट ग्याट्सवीका पात्रहरूजस्तै अगाडि पर्दा प्रशंसा गर्ने, तर पिठ्यँुपछाडि न्वारनदेखिकै बल निकालेर खेदो खन्ने प्रवृत्तिका रहेको पाइन्छ ।

आफूलाई अड्को पर्दा अर्कोलाई भर्‍याङ बनाउन अलिकति पनि नहिच्किचाएकाहरूले नै पर्दापछाडि मिहिनेती, लगनशील र सबैको लागि खटिरहेको उदार र निर्दोष चरित्रको खेदो खनिरहेको वर्तमान समाजको जल्दोबल्दो नकारात्मक दृष्टिकोण र तीतो सामाजिक चारित्रिक दुष्प्रयासको आन्तरिक भेद खोल्ने काम गरेको छ ।

कविता वाचक स्वयं म पात्र रहेपनि कविता शृङ्खलाको म पात्र समाजको निर्दोष, उचित कर्ममा खट्दाखट्दै प्रशंसा प्राप्त गर्नुको सट्ट तिरस्कृत भइरहेका सबै उदार पात्रहरूको आवाज हो ।

आफ्नै भनिएका आफन्तीहरूले
बलेँसी जोडिएका छिमेकीहरूले
नजिकै हुनुको नाताले
काका भएर पनि
मसँग गरिएको अकल्पनीय व्यवहारले
ठ्याक्कै डाँका भन्न सुहाउनेहरूले
‘ज्युँदाको जन्ती, मर्दाको मलामी’
भनिने गाउँलेहरूले
एउटै थालमा खाएर सँगै सुतेका साथीहरूले
सँगै ज्यूँने र मर्ने कसम खाएकी
मेरो जिन्दगीकै
सर्वप्रथम र अहिलेसम्मकै
एकमात्र अन्तिम प्रेमिकाले …

कविताका कुनै कुनै चोटिला हरफहरूले कविताको कला कोमलताको व्रतभङ्ग त गरेको छैन भनेर मैले ‘प्रिय दुश्मन’लाई धेरैपटक ओल्टाई पल्टाई पढिरहें–

पापीनी आमाको गर्भमा
विवेकहीन बाबुले रोपिदिएको बिउबाट जन्मिएका
धर्तीको बोझ बनेर
अहिलेसम्म बाँचिरहेका बाँदरहरूले
पिठ्युँपछाडि तिखो छुरा चलाउने
विश्वासघाती बुङ्गाहरूले
लाज पचाएर ङिच्च हाँस्दै निर्लज्ज
बुङ्गै हिँडिरहेका बोकाहरूले

कवितामा यस्तो किसिमका डरलाग्दा श्रापित हरफहरू जताततै भेटिन्छन् । कविता म बनेर लेखिरहँदा कवि मिलन समीरलाई हदैसम्म कठोर चरित्र देख्नेहरू पनि नहोलान् भन्न सकिंदैन । हाम्रो समाजको सापेक्षता नै यस्तै किसिमको छ ।

जिम्मेवारी पाएकाहरूले आफ्नो पदीय अहंकारले आफूभन्दा तल्लो ओहदाका मान्छेलाई पैतलामुनीको धुलोसम्म नगन्ने प्रवृत्तिले नै जन्मिएका सामाजिक साझा सवाल हुन् ‘प्रिय दुश्मन’मा अचानक आएको आँधिवेहरी ।

‘प्रिय दुश्मन’को लेखकीय सामथ्र्यलाई मैले दुई भागमा वर्गीकरण गरेको छु । पहिलो शासक र दोस्रो शासित । ‘प्रिय दुश्मन’ शासकसँग शासितले गरेकोे विद्रोह हो । विद्रोह वर्तमानमा भत्किन्छ र भविष्यमा निर्माण हुन्छ भन्ने मेरो बुझाइ हो । कविताको शीर्षक नै ‘प्रिय दुश्मन’ छ । पढ्दा आङ् जिरिङ्गै हुने विद्रोहको राँको सल्काएर पनि कविताको कला यसरी निर्माण गर्छन् कवि मिलन समीर–

प्रिय दुश्मन !
जसरी धरधरी रूवाएर मलाई
हँसाइरहेका थियौ आफ्नो हड्डी
त्यही तिम्रो मक्किदै गएको बूढो हड्डीलाई
गलाईदिनेछ एक दिन मेरै अविरल आँसुले

‘प्रिय दुश्मन’ निरङ्कुश र हैकमवादी चरित्रको विरूद्धमा लेखिएको श्रृङ्खला कविता कृति हो । कवि मिलन समीरले यसलाई खण्डकाव्य नभनेर श्रृङ्खला कविता कृति किन भने ? मेरो बुझाईको सन्दर्भ उनको कविताप्रतिको अत्यधिक मोह नै हुनुपर्दछ । जे जसो भएपनि सत्ताको शक्ति अन्तर्मुखी र हीन ग्रन्थीले ग्रस्त हुन्छभने समाजमा विद्रोह हुन्छ भनेर कविताका हरफहरू यसरी आन्दोलनमा उत्रिएर उत्कर्षमा पुगेका छन् ।

प्रिय दुश्मन !
दन्किरहेको आगो छ– मभित्र
उम्लिरहेको पानी छ– मभित्र
हुरीसहितको हावा छ– मभित्र
भर्भराइरहेको जवानी छ– मभित्र
जो, कुनै पनि बेला
अराजक स्वरूपमा फैलिन सक्छ
अराजक स्वरूपमा उर्लिन सक्छ
अराजक स्वरूपमा आइदिन सक्छ
अराजक स्वरूपमा विष्फोटिन सक्छ
अराजक अक्षरमा लेखिन सक्छ !
‘प्रिय दुश्मन’
तिमी आफैंले भनिरहेका छौ–
दन्किरहेको आगो
उम्लिरहेको पानी
हुरीसहितको हावा
र, चढिरहेको जवानी
सबैभन्दा बढी खतरनाक हुन्छन् ।

मान्छेको क्षमता र कर्मलाई समदृष्टि राख्न नसक्दा पुस्तकमा कविता वाचकको मन भत्किएको छ । नेपाली भाषासाहित्य, राजनीति र शासन सत्ताको दुरदृष्टि हुननसके एउटै लगन र एउटै उद्देश्यको अभिप्रायले हिंडिरहेका आम मान्छेहरूको परिश्रमको परिणाम व्यर्थ हुन्छ । परिणाममा विद्रोह हुन्छ र विद्रोहले परिवर्तन हुन्छ भन्नु नै समग्र कविताकृतिको संक्षेपीकरण हो ।

संवेदनशील साँघुरो समकालीन समयको
टोपी खस्ने घनघस्याको उकालोमा उभिएर
स्वयम्भूका दुईओटै आँखाहरूले
चुपचाप–चुपचाप हेरिरहेका छन् यतिबेला
प्रतिकूल परिस्थितिको
पट्यारलाग्दो पटाङ्गिनीमा
चलिरहेको अनन्तकालीन अभिषापको
अन्तिम युद्ध !

युग हाँकिरहेका अग्रज अभिभावकले बाटो बिराईदिंदा अनुज पुस्ताले सकस मात्रै पाउँदैन विद्रोहको आगोले अभिभावकको अस्तित्व समेत खतरामा पर्नसक्छ भन्दै अग्रज अभिभावकको कर्तव्य र अनुज आम मान्छेहरूको अधिकारको मागदावी पुस्तकमो जताततै गरिएको छ ।

आफैंलाई नपढेर दुनियाँ सारालाई
पढिरहेको नौटङ्की देखाइरहेका छौ
अरू सबैको नाममा टिपेक्स लगाएर
मेटाइसकेपछि गौरवशाली इतिहासका
प्रत्येक पृष्ठमा
आफ्नै नाम लेखाइरहेका छौ

शासक होस् अथवा युग हाँकिरहेका युगीन व्यक्तित्वहरूले निरङ्कुश शैलीले आफै हावी हुनखोज्दा काममा खटिरहेको मान्छेको अस्तित्व सङ्कटमा पर्ने कविको गुनासो छ ।
हो कविताका हरफहरू चोटिला छन् । कतै कतै आक्रोशित पनि देखिन्छन् तर आक्रोश व्यक्त गरिरहँदा कलात्मक भाषाको प्रयोगले कोमल पनि छन् । जस्तोकी दुश्मन नलेखेर ‘प्रिय दुश्मन’ लेखेर आक्रोश जस्तै देखिएपनि प्रत्येक एक पछिको अर्को पदबन्ध नलेखेको भएपनि हुन्थ्यो भनेर नसुहाउने किसिमका छैनन् ।
विरोधाभास हरफहरू चर्को देखिएपनि समग्र रूपमा कवि मिलन समीरको ‘प्रिय दुश्मन’ कविता सङ्ग्रह एउटै कर्म र लगनमा हिँडिरहेका मान्छेहरू बीच– एकआपसमा अन्तरसंवाद हुन र विचारको एकरूपता हुनुपर्दछ । एउटै लगनमा हिंडिरहेका मान्छेहरूलाई गोलबद्ध बनेर एकतापूर्ण ढङ्गले काम गर्न अपिल गरिएको श्रृङ्खला कविता कृति हो– ‘प्रिय दुश्मन’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?