+
+

महिलाका इतिहास जोडिएका कुरा

अमृता लम्साल अमृता लम्साल
२०८० साउन ३२ गते १२:३५

केही समयदेखि समाजका विभिन्न पाटामा योगदान गर्ने महिलाहरूको योगदान सर्सर्ती केलाउनमा व्यस्त छु। यो क्रममा दुइटा कुरामा प्रष्ट भएँ ।

पहिलो, महिलाहरूको योगदानबारे खासै अभिलेखीकरण हुँदैन र भए पनि जो शक्तिमा या राजनीतिमा छ उनीहरूको बारेमा मात्रै अभिलेखीकरण हुन्छ। दोस्रो, धेरै कुराहरू नलेखिएकै कारण हराएर जान्छन्।

सुरुमा, नेपाली महिलाहरुको पढाइकै कुरा गर्दा वि.सं. १९९० को पहिलो एसएसली परीक्षामा ३३ जना छात्र र एक जना छात्रा सविनाकुमारी देवीले फारम भरेका रहेछन् । तर, त्यसमा पनि सविना परीक्षामा अनुपस्थित हुनुभयो। एसएलसी दिने पहिलो महिलामा नाम दर्ता गराउन सफल पहिलो महिला लेख राज्यलक्ष्मी हुनुहुन्छ। उहाँ, ब्रह्मशमशेरको छोरी नभएकी भए त्यो पनि सम्भव हुन्थ्यो वा हुँदैनथ्यो यसै भन्न सकिन्न ।

जेहोस्, उहाँको बारेमा वि.सं. २००३ वैशाख १८ गते सम्पादकीय लेखिएको थियो भनिन्छ । हुनत, सबैभन्दा पहिले एसएलसी पास गर्ने महिला प्रभा राज्यलक्ष्मीदेवी राणा भनेर उल्लेख गरेको पनि पाइन्छ ।

संवत् २००४ मा चार जना प्रवेशिका परीक्षा; जसमध्ये एक सहाना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंह हुनुहुन्थ्यो। सो परीक्षालाई तात्कालिक समयमा ‘प्रवेशिका परीक्षा’, बीचको समयमा ‘एस.एल.सी.’ भनिन्थ्यो र हाल ‘एस.ई.ई.’ भनिन्छ। उक्त परीक्षामा त्यो वर्ष ८४ जना पास भए भनिए तापनि कति जनाले जाँच दिए भन्ने कुरो कतैबाट नखुलेको पत्रकार भैरव रिसालको ‘उहिलेको नेपाल’ पुस्तकमा पढ्न सकिन्छ।

त्यहाँ लेखिएको छ– “परीक्षा दरबार स्कुलमा भएको थियो। राजा महेन्द्रका प्रमुख सचिव लोकदर्शन बज्राचार्यले संस्मरणात्मक पुस्तक ‘जीवनका पानाहरू’मा लेखेका छन्, ‘ती महिलाहरू दरबार स्कुलको परीक्षा हलमा आउँदा बाटोभरि युवाहरू लाइन बसी हेर्थे।’… परीक्षामा सहभागी भएका चार जनामध्ये साधना र उनकी बहिनी सहाना बर्मामा हुर्केका हुन्। उनीहरूको परिवार दोस्रो विश्वयुद्धको बेला भागेर नेपाल आएको थियो। शिक्षाको जग उतै बनेकोले नै २००४ सालमा उनीहरूले यहाँ परीक्षा दिने हिम्मत गरे।”

नेपालमा महिला शिक्षाको आवाज उठाउने पहिलो महिला सायद चन्द्रकान्तादेवी हुनुहुन्थ्यो; जसले राणा प्रधानमन्त्री चन्द्रशमशेरकै पालामा महिलाहरूको लागि स्कुल खोल्न अनुमति माग्नुभयो। त्यतिबेला उहाँको माग पूरा भएन। उहाँले चन्द्रशमशेरको शेषपछि  भीमशमशेरसँग पनि अनुमति लिने प्रयास गर्नुभयो। त्यो प्रयास पनि सफल  भएन। उहाँको स्कुल खोल्ने इच्छा श्री ३ महाराज जुद्धशमशेरको पालामा अनुमोदन भयो। ती कुराहरू सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ र चन्द्रकान्तादेवी आफैंले लेखेको, वि.सं. २०३६ मा प्रकाशित ‘मेरो आत्मकथा’मा पनि पढ्न सकिन्छ।

महिला शिक्षाको इतिहासमा चन्द्रकान्ताले खोलेको कन्या स्कुल मात्रै थिएन; त्यो एउटा कडी थियो भने अर्कोतर्फ वि.सं. १९१० तत्कालीन दरबार स्कुल जसलाई पछि ‘भानु माध्यमिक विद्यालय’को नाम दिइयो, त्यसैको माथिल्लो तलामा वि.सं. २००४ भन्दा अगाडि महिलाहरूलाई स्कुले शिक्षा दिएको कुरा नेवार भाषाकी कवि नारायणदेवी प्रधान श्रेष्ठबाट जानकारी पाइन्छ। त्यही, दरबार स्कुलको महिला सेक्सनलाई २००४ सालको श्रीपञ्चमीको दिन तत्कालीन प्रधानमन्त्री श्री ३ पद्मशमशेरले आफ्नै निजी भवनमा १३ रोपनी जग्गा दिएर ‘पद्म विद्याश्रम’ कन्या पाठशालाको स्थापना गरेको इतिहास (हजुरआमाको कथा) पद्मकन्या स्कुल डिल्लीबजारबाट पनि थाहा पाइन्छ।

इतिहास जसले लेख्छ, उसले आफ्नै पक्षलाई विशेष राम्रो देखाएर लेख्छ। यो तथ्य, महिला अधिकारको लागि  तात्कालिक अवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेतृत्व वर्गमा पनि देखिएको छ।

उतिबेलाका महिला आन्दोलनमा लागेका अग्रज महिलाहरूको लेखनी तथा जीवनी पढ्दा जसले लेख्यो, उसैको मात्रै योगदान थियो भन्ने भान हुन्छ।

उदाहरणको लागि, सहाना प्रधान सम्बन्धी लेखहरू पढ्यो उहाँले नै मात्रै सबै कुरामा अग्रसरता लिएर आन्दोलन हाँक्नुभएको जस्तो देखिन्छ भने मंगलादेवी सिंहको गाथा पढ्दा सबैतिर मंगलादेवीकै प्रमुख भूमिका लेखिएको देखिन्छ। कहिलेकाहीं यस्तो लाग्छ, इतिहास लेख्नेहरूले सन्तुलन बनाएर ऐतिहासिक तथ्यहरू नलेखिदिएको पो हो कि ? कारण, आन्दोलन कहिल्यै पनि एक्लै हुँदैन; हुनै सक्तैन। आन्दोलनले नै नेतृत्व जन्माउँछ।

जोन ह्वाइटहेडले थ्री थ्योरिज् अफ् लिडरसिप भित्र ‘नेतृत्वको तीन सिद्धान्त’मा लेखेको त्यतिबेलाको महिला आन्दोलन अर्थात्, ट्रान्सफर्मेसनल लिडरसिपको व्याख्याभित्र ती समयमा नेतृत्वमा रहेका सबै वर्ग र पक्षका महिला नेतृहरूबीच आपसी सल्लाह र समन्वय भएको प्रमाण, ती समयका चर्चित महिला नेतृहरूको संस्मरण र छिटपुट लेखिएका इतिहासबाट थाहा हुन्छ।

यसको एउटा प्रमाण, ‘प्रजा पञ्चायत’को भेलामा महिलाहरूको बारेमा कुनै निर्णय नलिएपछि मंगलादेवी सिंह, सहाना प्रधान, साधना प्रधान, शान्ता श्रेष्ठ, चम्पादेवी बज्राचार्य, रामलक्ष्मी मानन्धर, सिलवन्ती शाह, स्नेहलता प्रधान लगायत २१ जना महिला लिएर श्री ३ पद्मशमशेरको दरबारमा पुगेको कुरा मंगलादेवीको आत्मसंस्मरण ‘नारी संघर्षका पाइलाहरू’मा उल्लेख छ।

वि.सं. २००४ मा भएको स्थानीय निर्वाचनमा सर्वसाधारणले भोटको अधिकार पाए। तापनि, नेपाली महिलालाई त्यही अधिकार लिन वि.सं. २०१० सम्म कुर्नुपर्‍यो । त्यो पनि कसैले, ‘महिला, तिमीहरू विना चुनाव सम्पन्न भएन । गएर भोट हालिदेऊ’ भनेर पक्कै भनेनन् होला ! महिलाहरूले पहिलो पटक, काठमाडौं नगरपालिकाको १७ भदौ २०१० मा भएको निर्वाचनमा भोट खसालेका थिए

त्यो प्रजा पञ्चायत यसकारणले महत्वपूर्ण थियो कि, त्यहाँ कांग्रेस र कम्युनिस्ट नेताहरूको सक्रिय सहभागिता थियो। यसबारेमा अरविन्द रिमालले लेखेको ‘डिल्लीबजारको लप्टनको होटल’ पुस्तकमा भनिएको छ– “प्रजा पञ्चायत वास्तवमा एउटा छाता राजनीतिक संगठन थियो। जसमुनि प्रजापरिषद्का कार्यकर्ताहरू, पछिका कांग्रेस र कम्युनिस्ट नेताहरूले सक्रियतापूर्वक भाग लिएका थिए। मुख्यतः प्रजापरिषद्को आन्दोलनको भाव र जोशमा यो संगठन चलेको थियो। यसको नेतृत्व आफैंले लिन विश्वेश्वरप्रसाद कोइराला निकै सक्रिय देखिए, जसमा उनलाई गणेशमान सिंहको पनि समर्थन थियो ।”

पुष्पलाल श्रेष्ठ अरविन्द रिमाललाई कम्युनिज्म सिकाउने गुरु हुनुहुन्थ्यो। अरविन्द रिमालको सोही किताबको अंशमा, २००७ साल कात्तिक २६ गते तत्कालीन राजा त्रिभुवन गौचर हवाई अड्डाबाट भारत प्रस्थान गर्न लाग्दा त्यहाँ ठूलो भीड एकत्रित भएको थियो; त्यस समूहमा सहाना प्रधान लगायत चार महिलाको उपस्थितिको बारेमा लेखिएको छ— “हवाई अड्डाको विशाल जनअभिव्यक्तिका महिला सहभागीहरूमा साधना प्रधान, सहाना प्रधान, शान्ता श्रेष्ठ तथा पुष्पलता श्रेष्ठ लगायतमाथि निर्मम प्रहार हुँदा पनि उनीहरु फ्रान्सेली ऐतिहासिक वीराङ्गना जोन अफ आर्क जस्तै जाज्वल्यमान देखिन्थे।”

जुन पक्षले आफ्नो पक्षको बढी पक्षधरता लिए पनि त्यतिबेलासम्म महिला अधिकारको पक्षमा मिलेरै काम गरेको देखिन्छ; यसको लागि पद्मशमशेरको दरबारमा जाने ती २१ जना नै उत्तिकै महत्वपूर्ण छन्। त्यहाँ भएको सवाल जवाफमा उत्तर दिने र माग राख्ने भूमिका मंगलादेवी सिंहले खेल्नु भए पनि सहाना, साधना, स्नेहलता, शान्ता श्रेष्ठ जस्ता जुझारू व्यक्तिहरू नहुनुभएको भए पक्कै पनि एक अर्कालाई बल पुग्ने थिएन। यसको लागि ती नेतृहरूको एकअर्काप्रतिको आपसी सद्भाव र समन्वयले इतिहास निर्माणमा टेवा पुगेको देखिन्छ।

त्यो समयमा पद्मशमशेरको दरबारमा आफ्ना माग लिएर पुगेको उक्त टोलीले महिला शिक्षाको लागि पनि आवाज उठाएकै कारण ‘पद्मकन्या विद्याश्रम’ पनि खुलेको दाबी गरिन्छ।

तर यो तर्कलाई चन्द्रकान्तादेवीको प्रयास र दरबार स्कूलको प्रमाणले सशक्त ठहर्‍याउँदैन। बरु यसो भन्न सकिन्छ, ती अगाडिका प्रयासहरूलाई यो कदमले अझ बलियो बनाउन मद्दत गर्‍यो। यहींनिर, त्यो ट्रान्सफर्मेसनल लिडरसिपको सिद्धान्तले काम गरेको देखिन्छ ।

त्यतिबेलाको महिला आन्दोलनमा सम्मिलित हुनेहरू थुप्रै थिए; २००० साल भन्दा अगाडिकै नेपाली महिलाको इतिहासमा महिला हकहितको लागि आवाज उठाउनेहरूमा योगमाया, दिव्या कोइराला, मोहन कुमारी कोइराला, पूर्णकुमारी अधिकारीहरूको नामलाई, महिलावादी लेखक रबिन मोर्ग्यानले सम्पादन गरेको किताब ‘Sisterhood is Global: The International Women’s Movement Anthology’ मा समेटिएको छ। त्यस समयको अर्को चर्चित नाम रेवन्तकुमारी आचार्यद्वारा स्थापित ‘आदर्श महिला संघ’को पनि उल्लेख छ।

महिलाहरूको समूहमा कम्युनिस्ट र कांग्रेस विचारधारा राख्ने महिलाहरू एकै ठाउँमा बसेर काम गरेको त्यो युगले त्यो समयको आन्दोलनलाई बलियो बनाएको थियो। त्यसैको फलस्वरुप, शिक्षा र राजनैतिक अधिकारको क्षेत्रमा महिलाहरूको केही माग पूरा भयो।

२००४ साल वैशाख १७ गते, काठमाडौंमा नागरिक आन्दोलन भएको थियो। त्यतिबेला सहाना लगायत कनकलता, साधना, स्नेहलताले थुप्रै पुरुष आन्दोलनकारीहरूसँग प्रदर्शनमा भाग लिएको प्रमाण भेटिन्छ। त्यहाँ नै सहानाको भेट भविष्यका जीवन साथी पुष्पलाल श्रेष्ठसँग भएको थियो। ती आन्दोलनकारीहरूमध्ये ७२ जना नागरिकहरूलाई बन्दी बनाइएको थियो। उहाँहरूलाई १८ दिनसम्म मोहनशमशेरको ब्यारेकमा राखिएको थियो। आन्दोलन र प्रदर्शन अगाडि बढ्दै गयो।

वि.सं. २००४ मा भएको स्थानीय निर्वाचनमा सर्वसाधारणले भोटको अधिकार पाए। तापनि, नेपाली महिलालाई त्यही अधिकार लिन वि.सं. २०१० सम्म कुर्नुपर्‍यो । त्यो पनि कसैले, ‘महिला, तिमीहरू विना चुनाव सम्पन्न भएन । गएर भोट हालिदेऊ’ भनेर पक्कै भनेनन् होला ! महिलाहरूले पहिलो पटक, काठमाडौं नगरपालिकाको १७ भदौ २०१० मा भएको निर्वाचनमा भोट खसालेका थिए । त्यो पनि त्यतिवेला २१ वर्ष पुगेकाहरूले मात्र; त्यो कुरा संस्कृतिविद् सत्यमोहन जोशीको भनाइमा सार्वजनिक भएको छ ।

२००४ साल असार २२ गते, काठमाडौंको म्हैपीमा भएको महिला भेला महिलाहरूको साझा चौतारी थियो, जसमा महिलाहरू पनि संगठित हुनसक्छन् भन्ने उदाहरण दिंदै ‘नेपाल महिला संघ’को खाका कोरियो।

“सन् १९४८ मा मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको स्थापना, यसका अन्य सदस्य थिए: श्रीमाया, स्नेहलता, शान्ता श्रेष्ठ, पुण्यप्रभादेवी ढुङ्गाना, सहाना प्रधान आदि यस संघको मूल उद्देश्य: महिलाहरूलाई सङ्गठित गरी राणाशासनको अन्त्यको निम्ति आवाज उठाउनु, यस सङ्घले महिलाहरूको मताधिकारको निम्ति पनि सफल संघर्ष गरेको थियो।” (नेपाली नारीहरू अस्मिताको खोजमा)

तर, उक्त गठबन्धन ‘महिलाको लागि महिलाको समूह’ मात्रै भएर रहन सकेन; कोही कांग्रेसका भए; कोही कम्युनिस्टका।

त्यसरी विभिन्न पार्टीमा बाँडिंदै बाँडिंदै अहिले त महिलाहरू एकैठाउँमा आउनै नसक्ने भइसकेको जस्तो लाग्न थालेको छ।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?