+
+

‘४० वर्षदेखि मुद्दा लडिरहेकी छन् मेरी ८० वर्षकी आमा’

२०४२ सालदेखि मेरो बाबुले सुरु गरेको न्यायको संघर्ष कहिले टुंगिन्छ, थाहा छैन । तर यत्ति थाहा छ, मेरी आमाले न्याय पाउनै पर्छ । औल लाग्ने ठाउँमा मेरा बा–आमाको रगतपसिनाले आर्जेको सम्पत्ति हो । कसैले कागज बनाएर दाबी गर्यो भन्दैमा मैले किन छाड्ने ?

आशारानी लामा, चितवन आशारानी लामा, चितवन
२०८० भदौ १ गते २०:१८
कान्छीमाया लामा

१६ फागुन २०७९ को कुरा हो । मेरी आमा बसिरहेको चितवन भरतपुरको नमूना सैनिक टोलमा प्रहरीको डफ्फा सहित डोजर आइपुग्यो । ८० वर्षीया आमा कान्छीमाया लामा र मलाई पक्राउ गरेर प्रहरीले चौकीमै लग्यो ।

बेलुकी चौकीबाट छुटेर घर आउँदा प्रहरीले घरटहरा भत्काइसकेको थियो । २०२० सालदेखि बा–आमा बसेको र खनी–खोस्री गरेको ठाउँ थियो त्यो । दुःख गरेर बनाएको र जीवन बिताएको घरटहरा तहसनहस भएको देख्दा आमा डाँको छोडेर रुनुभयो । मलाई बेस्सरी रिस उठ्यो ।

मेरो बाबा (बिकु लामा) र दुई जना आमाहरू २०२० सालमा सिन्धुपाल्चोकबाट चितवन झर्नुभएको रहेछ । पञ्चायतकालको सुरुवातताका सरकारले तराईको वन फँडानी गरेर आवादी गरेमा ढिलोचाँडो जग्गा दिने आश्वासन दिएको रहेछ । त्यही बेला मेरो बाबा लगायत सिन्धुपाल्चोकका केही परिवारहरू चितवन झरेर खेतीपाती सुरु गरेका रहेछन् । त्यो ठाउँलाई अहिले नमूना सैनिक टोल भनिन्छ ।

२०२४ सालमा सरकारले बुबाआमालाई जोताहा पुर्जा दिएको रहेछ । बाबा र आमाहरूले खेतीपातीलाई नै जीविकोपार्जनको माध्यम बनाउनुभयो । मेरो बाबाले कान्छी श्रीमती (मेरो आमा) कान्छीमाया लामालाई ६ कट्ठा जग्गा दिए ।

२०४४ सालमा वन शुद्धीकरण अभियान चल्यो, सरकारले ऐलानी जग्गामा जोताहा पुर्जा भएका सबैलाई नम्बरी जग्गा बनाइदिने भन्यो । प्रत्येक घरधुरीले चार कट्ठाका दरले मात्रै जग्गा पाउने भए, बढी भएकाहरूको जग्गा जफत हुनेभयो ।

त्यतिबेला मेरो बुबाको नाममा डेढ बिघा जग्गा थियो । आमालाई अंशबण्डा गरेर बाँकी रहेको जग्गा सबै ७ जना छोरीहरूको नाममा लेखिदिए । लालपुर्जा बाँड्ने बेलामा अमिन र गाउँका ठूलाबडा आए । उनीहरूले बालाई तिम्रो जग्गा बचाइदिन्छौं र जोगाइदिन्छौं भनेका रहेछन् । त्योमध्ये केही जग्गा पछि अर्कैको नाममा बनाइदिएछन् । त्यो थाहा पाउने वित्तिकै बुबाले मुद्दामामिला गर्नुभएको रहेछ ।

चितवन सैनिकटोल निवासी ८० वर्षीया कान्छीमाया लामा ।

जिल्ला अदालतले ‘जोत्दैमा, पोत्दैमा नहुने, पुर्जा छैन भनेर केही गर्न नसकिने । जालसाजीको लागि पनि हदम्याद देखिएन’ भनेर बुबालाई त्यसबेला मुद्दा हराइदिएछ । उहाँ माथिल्लो अदालत जानुभयो । तर, मुद्दा जित्न सक्नुभएन ।

यही विवादका क्रममा प्रहरीले बुबालाई २०५१ सालमा घरबाट उठाएर चौकीमा लगेको रहेछ । केही मान्छेले ‘यसले हाम्रो जग्गा हडपेर बसेको छ’ भनेर उजुरी दिएपछि बुबालाई पुलिसले पक्रेर लगेको रहेछ । उनीहरूले ‘कि त मिलापत्र गर नभए जेल जानुपर्छ’ भनेर धम्क्याएछन् ।

त्यसपछि मलाई गैरकानुनी रूपमा प्रहरीले दुःख दियो भनेर बुबा अदालत जानुभएछ । त्यसपछि प्रहरीले ‘यो मान्छेलाई समातेकै छैन’ भनेपछि मुद्दा सिद्धियो रे ! मुद्दामामिलाकै चटारोका बीच २०५७ सालमा बुबा बित्नुभयो ।

‘के मुद्दा परेको हो ? कसले हेर्ने हो ? कसरी लड्ने हो ? कहाँ जाने हो ? बुबाको निधन भएपछि हाम्री आमालाई केही पनि थाहा हुने कुरा भएन । म सानै थिएँ । सबै कुरा विस्तारै चल्दै थियो । एकाएक २०६१ सालमा प्रहरी फेरि आयो र मलाई उठाएर चौकीमा लग्यो ।

त्यो दिन प्रहरीले मलाई यत्तिकै छाड्यो । फेरि २०६३ सालमा जग्गामा विवाद भयो । मैले आमालाई जग्गा नछाड्ने अडान दोहोर्याएँ । २०६४ सालमा पनि प्रहरी आयो । त्यसपछि मैले टोलछिमेक र संघसंस्था हारगुहार गर्न थालें ।

मलाई हटाउन खोज्नेहरूले ‘जग्गा छाडे १० लाख रुपैयाँ दिने’ भन्न थाले । ‘मैले पैसाका लागि लडेको होइन, बाबुले दुःख गरेर पाएको जमिनका लागि लडेकी हुँ । क्षतिपूर्ति लिंदा म हारेको ठहरिन्छ’ भनेर मैले पैसा लिन मानिनँ ।

पछि मोलमोलाइ गर्नेहरूले तीन भागको एकभाग जग्गा लिन र बाँकी छाड्न अनुरोध गरे । तिनै वकिलहरू आएर २०७२ सालमा डेढ करोड रुपैयाँ बुझेर जग्गा छाडिदेऊ भन्ने प्रस्ताव गरे । मैले पैसाका लागि लडेको होइन, बाबुले दुःख गरेर पाएको जमिनका लागि लडेको हुँ भनें ।

फेरि क्षतिपूर्ति लिंदा म हारेको ठहरिन्छ भनेर मैले पैसा लिन मान्दै मानिनँ । अलि अस्ति पनि उनीहरूले त्योमध्ये एक कट्ठा जग्गा आमाको नाममा पास गरिदिने, अरू केस मिलाउने भनेर आएका थिए । म मिल्ने भए त त्यतिबेलै मिल्थें हुँला । आमाको न्यायका लागि भनेर किन लडिरहन्थें र भनें ।

उनीहरूले मलाई प्रहरीमा लगेका बेलामा देखाएका कतिपय फाइल जग्गासँग सम्बन्धित नै रहेनछन् । त्यतिबेला मुद्दा–मामिलाका क्रममा बाले उनीहरूको जग्गा रोकिदिनुभएको रहेछ । पछि सर्वोच्च अदालतले रोक्का फुकुवा गरिदिएछ । उनीहरूले त्यही देखाएर हामीलाई धरपकड गराइरहेका थिए ।

आमाको नाममा रहेको करिब ६ कट्ठा जग्गामध्ये ३ कट्ठाको टुक्रामा विवाद छैन । अर्को ३ कट्ठा मेरो हो भन्ने अर्को पक्षको दाबी छ । त्योमध्ये ३ धुरको हकमा मात्रै अदालतले ‘चलन चलाउने’ आदेश गरेको हो, बाँकीको हकमा केही बोलेको छैन । हामीले वर्षौंदेखि लगाएको कम्पाउण्डमा अर्को पक्षले ‘मैले खनजोत गरिरहेको’ भन्ने दाबी गरेको छ ।

प्रहरीले मेरो सारा घरको सामान अदालत लगेर फालेको रहेछ । एउटा नागरिकको सामान त्यसरी फाल्न मिल्छ ? जे फाइल देखाएर मेरो आमाको घरटहरा भत्काइयो, त्यो फाइल सम्बन्धित मुद्दाको नभएर अर्कै हो । राजनीतिक पहुँच र शक्ति छ भन्दैमा जे गरे पनि हुने भयो । ८० वर्षकी मेरो आमालाई त्यसरी लछारपछार गरेर लैजान पाइन्छ ?

 

गत फागुन १६ गते जग्गा ‘चलन चलाउने’ भनी प्रहरीले कान्छीमाया लामालाई धरपकड गरेको थियो ।

म जन्मिएपछि जान्ने भएदेखि मुद्दा मामिला, अड्डाअदालत धाउनेदेखि निवेदन पेश गर्नेसम्मका काम कति भए, मसँग हिसाब छैन । २०७९ फागुनमा, पत्थरीको उपचारका लागि केही दिन अस्पताल बसेर आमा अघिल्लो दिन मात्रै घर फर्किनुभएको थियो । भोलिपल्ट १६ गते प्रहरीले हातमा पत्र र पछिपछि डोजर लिएर आयो । मलाई र आमालाई उठाएर लग्यो अनि घर भत्काइदियो । प्रहरीले फैसला कार्यान्वयन गर्ने नाममा बल प्रयोग गर्यो ।

आमालाई प्रहरीले उठाएर लगेदेखि मलाई चैन छैन । अति भएपछि मैले घरका पुराना कागजात निकालें, हेरें । अड्डाअदालत गएर बुबाले मुद्दामामिला गरेका सबै कागजात निकालें । अदालत पुग्यो, कागजात माग्यो, केही दिंदैनन् । तहसिल शाखाका कर्मचारीहरू झर्कन्छन् मात्रै । अर्कै मुद्दाको कागज देखाएर मेरो घरको सामान लगेर अदालतमा फालिदिएका रहेछन् । ८० वर्षे वृद्धाको सामान त्यसरी मनलाग्दी गर्न मिल्छ ?

मेरो बा–आमा २०४२ सालदेखि यो जग्गाको निम्ति लड्दै आउनुभएको छ । मुद्दा लड्दालड्दै बुबा जानुभयो । त्यसपछि आमा र मैले पनि लड्न छाडेका छैनौं । आमालाई नै त्यसरी अत्याचार गरेर लछारपछार गरेपछि अब मैले फेरि मुद्दा लड्नु बाहेक अरू उपाय भएन । मुद्दामामिलाको कागज पढ्दापढ्दै म सबै बुझ्ने भइसकें ।

रिट निवेदनको खेस्रा पनि आफैंले बनाएर मेरो कानुन व्यवसायीलाई बुझाएकी हुँ । जे–जति कागजात छन्, तिनमा भएका विवरण टिपोट गरेर हातैले रिट निवेदनको व्यहोरा टिपोट गरेकी थिएँ । मलाई त्यो लेखेर सकाउँदा पनि रिस मरेको थिएन । वकिलहरूले हेरेर तपाईंको कागजमा कानुनी कुरा भएन, भावनाका कुरा बढी भयो भन्नुभयो । अनि अदालतलाई चाहिने जस्तो बनाइदिनुभयो ।

गत आइतबार (२८ साउन) मा सर्वोच्च अदालतमा मैले पेश गरेको निवेदनको पालो आयो । म आफैं गएर बहस गरें । किनभने मैले मनको भावना पोख्नुथियो, मेरो बा–आमाले त्यो जग्गाको लागि कति दुःख पाउनुभयो ? सुनाउनुथियो । हामीलाई दुःख नदिनु, हामीमाथि बलजफ्ती नगर्नु भनी अदालतबाट अन्तरिम आदेश भएछ । अदालतले फेरि हामीलाई छलफलका लागि बोलाएको छ ।

मेरो ८० वर्षको आमालाई लतारेर प्रहरी चौकीमा लगिएको थियो । त्यो अपराधको मैले बयान गर्न सक्दिनँ । मलाई गएको फागुनमा प्रहरीले गरेको व्यवहार देखेर अझै पनि भाउन्न भइरहेको छ ।

बुढी आमामाथि प्रहरीले बलजफ्ती गर्यो । आमाकै आँखा अगाडि प्रहरीले घरटहरा भत्काइदियो । मैले त्यो अत्याचार चुपचाप हेर्ने बाहेक अरू केही गर्न सकिनँ । मेरी आमाको माया, प्रेम सबै जे छ, त्यही माटोमा छ । आमाले न्याय पाउनुपर्छ भनेर म लडेकी हुँ । त्यसै छाड्दिनँ ।

२०४२ सालदेखि मेरो बाबुले सुरु गरेको न्यायको संघर्ष कहिले टुंगिन्छ, थाहा छैन । तर यत्ति थाहा छ, मेरी आमाले न्याय पाउनैपर्छ । औल लाग्ने ठाउँमा आएर मेरो बा–आमाको रगत–पसिनाले आर्जेको सम्पत्ति हो । मेरी आमाले ६० वर्षदेखि भोगचलन गरेको जग्गा हो । उनीहरूले दुःख गरेर आर्जेको र ६० वर्षदेखि भोगचलन गरेको सम्पत्ति कसैले कागज बनाएर दाबी गर्यो भन्दैमा मैले किन छाड्ने ?

(आफ्नो जग्गाका लागि २०४३ सालदेखि मुद्दा लड्दै आएकी कान्छीमाया लामाकी छोरी आशारानी लामासँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?