+
+

‘परिवर्तन ल्याउन नयाँ सुरुवात गर्नुपर्छ भनेर जनमत पार्टी रोजें’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १३:३०

काठमाडौं । सञ्चारकर्मी सरिता ज्ञवालीको नेपालमा ठीकठाक जिन्दगी चलिरहेको थियो । तर पनि देशमा भविष्य सुरक्षित लागेन उनलाई र पुगिन् विश्वकै महाशक्ति मुलुक अमेरिका । उनले त्यहींकै पासपोर्ट पनि लिइन् तर पनि उनको मन त्यहाँ अडिएन । त्यसपछि त्यहाँको पासपोर्ट त्यागेर नेपालमा आएर पुन: सञ्चार क्षेत्रलाई नै निरन्तरता दिइन् ।

ज्ञवाली अब राजनीतिमा सक्रिय हुँदैछिन् । त्यसका लागि उनले डा. सीके राउत नेतृत्वको जनमत पार्टी रोजेकी छन् । हालै मात्र जनमत पार्टी प्रवेश गरेकी ज्ञवालीलाई राजनीतिमा लाग्ने सोच कसरी आयो ? आफूले गरिरहेको सञ्चारकर्मलाई अब के गर्छिन् ? यसै सन्दर्भमा ज्ञवालीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :

एक्कासि राजनीतिमा प्रवेश गर्नुभयो किन ?

म पहिलादेखि नै राजनीतिमा चासो राख्ने व्यक्ति हो । तर  पछि गएर राजनीतिमै लाग्छु भन्ने चाहिं थिएन । समाजको लागि केही गर्न राजनीतिमै आउनुपर्छ भन्ने त होइन । सञ्चारको क्षेत्रमै रहेर पनि मैले राजनीतिक र सामाजिक विषयलाई उठान गर्दै आएको हो । पछिल्लो समय जिन्दगीको बारेमा सोच्दा कि त जोगी कि राजनीतिमा लाग्छु भन्ने पनि थियो ।

विस्तारै मैले राजनीतिको एक स्थानमा पुगेपछि नीति नियम बनाउन सकिने, जनमानसलाई एकैपटक प्रभाव पार्न सकिने महसुस गरें । त्यसैकारण राजनीतिमा प्रवेश गरेकी हुँ ।

तपाईंले त्यसका लागि जनमत पार्टी नै किन रोज्नुभयो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि धेरैजसो त्यहाँका सदस्य मेरो सर्कलकै साथी छन् । जसकारण म कुनै पार्टीमा आबद्ध नहुँदा पनि मलाई सो पार्टीकै हो कि भनेर समेत मानिसहरुले आशंका गर्थे । तर मैले केही चीज गर्नलाई सहज वातवारण भन्दा अलि फरक वातावरण नै खोजिरहेको थिएँ । त्यसमा पनि मैले गर्न सक्ने मुद्दा के हो भन्नेतर्फ सोचें ।

हाम्रो देशमा ५० प्रतिशतभन्दा बढी महिला छौं । नियम नीतिमा सरकारले राम्रोसँग ३३ प्रतिशत स्थान दिएको छ । यी पक्ष हुँदाहुँदै पनि ठूलाठूला स्थानमा प्रतिस्पर्धात्मक ढंगले अझै महिला अघि बढ्न सकेका छैनन् । त्यसमा पनि मधेसी महिला धेरै पछाडि छन् । जसकारण मलाई जनमत पार्टीमा मैले धेरै कुरा गर्न सक्छु जस्तो लाग्यो । म काठमाडौंमै जन्में, हुर्किएँ त्यसपछि विदेशमा पढे पछि नेपाल आएँ । मेरो अनुभवले अलिकति भए पनि उनीहरुमा प्रभाव पार्न सक्छु कि भन्ने छ । किनभने एउटा घरमा महिला बलियो छिन् भने घर बलियो हुन्छ । घर बलियो हुनु भनेको देश बलियो हुनु हो ।

जनमत पार्टीमा आफ्नो स्थान कुन रुपमा पाउनुहोला ?

जनमत पार्टी राष्ट्रिय पार्टी भए पनि मधेशकेन्द्रित पार्टी नै भनेर चिनिन्छ । तर म जस्ता धेरै गए भने यो ट्याग हट्न सक्छ । यो पार्टी एक मुद्दामा केन्द्रित हुँदैन । तराई पहाडलाई पनि समेट्छ भन्ने पर्छ । त्यसैले आगामी दिनमा यो पार्टीमा पनि विविधता लिएर अघि बढ्ने सोच छ । भोलिको दिनमा आफूले गर्न खोजेको कार्य र सोचसँग मिल्ने पार्टी भएको र केही गर्न सक्छु भनेर जोडिएको हुँ ।

काठमाडौंमा हुर्केबढेको मान्छे मधेशकेन्द्रित पार्टीमा आवद्धता हुँदा चुनौती चाहिं के देख्ननुहुन्छ ?

नयाँ पार्टी हुँदा चुनौती पनि धेरै छन् । संख्याको हिसाबले धेरै मधेशी मूलको जमातमा भिज्न कठिन पनि हुन सक्छ । उनीहरुको रहनसहन, भाषा, लवज मेरोभन्दा फरक छ । यी साना चुनौती हुन् । हामी बोल्दा सबै भाषाभाषी सम्मान हो भन्छौं । तर अहिले जनमत पार्टीमा जाँदा मधेशकेन्द्रित पार्टीमा किन भन्ने प्रश्न सोधिन्छ । साथीभाइ पनि किन यो पार्टी भन्दै अचम्मित भएका थिए । धेरैले उल्टो बगेको खोला जस्तो पनि भने । तर मैले सोचेको भिजन, यो पार्टीको लिडर र अन्य सदस्यसँग मेल खान्छ । परिवर्तन ल्याउन नयाँ सुरुवात हुनु नै पर्छ ।

जनमत पूर्ण मधेशकेन्द्रित पार्टी होइन । त्यहाँ पनि सबैजना सकिन्छ है भन्ने हिसाबले सहजीकरण गर्ने प्रयास हो । मधेसी मुद्दा त छँदैछन् । त्यसबाहेक यही पार्टीबाट देशमै सहज वातावरण बनाउन मेरो भूमिका हुनेछ ।

संस्कृतिमा फरक छ । तर पार्टीमा सबैको उद्देश्य भनेको देशमा सबैलाई सम्मान कसरी बनाउन सकिन्छ भन्ने नै हो । सबैलाई समेटेर अघि कसरी बढ्ने भन्ने योजना भएको कारण पनि म पनि यसमा योगदान दिन सक्छु भन्ने लाग्छ ।

जनमत पार्टीमा आवद्ध हुनेसम्मको यात्रा कसरी तय भयो ?

अहिले युवाहरुमा बुढापाकाले सरकार चलाएनन् अब युवा नै आउनुपर्छ भनेर लागिरहेको देख्न सकिन्छ । यसैक्रममा म पत्रकार भएको हिसाबले राजनीतिज्ञसँग कामकै सिलसिलामा कुरा भइरहँदा कुनै पार्टीमा जोडिन्छु भन्ने थियो । यस दौरान मलाई यस पार्टीको अध्यक्ष डा. सीके राउतको हरेक पक्ष, लक्ष्य र विचारधारा मनपर्दै गयो । पहिलादेखि नै विचार सुन्दा र उहाँ अरुले के गर्‍यो भनेर आलोचना गर्नुको साटो आफू चाहिं के गर्ने त भनेर लागिरहेको देखेर मलाई यसमा प्रवेश गर्ने इच्छा भयो । उहाँको सोच र व्यवहारबाट म प्रभावित भएँ, त्यसपछि कुरा गर्दै विचार, विमर्श गरेर यस पार्टीको सदस्य बनेको हुँ ।

अहिले कतिपय कलाकार वा सञ्चारकर्मीहरु पार्टी प्रवेश गर्ने अनि केही समयमै छाड्ने प्रवृत्ति पनि देखिन्छ । तपाईंको यात्रा चाहिं कति लामो होला ?

राजनीति केही समय गर्छु अनि छोड्छु भनेर म पटक्कै आएको होइन । नत्र उमेरले ४० काटिसकेको, करिअरको हिसाबले पनि राम्रो चलिरहेको व्यक्ति यत्तिकै प्रवेश गरेको होइन ।

असल नेतामा हुनुपर्ने गुण के के हुन् ?

असल नेतामा हुनुपर्ने गुण भनेको पहिला सच्चा मानव हो । सच्चा मानवले जब देशको कुरा आउँछ, त्यसको विपरीत कुनै काम गर्न सक्दैन । विश्वमा अधिकांश देश भन्दा धेरै गुणा हामी राष्ट्रवादी छौं । पूर्खादेखि अहिलेसम्म पनि राष्ट्रको माया नै गरिरहेको देखिन्छ । समस्या कहाँ छ भने नेता भइसकेपछि व्यक्ति थोरै स्वार्थी भएर बिग्रिएको हो । निःस्वार्थ र देशको लागि मात्र सोच्ने, खुल्ला विचार भएमा देश मज्जाले एक सच्चा नेताले हाँक्न सक्छ ।

तपाईभित्र चाहि राजनतिज्ञमा हुनुपर्ने गुण कति छ जस्तो लाग्छ ?

हुन त म एउटा काम दिएर एकैछिनमा फत्ते गर्न सक्ने मान्छे होइन । तर धेरैजना मान्छेलाई व्यवस्थापन गर्न सक्ने मान्छे भने पक्कै हो । मान्छेलाई मिलाएर राख्न सक्ने, देशलाई माया गर्ने, कूटनीतिक ढंगले काम गर्न सक्ने खुबी हुँदा आफूलाई म एउटा संगठनको समस्या समाधानकर्ता बन्न सक्छु जस्तो लाग्छ । सानो कुरालाई ठूलो बनाउने भन्दा पनि कसरी समाधान गर्ने भन्नेतर्फ लाग्छु ।

विदेशी माहोलमा भिजिसकेको तपाईलाई स्वदेशले फेरि कसरी तान्यो ?

मेरो हुर्काइदेखि जीवनशैलीलाई हेर्दा सबैले मलाई ‘तिमी नेपाल फर्कियौ भने ६ महिना पनि बस्न सक्दिनौं’ भन्थे । तर मैले मेरो विदेशी पासपोर्ट बुझाएँ । नेपालको नागरिकताको महत्व मैले बुझें । विदेशको विलासी जीवन र रमाइलो भन्दा नेपालको संस्कृति, खानेकुरा, चाडपर्व, ठाउँजस्ता धेरै कुराले यति आकर्षित गर्‍यो कि घुम्न जाने ठाउँ जता गए पनि मेरो मुख्य शान्ति दिने ठाउँ स्वदेश नै हो भन्ने लाग्यो । म यहीं बस्छु भन्ने सोचले फर्किएर पुन: नागरिकता लिए ।

ञ्चार पेसालाई चाहिं अब के गर्नुहुन्छ ?

म पहिलादेखि नै कुनै कुरामा एक पक्षीय थिइनँ । तर पहिला जस्तो राजनीतिक अवस्थाबारे कुरा गरेर कार्यक्रम चलाए भने पार्टीको पक्ष लिएको जस्तो हुन्छ । त्यसैले मनोरन्जनात्मक कार्यक्रम चाहिं केही गर्छु होला, राजनीतिसँग जोडिएका कार्यक्रम गर्ने सोच छैन । सञ्चार पेसा भनेको मेरो पढाइ मात्र होइन मेरो व्यक्तित्व नै यसले बनाएको हो ।

अबको पाँच वर्षपछि सरिता ज्ञवालीलाई कहाँ देख्न सकिन्छ ?

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ महाकवि देवकोटाले भने जस्तै मैले देख्ने भनेको अबको पाँच वर्षमा  राजनीतिको उत्कृष्ट स्थानमा हो । तर त्यसका लागि सबैभन्दा ठूलो मैले गर्नुपर्ने काम हो । जुन म बुझ्दै, सिक्दै अघि बढ्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?