+
+

विकास व्यवस्थापनका लागि नागरिक-सिर्जित तथ्याङ्क

नेपालमा नागरिक सिर्जित तथ्याङ्कको महत्व र उपयोगिता ठूलो छ। रोगव्याधि र प्राकृतिक प्रकोपबारे स्थलगत सूचना नागरिकहरूको सहयोगबाट छिटोभन्दा छिटो प्राप्त हुनसक्छ। मोबाइल फोनको व्यापक प्रयोगबाट संकलित सामग्रीलाई सम्बन्धित विशेषज्ञले समयमै विश्लेषण गरेर आवश्यक निर्णय लिन र उद्धार कार्यमा मद्दत पुर्‍याउन सक्छन् ।

डा. श्याम उपाध्याय डा. श्याम उपाध्याय
२०८० भदौ ८ गते ९:१९

गत साउन २ गते अनलाइनखबरमा प्रकाशित पत्रकार शैलेन्द्र महतोको रिपोर्टमा मिटरब्याजी साहु महाजनहरूले साधारण किसानहरूलाई ऋण दिंदा चर्को ब्याजदर लगाइएको मात्र होइन, सुरुको तमसुकमा सावाँको रकम नै तीन-चार गुणा बढाई ठगेका उदाहरण र त्यसबाट किसान ठूलो घाटामा परेका तथ्याङ्कहरू पर्याप्त मात्रामा पेश गरेका छन् ।

यसरी नै विगतमा महिला हितको लागि कार्यरत केही गैर-सरकारी संस्थाहरूले पश्चिम नेपालका छाउपडीहरूमा बन्दी जस्तै बनाएर राखिएका किशोरीहरूको सङ्ख्या प्रकाशित गरेका थिए। कोभिड महामारी काल या डेंगुको प्रकोप बढेको समयमा स्थानीय सामुदायिक संस्थाहरूले रोगबाट प्रभावित क्षेत्र र आवश्यक पर्ने औषधिको परिमाण तथा स्वास्थ्यकर्मीहरूको अनुमानित सङ्ख्याको सूचना दिएका थिए ।

यी सबै सूचना नागरिकहरूले स्वेच्छाले आफ्नो सरोकारको विषय या क्षेत्रमा संकलन गरेका तथ्याङ्क हुन् जुन सरकारी स्रोतबाट उपलब्ध हुँदैन, तर यस्ता तथ्याङ्क उद्धार कार्यक्रम, विपद् जोखिम न्यूनीकरण र समग्र सामाजिक विकासको लागि उपयोगी सिद्ध हुँदै आएका छन् ।

यसै वर्षको मार्च महिनामा न्यूयोर्कमा सम्पन्न राष्ट्रसंघीय तथ्याङ्क आयोगको अधिवेशन र यस पंक्तिकार समेत सहभागी भएको गत जुलाईमा ओटावामा सम्पन्न विश्व तथ्याङ्क कंग्रेसले नागरिक सिर्जित तथ्याङ्कलाई अब दिगो विकासका लक्ष्यहरूको उपलब्धिहरूको अनुगमन गर्न प्रयोग गरिनुपर्ने कुरामा जोड दिएको छ।

औद्योगिक क्रान्तिको वर्तमान चरणको एक प्रमुख विशेषता तथ्याङ्कको व्यापकता हो जसले गर्दा नागरिकहरू स्वयं पनि तथ्याङ्कको स्रोत भएका छन्। मोबाइल उपकरणहरूमा रेकर्ड भएका आवाज, स्थिर चित्र, चलचित्र, सन्देशको पाठ आदिको माध्यमबाट हरेक प्रयोगकर्ताले निरन्तर सूचना उत्पादन गरिरहेको हुन्छ र औसतमा एक जना प्रयोगकर्ताबाट प्रति सेकेण्ड १.७ मेगाबाइट आँकडा उत्पादन हुन्छ ।

हाल विश्वमा प्रतिदिन २५ अर्ब गिगाबाइट आँकडा उत्पादन भइरहेको छ। एक गिगाबाइट भनेको एक अर्बबाइट अर्थात् एक अर्ब लेटिन अक्षर या अंक बराबर हो। चित्रहरूको हकमा एक कमसल चित्र पनि १०० किलो बाइट अर्थात् एक लाख बाइट बराबर हुन्छ।

इन्टरनेटको माध्यमबाट मोबाइल र स्थिर उपकरणहरूले ठूलो सङ्ख्यामा अधिक आयतनका चित्र र ध्वनिका फाइलहरू प्रवाह गरिरहने भएकाले पनि उत्पादित आँकडाहरूको परिमाण यति अजङ्गको हुन पुगेको हो। ठूलो परिमाणकै कारण यसलाई बृहत् तथ्याङ्क (बिग डाटा) भनेर चिनिन्छ ।

सूचनाको परिमाण बढ्दैमा समाजले खोजेको या चाहेको तथ्याङ्क उपलब्ध भयो भन्ने अर्थ लाग्दैन किनभने नयाँ अवस्थामा इन्टरनेटबाट उत्पादित आँकडा असंरचित हुन्छन् र स्थापित पद्धति, मापदण्ड र परिभाषासँग मिल्दैनन् ।

यस्ता आँकडालाई नीति निर्माण र विकासका उपलब्धिहरूको अनुगमनको लागि उपयोगी बनाउन सङ्ख्या विज्ञान (डाटा साइन्स) ले निर्देश गरेका पद्धतिहरूको आधारमा प्रशोधन र रुपान्तरण गर्नुपर्दछ। यो एक खर्चिलो र विशेष ज्ञान र सीप आवश्यक पर्ने काम हो ।

परम्परागत ढंगले संकलन गरिने तथ्याङ्क पनि कम खर्चिलो हुँदैन तर बृहत् तथ्याङ्कको हकमा प्राप्त भइसकेका सूचनाको नतिजा सार्वजनिक प्रयोगको लागि उपलब्ध हुन वर्षौं कुर्नुपर्दैन। बृहत् तथ्याङ्कका कतिपय आँकडाहरू यथासमयमा अर्थात् अहिलेको अहिल्यै उपलब्ध हुनसक्छ ।

बृहत् तथ्याङ्क जस्तै नागरिक सिर्जित तथ्याङ्क एक नवीन स्रोत भए पनि यी दुई फरक प्रकृतिका तथ्याङ्क हुन्। बृहत् तथ्याङ्क मानिस र मेसिनबीच, खासगरी इन्टरनेटसँगको अन्तरक्रियाबाट उत्पन्न हुन्छ, जसमा मेसिनको भूमिका प्रधान हुन्छ।

नागरिक सिर्जित तथ्याङ्कको दायरा फराकिलो पार्न यसलाई बृहत् तथ्याङ्कसँग समायोजन गर्नु आवश्यक हुन्छ। यस कार्यलाई अझ विस्तार गर्न सके नागरिक समुदायहरूको सहयोगमा स्थानीयस्तरमा एक सूचना प्रणाली बनाएर विकास कार्यहरूको अनुगमन गर्न र त्यस मार्फत स्थानीय निकायलाई जनताप्रति बढी उत्तरदायी बनाउन सकिन्छ

आजकलका स्मार्ट फोनमा जोडिनासाथ प्रयोगकर्ताका गतिविधि, उसका चालचलन, बिहानको व्यायामदेखि बेलुका गएको रेष्टुराँ, भेटेका या कुरा गरेका इष्ट-मित्र, ठाउँ, समय सबै रेकर्ड भएर दैनिक व्यक्तिगत लगत तयार हुन्छ र ती सबै आँकडा टेलिफोन सेवा प्रदायकको सर्भरमा जम्मा भएको हुन्छ। प्रयोगकर्ता स्वयंले आफूबारे महत्वपूर्ण सूचना पत्तै नपाई चुहाइरहेको हुन्छ।

मोबाइल फोनबाट वित्तीय लेनदेन गर्नेहरूले आफ्नो आयव्ययको लगत पनि अज्ञात व्यक्ति या व्यवसायको जानकारीमा पठाइरहेका हुन्छन्। यस्ता लगतको गोपनीयता र सुरक्षाका प्रश्नहरू यस आलेखमा उल्लेख भएका छैनन्। तर नागरिक सिर्जित तथ्याङ्क सीधै मेसिनको नियन्त्रणमा जाँदैन। यस्ता तथ्याङ्क मानिसहरूले आर्जन गरेको र परस्पर आदानप्रदान गरेको सूचना र ज्ञानबाट पैदा हुन्छ।

माथिकै उदाहरणमा पनि तथ्याङ्कको मूल स्रोत किसान हुन् र पत्रकारले त्यसलाई सार्वजनिक पहुँचमा ल्याएर समाजलाई सुसूचित गरेका छन्। वार्ताको क्रममा ध्वनि रेकर्डिंग उपकरण प्रयोग भएको हुनसक्छ तर अन्य खालका नागरिक सिर्जित तथ्याङ्कमा जस्तै यसमा पनि मेसिनको भूमिका सहायक छ।

नागरिक सिर्जित तथ्याङ्क नागरिक विज्ञानको अभिन्न अंग हो। यहाँ नागरिक विज्ञान भन्नाले वैज्ञानिक अनुसन्धान कार्यहरूमा नागरिकहरूको सहभागिता र देनलाई बुझिन्छ। नागरिक सिर्जित तथ्याङ्क सापेक्ष रूपमा नयाँ धारणा हो जसको उद्देश्य तथ्याङ्क संकलनको तयारीको चरणदेखि संकलन प्रशोधन, विश्लेषण र प्रयोगमा समेत नागरिकहरूको सहभागिताको अपेक्षा गरिन्छ।

कतिपय अनुसन्धान जस्तो पुरातात्विक उत्खनन, प्राचीन मानव बस्ती र दरबार सम्बन्धी खोज, प्राकृतिक विज्ञान, स्थानीय रूपमा भेटिने जलचर र वन्यजन्तुबारे सूचना संकलन जनसमुदायको प्रत्यक्ष सहभागिता र उनीहरूको ज्ञान तथा अनुभव विना सम्भव हुँदैन। नेपालमा नै प्राकृतिक तथा वन्यजन्तु संरक्षणसँग सरोकार राख्ने संस्थाहरूले अनुसन्धानमूलक प्रयोजनको लागि वर्षौंदेखि नेपाल बाघ गणना, जलपन्छी गणना आदि गर्दै आएका छन् जसमा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता हुने गरेको छ।

यी गणना राष्ट्रिय तथ्याङ्क कार्यालयले कार्यान्वयन गर्ने आधिकारिक गणना कार्यक्रमभन्दा बाहिरका गतिविधि हुन्। हालसम्मको अनुभवमा नागरिक विज्ञानको दायरा बढी खोज तथा अनुसन्धानमूलक सूचना संकलनमा केन्द्रित भएको देखिन्छ भने नागरिक सिर्जित तथ्याङ्क विकास व्यवस्थापन तथा सार्वजनिक अनुगमनको क्षेत्रमा व्यापक प्रयोग हुँदै आएको छ।

नेपालमा नागरिक सिर्जित तथ्याङ्कको महत्व र उपयोगिता ठूलो छ। रोगव्याधि र प्राकृतिक प्रकोपबारे स्थलगत सूचना नागरिकहरूको सहयोगबाट छिटोभन्दा छिटो प्राप्त हुनसक्छ। मोबाइल फोनको व्यापक प्रयोग भएको अवस्थामा त्यस्ता सूचनाहरूमा श्रव्य-दृश्य सामग्री पनि हुने हुनाले सम्बन्धित विशेषज्ञले समयमै त्यसको विश्लेषण गरेर आवश्यक निर्णय लिन र उद्धार कार्यमा मद्दत पुर्‍याउन सक्छन्।

महिला अधिकार, पिछडिएका सामाजिक समूहको हित, खाद्यान्न र औषधिमुलोको अभाव, वायु प्रदूषण जस्ता जल्दाबल्दा विषयमा नागरिक समाजले आफ्नै अग्रसरतामा तथ्याङ्क संकलन गर्न र त्यसबाट प्राप्त सूचनाको आधारमा सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गर्न सक्छ। कतिपय विषयमा सरकारी तथा कुनै औपचारिक निकायले चाहेर पनि पर्याप्त तथ्याङ्क संकलन गर्न सक्दैन।

उदाहरणको लागि महिला विरुद्ध हुने घरेलु हिंसाको विषयमा कोही बाहिरको अपरिचित मानिस आएर गाउँका महिलाहरूलाई प्रश्न गर्न थाल्यो भने उसले त्यहाँका पुरुषहरूको कडा प्रतिवाद सामना गर्नुपर्ने हुन्छ र स्वयं महिलाहरू पीडित नै भए पनि उत्तर दिन इच्छुक हुँदैनन्।

नागरिक सिर्जित तथ्याङ्क नागरिकहरूको जागरण र अग्रसरताको उपज हो। लोकतान्त्रिक समाजमा नागरिकहरू आफ्ना चासोका विषयहरू उठाएर र तथ्य-तथ्याङ्क पेश गरेर स्थानीय सरकारलाई सजग गराउन सक्छन्। सरकारले पनि नागरिकहरूको अग्रसरताबाट विकासका प्रमुख मुद्दाहरू पहिचान गर्न र उपलब्ध तथ्याङ्कको मद्दतले चालु विकास लक्ष्यको अनुगमन गर्न सक्छ। तर तथ्याङ्क एकपटक संकलन गरेर पुग्दैन किनभने स्थलगत वास्तविकता समयसँगै बदलिरहेको हुन्छ

हाल विश्वव्यापी रूपमा १५ देखि ४९ वर्षसम्मका महिलामध्ये १० प्रतिशतको हाराहारीमा शारिरिक तथा यौन हिंसाले पीडित भएको तथ्याङ्क छ तर अधिकांश विशेषज्ञ र महिला अधिकारकर्मीहरू यो सङ्ख्या वास्तविक सङ्ख्याभन्दा निकै कम भएको र नागरिकहरूको सहभागिताबाट तथ्याङ्क संकलन गर्न सके सही आँकडा प्राप्त हुने दाबी गर्छन्। यस्ता तथ्याङ्क स्थानीय जागरुक नागरिकहरूको विश्वास जितेर र उचित तहसम्म गोपनीयता सुनिश्चित गरेर मात्र संकलन गर्न सकिन्छ।

नागरिक सिर्जित तथ्याङ्कको दायरा फराकिलो पार्न यसलाई बृहत् तथ्याङ्कसँग समायोजन गर्नु आवश्यक हुन्छ। यस कार्यलाई अझ विस्तार गर्न सके नागरिक समुदायहरूको सहयोगमा स्थानीयस्तरमा एक सूचना प्रणाली बनाएर विकास कार्यहरूको अनुगमन गर्न र त्यस मार्फत स्थानीय निकायलाई जनताप्रति बढी उत्तरदायी बनाउन सकिन्छ। त्यसबाहेक नागरिक तथ्याङ्कको उपयोगिता र विश्वसनीयता बढाउन सरकारी तथ्याङ्क कार्यालयको भूमिका महत्वपूर्ण हुन्छ जसका केही कारण यसप्रकार छन्।

सर्वप्रथम, तथ्याङ्क एक प्राविधिक विषय हो जसको तथ्याङ्क विज्ञानका मान्यता र मापदण्डहरूले परिभाषित गरेको आफ्नै मूल्य शृङ्खला छ। यस शृङ्खलाले तथ्याङ्कको पूर्ण जीवनचक्र अर्थात् प्रारम्भिक चरणमा संकलन गरिने कोरा लगतदेखि यसको प्रशोधन, विश्लेषण, प्रयोग र यथा समयमा प्राप्त विश्वसनीय र भरपर्दो तथ्याङ्कको आधारमा गरिएका निर्णयहरूबाट जनजीवनमा परेका सकारात्मक प्रभावसम्मको अवस्थालाई समेट्दछ। यस जीवनचक्रको हरेक चरणले अन्तिम नतिजाबाट प्राप्त हुने मूल्य अभिवृद्धिलाई केही न केही देन दिएको हुन्छ।

सरकारी तथ्याङ्क कार्यालयका तालिमप्राप्त तथ्याङ्कविद्हरूले कुन चरणमा नागरिकहरूको भूमिका बढी प्रभावकारी हुन्छ भन्ने कुरा पहिचान गर्न सक्छन् र तथ्याङ्क विज्ञानका सामान्य विधिहरूबारे सहभागी व्यक्ति या संस्थाहरूलाई जानकारी दिन सक्छन्। अध्ययनको लक्ष्य अनुसार तथ्याङ्क संकलनका विधि, सोधिने प्रश्नहरूको चयन, सर्वेक्षणको समय फरक हुन्छ र यस्ता विषयमा सरकारी तथ्याङ्क कार्यालयले नागरिक समुदायलाई उचित प्राविधिक सल्लाह दिन सक्छ जसबाट तथ्याङ्कको गुणस्तरमा सुधार आउँछ।

तथ्याङ्क विज्ञानका मान्यताका साथसाथै राष्ट्रिय तथ्याङ्क प्रणालीले अनिवार्य अनुसरण गर्नुपर्ने केही अन्तर्राष्ट्रिय परिभाषा र मापदण्ड छन् जुन राष्ट्रसंघीय तथ्याङ्क आयोगका दस्तावेजहरूले तोकेका हुन्छन्। यी मापदण्ड एक राष्ट्रले सामाजिक-आर्थिक विकासमा हासिल गरेका उपलब्धिहरू अर्को राष्ट्रसँग सजिलै तुलना गर्न सकियोस् भनेर बनाइएका हुन्। उदाहरणको लागि गरिबी रेखालाई लिन सकिन्छ।

सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय रूपमा गरिबी निवारण गर्ने कार्यक्रमहरू लागू हुन थालेपछि गरिबी रेखामुनि रहेको जनसङ्ख्याको तथ्याङ्कको माग निकै बढ्यो। चाँडै नै के थाहा भयो भने राष्ट्रिय गरिबी रेखाहरू एकअर्कासँग मेल खाँदैनन् र एक देशमा गरिब मानिएका परिवारहरू अर्को देशमा धनीमा गनिन्छन्। हाल विश्व बैंकले क्रयशक्ति क्षमताको आधारमा समायोजन गरिएको डलरमा अन्तर्राष्ट्रिय गरिबी रेखा तोक्ने गरेको छ जुन सेप्टेम्बर २०२२ मा गरिएको पछिल्लो समायोजन अनुसार दैनिक प्रतिव्यक्ति उपभोक्ता खर्च २.१५ डलरभन्दा कम भएको परिवारलाई गरिब मानिन्छ।

नागरिक सिर्जित तथ्याङ्कलाई दिगो विकासका लक्ष्यहरू पूरा गर्नमा हासिल भएका उपलब्धिहरूको अनुगमन गर्नमा प्रयोग गर्ने सन्दर्भमा देशभित्र उत्पादन हुने सबै प्रकारका तथ्याङ्क अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप हुनु आवश्यक छ।

बृहत् तथ्याङ्क जस्तै कतिपय नागरिक तथ्याङ्क पनि असंरचित हुन्छन् अर्थात् यी तथ्याङ्क कुनै निश्चित वर्गीकरण या समयतालिकामा सिलसिलावद्ध नभई, सङ्ख्या, सन्देश, कथन, चित्र सबै छ्यासमिस गरेर पेश भएको हुन्छ। यसलाई प्रयोग कर्तासम्म पुर्‍याउनुअघि एक निश्चित संरचनामा ढाल्नु पर्दछ। नागरिक समुदाय र सरकारी तथ्याङ्क निकाय मिलेर काम गर्न सके स्थानीय जनस्तरबाट सिर्जित यस्ता तथ्याङ्कलाई तोकिएका मापदण्ड अनुकूल बनाउन मद्दत पुग्नेछ।

अर्को महत्वपूर्ण कार्य नागरिक सिर्जित तथ्याङ्कको अभिलेख र यस्ता तथ्याङ्कलाई राष्ट्रिय सूचना प्रणालीसँग एकीकृत गर्नु हो। हाल तथ्याङ्क कार्यालयले प्रकाशित गर्ने या इन्टरनेटको माध्यमबाट प्रवाह गरेका सूचनामा नागरिकद्वारा सिर्जित तथ्याङ्क समावेश हुँदैन। सामान्यत प्रयोगकर्ताहरू आफूलाई आवश्यक तथ्याङ्क खोज्न सरकारी तथ्याङ्क कार्यालयमा सम्पर्क गर्छन्। त्यहाँ नभेटिएको तथ्याङ्क अन्य कुनै स्रोतमा उपलब्ध हुन्छ कि भनेर पत्ता लगाउने सजिलो उपाय छैन।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै सरोकारवालाहरूलाई आफूसँग उपलब्ध तथ्याङ्क त्यसको स्रोत र अन्य विवरणहरूबारे तथ्याङ्क कार्यालयलाई जानकारी दिन आह्वान गर्दै यस्तो अभिलेख निर्माणको काम सुरु गर्न सक्छ। यो कार्य पहिलो चरणमा एक अनलाइन प्लाटफर्म बनाएर सहजै गर्न सकिन्छ।

दोस्रो चरणमा यस्ता तथ्याङ्कहरूको एकीकृत भण्डारणको प्रक्रियाबारे छलफल हुनसक्छ। तर अन्तर्राष्ट्रिय क्षेत्रमा नै स्वीकार गरिएको एक प्रमुख विषय के हो भने यी सबै कामको लागि तथ्याङ्क क्षेत्रका सरकारी र गैरसरकारी साझेदारहरूबीच आपसी सहयोगको रूपरेखा तयार हुनुपर्छ।

नागरिक सिर्जित तथ्याङ्क नागरिकहरूको जागरण र अग्रसरताको उपज हो। लोकतान्त्रिक समाजमा नागरिकहरू आफ्ना चासोका विषयहरू उठाएर र तथ्य-तथ्याङ्क पेश गरेर स्थानीय सरकारलाई सजग गराउन सक्छन्। सरकारले पनि नागरिकहरूको अग्रसरताबाट विकासका प्रमुख मुद्दाहरू पहिचान गर्न र उपलब्ध तथ्याङ्कको मद्दतले चालु विकास लक्ष्यको अनुगमन गर्न सक्छ। तर तथ्याङ्क एकपटक संकलन गरेर पुग्दैन किनभने स्थलगत वास्तविकता समयसँगै बदलिरहेको हुन्छ।

पत्रकार शैलेन्द्र महतोले अरु तीन-चार गाउँमा मिटरब्याजीहरूको अवस्था बुझेको खण्डमा या सोही गाउँमा सोही किसानसँग अबको एक वर्षपछि सोध्दा आउने तथ्याङ्क भिन्न हुनेछ। यसैले यो सराहनीय अग्रसरता निरन्तर चल्नेछ र यसबाट नागरिकहरूलाई आफ्नो सरोकारको विषयका तथ्याङ्क आफैं संकलन गर्न प्रोत्साहन मिल्नेछ भन्ने आशा गरौं।

– भियना, अष्ट्रिया  

लेखकको बारेमा
डा. श्याम उपाध्याय

समसामयिक विषयहरूमा कलम चलाउने डा उपाध्याय राष्ट्रसंघीय सेवा निवृत तथ्यांकविद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?