+
+
अन्तर्वार्ता :

प्रधानमन्त्रीको भारत भ्रमणमा इन्टरमोडलकै चार एजेन्डा पारित भए, तर बजेटबाट संस्था खारेजीको घोषणा भयो

जनार्दन बराल जनार्दन बराल
२०८० भदौ ७ गते १८:०५

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा सरकारी कार्यालयहरुलाई गाभ्ने तथा खारेजी गर्ने तिनैमध्येको एक हो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल इन्टरमोडल यातायात विकास समिति ।

समितिले नेपालभर रहेका ७ वटा बन्दरगाहको व्यवस्थापन गरिरहेको छ, थप तीनवटा बन्दरगाह निर्माणका लागि समितिले काम गरिरहेको छ । बन्दरगाहजस्तो महत्वपूर्ण व्यापार पूर्वाधारको काम गर्ने निकायलाई खारेजी गर्ने निर्णय भएपछि यस क्षेत्रमा चासो राख्ने मानिसहरु आश्चर्यचकित भएका छन् । समिति खारेज गरेर पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीमा गाभ्ने निर्णयप्रति समितिका कार्याकारी निर्देशक आशिष गजुरेल पनि असन्तुष्टि व्यक्त गर्छन् । राम्रो काम गरिरहेका कार्यालयबारे अध्ययन नगरी र योजना नबनाई सरकारले अवैज्ञानिक ढंगबाट खारेजीको निर्णय गरेको उनको भनाइ छ । प्रस्तुत छ यिनै विषयमा गजुरेलसँग अनलाइनखबरका जनार्दन बराल र नवीन ढुंगानाले गरेको कुराकानीको सम्पादित अंशः

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत इन्टरमोडल यातायात विकास समिति खारेज गरेको घोषणा गर्‍यो । तर, जनतालाई इन्टरमोडल भनेकै राम्रोसँग थाहा छैन । के भन्नु हुन्छ यस विषयमा ?

संसारभर नै सामानको ओसारपसार हुन्छ । त्यसका लागि रेल, प्लेन, ट्रक, पानीजहाजजस्ता साधनबाट ढुवानी गरिन्छ । एकबाट अर्को यातायातको मोडमा गरिने ढुवानी कार्य नै इन्टरमोडल हो । हाम्रो कार्यालयले ढुवानी र आयातका यिनै कार्यमा लागत र समय घटाउने हो । यसका लागि पूर्वाधार बनाउने र त्यसको सञ्चालन गर्ने हो । अहिले हामी नियामकको रुपमा काम गरिरहेका छौं । व्यापार सहजीकरणका लागि बनेका बन्दरगाहलगायत पूर्वाधार निजी क्षेत्रको विज्ञाता प्रयोग गरी सञ्चालन भइरहेका छन् ।

अहिले तपाईंहरुसँग रहेका पूर्वाधारहरु र गरिरहेको काम चाहिँ कस्ता हुन् ?

अहिले हामीसँग सातवटा सुख्खा बन्दरगाहहरु सञ्चालनमा छन् । तीमध्ये वीरगञ्जमा रेल र सडक पूर्वाधारबाट जोडिएको २ वटा बन्दरगाह छन् । यस्तै विराटनगरमा रहेको एउटा पोर्ट रेल र सडक दुवैबाट जोडिएको छ । काठमाडौंको चोभार, तातोपानी, भैरहवा र कांकडभिट्टामा पनि ड्राइपोर्ट सञ्चालनमा छन् भने अक्टोबर महिनादेखि नेपालगञ्जको पोर्ट पनि सञ्चालन हुँदैछ । यो आठौं पोर्ट हो । रसुगागढीमा बनिरहेको बन्दरगाहको निर्माण ५० प्रतिशत सकिएको छ । दोधारा–चाँदनीको पोर्ट निर्माणका लागि जग्गा एकीकरणको कार्य भइरहेको छ । केही वर्षमै हामी १० वटा पोर्ट चलाउने संस्थाको रुपमा हुन्छौं ।

व्यापारमा ड्राइपोर्टको महत्व किन हुन्छ ?

सामान आयात र निर्यातमा विभिन्न प्रक्रिया हुन्छ । इन्टरमोडलको पनि त्यस्तै प्रक्रिया हुन्छ । पहिले पहिले सामान बोकेर मुलुक भित्रिने र बाहिरिने सबै सवारी साधनले बाटोबाटै भन्सार प्रक्रिया पूरा गर्थे । तर अहिले सुविधा सम्पन्न बन्दरगाह बनेका छन् । सामानको पल्टिदेखि आयात तथा निर्यात गर्ने वस्तुको भण्डारण जस्ता सुविधाहरु सीमा नाकामै छ ।

बन्दरगाह भएपछि त्यहाँ सवारी साधनहरु पार्किङ हुनसक्छ भने बन्दरगाहमै छिरेर सबै सरकारी प्रक्रिया पूरा गर्छ । आयात र निर्यातका सबै प्रक्रिया बन्दरगाहबाट हुन्छ । यो अभ्यास संसारभर छ । धेरै मुलुकले निजी क्षेत्रको विज्ञता उपयोग गरेर पोर्टहरु सञ्चालनमा छन् ।

अहिले हामीले पनि प्रतिस्पर्धात्मक तरीकाबाट निजी क्षेत्रकै सहभागितामा ७ वटा पोर्टहरु सञ्चालनमा छन् । काठमाडौंको चोभार बन्दरगाह पनि निजी क्षेत्रलाई दिनेगरी काम गरिरहेका छौं । यसले राम्रो नतिजा पनि दिइरहेको छ ।

बन्दरगाहहरु मुलुकको आयात निर्यात व्यापारका लागि धेरै नै महत्वपूर्ण पूर्वाधार हुन् । तर, ती पूर्वाधार सञ्चालन गर्ने इन्टरमोडल यातायात विकास समिति नै खारेज गर्ने निर्णय चालु आर्थिक वर्षको बजेटमा गरिएको छ । यस्तो निर्णय किन भयो ?

यो निर्णय हामीलाई पनि चित्त बुझेको छैन । हामी कर्तव्यनिष्ठ भएर काम गरिरहेका थियौं । कोभिड-१९ कै बेलामा हामीले चोभार बन्दरगाह बनायौं । ५ वर्षदेखि भाडामा नलागेको वीरगञ्जको पोर्ट निजी क्षेत्रलाई दियौं । विराटनगरको पोर्टमा रेलबाट ह्याण्डलिङ हुने बनायौं । वीरगञ्जकै सुख्खा बन्दरगाहमा कोइलालगायत डर्टी कार्गो आउने सहज व्यवस्था गर्‍यौं ।

यसरी हामीले काम गरिरहेका छौं । तर, राम्रा काम भइरहेको कार्यालयलाई खारेज गर्ने निर्णय भयो । यो खारेजीको फाइदा र बेफाइदा अध्ययन नगरी सरकारले गरेको निर्णयले हामी दुःखी छौं । सार्वजनिक खर्च कम गर्न यो निर्णय गरिएको भनिएको छ तर यसको यसबाट पर्ने प्रभावबारे अध्ययन भएको छैन । यसले देशलाई नै घाटा पुग्छ । यसको दुरगामी असर पुग्छ ।

इन्टरमोडलले काम नगरेको भए खारेजी गर्नु पनि ठिकै हुन्थ्यो । तर, यसले प्रभावकारी रुपमा काम गरिआएको छ । प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणमा भएका निर्णयमध्ये चारवटा हाम्रो कार्यालयकै थियो । यसले पनि यो संस्थाको महत्वलाई प्रकाश पार्छ । त्यसो हुँदा यती महत्वपूर्ण संस्थालाई खारेज गरिनुहुन्न ।

सरकारले सार्वजनिक खर्च घटाउन भन्दै उस्तै प्रकृतिको सेवा दिने संस्था खारेजी वा गाभ्ने योजना कसरी नराम्रो हो त ?

सरकारको यस्तो निर्णय आफ्नो ठाउँमा ठिकै होला । तर, यसका लागि पनि त वैज्ञानिक अध्ययन त हुनुपर्‍यो नि होइन र ? इन्टरमोडलका कारण राज्यलाई भएको नोक्सानी र असर के हो त जान्न पाउनुपर्छ ।

भारतमा यस्तै प्रकृतिको काम गर्ने ल्याण्डपोर्ट प्राधिकरण छ । नेपालसँग भएको यो निकाय पनि खारेजी भयो । अर्को निकाय पनि बनेको छैन । कसरी अब दुई मुलुकबीच काम हुन्छ । अन्य कैयौं राम्रो नतिजा नदिएका संस्थाहरुलाई यथावत नै छाडेर काम गरिरहेको संस्थालाई खारेजी गर्नु गलत हो ।

खारेजीको निर्णय गर्नुपूर्वको हामीसँग छलफल पनि भएको छैन । उद्योग मन्त्री, सचिव कसैलाई जानकारी नदिई खारेजीको निर्णय भयो ।

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने, आशिष गजुरेल राजनीतिक नियुक्ति लिएर आएको मान्छे हो, कार्यकाल धेरै बाँकी पनि छैन । त्यसो हुँदा मलाई जागिरको मलाई माया होइन । तर, यो संस्था मुलुकका लागि आवश्यक छ, तयसलाई गिजोलेर बिगार्ने काम गर्नु गलत हो ।

२०७६ सालमा यसलाई बन्दरगाह प्राधिकरण बनाउने भन्दै त्यसका लागि कानुन बनाउने निर्णय मन्त्रीपरिषद्‍बाटै भएको थियो । एकातिर प्राधिकरणको काम अघि बढाउने, अर्कोतर्फ कार्यालय खारेजीको निर्णय गरिनु गलत हो ।

तपाईंले भारतजस्तै नेपालमा पनि प्राधिकरण बनाउने कुरा गर्नु भयो ? यसमा तपाईं केही पूर्वतयारी गर्दै हुनुहुन्छ कि ?

सरकारको यो निर्णयले इन्टरमोडल मात्रै होइन, खारेजी र गाभ्ने निर्णय गरेका सबै कार्यालयहरुमा पदाधिकारी र कर्मचारीले तलब खाने र बस्ने काममात्र भएको छ । काम गर्छु भन्ने मान्छेलाई काम गर्न नदिनु गलत हो ।

बन्दरगाह प्राधिकरण बनाउने र त्यसअन्तर्गत नेपाल इन्टरमोडल यातायात विकास समिति तथा पारवहन तथा गोदाम कम्पनी दुवैलाई राख्ने गरी जाऊँ भन्ने मेरो धारणा हो । यसका लागि अध्ययन गरौं र त्यसको नतिजाको आधारमा काम गरौं ।

राज्यले अध्ययनको नाममा वर्षमा करोडौं रकम खर्च गरेको छ । तर, इन्टरमोडल खारेजी गरेर गोदाम तथा पारवहनमा गाभ्नेबारे अध्ययन नै नहुनु विडम्बना हो ।

खारेजीको निर्णयपछि तपाईंहरु कसरी काम गरिरहनु भएको छ ?

मैले यो संस्थामा नियुक्ति पाएपछि राम्रै काम गरेको हुँ । तर, खारेजीको निर्णयपछि अहिले हात खुट्टा बाँधिएको छ । हाम्रो बजेट पूर्ण रुपमा स्वीकृत भएको छैन । नयाँ कार्यक्रम केही पनि नगर्न भन्ने आदेश छ । अहिले तलब खाने बस्ने काम भएको छ । यसकारी संस्थालाई प्यारालाइज्ड गराइएको छ ।

सरकारको यो निर्णयले इन्टरमोडल मात्रै होइन, खारेजी र गाभ्ने निर्णय गरेका सबै कार्यालयहरुमा पदाधिकारी र कर्मचारीले तलब खाने र बस्ने काममात्र भएको छ । काम गर्छु भन्ने मान्छेलाई काम गर्न नदिनु गलत हो ।

खारेज भएको निर्णय पछि आजको दिनसम्म कुनै पनि माथिल्लो निकायबाट मलाई बोलाएर अब के गर्ने भनेर छलफल गरिएको छैन । सल्लाह नै नगरी खारेज गरियो, यति महत्वपूर्ण निकाय खारेज गर्नुहुँदैन, यसमा अन्याय भयो भन्दै दैलोदैलो धाउँदै हिँडेको छु ।

सरकारी निकायले गर्ने काम राम्रो र गुणस्तरीय हुनुपर्छ । सरकारी निकायहरुले राम्रो काम नगरेको भन्दै आलोचना हुन्छ । राम्रोसँग काम गर्दा सरकारी निकायले पनि राम्रो नतिजा दिन्छ भन्ने कुरा इन्टरमोडलको कामले पनि पुष्टि हुन्छ ।

मैले विभागीय मन्त्री र प्रधानमन्त्रीलाई पनि भनेँ । प्रधानमन्त्रीज्यूले भेट्नेबित्तिकै भारत भ्रमणमा तपाईंको चारवटा सम्झौता भयो, राम्रो काम भयो भन्नुभयो । तर, त्यो त राम्रो भो, हाम्रो कार्यालय नै खारेज भयो भनेँ । उहाँ नै आश्चर्यचकि हुनुभयो । प्रधानमन्त्रीज्यूले यसको महत्व बुझ्नुभएको छ । तर, उहाँले खारेजी रोक्न पहल गरेको अनुभूत भएको छैन ।

राज्यले अधिकतम् लाभ लिन सक्ने गरी अब यो संस्थालाई कसरी अघि बढाउनुपर्छ भन्ने तपाईंको धारणा हो ?

हामी सेवामूलक कार्यालय हौं । पारवहन तथा गोदाम कम्पनी नाफामूलक कम्पनी हो । सरकारको निर्णय कार्यान्वयन गर्दा बन्दरगाह नाफामूलक कम्पनी मातहत आयो भने व्यापार महँगो हुन सक्छ । अहिले हामीले न्यून सेवा शुल्क लिएर काम गर्दा पनि एक अर्ब ३५ करोड कमाइ गरेका छौं । हामी न्यून शुल्कमा उच्चस्तरीय सेवा दिने भन्ने हो । अब त्यस्तो नहुन सक्छ ।

तर, समितिलाई कम्पनीमा लाँदाको बेफाइदा अध्ययन गरिएको छैन । तसर्थ, बन्दरगाह ऐनको कुरा भइरहेको छ । अहिले हतार नगरी अझै अध्ययन गरेर उपयुक्त मोडल बनाऊँ । अहिलेलाई जुन अवस्थामा छ त्यही अवस्थामा काम गर्न दिऊँ ।

सरकारी निकायले गर्ने काम राम्रो र गुणस्तरीय हुनुपर्छ । सरकारी निकायहरुले राम्रो काम नगरेको भन्दै आलोचना हुन्छ । राम्रोसँग काम गर्दा सरकारी निकायले पनि राम्रो नतिजा दिन्छ भन्ने कुरा इन्टरमोडलको कामले पनि पुष्टि हुन्छ ।

त्यसो हुँदा कुनै संस्था खारेज गर्ने वा गाभ्ने निर्णय गर्दा वैज्ञानिक ढंगबाट गरौं भन्नेमा जोड दिन्छु । सरकारको निर्णय कार्यान्वयन हुनुपर्छ । तर, त्यो राम्रो उद्देश्यका लागि होस् भन्ने मात्रै मेरो चाहना हो ।

तस्वीर/भिडियो : श‌कर गिरी

लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?