७ भदौ, काठमाडौं । ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले श्रम स्वीकृत बिना नै ठूलो संख्यामा नेपाली चिकित्सक विदेश पठाउनका लागि विज्ञापन गरेको छ ।
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगाले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेर सुचना निकालेको छ ।
विदेशमा नेपाली कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिनु पर्ने कानूनी व्यवस्था छ ।
ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले भने कुवेतमा चिकित्सक लैजानका लागि श्रम स्वीकृति नलिएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए ।
‘कुवेतमा चिकित्सक लैजानका लागि उत्त कम्पनीले श्रम स्वीकृति लिइएको देखिँदैन । विभागबाट अनुगमनका लागि जानुभएको छ । उहाँहरु फर्र्किएपछि थप कुरा प्रष्ट होला’ दाहालले अनलाइखबरसँग भने, ‘श्रम स्वीकृति नलिएसम्म विज्ञापन गर्न पाइदैन ।’
तर, ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडका एक कर्मचारीले पुरानो माग नै रहिरहेकोले अहिले विज्ञापन गरिएको दाबी गरे ।
‘अहिले ठूलो संख्यामा विशेषज्ञ चिकित्सकको माग भएको छ । एमडी गरेपछिको तीन वर्ष काम गरेको अनुभव आवश्यक पर्छ’ ती कर्मचारीले भने, ‘सबै क्षेत्रअधिकार मिल्यो भने चाडैं नै अन्तरवार्ता लिनेछ ।’
ओमेगाले सार्वजनिक गरेको सूचना अनुसार कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरु माग गरिएको छ ।
एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख छ ।
कुवेतको सरकारी दमन अस्पतालका लागि चिकित्सक पठाउन लागिएको ती कर्मचारीले बताए ।
‘यसभन्दा अघि नै हामीले निजी अस्पतालमा चिकित्सक पठाइसकेको छौं । तर, यसपटक चाहीँ सरकारी अस्पतालमा पठाउन लागिएको हो’, ती कर्मचारी भन्छन् ।
ती कर्मचारीका अनुसार ९७५ जना चिकित्सक पहिलो चरणमा दुई वर्षका लागि माग छ । अस्पतालले सुरुमा दुई वर्षका लागि कन्ट्याक्ट दिनेछ भने त्यसपछि बस्न मन हुने चिकित्सकहरुले भिसा थपेर अवधि लम्बाउन सक्नेछन् ।
विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने ओमेगाले जानकारी दिएको छ । उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने सूचनामा उल्लेख छ ।
कुवेत पठाउने खर्चका लागि आमेगाले ६ लाखको हाराहारीमा लाग्ने जनाएको छ । भदौको अन्तिमबाट अन्तरर्वाता लिन सुरू गरिने ती कर्मचारी बताउँछन् । ‘सबै डकुमेन्ट पूरा भएमा अन्तर्वार्तामा बस्न सकिने छ । अन्तरवार्ता कुवेत अस्पतालबाट भजुर्अलबाट नै लिनेछ’, उनले भने ।
कुवेतको दमन अस्पतालले सुरुको महिना खाना र बस्ने व्यवस्था समेत दिने उनले बताए । तर, दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने हुन्छ ।

                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4