+
+

राजनीतिक बार्गेनिङको मोहरा बनिरहेछ थाक्सिनको स्वदेश फिर्ती

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १८:२२

७ भदौ, काठमाडौं । १५ वर्षको स्वनिर्वासनपछि थाइल्याण्डका प्रभावशाली नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वेदश फर्किए । स्वदेश फिर्तीसँगै सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि आठ वर्षका लागि जेल चलान भएका छन् ।  तर थाक्सिन अहिले एक अस्पतालमा छन् ।

अधिकारीहरु भन्छन्-‘उनको मुटुमा समस्या रहे नरहेकोबारे चेकजाँच गरी स्वास्थ्यलाभका निम्ति अस्पतालमा राखिएको हो । विगतमा आफ्नो अनुपस्थितिमा सजायँ तोकिएको र हाल आफूलाइ जेल चलान गरिएको भन्दै उनले राजा समक्ष सजाय माफीका लागि निवेदन दिने तयारी गरेका छन् ।

थाक्सिनको निर्वासन कुनै  पृथक विषय नभएर ठूलो राजनीतिक बार्गेनिङको हिस्सा बनिरहेको छ । राजनीतिमा लोकप्रिय र  टेलिकम व्यवसायमा घघडान थाक्सिन र पुरातनवादी शक्ति तथा राजतन्त्र र सैन्य समर्थक शक्तिबीचको सत्ता प्रतिस्पर्धा समाप्त पार्ने प्रयत्न हाल भइरहेको छ ।

पीउ थाइ र राजतन्त्र तथा सैन्य समर्थक दलहरूलाई मुभ फर्वार्ड पार्टीको चुनौती थपिएको छ । त्यही चुनौतीको सामूहिक सामनाका लागि उनीहरु नजिकिन खोजेका छन् ।

आफ्ना कट्टर आलोचक श्रेथा थाभिसिनलाई थाइल्याण्डको प्रधानमन्त्रीका रुपमा गठबन्धनले चयन गरेकै दिन स्वदेश फर्किनु संयोगको विषय होइन ।  यो नतिजाको आँकलन गरेरै उनी स्वदेश फर्किएका हुन् । थाभिसिन थाक्सिनकै दलका हुन् ।

सैन्य शक्ति र राजतन्त्रसँग केही सम्झौता गरेरै उनी स्वदेश फर्किएको आशंका पनि उत्तिकै भइरहेका छन् । तीन महिना लामो रस्साकस्सीपछि थाइल्याण्डले नयाँ प्रधानमन्त्री पाएपनि तल्लो सदनमा बहुमत पाएको दल मुभ फर्वाडलाई सरकार गठनका लागि सैन्य बाहुल्यता रहेको माथिल्लो सदनले रोकेको छ ।

पीउ थाइले दमनकारी सैन्य सरकार र राजतन्त्रसँग सम्झौता गरेको भन्दै आलोचकहरु रुष्ट छन् । अब पीउ थाइलाई समर्थन नगर्ने कतिपयको मत छ । नयाँ सरकारले अब रक्षा मन्त्रालय पुरातन विचारधाराका दललाई दिने भएको छ ।

यो निर्णयसँगै सैन्य सरकारले बनाएको संविधानलाई संशोधन गर्ने उसको वाचा अब छायाँमा पर्ने देखिएको छ । किनभने हाल सरकार बनाउन साथ दिएका दलले त्यो विषय उठान गरे विरोध मात्रै नभएर समर्थन पनि फिर्ता दिन सक्छन् ।

मुभ फर्वार्ड पार्टीले बहुमत पाएसँगै थाइल्याण्डमा नयाँ आशा पलाएको थियो तर संसदले बहुमत प्राप्त दललाई प्रतिपक्षी बेन्चमा राखिदिएपछि असन्तुष्टहरुको संख्या बढैको छ । एक्समा पोखिएका असन्तुष्टिमा अधिकांशले भनेका छन्-‘बहुमत प्राप्त दललाई प्रतिपक्ष बेन्चमा राख्ने हो भने चुनाव किन गर्नुपर्‍यो ?’

थाइल्याण्डको प्रधानमन्त्री चयनलाई कतिपयले भनेका छन्, ‘यो दृश्य पेनाल्टीमा विश्वकप उपाधी उचालेझैँ हो । लोकतन्त्र कमजोर बनाउने यी गतिविधि थाइल्याण्डको भविष्यका लागि सुखद छैन ।’

पीउ थाइले गद्दारी गरेको भन्दै धेरैले विरोध गरिरहेका छन् । पीउ थाइ न त कट्टरपन्थी दल थियो  न त मुभ फरवार्ड झैं प्रगतिशील । बजारीकरणको नीति जानेको र लामो समयसम्म उपेक्षामा परेका थाइ जनताको जीवनस्तर उकास्न सहयोग गरेकाले यो दल निकै लोकप्रिय बनेको हो । थाक्सिनको दलले २० वर्षसम्म थाइ सत्तामा अरुलाई आउन दिएन ।

यो दल कहिल्यै विचारधारा अनुसार चलेन । केबल सिनावात्रा परिवारको स्वार्थ अनुसार चल्यो । सन् १९९० पछिको चुनाव हेर्ने हो भने यसपटक मात्रै पीउ थाइले धेरे सिट गुमायो । दलका निम्ति यो चेतावनी थियो ।

पिटाको दल मुभ फर्वार्डलाइ जनताले बहुमत दिए । अन्य दलले पीउ थाइकै चुनावी रणनीति अपनाउँदा मुभ फर्वाडले परिवर्तनका जोशिला एजेण्डा अघि सारेको थियो । परिवर्तनका एजेण्डाले मतदातामा आशा सञ्चार गर्‍यो ।

पुरातन शक्ति र सिनावात्राको दल पीउ थाइलाई मुभ फर्वार्डबाट चुनौती थपियो । त्यसैले त्यसलाई कमजोर बनाउन प्रतिपक्षी कित्तामा राखियो ।  नयाँ सरकारले गठबन्धन जग बिर्साउने गरी आर्थिक सुधारको पक्षमा काम गर्ने बताइएको छ । तर नयाँ प्रधानमन्त्रीसँग पर्याप्त राजनीतिक अनुभव छैन । उनी सिनावात्रा परिवारका चाहनाको बन्धक बन्ने निश्चित छ ।

यस्तो अवस्थामा थाइल्याण्डका निराश मतदातामा नयाँ प्रधानमन्त्रीले आशा सञ्चार सायदै गराउन सक्नेछ । अर्कोतर्फ उनले निकै बलियो प्रतिपक्षीको सामना गर्नुपर्नेछ । बलियो प्रतिपक्षको संकेत मुभ फर्वार्डले यसअघिनै देखाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?