+
+
अन्तर्वार्ता : रामकुमारी झाँक्री :

‘पार्टीमा बोल्न खोजेको १५ महिनाभन्दा धेरै भयो’

दिपेश शाही दिपेश शाही
२०८० भदौ ८ गते २०:४९

नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनाउँदा माधव नेपाललाई सबैभन्दा ठूलो आडभरोसा दिने सहकर्मी थिइन्, रामकुमारी झाँक्री । विगतमा नेपाल समूहमा रहेका थुप्रै नेता दशबुँदे सहमति गरेर एमालेमै बस्दा पनि उनी विद्रोहका लागि तयार थिइन् ।

सोही बमोजिम नयाँ पार्टीमा नेपाल अध्यक्ष बन्दा झाँक्री सचिव बनिन् । तर केही समयपछि नै उनी पार्टीभित्र पाखा पारिएको अनुभूति सहित विस्तारै निष्क्रिय बन्न थालिन् ।

उनले पार्टीका बैठकहरूमा १५ महिनासम्म आवाजविहीन भएर बस्नुपरेको दुःखेसो यस अन्तर्वार्तामा गरेकी छन् । अनि नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, समाजवादी मोर्चा लगायत विषयमा थुप्रै विचार पनि व्यक्त गरेकी छन् । समग्रमा अध्यक्ष नेपालको आलोचनामा समेत उनी उभिएकी छिन् ।

पार्टी केन्द्रीय समिति बैठकको सन्दर्भमा अनलाइनखबरले झाँक्रीसँग शुक्रबार दिउँसो गरेको अन्तर्वार्ता यहाँ प्रस्तुत छ ।

कस्तो रह्यो एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक ?

दुई वर्षको बीचमा गणितीय हिसाबले बसेको यो छैटौं बैठक हो । एकीकृत समाजवादीको हकमा यही नै जीवन्त बैठक भयो । किनभने, प्रायःजसो बैठकहरू बस्दा कतिखेर निस्केर भागौं जस्तो हुन्थ्यो । केही कुरा राख्ने, स्थायी समिति र पोलिटब्यूरोले पहिल्यै बोलिसकेका छन्, केन्द्रीय सदस्य मात्रै बोल्ने भनेर मापदण्ड बनाउने र त्यसपछि ग्रुप बनाएर मन लागे छलफल गर्ने, नभए नगर्ने हुन्थ्यो ।

सबैका भावनाहरूलाई त्यो समूहगत छलफलले प्रतिनिधित्व गर्छ भन्ने पनि हुँदैन । पहिले त्यसरी बैठक सक्ने चलन थियो । हुन त त्यो नराम्रो पनि नहोला आफैंमा ।

यसपटक सबै केन्द्रीय सदस्यले समूहगत भन्दा पनि प्रत्यक्ष हिसाबले आफूलाई लागेका कुराहरू राख्नुभयो । दस्तावेजमाथि अरूका र मेरा पनि केही फरक धारणा छन् । तर संगठित एउटा दस्तावेज पनि आएको छ । यद्यपि, त्यो आगामी महाधिवेशनको लागि नभएर अहिलेसम्मका लागि मात्रै हो । अन्त्यमा समापन गर्ने क्रममा महासचिव, सम्मानित नेता र अध्यक्षले सबैलाई समेटेर नै गर्नुभयो । त्यसमा पनि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले सैद्धान्तीकरण गर्नुभयो ।

त्यसकारण यो बैठकबारे राम्रो सन्देश गएको छ । म आफैंले पनि यो बैठक अगाडिको समीक्षा गर्ने पछाडिको योजना बनाउने हिसाबले पानीढलो बनोस् भन्ने चाहन्थें । त्यति ठूलो इतिहासलाई मार्किङ गर्ने पानीढलो त नबन्ला, तर समाजवादीको जीवनमा यो अगाडि र यस पछाडि भन्न मिल्ने एउटा बिन्दु बन्नेछ ।

पार्टीभित्र ठूलो निराशा पैदा भइरहेको अवस्थामा व्यक्तिगत हिसाबले तपाईंमाथि पनि केही प्रश्न उठे । तपाईं निष्क्रिय बसेको आरोप पनि लाग्यो । यही सन्दर्भमा अन्य पदाधिकारीले केन्द्रीय समिति बैठकमा नबोल्ने भने पनि तपाईंले बोल्ने अवसर पाउनुभयो । आफूमाथि उठेका प्रश्नलाई कसरी लिनुभएको छ ?

मैले बोल्नैका लागि यति ठूलो प्लाटफर्म पनि मागेकी थिइनँ । नेतृत्वदायी अंगका हिसाबले पार्टीको सचिवालय बनाइएको छ, त्यही नै कार्यकारी हो ।

त्यस बैठकमा मैले आफ्ना केही कुरा राख्न खोजेको १५ महिनाभन्दा धेरै भयो । आमन्त्रित सदस्यका हिसाबमा केही कुरा राख्न चाहन्छु भनेर लिखित रूपमा नै अध्यक्षज्यूलाई भनेकी थिएँ । बैठकमा अध्यक्षले सदस्यहरूलाई जानकारी पनि दिनुभएको थियो रे ! तर उहाँहरूले त्यो मौका दिनुभएन ।

केपी ओली र प्रचण्ड नेतृत्वको नेकपामा रहँदा तपाईं धेरै बोलेका कारण आलोचित भएपछि मुखमा टेप टाँसेर ‘बोल्न पाइन्छ’ भनेर सांकेतिक विरोध गर्ने मान्छे हो । त्यहाँ चित्त नबुझेर नयाँ पार्टी बनाउँदा पनि त्यही भोगिरहनु परिरहेको भन्ने हो ?

त्यो टेपको प्रकरण चाहिं स्वस्थ राजनीतिक अभिव्यक्तिमाथि सरकारले बन्देज लगाउन खोजे जस्तो देखिएको थियो, त्यसका विरुद्ध थियो । म काठमाडौं बाहिर हुँदाखेरि वा यहाँ हुँदा पनि मलाई सुरक्षाकर्मी लगाएर पछ्याउन खोजिएको थियो । विमानस्थलबाटै पक्राउ गर्ने जस्तो वातावरण थियो, जसका कारण म असाध्यै तनावमा थिएँ । म पार्टीभित्र त्यो कुरा कसैसँग भन्न पनि सकिरहेकी थिइनँ । किनभने, म जिम्मेवार सदस्य थिएँ, वहालवाला संसद थिएँ ।

आफ्नै पार्टीको सरकारले यस्तो गरेको भन्दा पनि अनावश्यक ध्यान तान्नलाई यो सबै गरेको भन्ने जस्तो हुने अवस्था थियो । सोही क्रममा मलाई कार्यक्रममा बोल्ने अवसर आयो, तीन मिनेट समय दिएर । मलाई भन्नु त धेरै थोक थियो, तर समय कम थियो । म जुन मानसिक तनावमा थिएँ त्यसलाई अभिव्यक्त गर्नु परेको हो । यहाँ पनि करिब त्यस्तै भयो ।

पार्टीको सचिव हुनुहुन्छ । एकीकृत समाजवादी गठनका क्रममा निकै सक्रिय भूमिका खेल्नुभयो । तर अहिले यो पार्टीमा पनि छोडेर आएको एमालेमा जस्तै रह्यो भनेपछि तपाईंका लागि केपी ओली र माधव नेपाल उस्तै उस्तै भए भन्न खोज्नुभएको हो ?

मेरा लागि करिब करिब त्यस्तै भयो । केही अनुत्तरित प्रश्नहरू थिए । म क्लियर गर्न चाहन्थें । केही आफूमाथि मान्छेहरूले गरेका टिप्पणीलाई स्पष्ट पार्न थाहन्थें । यस्तो अवस्थामा मेरो अभिभावक पार्टी थियो । मैले जे गरिरहेकी थिएँ त्यो पार्टीको सल्लाह र समझदारीमा गरिरहेकी थिएँ भनेर स्पष्ट पार्न चाहन्थें ।

तर कहिल्यै पनि भएन । समय बित्दै जाँदा त्यो पनि एउटा कारण भयो । जिम्मेवारीको विषयमा पनि मेरा केही कुरा थिए । पार्टी गठनको समयमा मैले ४०/४२ दिन ३५/३६ वटा जिल्लामा पुगेर भेला गरें । कहीं त नगर कमिटी पनि बनाउन पुगें । जब मन्त्री बनें त्यसपछि पार्टीको जिम्मेवारीमा बढी रहिनँ । त्यसपछि मेरो कुरा राख्ने ठाउँ पनि भएन । यद्यपि, अध्यक्ष र सचिवालयमा दिनमा दुईपटकसम्म ब्रिफिङ गर्ने काम हुन्थ्यो । त्यो त मैले आफ्नो कामको कुरा मात्रै ब्रिफिङ गर्न पाएकी हुन्थें ।

पछि मन्त्रीबाट बिदा भएपछि जिम्मेवारीमा नभएकाले कामको कुरा पनि गर्न चाहन्थें । हिजो बैठकमा एउटा सर्कुलर देखाउँदै हुनुहुन्थ्यो, गत साउन ४ गते यो जिम्मेवारी तोकिएको भनेर । उद्योग के जाति नामको त्यो विभाग रहेछ, त्यो मैले कहिल्यै सुनेकी पनि छैन । इमेलमा हालिदिएको छु भन्ने कुराले जिम्मेवारी पूरा हुँदैन । किनभने, पार्टी त जीवन्त हुनुपर्‍यो नि !

उहाँलाई एउटा सानो पार्टी, दुई/चार जना सांसद, सरकार, गठबन्धन, मोर्चा लगायत गतिविधि गर्ने ठाउँ चाहिएको छ । त्योभन्दा ठूलो चिज चाहिएको जस्तो लागेन । सरी, फेरि बढ्ता बोले हुँला ! त्यसबाट पर्न जाने क्षतिप्रति जिम्मेवार छु ।

काम गर्ने रुचि के छ ? कार्यादेश, कार्यविधि यो हो, क्षेत्र यति हो, तिमी यो सीमाभित्र काम गर भन्नुपर्छ । कसैको सरुवा–बढुवाको चिठी पनि त्यसरी इमेलमा हालेर हुँदैन ।

मेरा चासोहरू सामान्य थिए, तर राजनीतिक, सैद्धान्तिक र गम्भीर प्रकृतिका थिए । आज पनि ती विषयमा मेरो फरक मत छ । ती विषय मैले नेतृत्वलाई राखें । कार्यालयमा पनि विधिपूर्वक राखें ।

केन्द्रीय समितिमा तलबाट केही प्रश्न उठे । पार्टीले थ्रेसहोल्ड नकटाउनुमा तिमी पनि जिम्मेवार छौ भन्ने खालका अभिव्यक्ति आए । म दुःखी भइनँ । मलाई ठीक मूल्यांकन भएछ भन्ने नै लाग्यो । एक पनि सदस्यको कार्यक्षमताको महत्व हुन्छ भन्ने कुरा बुझ्नुभयो । जुन सही हो । तर म चुनावमा नलागेर थ्रेसहोल्ड नकटेको होइन । म त आफैं चुनावमा भिडिरहेकी थिएँ ।

तर मेरो फेस भ्यालूलाई लिएर एकीकृत समाजवादीले जे गर्नुपर्ने थियो त्यो गरेन भन्ने कुराको महसुस हुनु पनि राम्रो कुरा हो ।

दुई वर्षअघि पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा तपाईंले माधव नेपालको हात समातेर अघि बढिरहेको दृश्यले एकीकृत समाजवादीभित्र आशा प्रवाह गराएको थियो । तर आज तपाईंले जे भन्दै हुनुहुन्छ, यसले त पार्टीको नेतृत्वले तपाईंलाई कतै छाडेर अघि बढिरहेको रहेछ है ?

त्यो भाष्य बन्यो । तर त्यतिवेला जसरी अगाडि बढ्न खोजें त्यसले मेरो टीममा अलिकति ईर्ष्या सिर्जना गर्‍यो । मलाई अलिकति लगाम लगाएर नथेचारेसम्म हुँदैन भन्ने भयो ।

त्यो बिम्ब मेरो लागि मेरा भोटो फटाउने हिसाबले, इतिहासका हिसाबले, कामको हिसाबले धेरै सिनियर जो म जन्मिंदा पार्टीको केन्द्रीय समिति बनाइरहेकाहरूले ईर्ष्या गर्ने खालको वातावरण बन्यो । त्यसले गर्दा यो सही समय हो, यहींनेर मुन्टा भाँच्नुपर्छ भने जस्तो भयो मेरा लागि ।
ट्र्याक टू कार्य विभाजन हुने वेलासम्म पनि मेजर भूमिकामा नै थिएँ । त्यो भूमिकामा नै हुँदा कामको बाँडफाँट गर्दा सबैले आफ्नो काम रोज्नुभयो । मैले छाडेको जुन पनि काम गर्छु भनें । छाडेको काम रोज्दा पनि यो तिम्रा लागि होइन भनियो ।
उमेर आदि इत्यादि कुरालाई नमान्दा हामी अन द टेबल बसेर काम गरिरहेका मान्छे बीचका समकालीन थियौं । त्यतिवेलै कुछ केही भन्ने लाग्यो । त्यसले गर्दा मेरो संगठन सम्बन्धी जुन अवधारणा थियो, संकल्प थियो त्यो गर्न पाइनँ ।

के थियो पार्टी संगठनका बारेमा तपाईंले देखेको सपना, जसले आजको भन्दा एकीकृत समाजवादी भिन्न हुन सक्थ्यो ?

विधान बनाउँदै एकल नेतृत्वको अवधारणा अन्तर्गत बनाइयो । मैले त्यो भएन भनें । तर हतारहतार दर्ताका लागि बनाइएको हो भनियो ।

त्यतिवेला ल्याइएको अध्यादेश पनि कानुन र संविधानसँग विवादास्पद नै थियो । त्यति अनुदार कानुन किन बनाइएको थियो भने दलहरूको विभाजनले राजनीतिक अस्थिरता निम्त्यायो भन्ने हो । त्यसले सरकार अस्थिर हुन्छ, सरकार अस्थिर भए विकास अस्थिर हुन्छ भनेर न स्थायित्वको कुरा गरेको हो । होइन भने त यथास्थितिमा बस्ने भन्ने हुन्छ । म त्यो अध्यादेशको पनि विपक्षमा थिएँ ।

त्यो वेला अदालतको स्टे अर्डर आउने र हामीलाई कारबाही भइसकेको अवस्था थियो । त्यसैले धेरै करेक्सन गर्ने मौका मेरा लागि मिलेन । तर मैले विधानमाथि प्रशस्त प्रश्न गरेकी थिएँ । उहाँहरूले दर्ता प्रयोजनका लागि मात्रै हो भनेर भन्नुभयो । जसमा एकल नेतृत्व र उहाँले गरेको परिकल्पना मात्रै पार्टी हो भनेर गरिएको थियो ।

त्यसबाट हामीले एमालेको आठौं महाधिवेशनदेखि नै डिपार्ट भइसकेका थियौं । हलबाट निर्वाचित गर्ने र आन्तरिक लोकतन्त्रको मामलामा नेकपा एमालेको आठौं महाधिवेशनको डकुमेन्ट एकदमै महत्वपूर्ण छ । तर एकीकृत समाजवादी बनाउँदा हामी चौथो महाधिवेशनभन्दा पनि पछाडि फर्कियौं । त्यसमा मैले चन्द्रागिरि र जनता डबलीमा बस्दा पनि विमति राखें ।

त्यतिवेला आमनेसामने लडाइँ चलिरहेको थियो । दुई वटा सिपाही आफैं झगडा गरेर बस्ने अवस्था पनि रहेन । अगाडि बढ्यो । त्यसको सुविधा प्रयोग गरेर आफू–आफूमा सबै शक्तिलाई विन्यास गरेर चुपचाप बस्ने संरचना खडा गरियो । काम गर्ने मान्छेलाई काम दिने भन्दा पनि भित्रै नपर्ने स्थिति बन्यो ।

मैले न्यूनतम ४० वर्ष मुनिका मान्छे केन्द्रीय सदस्य बनाउने, जिल्ला कमिटीमा ३० वर्ष वरिपरिकालाई बनाउनुपर्छ भनेकी थिएँ । अर्को अर्थ नलागोस्, कम्तीमा हाम्रा जिल्ला अध्यक्षहरू मोटरसाइकल चढेर डाँडाकाँडा हिंड्नसक्ने हुनुपर्छ भन्ने हो । त्यस्ता मान्छेले हप्तामा दुई दिन मात्रै पार्टीका लागि काम गर्दा हुन्छ । पार्टीले सबैलाई पूर्णकालीन बनाउन सक्दैन । बाँकी समय त उसले आफ्नो वृत्ति–विकास र उद्यममा लगाउने हो ।

जनसंगठनलाई फ्रेस बनाऊँ भन्ने थियो । अहिलेका युवा र विद्यार्थी सबैलाई केन्द्रीय समितिमा ल्याऊँ भन्ने थियो । निर्वाचन क्षेत्रमा इन्चार्जसिपको जिम्मा दिऊँ भनें । त्यसो गर्दा उनीहरूले महिनामा पाँच दिन मात्रै गएर कार्यक्षेत्रमा काम गरे पनि हुन्छ । कोभिडपछि हामीले भर्चुअल माध्यमबाट धेरै काम गर्न सक्छौं ।

नयाँ सदस्यता दिने कुरामा विना रोकटोक काम गर्न सकिन्छ भनौं । पार्टीको सिद्धान्त र विचारलाई वेबसाइटमा राखिदिऊँ । हामी लोकतान्त्रिक हौं भनेर आवेदन खोलौं । यो पार्टी तिमीले चलाउने हो भनौं, किनभने हाम्रो अवकाश लिने बेला भइसक्यो । हामीले धेरै गर्‍यौं, अब तपाईंको पालो बनाउँ भनें । तर केही गर्न पाइएन ।

जिल्लाहरू यसरी नै बनाऔं । त्यसपछि जनसंगठनहरूलाई ताजगी गराऔं । युवा विद्यार्थीका अहिलेका नेतृत्व सबैलाई केन्द्रीय कमिटीमा ल्याइदिऔं । यिनीहरूलाई संघ र प्रदेशको निर्वाचन क्षेत्र अन्तर्गत इन्चार्जसिप तोकौं ।

अनि यिनीहरू पनि महिनामा ५ दिन गएर त्यहाँ बस्छन् । त्यसरी बस्दा जति पनि काम गर्छन् किनभने कोभिडका कारण हामी यति डिजिटल माध्यममा अभ्यस्त भयौं कि भर्चुअल रूपमा धेरै काम गर्न सक्ने भयौं । अहिले गाउँ–गाउँमा टिकटकमा रातभरि नै लाइभ बसिरहेका हुन्छन् । उनीहरू हामीभन्दा पनि अभ्यस्त छन् ।

सदस्यहरूको विषयलाई हामीले वेबसाइटमा राखौं । हाम्रो सिद्धान्त माक्र्सवाद लेनिनवाद हो । आजको सन्दर्भ र नेपाली सन्दर्भमा मोडरेट छौं । यो कुरा पनि नढाँटी दुनियाँलाई भनिदिनुपर्छ । यो विचारसँग सहमत हुनेले आवेदन गर्न सक्नुहुन्छ । आवेदन दिएका अनि तोकिएका आचरण र चरित्र भएकाहरूलाई हामी स्वीकार गर्छौं भनौं । यो पार्टी तिमीहरूले चलाउने हो भनेर नारा दिऔं । हामीले धेरै गर्‍यौं, अब तपाईंहरूको पालो भनिदिनुपर्छ । अनि हाम्रा प्रकाशनहरूलाई चुस्त र प्रविधिमैत्री बनाउनुपर्छ ।

अहिले केन्द्रीय समितिको बैठकले यी विषय छोए जस्तो देखिन्छ ?

राजनीतिक र जनवर्गीय संगठनहरूलाई ठाडो भन्दा पनि तेर्सो अर्थात् विचारधारात्मक हिसाबले काम गरौं । विद्यार्थीलाई विश्वविद्यालय, कलेज बेसमा बनाऔं । अहिले पनि मसँग निर्वाचित भएको पुरानो टिम छ । जब कि म अखिलबाट अध्यक्ष भएर ग्य्राजुएट भएको १५ वर्ष भइसकेको छ । हामीले ऊर्जालाई सीमित गरेका छौं, उत्पादनशील बनाएका छैनौं ।

पार्टीमा केही महत्वपूर्ण विभागहरू बनाऊँ । सरकारमा जाने, प्रगतिशील सुधारका कामहरू गर्दै जाने, जनताको बीचमा लोकप्रियता हासिल गर्ने निर्वाचनमा जाने र चुनाव जित्ने । सरकारमा जाँदा पार्टीको नीति कसरी रिफ्लेक्ट हुन्छ ? हामी भ्रष्टाचार विरोधी हौं भने भ्रष्टाचारका कारण के के भएका छन्, ती सुधार्नुपर्छ ।

सुशासनका पक्षधर हौं भने अहिलेसम्मका के कमजोरी भएका छन् र तिनलाई कसरी सुधार्ने हो भन्नुपर्‍यो । यस्ता विषयमा पार्टीमा पोलिसी थिंक ट्याङ्क बनाऔं । पोलिसीको रिसर्च गर्ने थिंक ट्याङ्क बनाऔं, जसले पोलिसी यो हो भन्दै जान्छ । उसले नीतिमा पेपरवर्क गर्छ, साँच्चै काम गर्छ । मैले पनि एनपीआई पढ्दा कति फेलोसिप पाएको हो । नीतिगत विषयमा काम गर्नैपर्छ ।

सामाजिक जाँगरण, सामाजिक क्रियाकलापका साथसाथै नीतिगत विषयमा काम गर्नुपर्छ । मैले मन्त्रालयमा गएर काम गर्दा के के गरें, पार्टीमा अभिलेख नहुन सक्छ । मन्त्रालयमा पनि नहुन सक्छ । सचिवालयले कपी बनाएर राखेको हुनाले मैले गरेका कामहरू भने सुरक्षित छन् । यस्ता कामहरू गरौं ।

सरकारमा जाने भनेको व्यक्तिगत अवसर होइन, जिम्मेवारी पूरा गर्न गएको हो । यो सामूहिक जिम्मेवारी र उत्तरदायित्वको मामिला हो । मैले बैठकमा यही भन्यो भने जान्ने भएको हेर न, हिजोको भुइँफुट्टा भन्ने टिप्पणी हुन्छ ।

जे विषय पार्टीमा भएन भन्नुभएको थियो, एमालेमा ! यही कुरा यहाँ पनि भन्नुभयो !

त्यसैले त म किनारा परिरहेकी छु । किनभने मेरो कुरा सबैलाई जायज लाग्छ । त्यसैले मलाई कुरा राख्ने ठाउँ नै नदिएको अवस्था छ । एक जना संस्थापक नेताकै सन्दर्भमा कतै लेखे पढेकी थिएँ । आफूले उत्पादन गरेको, हुर्काएको कार्यकर्ताको क्षमता र दक्षताप्रति नेतृत्वको ईर्ष्या र रिस आवेग देखिन्छ नि, त्यसपछि थाहा पाउनुपर्छ । त्यो नेतृत्वको अवसान सुरु भयो । त्यो आर्टिकलमा पढेपछि मैले धेरै बल गर्नुहुँदैन भन्ने लाग्यो ।

मेरो फेस भ्यालूलाई लिएर एकीकृत समाजवादीले जे गर्नुपर्ने थियो त्यो गरेन भन्ने कुराको महसुस हुनु पनि राम्रो कुरा हो ।

पार्टी निर्माणको भूमिकामा रहेकाहरू अरूले यही रुचाएका छैनन् !

उनीहरूलाई सानो प्राइभेट कम्पनी जस्तो पार्टी चाहिएको थियो ।

अध्यक्ष कमरेड माधव नेपाल यही कोटिमा पर्नुहुन्छ ?

उहाँलाई एउटा सानो पार्टी, दुई/चार जना सांसद, सरकार, गठबन्धन, मोर्चा लगायत गतिविधि गर्ने ठाउँ चाहिएको छ । त्योभन्दा ठूलो चिज चाहिएको जस्तो लागेन । सरी ! फेरि बढ्ता बोले हुँला ! त्यसबाट पर्न जाने क्षतिप्रति जिम्मेवार छु ।

तपाईंको निष्क्रियता हेर्दा तपाईं एमालेमा फर्कंदै हुनुहुन्छ ? एमालेमा फर्कने कुरा कति सत्य हो ?

निराशा भन्दा पनि त्यो एउटा परिस्थिति थियो । अब सबैका लागि एमाले हुने वा नहुने भन्ने विषय सबै ग्याजेटहरूमा हुने होम बटन जस्तै भयो । हामी सबैले मिहिनेत गरेर बनाएको पार्टी त्यही हो । त्यो एउटा होम बटन त छँदैछ । तर हामी ठूलो इगोबाट, ठूलो असहमतिबाट केही गर्न आएको हो । यहाँबाट बहिर्गमन पनि हाम्रो सजिलो काम होइन । तर मान्छे यत्तिकै सजिलैसँग भनिदिन्छ, त्यो एकदमै गलत कुरा हो ।

त्यो कुरा तपाईंको पार्टीभित्रबाट बढी उठेको देखिन्छ !

एक दुई वटा संस्थाले साइबर बुलिङको बारेमा अध्ययन गरेको रहेछ । म सहित केही पात्रहरूलाई केन्द्रमा राखेर गरेको अध्ययन अनुसार, म शीर्ष स्थानमा पर्ने रहेछु । भनेपछि मलाई कति बुलिङ गरिंदो रहेछ होला ? हुन त म राजनीति गर्ने मानिस हो, गाली र ताली सबै सहनुपर्छ । किनभने म सार्वजनिक सरोकार राख्छु भनेर आएकी छु । मलाई रामकुमारी झाँक्री बनाउन पनि समाजका धेरै मान्छे र संस्थाको योगदान छ ।

तर म व्यक्ति पनि हुँ । हरेक दिनको बिहानी नमीठो शब्दबाट सुरु भयो भने नमज्जा त लाग्छ । त्यसैले सोसल मिडियाका कत्ति ठाउँमा कमेन्टहरू अफ पनि गरें । खासगरी टिकटकको कमेन्ट अफ गरें ।

तपाईंको निष्क्रियताका कारण पार्टीले आम चुनावको समानुपातिक गणनातर्फ थ्रेसहोल्ड कटाएन भन्ने आरोप पनि सुनियो ! तपाईं त्यो हदसम्म निष्क्रिय हो र ?

विद्यार्थी राजनीतिमा हुँदा म अघिल्लो दिन डडेलधुरा र भोलिपल्ट इलाम हुन्थें । ४२ दिन ठ्याक्कै त्यस्तै थियो । त्योभन्दा परिपक्व भएकी थिएँ । सर्कल पनि त्योभन्दा फरक थियो । त्यस्ता दिनबाट म एकैपटक सीमित भएँ, यस्तै न्यारेटिभ बन्दै गयो । त्यसले व्यक्तिगत रूपमा मलाई र समाजवादीलाई पनि फाइदा गरेन । अहिले केन्द्रीय कमिटीमा तिम्रो कारणले थ्रेसहोल्ड कटेन भन्दै गर्दा टाउकोले पहाड जोत्न मिल्ने भए म जोतिने ठाउँमै थिएँ । थोरै मार्जिनल भोटले चुनाव हारें । कति लागें हुँला, त्यो त अलग भइहाल्यो ।

तर थ्रेसहोल्ड नकाट्ने भनेको म १६५ क्षेत्रमा हिंड्ने भनेको होइन । रामकुमारी पनि छ भन्ने मूल्य समाजवादीमा भइदिएको भए हुनेथियो । हुन त नकारात्मक टिप्पणी मलाई गरेको हो, तर यो भइदिएको भए फरक पर्ने थियो भनेको पनि हो । हिजोको बैठकको त्यो विषयलाई मैले सकारात्मक रूपमा लिएँ ।

तर पनि तपाईंका कारण पार्टीको थ्रेसहोल्ड कटेन भन्ने विषय त उठेकै हो, जवाफ कसरी दिनुहुन्छ ?

तँ जिम्मेवार छस्, कान समातेर उठबस् गर् भन्ने शैलीमा प्रश्न उठेको थियो । तर त्यसको अर्को पाटो त्यति नै स्वाभाविक थियो कि मेरो फेस भ्यालू खोजिएको त रहेछ ।

पार्टीमा महासचिव भएर घनश्याम भूसाल आउनुभएको छ । उहाँ एमालेमा रहँदा पनि नजिक भएर काम गर्नुभयो । उहाँ आएपछि केही आशा जगाएको छ ?

उहाँले यो जीवन्त बैठक चलाएर पनि आशा जगाउने एउटा अभ्यास गर्नुभयो । महासचिव उहाँ भएपछि एउटा संवाद सुरु भयो । कमिटीहरू रिफ्रेस हुने क्रम सुरु भएको छ । त्यसले गर्दा नयाँ जागरण, आशा अवश्य संचार गरेको छ । म नै एक खालले निष्क्रिय थिएँ । मेरा मतभिन्नताहरू राख्न नपाएपछि जाने ठाउँ पनि भएन नि त ! कहाँ जाने त ? पार्टी कार्यालय जाँदाखेरि अरू अरू मान्छेको भित्र–बाहिर नाम लेखेको ढोका, एसी लगाएको कोठा छ ।

म त कोही नभएको कोठामा एकछिन शरण लिन गए जस्तो, उनीहरू आएपछि कार्यकक्ष छोडिदिनुपर्दछ । ती प्रत्येक पदाधिकारीको भिजिटर हुन मलाई मन छैन नि ! पार्टीको क्रियाशील व्यक्ति पो हुन मन छ त !

भित्र–बाहिर स्प्रिङ हुने ढोका पनि मलाई आवश्यक छैन । म सडकमा एक्सन गरेर, सडकमा निर्णय गरेर हिंड्या मान्छे हो । हामीलाई त त्यस्तो सुविधा चाहिया पनि होइन । नयाँ महासचिव आएर कम्तीमा ढोकाको स्प्रिङ त फुकाल्नुभएको छैन तर, ढोका खुला गरेर, कुर्सी अड्याएर भित्र छिर त कम्तीमा भन्नुभएको छ नि !

भनेको उहाँ आएपछि आशा गर्ने ठाउँ भयो ?

इतिहासको कालखण्डमा के कुरा भएको पार्टीले खास कन्ट्रिव्युट गर्ने खास वेला हुन्छ । एमाले ठूलो हुँदा पनि सानो पङ्तिले विचारधाराको क्षेत्रमा धेरै काम गरेका थियौं । पार्टीका कार्यकर्तालाई काममा परिचालन गर्न एकदमै लागेका थियौं । त्यसका राम्रा परिणाम आज पनि छन् ।

घनश्याम दाइको आगमनपछि आशा जागेको कुरा छ । सबै कम्युनिष्ट पार्टी, सबै राजनीतिक दलमा अन्योल के छ भने सिद्धान्त र विचारको तालमेल कहीं छैन । सिद्धान्त र विचारको प्रयोग गर्ने कन्डिसनहरू फरक–फरक हुन्छन् । त्यो मामलामा कत्ति काम कहीं भएको छैन । सत्तापक्षीय होस् कि विपक्षमा बसेका नेताहरूको राजनीतिक टिप्पणी हेरौं न ! प्रमाणित गर्न नपर्ने र लगाउन सकिने राजनीतिक आरोप भ्रष्टाचार हो । जघन्य अपराध भइरहेको हुन्छ, दुनियाँले पत्याइदिन्नन् ।

प्रमाणित गर्नुपर्ने भए त त्यस्तो बोल्नुहुन्थेन नि ! जे पनि भएन भनिदिनुहुन्छ । इतिहासलाई फर्केर हेर्नुहुन्न कि ! समाजलाई शून्यबाट उठाएर यो अवस्थामा पुर्‍याएका हौं नि ! त्यस्तो भन्न किन सक्नुहुन्न ? जे भइरहेको छ, चल्तेचलाते भनिदिनुहुन्छ । विचार र सिद्धान्त त लेख्नका लागि ओरिन्टेसन गरेको हो मात्रै भन्नुहुन्छ । मूलतः कम्युनिष्ट पार्टीमा यस्तो भन्नुहुन्छ । घनश्याम दाइको आगमनले यो काम हामीले अलिकति गर्न सक्छौं कि जस्तो लाग्छ ।

एकीकृत समाजवादी दल बनाउनेमा सहमति भएसँगै सुरुदेखि नै माधव नेपाल–झलनाथ खनाल दुई समूह भनी देखियो । यो कुरालाई महासचिवले चिर्न सक्ने आधार के देख्नुहुन्छ ?

विचारको कुरा गर्नेले विचारकै काम गर्ने हो । त्यही काम गर्न दिने हो । संगठन भन्या नि विचार हो ।

पार्टी गठनको प्रारम्भको समयमा दुइटा समूह भन्ने थिएन । झलनाथ कमरेड बिरामी हुनुहुन्थ्यो । भर्चुअली सम्बोधन गर्दा पार्टीमा ऊर्जा दिन्थ्यो । दुइटा नेताका हिसाबले भन्दा पनि आम रूपमा हामी कहाँ जाने भन्ने कुरा भएको छ । प्राइभेट कम्पनीको तरिकाले हो कि त्योभन्दा क्षितिज फराकिलो पार्ने लडाईं त भइरहेकै छ नि !

घनश्याम दाइलाई विचारकै काम गर्न दिनुपर्दछ । विचार नै संगठक हो । तपाईं भीड जम्मा गरेर के दिनुहुन्छ त ? एउटा प्राइभेट कम्पनी हो भने उसले मार्केटिङ देख्छ । भिजन, उद्देश्य, टार्गेट, फाइदा बिजनेस कम्पनीले हेर्छ । एउटा बिजनेस कम्पनीले मार्केटिङमा जानेलाई भिजन दिन्छ । यति बेच भनेर टार्गेट दिन्छ । यति बेचिस् भने यति फाइदा तँलाई हुन्छ भन्छ । उसलाई फाइदा पनि सँगसँगै दिन्छ ।

यो त, राजनीतिक पार्टी हो । यो समाज यस्तो छ, यो समाज बदल्ने तरिका यस्तो हो । यो दलमा लागे यहाँ पुगिन्छ । बहुजनको जिन्दगी यसरी फेरिन्छ । यी कुरा विचारले भन्नुपर्ने होइन र ? यो कुरा गर्न घनश्याम दाइ सक्नुहुन्छ । संगठन भनेको बानेश्वर र माइतीघरमा जम्मा भएको भीड भन्ने मात्रै होइन नि ! त्यो भीड मुद्दाले आएको हो । मुद्दा कुनै न कुनै विचारसँग सम्बन्धित छ । पीडकका विरुद्ध पीडितहरू आएका हुन् नि !

दुई वर्ष हामीलाई अवसर थियो । भीडभाड छलेर कार्यक्रमहरू गरेका थियौं । म बोल्न थालेपछि सकिइसकेको मास फेरि जम्मा हुन सुरु हुन्थ्यो । यिनीहरूले कहीं गन्तव्यमा लान्छन् भन्ने विश्वास गरेर नै सुन्न आएका हुन् । त्यो चिज हामीले अहिले गर्नै सकेनौं के ! घनश्याम दाइ आइपुग्दा समय त धेरै अघि बढिसकेको छ । समय फर्काउन सक्दैनौं । तर, केही काम गरेर पुनः ऊर्जा भर्न सक्छौं । विचारधारात्मक हिसाबले समाजवादी पार्टी ठिकै बाटोमा हिंडेको पार्टी हो । यसमा बहस हुन्छ, यसमा भएका मान्छे र यो पार्टीसँगको सहयात्रा अरू भन्दा सुखद हुन्छ भन्ने सन्देश मात्रै दिन सक्यौं भने हाम्रो सफलता हो ।

निर्वाचन हुन चार वर्ष बाँकी छ । यो बीचमा बागमतीमा कति पानी बग्न सक्छ, त्यो त म भन्न सक्दिनँ । ६ महिनामा हामीले केही काम गर्ने लक्ष्य छन् । त्यो काम मैले, महासचिव, अरूले पनि गर्नुपर्दछ । ६ महिनापछि त्यसको मूल्यांकन गरेर हामीले सकिंदैन भने यसलाई विघटन गर्ने । सकिन्छ भने अघि जाने । ६ महिनाभित्र गर्ने भन्ने हाम्रो कमिटमेन्ट छ ।

महाधिवेशनको मिति तय भएको छ । अहिलेको अभियान पनि त्यसैलाई टार्गेट गरेर घोषणा गरिएको छ । अहिलेसम्म तपाईं सन्तुष्ट हुनुहुन्न, तर केन्द्रीय समिति बैठकपछि आशावादी देखिनु भएको छ । महाधिवेशनका लागि तपाईंको तयारी के छ ?

एकीकृत समाजवादी अहिले पार्टी नै बनेको छैन । अहिले जुन विधान छ, यो मान्न लायक नै छैन । मैले त अघि नै भनेँ एमालेको आठौँ महाधिवेशनको विधानलाई मान्नुपर्छ । किनभने, हामी त्यसैको जगमा अघि बढ्न खोजेको हो । विचारधारको कुरामा पनि डिपार्चर गर्नुपर्नेछ, अलमलको कुरा गर्नुपर्छ । हाम्रो सबै नेताले कि समाज विकासको आदिम साम्यवाददेखि सामन्तवादसम्मको गफ गर्नुहुन्छ । त्यसपछि अर्को समाजवाददेखि वैज्ञानिक समाजवादको गफ गर्नुहुन्छ । आजको वैश्विक पुँजीवाद, वित्तिय पुँजीवाद जे–जे छ यो बीचको कुरा के हो ? यसको शोषण, दमन, चरित्र, यसले गर्ने काम, चरित्र, यसबाट पाउने मुक्ति के हो भनेर पहिचान गर्नुपर्छ । यो भनेर वा लेखेर मात्रै हुँदैन । बदल्ने कसरी भनेर पनि काम गर्नुपर्छ । यसका लागि हामीलाई थिंकट्यांक चाहिन्छ । त्यतिमात्रै भएर हुँदैन । त्यसका लागि कम्युनिस्ट पार्टी र यसको सिद्धान्तलाई बुझ्ने चरित्रको मान्छे हुनुपर्छ । यसका लागि त कसैले पनि काम नै गर्दैैन ।

प्रतिवेदनमा अर्को अर्को कुरा लेखेर मात्रै हुँदैन । यिनै कामका लागि साँच्चिकै विचारधाराको काम गर्ने हो ।

तपाईंले गरिरहेको विश्लेषण र पार्टीको नेतृत्वबीचमा त कहीँ पनि तादाम्य मिलेको देखिँदैन । यसलाई पार्टीको विचार बनाउन र कार्यन्वयनमा लिएर स्थापित गर्न त जसको विचार उसैको नेतृत्व हुनुपर्ने होला । महाधिवेशनबाट तपाईंको पोजिसन नेतृत्वको कुन तहमा हुन्छ ?

महाधिवेशन गर्ने हो । त्यति ठूलो मुद्दाका रूपमा यसलाई लिएको छैन ।

कम्युनिष्ट पार्टीका लागि त यो ठूलो मुद्दा होइन भन्न मिल्छ र ?

मिल्दैन । यसका लागि हामीले भलनाथ कमरेडको नेतृत्वमा महाधिवेशनको विधान लेख्ने समिति बनाएका छौँ । त्यसमा म पनि सदस्य छ । मेरो गम्भीर विमति यी सबैसँग छ । आदिम साम्यवाद वा वैज्ञानिक समाजवादको गफ गर्ने सबै नेताको प्रवृत्ति छ । म त्यसको गफ गरेर मात्रै हुँदैन भन्नेमा छु । पार्टीको प्रतिवेदन, नीति कार्यक्रम कहीँ पनि यसको विषयमा उल्लेख हुँदैन ।

कसैले मलाई के गरिस् भनेर सोध्यो भने, म भन्न सक्छु । मैले मेरो पार्टीको घोषणापत्र लेखेँ, मैले आजसम्म गरेका चिज लाइन बाइलाइन भन्न सक्छु । मैले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति कार्यक्रम पनि मेरो मन्त्रालयको च्याप्टर आद्योपान्त अध्ययन गरेर मात्रै पढ्न दिएकी हुँ । अरूले के गरे त ? म यसको जस्टीफाइ गर्नसक्छु । त्यसैले अब छ महिनाको टार्गेट राखेका छौँ । त्यसबाट हामी आफूलाई मूल्यांकन गर्छौँ । र त्यहीअनुसार ममाथि व्यक्तिगत तहबाट उठेका प्रश्नको जवाफ दिनेछु । जे आवश्यक्ता पर्छ त्यहाँ उभिन्छु ।

समाजवाद ल्याउने भनेर तपाईंको पार्टीसहित कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनाएका छन् । त्यसमा तपाईंको बुझाइ के हो ?

स्वतन्त्र हिसाबले मैले भन्ने हो भने, हाम्रो महासचिवले विभिन्न सन्दर्भमा ‘स्वर्गको ठेगाना खल्तीमा राखेर नर्कगको बाटो हिँड्ने’ भन्नुहुन्थ्यो, ठ्याक्कै त्यही हो ।  यो जम्मै कार्यकर्ता सक्किने मेसो हो । म भर्चुअली भन्छु, समाजवादी मोर्चामा समाजवादी सबैभन्दा धेरै जोखिममा छ । मोर्चातिर अलमलिनु भनेको समाजवादी त सक्किने मेसो हो ।

यो मोर्चाबाट निस्कन केही पहलकदमी लिनुहुन्छ कि यसैलाई अगाडि बढाउनुहुन्छ ?

अध्यक्षज्यूले त्यति दुःख गरेर गर्नुभएको काम, म उहाँलाई चुनौती दिन चाहन्नँ । एउटा हात समातेर अगाडि बढाएको फोटोले त यति गाह्रो पारेको छ । त्यत्रो चुनौती दिनै भएन ।

मोर्चामा रहँदा तपाईंहरूलाई चुनौती बढ्ने कारण के के हुन् ?

केन्द्रदेखि जिल्लासम्म पाँच–पाँच जनाको समूह बनाएको छ । ती पाँच जना बाहेक अर्को छैटौं मान्छे सक्रिय हुने यसले परिकल्पना नै गर्दैन । यसको के काम ? काम नभएर यो निष्क्रिय बनाउने तरिका हो ।

भनेपछि मोर्चा सत्तामा एक ठाउँमा छौं भनेर देखाउन मात्रै बनाइएको हो ?

देखाउन मात्र हो, यो । पार्टीको निर्णय मान्छु तर म व्यक्तिगत रूपमा असहमत छु । यसको कुनै तुक छैन । पार्टीमा बसुन्जेल यसको निर्णय भने मान्नुपर्छ, मान्छु ।

तस्वीर तथा भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?