
१२ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान तीन वटा जहाजमा सीमित भएको साढे २ महिना भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी नाइन एन एकेएक्स जहाज २० जुनयता ग्राउण्डेड रहेको छ ।
चरा ठोक्किएर इन्जिनमा क्षति पुगेको यो जहाजमा नयाँ इन्जिन जडान तथा इन्जिन मर्मतको प्रक्रिया पूरा गर्न नसक्दा ग्राउण्डेड भएको हो । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेल अबको एक/दुई दिनमै यसको टुगो लाग्ने दाबी गर्छन् ।
‘हामीलाई सार्वजनिक खरिद प्रक्रियाले समस्यामा पारेको हो,’ उनले भने, ‘४५ दिनको समय राखेर खरिद प्रस्ताव माग्नु पर्छ, यसले समय लामो भएको हो ।’
निगमका कर्मचारीहरु भने व्यवस्थापनको बेवास्ताले लामो समयदेखि जहाज ग्राउण्डेड हुनु परेको बताउँछन् ।
राष्ट्रिय ध्वजाबाहकले एउटा इन्जिनको व्यवस्थापनमा २ महिना भन्दा बढी समय लगाउनु नै शंकास्पद छ,’ निगमका एक उच्च अधिकारी भन्छन्, ‘यो संस्था र मुलुककै लागि ठूलो लापरवाही हो ।’
दुई वर्ष अगाडि समेत निगमले न्यारोबडी जहाजको इन्जिन समयमै मर्मत गर्न नसक्दा २ महिना भन्दा बढी समयसम्म ग्राउण्डेड गरेको थियो । त्यसपछि निगमले इन्जिन भाडामा लिएर जहाज उडाएको थियो ।
निगमसँग अन्तर्राष्ट्रिय उडानमा कुल चार जहाज छन् । एउटा ग्राउण्डेड हुँदा तीन वटा मात्र जहाजले निर्धारित गन्तव्यमा उडान गर्नुपर्छ ।
प्रतिक्रिया 4