+
+

भेनिस फिल्म फेस्टिभलको रेडकार्पेटमा सौगात, सृष्टि र विपिनले सहभागिता जनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १२:५८

काठमाडौं । नेपाली कलाकारहरु सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठले विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागिता जनाउने भएका छन् ।

नेपाली समयानुसार भदौ २२ गते फिल्म ‘रेड सुटकेस’को प्रिमियर हुँदैछ, जहाँ यी तीन कलाकारको शीर्ष भूमिका छ । यी कलाकारसँगै फिल्म निर्माता रामकृष्ण पोखरेल, निर्देशक फिडेल देवकोटा र छायाकार सुशन प्रजापतिले पनि रेडकार्पेटमा उपस्थिति जनाउनेछन् ।

निर्माता पोखरेलका अनुसार फिल्मको टोली आगामी मंगलबार इटाली प्रस्थान गर्ने कार्यक्रम छ । रेडकार्पेटपछि फिल्मको टोलीसँग मिडियाले प्रश्नोत्तर गर्नेछन् । फेस्टिभल सकिने बित्तिकै कलाकार स्वदेश फर्कनेछन् भने निर्माता पोखरेलले पेरिसमा अन्तर्राष्ट्रिय वितरकसँग बैठक गर्नेछन् ।

भेनिसको ८० औं संस्करण बुधबारदेखि इटालीमा सुरु हुँदैछ । फेस्टिभलको होराइजन्स (ओरिजोन्टी) खण्डमा यो नेपाली फिल्म छनोट भएको हो । ‘दी रेड सुटकेस’ले वैदेशिक रोजगारीको कथा पेश गर्छ । कतारबाट ल्याइएको रातो सुटकेसलाई लिएर हिंडेको पिकअप ट्रकबाट फिल्मको कथा सुरु हुन्छ । त्यही समयमा अर्का प्रवासी कामदार रातो सुटकेस लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कन्छन् । त्यो सामग्रीलाई गन्तव्यसम्म पुर्‍याउन हिंडेका पात्रहरु रहस्यमयी घटनामा फस्दै जान्छन् ।

कोभिड महामारी र त्यसलाई रोक्न लागू गरिएको आवश्यक प्रोटोकलको कारण चुनौती खेपेको भेनिससामु यसपटक दुईवटा नयाँ चुनौती छन् । त्यो हो हलिउड लेखक र कलाकारले चलाइरहेको हड्ताल । जसकारण यसपटकको संस्करणमा निकै कम संख्यामा रेडकार्पेट कार्यक्रम हुने र कलाकारको उपस्थिति पनि पातलो हुने अनुमान छ ।

फेस्टिभल सेप्टेम्बर ९ मा समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?