+
+
टिप्पणी :

 समाजवादी मोर्चाले नओतेको प्रचण्ड संकट

तत्काल सरकार ढलिहाल्ने चिन्ताभन्दा बढी उनी आगामी निर्वाचनले दिने माओवादीको नयाँ आकारबारे चिन्तित छन् ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८० भदौ १४ गते २०:४०

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बोली पछिल्लो समय भयमिश्रित सुनिन थालेको छ । बुधबार समाजवादी मोर्चाको कार्यक्रमका लागि सुर्खेत पुगेका प्रचण्डले बर्खापछि जनतालाई सडकमा उतार्ने उद्घोष गर्दै भने, ‘जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो ।’

देशको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले ‘जगै हल्लाइदिने’ गरी जनतालाई सडकमा उतार्ने धम्की दिएर उनले मनभित्र मडारिइरहेको सत्ता संकट भयलाई लुकाउन सकेनन् ।

‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ । राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन्’, उनले भने, ‘सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन म ।’

एमसीसीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद बढिरहेको बेला मोर्चाकै कार्यक्रममा सुर्खेत पुगेका समाजवादी मोर्चाको संयोजक माधव नेपालले त ‘सबै तहमा राम्रो विश्वास र समझदारी नभए मोर्चा नटिक्ने’ अभिव्यक्ति दिए । बुधबार मात्र एमसीसी परियोजना औपचारिक रूपमा सुरु भएको सन्दर्भमा उनले भने, ‘‘विदेशीको दासता हामीलाई स्वीकार्य छैन। विदेशीले हस्तक्षेप गर्न खोज्छन् भने हामी यो मोर्चा त्यसको विरोधमा उत्रिन्छ ।’

उता, समाजवादी मोर्चामै रहेको विप्लव नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध सडक संघर्ष नै गरिरहेको छ ।

समाजवादी मोर्चा : चारतिर फर्किएका चार घटक

चुनावी समीकरण र संसदीय गणितको आधारमा हुने गठबन्धन, मोर्चा वा पार्टी एकताको भविष्य विग्रहमा टुंगिन्छ भन्ने उदाहरण २०७४ को वामपन्थी गठबन्धन र पार्टी एकता हो । इतिहासबाट सिक्न नसकेर अहिले पुनः समाजवादी मोर्चामा विभिन्न बाध्यता र राजनीतिक स्वार्थले चार दल एक ठाउँमा आइपुगेका छन् ।

मोर्चामा कम्तीमा समाजवादलाई घोषणापत्रमा समेटेका र पार्टीको साइनबोर्ड यही राखेका दलहरू पनि समेटिएका छैनन् । चरित्र, प्रशिक्षण, विचार र मनोविज्ञान सबै फरक भएका दलहरूको यो मोर्चाबन्दीलाई जसरी पनि सत्ता र शक्तिमा बस्ने र शक्तिशाली नै छु भन्ने भ्रम सिर्जना गरिरहने प्रयास संज्ञा दिइने गरिएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका दोस्रो, तेस्रो पुस्ताका नेता कम्युनिष्ट पार्टीमा जाने कल्पना पनि गर्न चाहँदैन, भलै अध्यक्ष यादव कम्युनिष्ट पृष्ठभूमिबाट आएका हुन् ।

मधेशको तर्फबाट संघीय सत्तासँग शक्तिको सौदाबाजी गरिरहन पूर्वमा जनमत र पश्चिममा नागरिक उन्मुक्ति पार्टीको उदयले सिर्जना गरेको भयबाट कार्यकर्तालाई जोगाउन जसपा समाजवादी मोर्चाको चौतारीको अस्थायी पाहुना बनेको हो । आगामी चुनावसम्म कांग्रेस वा एमालेसँग चुनावी तालमेलको संभावना उनीहरू बढी देख्छन् ।

उता, नेकपा एकीकृत समाजवादी कम्युनिष्ट विचारधारा छाड्ने अवस्थामा देखिदैन । शीर्ष नेताहरूको जुँगाको लडाइँ र आकस्मिक राजनीतिक घटनाक्रमहरूले भएको विभाजनसम्मको यात्रा थप अगाडि बढाउने मुडमा पार्टीका दोस्रो-तेस्रो तहका नेता देखिन्नन् ।

‘एमालेले पनि एघारौं महाधिवेशन गर्ला, हामी पनि हाम्रो एघारौं महाधिवेशन गर्छौं’ एकीकृत समाजवादीका एक नेताले भने, ‘ढिलो नगरी १२ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं ।’

नेतृत्वको तिक्ततापूर्ण सम्बन्धका कारण एमालेले पार्टी एकताभन्दा ‘प्रवेश’को रणनीति बनाएर सिध्याउन सक्ने भयले उक्त पार्टीले अहिले समाजवादी मोर्चाको अस्थायी ओत बनाएको ती नेता बताउँछन् । ‘केही वर्ष विभाजनबाटै गुज्रनुपर्ने भए पनि विस्तारै एमाले र एकीकृत समाजवादीतिर पहिलो पुस्ताका नेतालाई बिदाइ गर्ने र एकता गरेर अगाडि बढ्नुको विकल्प छैन’, ती नेताले भने ।

समाजवादी मोर्चामा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘क्रान्ति न शान्ति’ को अवस्थामा छ । आफैंले सिर्जना गरेको ‘महापतन’ को भाष्यको भुमरीमा फसेका विप्लव समाजवादी मोर्चाको पुच्छर समातेर भियतनामले जस्तै ‘राष्ट्रिय मुक्तिको युद्ध’ लड्ने र अमेरिकालाई हराउने क्रान्तिकारी रोमाञ्चकतामा रमिरहेका छन् । एमसीसी कार्यान्वयनको विरोधमा बुधबार नेकपा प्रवक्ता प्रकाण्ड यस्तै अभिव्यक्ति दिइरहेका थिए ।

माओवादी केन्द्रभित्रको अन्तरविरोधलाई भेन्टिलेट गर्न प्रचण्डले खोलिदिन सक्ने झ्यालबाट पुरानै पार्टीमा प्रवेश गर्न लालायित शरीरबाट विप्लव आजको दिनसम्म पनि क्रान्तिकारी भाषण गर्न अप्ठ्यारो मानिरहेका छैनन् । बिहीबार सुर्खेत पुगेर उनले प्रचण्डसँग मञ्च शेयर गर्दै अनुदान नस्वीकार्ने बरु एकादेशका भियतनामीले जस्तै खोरिया खन्ने उद्घोष उनले गरे ।

नेपालको राजनीतिमा फरक धार (पोलिटिकल स्पेस) सिर्जना र स्थापित गर्न नसकेको अवस्थामा विप्लव संसदीय राजनीतिमा सुरक्षित अवतरणको साधन समाजवादी मोर्चालाई बनाइरहेका छन् ।

माओवादी केन्द्र झण्डै चार दशकदेखि प्रचण्डको एकछत्र नेतृत्वमा चल्दै आएको पार्टी हो । एमालेसँग एकता गर्दा माओवाद बिसाएको उक्त पार्टीलाई अदालतले पुनः पुरानै अवस्थामा फर्काइदियो । कम्युनिष्ट विचारधारा छाडेर समाजवादी विचार मात्रै अंगाल्न माओवादीलाई गाह्रो छ ।

पछिल्लो समय पार्टीभित्र दक्षिण-पश्चिम ढल्कने र उत्तर ढल्कने समूहमा नेतृत्वको ध्रुवीकरण भइरहेको छ । चार दशक अकं६क पार्टी सत्ता हाँकेका अध्यक्ष प्रचण्डलाई अहिले एकसाथ पार्टी र सरकार दुवै सत्तामा संकटको अनुभूति हुन थालेको छ ।

विप्लव भित्र्याएर विरोधी मत तह लगाउनेदेखि समाजवादी मोर्चा बनाएर एकसाथ एमाले-कांग्रेसलाई साइजमा ल्याउने रणनीति प्रचण्डले अख्तियार गरिरहेका छन् ।

नयाँ ध्रुवीकरणको सम्भावना

एमाले अध्यक्ष केपी ओलीले विधानअनुसार दुई कार्यकालपछि जिम्मेवारी छाड्न तयार हुँदा पार्टी अध्यक्षको कुर्सीमा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई राखेर पुनः कम्युनिष्ट एकता गर्नेगरी एमाले र माओवादी केन्द्रका कतिपय दोस्रो-तेस्रो पुस्ताका नेताहरू संवाद गरिरहेका छन् ।

कतिपयले एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले शनिबार गर्न लागेको चीन भ्रमणलाई यही नयाँ ध्रुवीकरणसँग जोडेर हेरिरहेका छन् । पोखरेलले पार्टी अध्यक्ष ओलीको चाहनाअनुसार भदौ १ मा प्रेषित अपानि-८ ले निर्देशित गरेको ओलीको तस्वीर मात्रै राख्ने निर्देशन विरुद्ध सुर्खेतमा आफ्नै तस्वीर राखेर एक कार्यक्रम नै गरे ।

उत्तरी छिमेकीको चाहनाअनुसार अगाडि बढिरहेको यो प्रयासबाट ओली पनि असन्तुष्ट छन् भन्ने कुरा उनका पछिल्ला अभिव्यक्तिले पुष्टि गर्छ । यसैको प्रतिक्रिया स्वरूप उनले ‘अनुहार पनि नहेर्ने’ सार्वजनिक घोषणा गरेका पूर्वसहकर्मी माधवकुमार नेपालको ‘अनुहार’ फेसबुकबाट रुचीपूर्वक सार्वजनिक नै गरे ।

एमसीसीले बढाएको प्रतिकूलता

१३ भदौ, बुधबारबाट बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा गयो । नेपाल आएका एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामरुन अल्फोर्डसँग एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको पत्र आदानप्रदान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको छ ।

तर, प्रधानमन्त्री प्रचण्डले नै नेतृत्व गरेको समाजवादी मोर्चाको एक घटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भने सोही दिन एमसीसी कार्यान्वयनको विरोधमा सडक प्रदर्शनमा थियो । एमसीसी परियोजना बारे विप्लव भन्छन्, ‘एमसीसी जनताको हितमा छैन । नेपाललाई युक्रेन बनाएर देशको प्राकृतिक सम्पदालाई कब्जा गर्ने षड्यन्त्र हुँदैछ ।’

समाजवादी मोर्चामै रहेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीसँगै एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भयो भने नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरिरहेका छन् ।

यस्तो संगीन आरोप लगाइरहँदा विप्लव र खनालले न समाजवादी मोर्चा छाडेका छन् न प्रचण्डले समाजवादी मोर्चाको कार्यक्रम छाडेका छन् । कार्यक्रम भएपछि मञ्चमा पुगेका नेताहरूले लोकलाजका लागि पनि एमसीसीबारे बोल्नैपर्ने भइहाल्यो । यहीक्रममा प्रचण्ड आफैंले एमसीसी कार्यान्वयनमा गएको अघिल्लो दिन समाजवादी मोर्चाकै मञ्चबाटै बोलिदिए, ‘व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो कि होइन एमसीसी उपाध्यक्षलाई सोध्छु ।’

क्रान्तिकारी पनि देखिइरहनुपर्ने र सत्ताको लोभ पनि लागिरहने विरोधाभाषले ‘हो एकथरि, बोल्ने अर्कोथरि र गर्ने अर्कोथरि’ को अवस्था सिर्जना भइरहेको छ ।

सिद्धान्ततः अवधारणा र वास्तविकताबीचको असंगति नै भ्रमको स्रोत हो । एमसीसीको सिरक ओढेर ‘माओवादी’ विचारधारा सिरानी हालेर निदाउनुपर्ने र समृद्धिको सपना देखाउनुपर्ने विराधाभाषले हरेक प्रचण्डलाई यस्तै भ्रमपूर्ण संसारमा लगेर उभ्याइदिएको छ ।

हार्वर्ड लगायत अमेरिकाका केही प्रतिष्ठित विश्वविद्यालयमा लामो समय राजनीति शास्त्रका प्राध्यापक रहेका ईडवार्ड जे ईपस्टिइन एक खोज पत्रकार पनि हुन् । उनले आफ्नो स्नातकोत्तर थेसिस राजनीतिक सत्यको विषयमा गरेका थिए जुन सामग्री समेटिएको पुस्तक वेस्ट सेलर पनि बन्यो ।

घटनाको वास्तविकता र त्यसबारे सम्बन्धित पक्षहरूले उपलब्ध गराउने फरक प्रकारका सूचनाका बीचको असंगति एकदमै ठूलो अस्पष्ट क्षेत्र (ग्रे एरिया) हुने प्राध्यापक ईपस्टिइनले बताएका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर आन्दोलन गरेर जगै हल्लाइदिने धम्की दिने प्रचण्ड नियति बुझ्न उनको अवधारणाले सघाउँछ ।

सास छउञ्जेलको आस

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरू प्रचण्ड नेतृत्वको सरकारलाई चुनौती दिनेगरी अभिव्यक्ति दिन थालेका छन् । यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि केही असहमतिहरू व्यक्त गरेको समाचार सार्वजनिक भए ।

यावत प्रतिकूलताको बावजुद पनि समाजवादी मोर्चालाई तत्कालको सत्तासंकट भन्दा बढी भय २०८४ को निर्वाचनको देखिन्छ । समाजवादी मोर्चाको कार्यदलका सदस्य तथा जसपाका एक नेता आगामी निर्वाचनमा तेस्रो राजनीतिक शक्तिको रूपमा मोर्चालाई जोगाउन पनि मोर्चाको विकल्प नरहेको दाबी गर्छन् ।

‘एमालेमा ओली हुन्जेलसम्म हामी वामपन्थी धारका सबैको राजनीतिक भविष्य सुरक्षित रहेन । हामी कांग्रेस हुन सक्दैनौं’, उनले भने, ‘अर्को चुनावसम्म यही मोर्चालाई अगाडि लगेर कांग्रेस र एमालेलाई केही चुनौती दिनसक्ने तेस्रो चुनावी मोर्चा बनाउने हाम्रो प्रयास हो ।’

मोर्चा सफल नहुँदा कांग्रेस, एमाले र नयाँ शक्तिहरू आउँदा साना वामपन्थी शक्ति बढारिने भय ती नेताले व्यक्त गरे । यही बाध्यताको धागो नछिने वा जोगाउन सके आगामी चुनावमा मोर्चाले आफ्नो केही उपस्थिति देखाएर राजनीतिक औचित्य पुष्टि गर्न सक्छ ।

१० पुस २०७९ मा सरकारमा उक्लिएका प्रचण्ड पूर्वसहमतिअनुसार थप १६ महिना प्रधानमन्त्री बनिरहन चाहन्छन् । तत्काल सरकार ढलिहाल्ने चिन्ताभन्दा बढी उनी आगामी निर्वाचनले दिने माओवादीको नयाँ आकारबारे चिन्तित छन् ।

शक्ति कमजोर हुँदा जाँदा कमजोर हुन नसकेको सत्ता (पार्टी र सरकार) महत्वाकांक्षाले पार्टीभित्र विरोधका स्वरहरूको सामना गर्नुपरिरहेको त छँदैछ । यही अवस्थामा हुनसक्ने नयाँ वामपन्थी ध्रुवीकरणले आफूलाई कहाँ राख्ने हो भन्ने जोखिम पनि छँदैछ ।

यी सबै चिन्ता र चुनौतीको असिना पानीबाट ओतिन प्रचण्डका लागि बलियो साधन हो- समाजवादी मोर्चा । तर मोर्चाको छाताले बाक्लिइरहेको चिन्ता र चुनौतीको असिना पानी राम्ररी ओत्न सकिरहेको छैन । छाता बलियो बनाउन उनी कतिबेला एमसीसीबारे विवादास्पद अभिव्यक्ति त कतिबेला सरकारकै नेतृत्व गरेर आन्दोलनको धम्की दिन बाध्य देखिन्छन् ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?