+
+
गाईजात्रा-२०८० :

जब धर्तीकै धनाढ्य एलियन मस्कसँग आहावीर पुनको जम्काभेट हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १५:५०

त्यसो त खित्का छाडेर हाँस्नका लागि ‘गाईजात्रा’ कुरिरहनु पर्दैन । अरु त अरु देशको बागडोर सम्हाल्छु भनी तँछाडमछाड गर्ने नेताहरुको हर्कत आफैंमा गाईजात्रा भन्दा कम छैन ।

सदनमा होस् वा सडक, उनीहरु विकासका कुरा गर्दैनन् । न निकासका कुरा नै । बरु नाइटोदेखिको बल लगाएर विपक्षी नेतालाई खिसिट्युरी गरिरहेका हुन्छन् । नेताले गर्ने भाषण, दिने अन्तर्वार्ता सर्वसाधारणका लागि फगत ‘मनोरञ्जनको खुराक’ भएको छ ।

यही खुराकलाई थप मरमसला हालेर, तीतोपिरो मिसाएर, स्वादिष्ट बनाएर पेश गर्न किन पो छाड्थे र हास्य कलाकर्मीहरु । त्यसमाथि गाईजात्राको मौसम जो छ ।

यसपालि नेताहरु कहाँ–कहाँ चिप्लिए, क–कसलाई चिप्लाए ? वर्षभरको हर्कत हेर्न प्रज्ञा भवन पुग्नुपर्छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी ‘८० सालको गाईजात्रा’ले तपाईंलाई देशको विकृत पाटो देखाइदिनेछ, त्यो पनि ठट्यौली पारामा । विगतमा झै यसपालिको गाईजात्रामा पनि प्रहसन, कविता, प्यारोडी र नृत्युको संयोजन छ ।

यसपालि गाईजात्रामा छवि लामिछानेदेखि चिप्ल्याउने अंकलसम्म, एलियन मस्कदेखि महावीर पुनसम्मको खिचडी छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं नेपाली वैज्ञानिक र विश्वकै धनाढ्य एलियन मस्कको आपसमा भेट भयो भने के होला ? उनीहरुको वार्तालाप कसरी हुन्छ होला ? के विषयमा हुन्छ होला ?

स्वर्गीय नेताद्वय विश्वेश्वरप्रसाद कोइराला र मदन भण्डारीको स्वर्गलोकमै जब जम्काभेट हुन्छ, उनीहरु के कुरा गर्दा हुन् ? आ–आफ्नो आदर्श र सपनाहरु लथालिंग भएको कुराले उनीहरुलाई कति पिरोल्छ होला ?

चिप्ल्याउने अंकलको कार्यक्रममा छवि लामिछानेलाई पाहुना बनाइयो भने के होला ?

यस्ता–यस्तै खुराकसहित यसपालिको गाईजात्रा रसिलो र चोटिलो बनाइएको छ । सधै झैं यसपालि मनोज गजुरेलले आफूलाई एलन मस्कको अवतारमा उतारेका छन् । भनिहालौं, कहिले नरेन्द्र मोदी त कहिले डोनाल्ड ट्रम्प, फेरि कहिले सी जिनपिङ त कहिले डा. ट्रेडोस अधानोम गेब्रेयससको आवरणमा गजुरेलले आफूलाई प्रस्तुत गरिसकेका छन् ।

यसपालिको गाईजात्रामा नयाँपुस्ता र पुरानो पुस्ताको फ्युजन छ । मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारीदेखि अहिलेका पुस्ताका प्रभात लामा, मेक्सम गौडेल, सुन्दर खनाल, सुवोध गौतम आदिले मस्त हँसाउनेछ । पुरुषहरुको यो भीडमा ‘महिला कोटा’बाट उपस्थित छिन्, सीता न्यौपाने पनि । स्ट्यान्ड अप कमेडीमा नयाँपुस्तामाझ लोकप्रिय उनले गाईजात्रेमा चटनीको तिख्खर स्वाद थपेकी छिन् ।

गाईजात्रा कार्यक्रममा चिप्ल्याउने अंकलको अन्तर्वार्तादेखि शैलेन्द्र सिम्खडाको कवितासम्मले दर्शकलाई रमाइलो गराउँछ ।

गाईजात्रा कार्यक्रम भदौ १८ गतेसम्म जारी रहनेछ ।

बितेका केही वर्ष समय अनुकूल रहेन, स्टेज कार्यक्रमका लागि । त्यसैले यसबीचमा गाईजात्रे कार्यक्रम पनि लगभग सुस्त भयो । यसपालि भने गाईजात्रे धर्म निर्वाह गर्न कार्यक्रमलाई स्टेजमा निरन्तरता दिइएको हास्य अभिनेता मनोज गजुरेलले बताए ।

फोटो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?