+
+

पत्नीका कारण २८ वर्षसम्म मृतक, आफैंलाई जिउँदो सावित गर्न वृद्धको लडाइँ

एजेन्सी एजेन्सी
२०८० भदौ १६ गते १४:२३

एकजना व्यक्ति २८ वर्षसम्म कानूनी रुपमा मृत रहे । आफैंलाई जीवित सावित गर्नका लागि उनले दुई वर्षसम्म कानूनी लडाइँ लड्नुपर्‍यो । अन्ततः गत अगष्ट १६ मा अदालतले उनको मृत्युदर्ता प्रमाणपत्र रद्द गर्दै उनलाई जीवित घोषित गरेको छ ।

ब्राजिलको टोकेन्टिस क्षेत्रमा बस्ने ७१ वर्षीय म्यानोएल मार्सिआनो डा सिल्भालाई उनकी पूर्वपत्नी र अन्य दुईजना साक्षीहरू मिलेर सन् १९९५ मा मृत घोषित गरिदिएका थिए र आधिकारिक निकायबाट उनको मृत्युदर्ता प्रमाणपत्र तयार गरेका थिए । यसबीचमा उनले पछिल्लो २८ वर्षसम्म कानूनी रुपमा मृत भएर बिताउनु पर्‍यो ।

कानूनी रुपमा उनी मरिसकेका थिए र सरकारी कागजपत्र अनुसार २८ वर्षअघि उनलाई टोकेन्टिन्स अगस्टिनोपोलिसले एउटा चिहानलाई अन्त्येष्टि गरिएको थियो ।

पूर्वपत्नीले अन्य व्यक्तिसँग मिलेर आफुलाई कानूनी रुपमा मारेको कुरा उनलाई पत्तो थिएन । तर जब उनले पेन्सन पाउन छाडे तब समस्या उत्पन्न भए । मरिसकेको भन्दै उनले स्वास्थ्य बिमा अन्तरगर्त नि:शुल्क स्वास्थ्य सेवासमेत पाएनन् । त्यसपछि उनले आफ्नो मृत्युको अनुसन्धान सुरु गरे । त्यसक्रममा उनले आफ्नै पूर्वपत्नी र अन्य दुईजना मिलेर आफूलाई मृत घोषित गर्दै सम्बन्धित सरकारी निकायबाट मृत्युदर्ता प्रमाणपत्र नै बनाएको थाहा पाए ।

पूर्वपत्नीले आफूलाई किन मृतक बताइन् भन्ने कुराको कारण त उनलाई थाहा छैन । आफूले यसबारेमा सन् २०१२ मै थाहा पाएको उनी बताउँछन् ।

एक स्थानीय चुनावमा मतदान गर्न जाँदा आफूलाई मतदानस्थलका कर्मचारीले मृत्यु भैसकेको भनेर भोट हाल्न नदिएपछि उनलाई आफू मरिसकेको थाहा भएको थियो । तर,  सरकारी रेकर्डको गल्तीले त्यस्तो भएको होला भनेर उनले खासै वास्ता गरेनन् । जब उनले मरिसकेको भनेर पेन्सन तथा नि:शुल्क स्वास्थ्य उपचार समेत पाउन छाडे र अन्य दैनिक जीवनयापनमा समेत असर पर्न थाल्यो तब उनले कानूनी लडाइँ लड्ने निधो गरे ।

भलै कागजमै मात्र किन नहोस् उनलाई पुनर्जीवित हुनु आवश्यक थियो । र कानूनी रुपमा मरिसकेको आफूलाई जीवित प्रमाणित गर्नु सोचेभन्दा निकै कठिन भयो । अन्ततः सत्तरी वर्षका उनको मृत्युदर्ता प्रमाणपत्र रद्ध गरी एक नयाँ जन्मदर्ता प्रमाणपत्र प्राप्त गर्नका लागि वकिलको सहायताले कानूनी लडाइँ लड्नुपर्ने भयो ।

उनका औंलाहरुको औंठाछापको पेपिलोस्कोपिक परीक्षणबाट उनी जीवित रहेको पुष्टि त भयो तर उनलाई कानूनी रुपमा जिवित पुष्टि गर्नका लागि थप साक्षीहरुको आवश्यकता थियो । सबै प्रमाणहरु बुझेर अदालतले उनलाई जीवित प्रमाणित गरिदियो । यद्यपि उनको मृत्युको रहस्य अझै पनि खुलिसकेको छैन ।

म्यानोएलका छोराछोरीहरुका अनुसार उनकी अनपढ आमालाई केही मानिसहरुले गुमराहमा राखेर उनका पितालाई मृत घोषित गरिदिएका थिए । तथापि म्यानोएललाई भने आफूलाई किन कानूनी रुपमा मृत बनाइयो भन्ने कुराको परवाह छैन । जीवित मानिसहरुको बीच फिर्ता आएकोमा उनी खुसी छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?