+
+

सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यक : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि नयाँ कानुन र नीति निर्माण आवश्यक रहेको बताएकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते २०:१२

२२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि नयाँ कानुन र नीति निर्माण आवश्यक रहेको बताएकी छिन् ।

जनपत्रकार संगठनका केन्द्रीय पदाधिकारीसँगको भेटमा उनले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने बताइन् ।

आफू पुराना कानुनको परिमार्जन र आवश्यक कानुन निर्माणको गृहकार्यमा रहेको उनले जानकराी दिइन् । सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना कानुन रहेको उल्लेख गर्दै उनले पुराना कानुनको समयानुकूल परिमार्जन र नयाँ कानुन निर्माणमा ध्यान दिइएको बताइन् ।

मन्त्रालयले विज्ञहरुको टोली नै बनाएर राय सुझावसहितको प्रतिवेदन प्राप्त गरिसकेको उल्लेख गर्दै उनले आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र पत्रकारिता प्रशिक्षण प्रतिष्ठान विधेयकको मस्यौदामा छलफल भइरहेको जानकारी दिइन् ।

पुरानो कानुनले अनलाइन मिडियालाई नचिन्ने तर अहिले अनलाइन मिडियाको प्रभाव बढिरहेकाले अनलाइन पत्रकारिताको कानुनी आधार तयार पार्नेतिर मन्त्रालय लागिरहेको पनि मन्त्री शर्माले जानकारी दिइन् । नयाँ ऐन बन्न समय लाग्ने भएकाले अनलाइन मिडियालाई कानुनी मान्यता प्रदान गर्न सजिलो होस् भनेर केही नेपाल ऐन संशोधनमार्फत अघि बढाउन खोजिएको पनि उनको भनाइ छ ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढिरहेकाले यसको स्वनियम, सचेतना र नियमनका लागि मौजुदा कानुनको आधारमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका बनाउन थालिएको मन्त्री शर्माले जानकारी दिइन् ।

सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित गर्न ऐन नै आवश्यक देखिए पनि अहिलेका लागि यसबाट हुनसक्ने क्षति रोक्न सचेतना र स्वयिनमनलाई जोड दिएर निर्देशिका तयार पारिएको र चाँडै मन्त्रिपरिषद्‍बाट पारित हुने उनले बताइन् ।

साइबर स्पेसको सुरक्षित प्रयोगका लागि नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति २०८० जारी गरिएको जानकारी दिंदै अब साइबर सुरक्षा ऐन र साइबर सुरक्षा केन्द्र निर्माणका लागि बाटो खुलेको मन्त्री शर्माले जानकारी दिइन् । सबै ऐन, नियम, नीति र निर्देशिका जनताकै लागि बन्ने भएकाले सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको सहभागिता सुनिश्चित गर्नेतिर मन्त्रालयले ध्यान दिएको पनि उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?