+
+

आइफोनमा यूएसबी टाइप सी पोर्ट राख्नुको अर्थ के हुन्छ ?

एजेन्सी एजेन्सी
२०८० भदौ २५ गते १०:०१

विश्वमा पहिलोपटक सन् २०१५ मा यूएसबी सी चार्जिङ पोर्ट भएको डिभाइस बजारमा आएको थियो ।

अहिले एन्ड्रोइड फोनदेखि ल्यापटप, वायरलेस इयरबड, मिररलेस क्यामेरा, गेमिङ कन्सोल, पर्सनल कम्प्युटर मनिटर देखि इलेक्टि्रक स्कुटरसम्म यत्रतत्र टाइप सी चार्जिङ पोर्ट फैलिएको छ ।

तथापि आइफोनमा भने अहिलेसम्म यूएसबी सी पोर्ट थिएन । यद्यपि उसले केही वर्षदेखि नयाँ म्याकबुक तथा आइप्याडमा भने यूएसबी सी पोर्ट नै राख्दै आएको छ ।

एप्पलले आफ्ना आइफोनमा सन् २०१२ देखि आफ्नै लाइटनिङ चार्जिंङ कनेक्टर प्रयोग गर्दै आएको छ । तर अब भने आइफोनको विद्यमान लाइटनिंग पोर्टलाई यूएसबी पोर्टले प्रतिस्थापित गर्ने घोषणा एप्पलले गरिसकेको छ ।

मंगलबार सार्वजनिक गर्ने भनिएको आइफोन १५ सिरिजबाटै आइफोनमा पहिलोपटक टाइप सी पोर्ट राखिने अनुमान गरिएको छ ।

एप्पलले किन फेर्दैछ चार्जिङ पोर्ट ?

पुराना आइफोन तथा आइप्याडमा रहेको ३० पिन कनेक्टर सम्झिनुस् त । सन् २००३ मा ल्याइएको उक्त ३० पिन कनेक्टरलाई एप्पलले ९ वर्षपछि सन् २०१२ मा विस्थापित गर्दै लाइटनिङ्ग पोर्ट राखेको थियो, जुन आकारमा सानो हुनुका साथै कनेक्टरलाई जुनसुकै दिशाबाट पनि जोड्न सकिन्छ । अब लाइटनिङ्ग पोर्टको ११ वर्षे यात्रापछि आइफोनबाट यसलाई पनि हटाएर टाइप सी पोर्ट राख्दैछ एप्पलले ।

एप्पलले आफ्ना अन्य हार्डवेयरहरुमा पछिल्ला वर्षहरुमा क्रमशः टाइप सी पोर्ट थप्दै आएको छ । पहिलोपटक सन् २०१५ मा एप्पलले नै पहिलोपटक ल्यापटपमा यूएसबी सी पोर्ट राखेको थियो । त्यसपछि उसले आइप्याडमा पनि टाइप सी पोर्ट राख्न सुरु गर्‍यो । यस अर्थमा अबको पालो आइफोनकै हो भन्नेमा दुईमत छैन ।

तथापि एप्पलले आफ्नो मेड फर आइफोन कार्यक्रम अन्तर्गत टाइप सी पोर्ट प्रयोगको लाइसेन्स बापत तेस्रो पक्षबाट शुल्क लिइरह्यो र हालसम्म आइफोनमा आफ्नै लाइटनिङ्ग पोर्ट प्रयोग गरिरह्यो । तर युरोपेली युनियनको कानूनका कारण एप्पलले आफ्नो आम्दानीको स्रोत गुमाउँदै अन्ततः आइफोनमा पनि टाइप सी पोर्ट राख्ने निर्णय गर्न बाध्य भयो ।

इयुले सन् २०२२ मा पारित गरेको एक कानून अनुसार युरोपेली युनियनका मुलुकहरुमा बिक्री गर्ने फोन, ट्याबलेट तथा क्यामरामा सन् २०२४ को अन्त्यसम्ममा अनिवार्य रुपमा यूएसबी पोर्ट अनिवार्य रुपमा हुनुपर्नेछ ।

टाइप सी पोर्टमा जाँदा के फाइदा ?

आइफोनमा पनि टाइप सी पोर्ट राखियो भने त्यसले आम स्मार्टफोन प्रयोगकर्तालाई ठूलो फाइदा हुनेछ । उनीहरुले अन्य स्मार्टफोनमा प्रयोग हुने टाइप सी केवलबाटै आइफोन चार्ज गर्न तथा डेटा ट्रान्सफर गर्न सक्नेछन् । एन्ड्रोइड फोनको युएसबी केबललाई आइफोनमा पनि प्रयोग गर्न सकिनेछ ।

प्लगेबल टेक्नोलोजिजका संस्थापक बर्नी थम्पसन भन्छन्, ‘यूएसबी सीले विश्व विजय गरिरहँदा मैले यसको विकल्प सोंच्न समेत सक्दिनँ । के मलाई माइक्रो बी चार्जर वा लाइटनिङ्ग चार्जर चाहिन्छ त ?’

सबै डिभाइसका लागि एउटै कनेक्टरको प्रयोगले हरेक डिभाइसका लागि फरक-फरक चार्जर तथा कनेक्टर किन्नुपर्ने बाध्यता हट्नेछ र विद्युतीय फोहोरलाई उल्लेख्य रुपमा कटौती गर्नेछ ।

आइफोनको बक्समा चार्जिङ ब्रिक नराख्नुको कारण विद्युतीय फोहोर कम गर्नु रहेको दाबी एप्पलले गर्दै आएको छ । अब उसले आइफोन १५ को बक्समा मा यूएसबी सी टू यूएसबी सी केवल राख्नेछ ।

यूएसबी सी ले फास्ट चार्जिङ् तथा उच्च गतिको डाटा ट्रान्सफरमा सहयोग गर्नेछ । लाइटनिङ्ग पोर्टको अधिकतम डेटा ट्रान्सफर गति ४८० मेगाबिट्स प्रतिसेकेण्ड रहेकोमा यूएसबी टाइप सी मा सिद्धान्ततः ८० गिगाबिट्स प्रति सेकेण्डसम्म हुने गर्दछ ।

यद्यपि आइफोन १५ मा यूएसबी २.० केवल प्रयोग हुने र यसको डेटा ट्रान्सफर गति ४८० मेगाबिट्स प्रतिसेकेण्डमै सिमित गरिने दाबी पनि गरिएको छ । त्यस्तै आइफोन १५ प्रो मा चाहिं यूएसबी ३.२ वा थन्डरबोल्ड ३ केवल राखिनेछ । जसको डेटा ट्रान्सफ गति २० देखि ४० गिगाबिट्स प्रतिसेकेण्ड हुनेछ । यसले आइफोनबाट भिडियो फाइल ट्रान्सफर निकै छिटो गतिमा गर्न सकिनेछ ।

आइफोन १४ सिरिजमा चार्जिङ् सीमा २० वाटसम्म रहेकोमा आइफोन १५ सिरिजमा भने यूएसबी टाइप सी का कारण सीमा बढ्नसक्ने र फ्लागसिप एन्ड्रोइड फोनकै हाराहारीमा पर्‍याइने अनुमान गरिएको छ । उदाहरणका लागि आइफोन १४ प्रो म्याक्स पूरै चार्ज हुन करीब १ घण्टा ४० मिनेट लाग्ने गरेकोमा सामसुङ ग्यालेक्सी एस २३ अल्ट्रा भने एक घण्टाभन्दा पनि कम समयमै पूरा चार्ज हुन्छ । चार्जिङ् स्पीड बढाउनाले आइफोन प्रयोगकर्तालाई निकै फाइदा र सहजता हुनेछ ।

टाइप सी पोर्टसँगै अब आइफोनलाई टाइप सी केवलबाटै ठूलो स्क्रिनमा डिस्प्ले गर्ने गरी जोड्न पनि सकिनेछ ।

टाइप सी पोर्टका बेफाइदा !

सायद तपाईंले आफ्नो एन्ड्रोइड फोनहरुमा यो समस्या भोग्नु भएकै छ होला । बजारमा धेरै खालका र सस्तो मूल्यका टाइप सी केवल पाइन्छन् । यस्ता कमसल चार्जर तथा डाटा केवलको प्रयोग गर्दा फोनको चार्जिङ तथा डाटा ट्रान्सफर गति सुस्त हुन्छ । कमसल केवलले फोनमा क्षति पुर्‍याउने जोखिम पनि रहन्छ । र, बजारमा उपलब्ध टाइप सी केवलको गुणस्तर आम सर्वसाधारण प्रयोगकर्ताले परख गर्न सक्दैनन् ।

यद्यपि एप्पलले भने आफ्ना डिभाइसमा सबै खालका यूएसबी टाइप सी केवललाई प्रयोग गर्न नसक्ने गरी लाइसेन्सिङ गर्ने योजना समेत बनाएको बताइन्छ । अर्थात् एप्पलको लाइसेन्स लिएका वा एप्पलले अनुमति दिएका यूएसबी सी केवलले मात्र आइफोनमा काम गर्नेछन् । जसका कारण बजारमा उपलब्ध अन्य डिभाइसमा चल्ने टाइप सी केवल आइफोनमा नचल्न सक्दछन् र आइफोनमा चल्ने केवलको मूल्य पनि धेरै हुनसक्छ ।

एजेन्सीको सहायेगमा

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?