+
+

यी आठ उपहार, बुवाका लागि उपयोगी हुनसक्छ

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० भदौ २६ गते १७:१२

काठमाडौं । बुवाको मुख हेर्ने दिनमा आफ्नो बुबाको लागि केही विशेष योजना बनाउन सकिन्छ । यो दिन विशेष उपहार दिएर पनि बुवाको मुहारमा खुसी ल्याउन सकिन्छ ।

यदि उपहार उपयोगी र बुवाको रुचि अनुसारको भयो भने त झन् सुनमा सुगन्ध थपिन्छ । त्यसैले उपहार किन्नुअघि बुवाको रुचि थाहा पाउन सकियो भने उपहार अझै विशेष हुन्छ ।

स्मार्ट फोन

यदि बुबासँग धेरै साधारण वा फोन पुरानो छ भने स्मार्ट फोन उपहार दिन सकिन्छ । यदि बुबालाई ग्याजेटहरू मन पर्छ र पहिले नै राम्रो फोन छ भने उहाँलाई इयरफोन वा इयरबडहरू उपहार दिन सकिन्छ ।

अहिले घरमा प्राय: सबै जना व्यस्त हुने भएकाले बुवाआमा प्राय: घरमा एक्लै हुन्छन् । यस्तोमा स्मार्ट फोनमा विभिन्न मनोरञ्जनात्मक कुराहरू हेरेर आफ्नो एक्लोपनबाट छुटकारा पनि पाउन सक्छन् । आफ्नो बुवालाई फोन दिनुभयो भने त्यसमा पहिले नै आफ्नो र उहाँको फोटोहरू राख्न सकिन्छ । यसले बुवालाई झन् खुसी बनाउँछ ।

सजिलो कपडा र जुत्ता

बुबालाई सजिलो जुत्ता तथा कपडा पनि उपहार स्वरूप दिन सकिन्छ । यदि बुवा बिहान मर्निङवाक जानुहुन्छ भने उहाँलाई दौडिन सहज हुने जुत्ता ‘स्पोर्ट सुज’ र सजिलो कपडा ‘ट्रयाकसुट’ उपहार दिन सकिन्छ ।

जाडो महिना नजिकिंदै गरेको हुनाले बुवालाई न्यानो कपडा पनि दिन सकिन्छ । यदि बुबा अफिस जानुहुन्छ भने फर्मल जुत्ता र फर्मल कपडा दिन सकिन्छ ।

हट ब्याग, मसाजर र एक्युप्रेसर

तपाईंको बुवाले घाँटी, ढाड र हातखुट्टा दुख्ने गुनासो गर्नु हुन्छ भने बुबालाई उपहारको रूपमा ‘मसाजर’  दिन सक्नुहुन्छ । मसाजरले घाँटी तथा ढाड दुखाइलाई कम गर्न सहयोग गर्छ । साथै हट वाटर ब्याग पनि दिन सकिन्छ । शरीरको दुखाइ कम गर्न हट वाटर ब्याग पनि उपयोगी हुन्छ ।

बुवालाई एक्युप्रेसर चप्पल उपहार दिन सकिन्छ । यो चप्पलले रक्तसञ्चार सुधार गर्न र खुट्टाको दुखाइबाट राहत प्रदान गर्न मद्दत गर्छ ।  यो चप्पल लगाउनाले थकान पनि कम हुन्छ ।

थर्मस, चियाकफी मग

बुवाको मुख हेर्ने दिनमा बुवालाई दैनिक आवश्यकतामा आधारित उपहारहरू दिन सकिन्छ । बुवालाई तातो चिया, कफी खान र बनाउन सजिलो हुने विद्युतीय मग पनि दिन सकिन्छ । साथै तातो पानी, चिया र कफी खान सजिलो होस् भनेर थर्मस वा विद्युतीय जग पनि उपहारको राम्रो विकल्प हुन सक्छ ।

लौरो

बुढेसकालमा सामान्य हिंडडुल गर्दा टेक्ने लौरो बुवालाई उपहार स्वरूप दिन सकिन्छ । बुढेसकालमा वा शरीर कमजोर हुँदा लौरोको प्रयोग एकदमै जरुरी हुन्छ । बुढेसकालमा हिंडडुल गर्दा लौरो प्रयोग गरेको मान्छेको शरीरको ‘पोस्चर’ राम्रो हुन्छ भनेर विभिन्न अध्ययनले पनि देखाएको छ । त्यसैले बुवालाई लौरो पनि उपहारको रूपमा दिन सकिन्छ ।

दाह्र काट्ने मेसिन

बुवाको मुख हेर्ने दिनमा उपहार स्वरूप दारी काट्ने मेसिन ट्रिमर दिन सकिन्छ । बुवाले सजिलै घरमा यो ट्रिमर प्रयोग गर्न सक्नुहुन्छ । जसले बेल्टको प्रयोग गरेर दाह्री काट्दा छालामा चोट लाग्ने, पोल्ने समस्याबाट बचाउँछ । सलुनमा गएर दाह्री काट्दा खर्च हुने पैसा र समय दुवैको पनि बचत हुन्छ ।

इनडोर बिरुवा

बुबालाई बिरुवा मन पर्छ भने एउटा सुन्दर गमलामा इन्डोर बिरुवा पनि दिन सकिन्छ । बिरुवाले घरको सौन्दर्य मात्र बढाउँदैन, स्वस्थ राख्न पनि सहयोग गर्छ । बोटबिरुवाले वातावरण स्वच्छ राख्न सघाउनुका साथै घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

बोटबिरुवाले हावालाई शुद्धीकरण गर्ने भएकाले वायु प्रदूषण पनि घटाउँछ । आकर्षक गमलामा राम्रो सन्देश लेखेर स्नेक प्लान्ट, पिस लिली, लक्की बेम्बो लगायतको बिरुवा रोपेर उपहार दिन सकिन्छ ।

घडी

बुवाको मुख हेर्ने दिनमा घडी पनि उपहारको लागि राम्रो विकल्प हो । पछिल्ला वर्षमा घडी लगाउने मानिसको संख्या घट्दै गए पनि राम्रो घडी उपहारमा पाए लगाइन्छ ।

आजकल हरेक कुरा स्मार्ट बन्दै गएको छ । यस्तोमा बुवालाई स्मार्ट घडी दिनु पनि राम्रो हुन सक्छ । बजारमा सस्तो र महंगो सबै प्रकारका स्मार्ट घडीहरू उपलब्ध छन् । स्मार्ट घडीले फोनमा आउने नोटिफिकेसनको बारेमा मात्र होइन स्वास्थ्यसम्बन्धी जानकारी पनि दिन्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?