+
+

सुस्ताएको नेपाली पप संगीत

खेम रिसाल खेम रिसाल
२०८० भदौ २९ गते १९:००

काठमाडौं । भनिन्छ संगीत हृदयको झंकार हो । त्यसैले संगीतले हृदयका हरेक मुडलाई स्पर्श गर्छ । संगीतले आनन्द दिन्छ, नचाउँछ, विद्रोहको भाव जगाउँछ र पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।

नेपाली संगीतको पनि आफ्नो लामो इतिहास छ । लोकगीत र सुगम संगीत यहाँ सदावहार रुचाइने जनरा हुन् । नेपाली श्रोताले सबैभन्दा बढी अहिले कुन जनराका गीत रुचाइरहेका छन् ? अवश्य पनि आधुनिक र लोक शैलीका गीतहरुमा उनीहरुको बढी रुचि देखिन्छ । तर ५० र ६० को दशक यस्तो थियो, त्यसबेला यी दुई जनराकै हाराहारीमा गुञ्जिन्थे पप गीत ।

पपका पनि विभिन्न विधा छन्, मेलोडियस पप, रक, लोक-रक, र्‍याप आदि । नवीन के भट्टराई, दीपक बज्राचार्य, सञ्जीव प्रधान, सविन राई, नलिना चित्रकार, दीपेशकिशोर भट्टराई, नीमा रुम्बा, मोहन भुसाल, राजु लामा, अनिल सिंह, सुगम पोखरेलजस्ता गायक-गायिकाको जबर्जस्त ‘क्रेज थियो श्रोतामाझ । सँगै हिमालय, नेपथ्य, कन्दरा, मंगोलियन हार्ट, १९७४ एडी, मध्यान्हजस्ता ब्याण्डको प्रभुत्व उस्तै लोभलाग्दो थियो । एक हिसाबले भन्दा त्यो नेपाली पप संगीतको ‘गोल्डेन पिरियड’ नै थियो ।

अहिले पनि नेपथ्यजस्ता ब्याण्ड र यी गायक-गायिका सांगीतिक आकाशमा थोरबहुत छाइरहेकै छन् । यसमा खट्किएको कुरा के हो भने आधुनिक र लोकगीत बजारमा छाइरहँदा पपगीत किन हराइरहेका छन् ? पप संगीत ओझेल परेको हो कि शैली फेरिएको हो ?

एक समय पप संगीतमा दबदबा नै मच्चाएका गायक नवीन के भट्टराई पप संगीतले समयको गति समात्न नसकेको बताउँछन् । ‘त्यो एउटा समय थियो, नयाँ सोच र शैलीको । निकै राम्रो भयो, श्रोताहरुले रुचाइदिनुभयो । अहिले श्रोताको रुचि फेरियो, आफैंले टिकटकमा अभिनय गरेर राखेका गीतहरु चल्न थाले,’ उनी भन्छन् ।

कन्सर्टमा प्रस्तुति दिंदै गायक नवीन के भट्टराई

गायक भट्टराईले भने झैं आजभोलि गीत चल्न पहिले सामाजिक सञ्जाल टिकटकमा हिट हुनुपर्छ । टिकटकमा नाच्न मिल्ने लोक-आधुनिक शैलीका गीतमा श्रोता-दर्शकको बढी रुचि देखिन्छ ।

द स्याडोज ब्याण्डमा गायक स्वप्निल शर्मा पप र रकगीतहरु आइरहे पनि अहिलेको प्लेटफर्मअनुसार प्रवर्द्धन गर्न तरिका नपुगेको हुन सक्ने बताउँछन् । ‘हामीले सुन्ने खालका गीत ल्यायौं । हामीले अलि मार्केटिङ गर्न नजानेको पो हो कि जस्तो लाग्छ । अहिलेको चर्चित सोसल मिडिया प्लेटफर्म टिकटक, फेसबुकमा उचित मार्केटिङ गर्ने सकेनौं होला जस्तो लाग्छ,’ उनी भन्छन्, ‘धेरैले तपाईंहरुले गीत ननिकालेको धेरै भयो है भनेको सुन्छौं । तर गीत ल्याइरहेकै छौं ।’

संगीतकार राजु सिंह नेपाली पप संगीत ओझेलमा परेको भन्दा पनि परिमार्जित भएको भन्न रुचाउँछन् । पपगीतको अहिले ‘प्याटर्न’ परिवर्तन भएको उनको बुझाइ छ । ‘पपगीत ओझेलमै चाहिं होइन, परिमार्जित भएको हो । मेलोडियस पपको ठाउँमा पपकै अन्य विधा सफ्ट रक, ब्लुज, हिपहपको ट्रेण्ड आयो,’ उनी भन्छन् ।

के हो पप ?

खासमा पपगीत के हो यसको परिभाषामा एकरुपता छैन । संगीतकार सिंह नेपालमा पपगीतको परिभाषा नै फरक ढंगले गरिएको बताउँछन् । उनको अध्ययन र बुझाइमा पपुलर गीत नै पपगीत हो, तर नेपालमा अत्याधुनिक संगीतलाई पपको दर्जा दिइएको छ ।

‘खासमा पप भनेको प्याटर्न हो । पप बिट हो । नेपालमा यसको परिभाषा फरक छ । पपुलर भएपछि पप हुने हो खास अर्थ हो,’ संगीतकार सिंह भन्छन् ।

संगीतकार राजु सिंह

नेपालमा पपगीत सुरुमा कसले गायो भन्नेमा पनि मतैक्य छैन । २००७ सालको परिवर्तनपछि नयाँ नयाँ शैलीका संगीतले नेपालमा प्रवेश पाएको देखिन्छ । त्यसबेला नारायणगोपालले गाएको ‘स्वर्गकी रानी’लाई पहिलो पपगीत मान्ने थुप्रै संगीतकर्मी छन् । यद्यपि ३० को दशकमा आएका ओमविक्रम बिष्टलाई औपचारिक रुपमा पहिलो नेपाली पप गायक मान्ने गरिएको छ । उनले गाएको ‘म मौनतामा अल्झिरहेको एउटा जीवन’ले त्यसबेला नेपाली संगीतमा नयाँ खालको शैली भित्र्याउँदै तरंग नै सिर्जना गरेको थियो ।

ओमविक्रमबाट सुरु भएको पप संगीत यात्रा ५० को दशकमा आइपुग्दा जबर्जस्त विधाको रुपमा स्थापित भयो । यसबेला आएका अधिकांश गायक-गायिका, गीतकार, संगीतकारको संगीत क्षेत्रमा दबदबा नै रह्यो । मूलधार मानिने सुगम संगीतको दबदबा रहेको बेला पप संगीत प्रतिस्पर्धीका रुपमा आउनु चानचुने कुरा थिएन । तर ६० को दशकको मध्यतिर पप संगीत अलि सुस्ताए झैं भयो र अहिले कता-कता ओझेल नै परेजस्तो भएको स्वयं संगीतकर्मीहरु नै बताउँछन् ।

हुन त पप संगीतले सज्जनराज वैद्य, सुशान्त केसी, स्वप्न सुमनहरुको पुस्तासमेत छिचोल्दैछ । उनीहरुले अहिले सर्वाधिक सुनिने कलाकारमध्येमै पर्छन् तर यो संख्या उल्लेख्य छैन ।

संगीतकार सिंह भन्छन्, ‘सज्जनराजहरुको पुस्ताका गीत पपकै अर्केस्ट्रियल शैलीका हुन् । जस्टिन बिबर र बीटीएसहरुको शैली उनीहरुका गीतमा पाइन्छ । पहिलेको मेलोडियस पप भने अहिले खास देखिंदैन ।’

ब्याण्डलाई धान्ने नेपथ्य

पप-रक जनरामा नेपाली ब्याण्डहरुको भूमिका महत्वपूर्ण छ । नेपालकै पहिलो हिमालय ब्याण्डदेखि नेपथ्य, कन्दरा, १९७४ एडी, मंगोलियन हार्ट, मध्यान्ह, द स्याडोज, रबिन एण्ड द रिभोलुसनजस्ता ब्याण्डले नेपाली रक संगीतमा उल्लेखनीय योगदान दिएका छन् । यीमध्ये नेपथ्य, कन्दरा र मंगोलियन हार्टले लोक-रक जनराको प्रतिनिधित्व गर्छन् भने अरुले पाश्चात्य शैलीको रकको ।

अष्ट्रेलियामा आयोजित नेपथ्यको कन्सर्ट

तर समयक्रमसँगै धेरै ब्याण्डहरु निष्क्रिय बन्दै गए । अहिले नेपथ्यले नै ब्याण्डहरुलाई धानिरहेको छ भन्दा दुईमत नहोला । देशदेखि विदेशसम्ममा नेपथ्य गुञ्जिरहेको छ । अन्य ब्याण्डहरुले सांगीतिक प्रस्तुति दिइरहेकै छन् तर उनीहरुको सक्रियता पहिलेजस्तो देखिंदैन ।

‘अब त ब्याण्ड नै रहेनन् धेरै । आर्थिक कारण र आ-आफ्ना कार्य व्यस्तताका कारण सोलो पर्फर्मरहरु नै बढिरहेका छन् । दुई-चार बाहेक अरु ब्याण्ड हराए सक्रिय छैनन् भन्दा पनि हुन्छ,’ संगीतकार सिंह भन्छन्, ‘नेपथ्यहरुका पनि नयाँ सिर्जना त्यति आएका छैनन्, पुरानै गीतहरुले उहाँहरु चलिरहनुभएको छ ।’

कन्सर्टको कुरा गर्ने हो भने ब्याण्डहरु मात्र होइन, पपका सोलो गायक-गायिका पनि अहिले छाइरहेकै छन् । तर कन्सर्टमा उनीहरु आफ्ना नयाँ होइन, पुरानै गीतहरुको भर पर्नु परिरहेको छ ।

फर्केला त्यो सुनौलो समय ?

समयसँगै शैली पनि फेरिइरहन्छ । हिजो नयाँ लागेको कुरा आज पुरानो भइदिन्छ । अनि फेरि आजको नयाँ कुरा पुरानो हुन्छ । समयको चक्रसँगै पुरानै कुरा नयाँ शैलीमा आइदिन्छ ।

स्वप्निल समयको चक्रसँगै फेरि पप र रक संगीतको युग फर्किनेमा आशावादी छन् । ‘समय आफैंमा चेन्ज हुँदै जान्छ । अहिले झट्ट चल्ने र हराउने गीतको दबदबा छ । त्यत्तिकै सधैं यी गीत चल्छन् भनेर चाहिं सोच्नु हुँदैन,’ उनी भन्छन्, ‘समयलाई पनि पर्खिंदै, सोही अनुसार  हामी मार्केटिङ रणनीति पनि बनाउनुपर्ने रहेछ ।’

द स्याडोज ब्याण्डका मुख्य भोकलिस्ट स्वप्निल शर्मा

हरेक कुरामा मान्छेका रुचि र रोजाइ परिवर्तन भइरहेका हुन्छन् । त्यसैले संगीतमा पनि श्रोताको रुचि फेरिएको गायक नवीन बताउँछन् । कुनै अत्यधिक रुचाइएको पप संगीत फेरि फर्किनेमा उनी पनि आशावादी छन् । ‘शब्द र संगीत मार्मिक भन्दा पनि टिकटकमा चल्ने खालका गीत अहिले चलिरहेका छन् । गीत हेर्ने भएसँगै अभिनय गर्न सकिने र नाच्न सकिने हिट भइरहेका छन् । फेरि समय घुम्दै जाँदा त्यही समय फर्किन सक्छ,’ उनी भन्छन् ।

सामाजिक सञ्जाल केन्द्रित भइरहँदा समग्र नेपाली संगीतकै माहोल अलि खस्किएको संगीतकार सिंहको बुझाइ छ । ‘गीतभन्दा हुकलाइन मात्रै राम्रो बनाउने प्रवृत्ति देखिन्छ । संगीत फास्टफुड बनेको छ,’ उनी भन्छन्, ‘तर पनि सोसल मिडियाले नेपाली श्रोतालाई नेपाली गीततिर आकर्षित गरिरहेको छ । पुराना गीतहरु पनि टिकटकमा हिट भइरहेका छन्, यो खुसीको कुरा पनि हो । भोलिको दिन समग्र नेपाली संगीत उज्यालो देख्छु । त्यसमा पप संगीत पनि मौलाउने छ नै ।’

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?