+
+

तीनकुने सामूहिक हत्या : शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकी

गौरव पोखरेल गौरव पोखरेल
२०८० भदौ ३० गते ९:०२
चार जनाको हत्या भएको स्थान । तस्वीरः गौरव/अनलाइनखबर

३० भदौ, काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा पक्राउ परेका व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ ।

मिलको हाताभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको थियो । घटनालगत्तै एक जना व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । उनी २८ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतै रगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए ।

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्‍याइदिने भनेको बताएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नवीन त्यहाँ आउनेजाने गर्थे । हत्या भएका नवीन राई उनका साथी समेत हुन् ।

घटना भएको सःमिलको सामान ओसारपसार गर्ने एक जना रिक्सा चालक बसन्त रोकाका अनुसार पक्राउ परेका व्यक्ति पहिले पनि त्यहाँ आइरहन्थे । बुवाले काम गर्दा उनी त्यहीं बस्ने गरेका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रहरी वृत्त, नयाँबानेश्वर पुगेर घटनाबारे जानकारी दिने राई नै हत्यामा संलग्न रहेको बताएको छ । हत्याको कारण भने स्पष्ट भइसकेको छैन । राईका बुबा अहिले धनकुटामा छन् ।

मिलका सञ्चालक बालकृण सिवाकोटीले भने घटनाबारे प्रहरीले जानकारी दिएपछि मात्रै थाहा पाएको बताएका छन् । ‘म गौशाला बस्थें, बिहान प्रहरीले फोन गरेपछि आएँ’, उनले भने, ‘मिलमा विभिन्न स्थानमा छरिएको अवस्थामा शवहरु थिए ।’

उनका अनुसार हत्या भएका कुमार र अम्बिका मिलकै कर्मचारी हुन् । कुमारकी आमा शुभद्रा भुजेल भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । ‘श्राद्धका कारण आउनुभएको रहेछ, त्यसपछि त्यहीं बस्नुभएको थियो’ सिवाकोटीले अनलाइनखबरसँग भने, ‘राति यस्तो घटना भएछ ।’

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, घटनामा मिलमा गेट पालेका रुपमा काम गर्दै आएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङका नविन राईको मृत्यु भएको छ ।

‘मृतकमध्ये राई चाहिं हाल प्रहरी नियन्त्रणमा रहेका दिपेन्द्रका साथी हुन्’, मिलका सञ्चालक सिवाकोटीले भने । मिल वरिपरि कार्यालयहरु मात्र भएकाले अरुले राति घटनाबारे थाहा नपाएको उनले बताए ।

एसएसपी मैनालीका अनुसार, चारै जनाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?